+
+
Shares

दैलेखमा पेस्तोलसहित २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २७ गते १३:१४

२७ भदौ, सुर्खेत । दैलेखमा प्रहरीले पेस्तोल, म्याग्जिन र पाँच राउन्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धानका क्रममा पक्राउ परेका उनीहरूमध्ये एकजनाको बयानका आधारमा लुकाएर राखिएको पेस्तोल बरामद गरिएको हो ।

पक्राउ पर्नेमा दैलेखको आठबीस नगरपालिका–६ का ३० वर्षीय भीमबहादुर शाही र वडा नम्बर ५ का २७ वर्षीय भुपेन्द्र शाही रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूविरुद्ध भदौ २२ गते प्रहरी हवल्दार कृष्णबहादुर रानासमेतको प्रतिवेदन जाहेरीका आधारमा अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको थियो ।

अनुसन्धानका क्रममा भुपेन्द्र शाहीले भदौ २६ गते अधिकारप्राप्त अधिकारीसमक्ष बयान दिने क्रममा आठबीस नगरपालिका–४ राकम बजारनजिकैको खोल्सामा पेस्तोल लुकाएर राखेको बताएका थिए।

उनको बयानका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी सहायक निरीक्षक कृष्ण चन्दको कमान्डमा तीनजनाको प्रहरी टोली खटिएको थियो । टोलीले इलाका प्रहरी कार्यालय राकम, दैलेखसँग समन्वय गरी उक्त स्थानमा खोजतलास गरेको थियो ।

खोजतलासका क्रममा राकम बजारनजिकै खोल्साको झाडीमा कालो प्लास्टिकमा पोका पारेर लुकाइएको अवस्थामा ‘चेकस्लोभाकियामा निर्मित’ लेखिएको तथा १०५०२८ नम्बर उल्लेख भएको एक थान पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कबिन्द्र सिंह बोहराले जानकारी दिए ।

प्रहरीले पेस्तोलसँगै एक थान म्याग्जिन र त्यसमा प्रयोग हुने पाँच राउन्ड गोलीसमेत बरामद गरेको छ । उक्त हतियार भदौ २६ गते दिउँसो १२ बजेतिर बरामद गरी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याइएको बोहराले बताए ।

घटनाबारे हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?