+
+
Shares
प्रकृति :

हिउँचितुवाले किन मार्छ एकैपटक धेरै बाख्रा ? 

संरक्षणको वास्तविक सफलता केवल वन्यजन्तुको अस्तित्वमा होइन, मानिस र वन्यजन्तु बीचको सहअस्तित्वमा पनि मापन हुनुपर्छ। किनभने स्थानीय समुदायको समर्थन विना कुनै पनि संरक्षण कार्यक्रम दीर्घकालीन रूपमा सफल हुन सक्दैन।

डा. कमल थापा डा. कमल थापा
२०८३ भदौ २७ गते ९:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मनाङको फू गाउँमा २०२१ अप्रिलमा एकै गोठमा ४४ वटा बाख्रा मरेपछि गोठभित्र थुनिएको वयस्क हिउँचितुवा नियन्त्रणमा लिएर पुनः प्राकृतिक वासस्थानमा छाडिएको थियो।
  • लेखले नेपालको संरक्षण सफलताको मापन वन्यजन्तु सङ्ख्या मात्र नभई मानिस र वन्यजन्तुबीचको सहअस्तित्व, आर्थिक क्षति र स्थानीय समर्थनबाट हुनुपर्ने तर्क गरेको छ।
  • हिउँचितुवा, बाघ, हात्ती र चितुवासँगको द्वन्द्व घटाउन सिकारी–प्रतिरोधी गोठ, क्षतिपूर्ति, बीमा, स्थानीय सहभागिता र बहुआयामिक व्यवस्थापन आवश्यक हुने निष्कर्ष लेखमा प्रस्तुत गरिएको छ।

सन् २०२१ को अप्रिल महिनाको एउटा चिसो बिहानी। मनाङ जिल्लाको दुर्गम फू गाउँमा पुग्दा वातावरण असामान्य रूपमा शान्त थियो। तर त्यो शान्ति वास्तवमा एउटा ठूलो दुर्घटनापछिको मौनता थियो। गाउँका मानिसहरू गोठतर्फ जम्मा भएका थिए। कसैको आँखामा आँसु थियो, कसैको अनुहारमा आक्रोश। म पनि घटनास्थलतर्फ लागें। गोठभित्रको दृश्य आज पनि मेरो मानसपटलबाट मेटिएको छैन।

एउटै गोठमा ४४ वटा बाख्रा निष्प्राण थिए। कतिपयको घाँटी टोकिएको थियो, कतिपय एकअर्कामाथि थिचिएर निसास्सिएका थिए। तर धेरैजसोको मासु भने छोइएको पनि थिएन। गोठको एउटा कुनामा एउटा वयस्क हिउँचितुवा आफैं थुनिएको थियो। रातको अँध्यारोमा बाख्रा मार्न पसेको त्यो चितुवा बिहान उज्यालो भएपछि बाहिर निस्कन नसकेर गोठभित्रै थुनिएको रहेछ।

त्यो क्षण मैले केवल एउटा वन्यजन्तु घटनाको अनुसन्धान गरिरहेको थिइनँ। मैले संरक्षण विज्ञान, स्थानीय जीविकोपार्जन र मानव संवेदना बीचको सबैभन्दा कठिन द्वन्द्व आफ्नै आँखाले देखिरहेको थिएँ।

एकातिर विश्वकै सङ्कटापन्न प्रजातिमध्ये एक हिउँचितुवाको संरक्षण गर्ने दायित्व थियो। अर्कोतिर एकै रातमा आफ्नो वर्षौंको सम्पत्ति गुमाएका किसानको पीडा। ती बाख्रा किसानका लागि केवल पशु थिएनन्; तिनैबाट परिवारको दैनिकी चल्थ्यो, छोराछोरीको पढाइ हुन्थ्यो, उपचार खर्च जुट्थ्यो र विपद्को बेला त्यही बथान नै जीवनको आधार बन्थ्यो।

स्थानीय समुदायको आक्रोश स्वाभाविक थियो। कसैले हिउँचितुवालाई मार्नुपर्ने माग गरिरहेका थिए, कसैले हिउँचितुवा स्थानान्तरणको पक्षमा आवाज उठाइरहेका थिए। अन्ततः स्थानीय आदिवासी समुदायहरू र संरक्षणकर्मी निकाय बीचको समन्वयपछि हिउँचितुवालाई सुरक्षित रूपमा नियन्त्रणमा लिएर पुनः प्राकृतिक वासस्थानमा छाडियो (थापा, २०२१)।

तर मेरो मनमा एउटा प्रश्न भने त्यही दिनदेखि गहिरिंदै गयो- यदि संरक्षण सफल हुँदैछ भने मानव–वन्यजन्तु द्वन्द्व किन बढ्दै गएको छ ?

