News Summary
Generated by OK AI. Editorially reviewed.- अविनाश विक्रम शाहको चलचित्र ‘तिनीहरूको सुरुवात र अन्तिमको दृश्य एउटै विम्बले जोडिएको छ’ ले कान्समा अन सर्टेन् रिगार्ड जुरी प्राइज जितेको छ ।
- चलचित्रले गाउँलेहरूको राँको जुलुस, किन्नर समुदायको बहिष्कार र धार्मिक उपयोगितामार्फत नियन्त्रणलाई मुख्य रूपकका रूपमा प्रस्तुत गरेको छ ।
- कथाको अन्त्यमा पिरतीले छोरी र बास गुमाएपछि हात्तीहरूको बथानको नेतृत्व गर्दै अघि बढेको दृश्यले गाउँ र जङ्गलबीचको सीमा उल्ट्याएको छ ।
कान्समा अन सर्टेन् रिगार्ड जुरी प्राइज जित्न सफल अविनाश विक्रम शाहको चलचित्र तिनीहरूको सुरुवात र अन्तिमको दृश्य एउटै बिम्बले जोडिएको छ । हातमा राँको लिएर अँध्यारोमा जुलुस निकालिरहेका गाउँलेहरू । यी गाउँलेहरू खासमा आफ्ना बालीनाली र घरखेतमा त्रास फैलाउने जङ्गली हात्तीहरूलाई खेदाउने ध्याउन्नमा छन् ।
यी दृश्य यस चलचित्रको मुख्य रूपक हो । यी दृश्यहरूले कथाको केन्द्रमा रहेको किन्नर समुदायको सामाजिक स्थितिसँग प्राकृतिक जगतलाई समेत जोड्छन् । चलचित्रको अन्त्यसम्म आइपुग्दा यी रूपकले प्रतीक र देहबीचको दूरीलाई पूर्णतया समाप्त पारिदिन्छ ।
श्रद्धाको नकाबमा नियन्त्रण
चलचित्रमा गाउँलेहरू जङ्गलको पूजा गर्छन् । हरेक रात त्यसैविरुद्ध राँको बोकेर जुलुस निकाल्छन् । समानान्तार दृश्यमा गाउँलेहरू विवाह इत्यादिमा आशीर्वादका लागि किन्नरहरूलाई बोलाउँछन् । बाँकी समय ‘तिनीहरू’ लाई पाखा लाउँछन् ।

दुवै दृश्यमा, श्रद्धालाई खतरालाई स्वीकार्नेभन्दा पनि त्यसलाई नियन्त्रणमा राख्ने उपायको रूपमा स्थापित गरिएको छ । हात्तीहरूलाई रात्रिको गस्तीले रोकिन्छ भने किन्नरहरूलाई ब्रह्मचर्यको सपथ र सामाजिक दूरीद्वारा । चलचित्रले विस्मय र बहिस्कारलाई दुई फरक दिशातर्फ इशारा गरिरहेका एउटै भङ्गीमा स्थापित गरिदिन्छ । तेस्रो लिङ्गीको रूपमा दिइएको पवित्र दर्जाले समुदायलाई धार्मिक उपयोगिता त दिन्छ । तर, न त सुरक्षा दिन्छ न प्रेम गर्ने स्वतन्त्रता न जाबो एउटा मानवको दर्जासम्म ।
विस्थापित त्रासको रूपमा हात्ती
सुरुवाती दृश्यमा हात्तीलाई बाह्य खतराको रूपमा हेरिएको छ । एउटा यस्तो जङ्गली र अप्रत्याशित प्राणी, जसलाई रोक्न हरेक रात सतर्कता अपनाउनुपर्छ । तर पिरती र उनकी धर्मपुत्री अप्सराको बेपत्ताको घटनावरिपरि कथा अघि बढिरहँदा समुदायका लागि वास्तविक खतरा जङ्गल कहिल्यै थिएन भन्ने स्पष्ट हुन्छ ।
तिनीहरूका लागि वास्तविक खतरा थियो त स्वयं गाउँ – छानबिन गर्न अस्वीकार गर्ने प्रहरी, किन्नरहरूप्रति केवल व्यावसायिक लाभका लागि मात्रै स्वीकार्यता देखाउने छिमेकीहरू र धार्मिक/सांस्कृतिक आवरणभित्र मौलाएको शारीरिक तथा सामाजिक हिंसा ।
चलचित्रले गाउँलेहरूले आफ्नो अनुहार आफैले हेर्नु नपरोस् भनेर निकै चातुर्यसँग वास्तविक खतरालाई जङ्गलको थाप्लोमा राखिदिन्छ ।
आध्यात्मिक मुद्रा, शारीरिक मूल्य
विवाह र जन्मका अवसरमा माग गरिने किन्नरहरूको तालीलाई गाउँलेहरूले आफूले उपभोग गर्ने आध्यात्मिक स्रोत त मान्छन् तर ताली बजाउनेहरूलाई भने सधैँ एक हात पर राख्छन् । ढोलकवादकसँग पिरातीको वर्जित प्रेम र उनको ब्रह्मचर्यको सपथले के कुरालाई स्पष्ट पार्छ भने किन्नरहरूलाई यौन सम्पर्कमा नियन्त्रित राखिएसम्म मात्र शक्ति अभ्यास गर्न दिइन्छ; तिनीहरूको शरीरलाई एउटा यस्तो आध्यात्मिक अर्थतन्त्रको साधन बनाइन्छ, जसलाई तिनीहरूका इच्छा, तृष्णा र भावनासँग कुनै सरोकार छैन ।