यो प्रश्न केवल हिउँचितुवाको मात्र होइन। यही प्रश्न आज नेपालका बाघ, हात्ती, चितुवा र भालुसँग सम्बन्धित द्वन्द्वमा पनि उत्तिकै सान्दर्भिक छ। नेपालले वन्यजन्तु संरक्षणमा उल्लेखनीय सफलता हासिल गरिरहेको छ, तर त्यही समय स्थानीय समुदायले भोग्नुपर्ने आर्थिक, सामाजिक र मनोवैज्ञानिक लागत पनि बढ्दै गएको देखिन्छ। त्यसैले अब संरक्षणको बहस केवल वन्यजन्तुको सङ्ख्या बढाउने विषयमा सीमित रहन सक्दैन।

संरक्षणको सफलता कसरी मापन गर्ने ?

नेपाललाई आज विश्वले सफल संरक्षणको उदाहरणका रूपमा हेर्छ। बाघको सङ्ख्या वृद्धि, एकसिङ्गे गैंडाको पुनःस्थापना, घडियाल संरक्षण र हिमाली क्षेत्रमा हिउँचितुवाको संरक्षण, यी सबै उपलब्धिले नेपाललाई अन्तर्राष्ट्रिय सम्मान दिलाएका छन्। निश्चय नै यी उपलब्धि गर्व गर्नलायक छन्। तर संरक्षणको सफलताको मापन प्रायः एउटै सूचकमा सीमित रहन्छ— वन्यजन्तुको जनसङ्ख्या वृद्धि।

यदि बाघ बढे भने संरक्षण सफल। यदि गैंडा बढे भने संरक्षण सफल। यदि हिउँचितुवा बढे भने संरक्षण सफल। तर एउटा अर्को प्रश्न विरलै सोधिन्छ- यदि वन्यजन्तु बढ्दै जाँदा किसानको क्षति पनि बढ्दै गइरहेको छ भने संरक्षणलाई कसरी सफल भन्ने ?

अझ अर्को प्रश्न- यदि स्थानीय समुदायले संरक्षणलाई आफ्नै जीविकोपार्जन विरुद्धको कार्यक्रम ठान्न थाल्यो भने त्यो संरक्षण कति दिगो रहला ?

संरक्षणको वास्तविक सफलता केवल वन्यजन्तुको अस्तित्वमा होइन, मानिस र वन्यजन्तु बीचको सहअस्तित्वमा पनि मापन हुनुपर्छ। किनभने स्थानीय समुदायको समर्थन विना कुनै पनि संरक्षण कार्यक्रम दीर्घकालीन रूपमा सफल हुन सक्दैन।

एउटा हिउँचितुवाले ४४ वटा बाख्रा किन मार्छ ?

फू गाउँको घटना सार्वजनिक भएपछि धेरैले एउटै प्रश्न गरे- ‘एउटा हिउँचितुवालाई एउटा बाख्रा खाए पुग्ने होइन र ? ४४ वटा किन मार्‍यो ?’

यो प्रश्नको उत्तर भावनामा होइन, व्यावहारिक पारिस्थितिकीमा छ।

वन्यजन्तु विज्ञानमा यस्तो व्यवहारलाई सर्प्लस किलिङ भनिन्छ। अर्थात् तत्कालको आवश्यकताभन्दा धेरै सिकार मार्ने व्यवहार। यो व्यवहार हिउँचितुवामा मात्र होइन, ब्वाँसो, लिङ्क्स, पुमा तथा अन्य ठूला मांसाहारी जनावरमा पनि अभिलेख गरिएको छ (Kruuk, 1972; Johansson et al., 2015)