चलचित्रका सहज र कोमल यौन दृश्यहरूले यसको प्रत्यक्ष प्रतिवाद गर्छन् । तिनीहरू गाउँको भलोका लागि ताली बजाउने पात्र होइनन्, इच्छा र आन्तरिक जीवन भएका महिलाहरू हुन् ।
बाहिरकै संरचनालाई प्रतिबिम्बित गर्ने आन्तरिक संरचना
महत्वपूर्ण कुरा के छ भने, निर्देशक शाहले किन्नर समुदायलाई गाउँको ट्रान्सफोबिया (पारलिङ्गीप्रतिको विभेद) विरुद्धको कुनै आदर्श समाजको रूपमा प्रस्तुत गर्छन् । जुन तालीले आशीर्वादको संकेत गर्छ, त्यही ताली आफ्नै दिदीबहिनीको समूहभित्र अपमान वा आक्रामकताको संकेत पनि बन्न सक्छ; पिरती त्रिपक्षीय साङ्लोमा बाँधिएकी छिन्: एकातिर ससर्त मात्र स्वीकार्ने गाउँको नियन्त्रण, अर्कोतिर ब्रह्मचर्यको माग गर्ने धार्मिक संरचनाको नियन्त्रण, र आमाको रूपमा आफ्नै छानोमुनि रहेका छोरीहरूलाई नियन्त्रण गर्नुपर्ने जिम्मेवारी ।
तिनीहरूको परिवार वंशज नभएर आफ्नै रोजाइले बन्छ । तर रोजाइ छ भन्दैमा यसले आफूले भाग्न खोजेका तिनै बाध्यकारी संरचनाहरूको पुनरावृत्तिबाट मुक्ति भने पाएको छैन ।
मृत छावा
अप्सराको खोजिमा जङ्गल चहार्दै गर्दा पिरतीले एउटा मृत हात्तीको छावा भेटाउँछिन् । जसलाई अप्सराको मृत्युको खबरसँगै समानान्तर प्रस्तुत गरिएको छ । कथाको लयमा एउटी किन्नर युवती र एउटा हात्तीको छावाको मृत्युको दोहोरोपनले चलचित्रले अहिलेसम्म कायम राखेको दूरीलाई समाप्त गरिदिन्छ ।
हात्तीहरू अब सांकेतिक रूपमा मात्र किन्नरको तर्फबाट उभिएका छैनन् । कथात्मक रूपमा, कुहिरो एक समय यति बाक्लिन्छ कि जब कुहिरो फाट्छ, त्यसपछि तिनीहरूलाई एउटै शरीरको रूपमा प्रस्तुत गरिएको छ; रूपक अब केवल रूपक मात्र रहदैन; तिनीहरू अर्थात् कुहिरोका हात्तीहरू ।
वास्तवमा घर कसले जलाउँछ ?
हात्तीबाट सुरक्षा गर्न हरेक रात राँके जुलुस निकाल्ने तिनै गाउँलेहरू छन्, जसले पिरतीको घर जलाइदिन्छन् । चलचित्रले जङ्गली खतराबाट बचाउने संरक्षकका रूपमा प्रस्तुत गरेका हातमा मसाल बोक्ने मानिसहरूलाई नै अन्तिममा वास्तविक खतरा सिद्ध गरेको छ ।

यहाँ सुरुवाती दृश्य पूर्णतया उल्टिन्छ । अब आगो हात्ती र किन्नरलाई धपाउन सल्काइएको छ । यसरी चलचित्रले गाउँ र जङ्गल, अनि गाउँ र किन्नरबीचमा कोरिएको रेखा सुरूबाट एउटै रेखा थियो भन्ने भाष्य संवेदनशीलताका साथ पस्किन्छ ।
पिरतीले बथानको नेतृत्व गर्छिन्
अन्त्यमा गाउँको हिँसाका कारण आफ्नो छोरी र बास गुमाएकी पिरती हात्तीहरूको बथानको नेतृत्व गर्दै अघि बढेको दृश्य छ । चलचित्रको सुरुवातमा हात्तीहरूलाई धपाउन रात्रिको गस्ती गरिन्थ्यो भने अन्तिम दृश्यले त्यो सीमालाई पूर्ण पखालेको छ ।
यी सुत्रहरू जहाँ जोडिन्छन्
चलचित्रभरि दुईओटा तर्कहरू समानान्तर बग्छन् । अन्त्यमा आएर जोडिन्छन्; मृत छावा र जलिरहेको घरले तिनीहरूलाई जोड्दछ । र, पुष्टि गर्दछ कि गाउँले सदैव जुन खतराको विरुद्धमा हतियार बोकेको छ, त्यो खतरा कहिल्यै हात्तीहरूबाट थिएन । अर्कोतिर, किन्नरहरूलाई दिइएको पवित्रता कहिल्यै सुरक्षा थिएन ।
चलचित्रको अन्त्यसम्म आइपुग्दा पूजा र हिंसा एकै कार्य हुन् भन्ने देखिन्छ । र हात्तीको बथानसँगै हिँडिरहेकी हुन्छिन् पिरती ।
(जोशी अहिले नेपाल प्रज्ञाप्रतिष्ठानको प्राज्ञ सदस्य हुन् ।)
प्रतिक्रिया 4