गोठमा एकै रातमा हिउँचितुवाद्वारा मारिएका च्याङ्ग्रा

प्राकृतिक अवस्थामा नाउर, झारल वा अन्य जङ्गली सिकार खुला क्षेत्रमा भाग्न सक्छन्। तर गोठभित्र थुनिएका बाख्राहरू भाग्न सक्दैनन्। एउटा बाख्रा आत्तिएपछि पूरै बथान अनियन्त्रित रूपमा दौडिन थाल्छ। यही निरन्तरको हलचलले सिकारीको जन्मजात सिकार गर्ने प्रतिक्रिया (प्रिडेटरी रेस्पोन्स) पटकपटक सक्रिय बनाउँछ। फलस्वरूप उसले आफ्नो तत्काल आवश्यकताभन्दा धेरै जनावर मार्न सक्छ।

यसलाई ‘क्रूरता’ भनेर व्याख्या गर्नु वैज्ञानिक रूपमा उचित हुँदैन। तर यसले किसानको पीडा कम गर्दैन।

त्यसैले संरक्षण विज्ञानले हिउँचितुवाको व्यवहार बुझ्नुपर्छ तर किसानको आर्थिक यथार्थलाई पनि उत्तिकै गाम्भीर्यका साथ स्वीकार्नुपर्छ। संरक्षणको सफलता तब मात्र अर्थपूर्ण हुन्छ, जब दुवै पक्ष सुरक्षित रहन्छन्।

लोक्टा–भोल्टेरा मोडल : पारिस्थितिकीको आधारभूत सिद्धान्त

सन् १९२५ मा गणितज्ञ अल्फ्रेड जे. लोक्टा र जीवविज्ञानी भिटो भोल्टेराले सिकारी र सिकार बीचको सम्बन्धलाई व्याख्या गर्ने गणितीय मोडल प्रस्तुत गरे। आज पनि यो पारिस्थितिकी विज्ञानको आधारभूत सिद्धान्तमध्ये एक मानिन्छ।

यसको मूल अवधारणा सरल छ। यदि चरनमा घाँस प्रशस्त भयो भने नाउर र झारल जस्ता शाकाहारी जनावरको सङ्ख्या बढ्छ। जङ्गली सिकार बढेपछि हिउँचितुवा जस्ता सिकारीलाई पर्याप्त आहार उपलब्ध हुन्छ। त्यसपछि सिकारीको सङ्ख्या पनि विस्तारै बढ्न थाल्छ। तर सिकारी धेरै भएपछि सिकारमाथि दबाब बढ्छ।

सिकार घट्छ। सिकार घटेपछि सिकारी पनि घट्छ। केही समयपछि फेरि सिकार बढ्छ र यही चक्र दोहोरिन्छ।

एक शताब्दी बितिसक्दा पनि लोक्टा–भोल्टेरा मोडल पारिस्थितिकी विज्ञानको एउटा उत्कृष्ट व्याख्यात्मक सिद्धान्तका रूपमा स्थापित छ। यसले प्राकृतिक पारिस्थितिक प्रणालीमा सिकारी र सिकार बीच हुने उतारचढावलाई सुन्दर ढङ्गले बुझाउँछ।

तर हिमालको यथार्थ फरक छ

यहींबाट एउटा महत्त्वपूर्ण प्रश्न उठ्छ। के हिमाल पनि लोक्टा–भोल्टेरा मोडलले परिकल्पना गरे जस्तै केवल ‘सिकारी र सिकार’ को प्रणाली हो ? मेरो अनुभव र अनुसन्धानले भन्छ- होइन।

लोक्टा–भोल्टेरा मोडलको एउटा आधारभूत मान्यता भनेको प्रणालीमा केवल सिकारी र सिकार बीचको अन्तरक्रिया प्रमुख हुन्छ भन्ने हो। तर हिमालमा यो मान्यता लागू हुँदैन।

यहाँ नाउर मात्र छैनन्, बाख्रा पनि छन्। झारल मात्र छैनन्, चौंरी पनि छन्। यहाँ जङ्गली चरन मात्र छैन, मौसमी गोठ र पशुपालन प्रणाली पनि छ।

यहाँ हजारौं वर्षदेखि विकसित कृषि–पशुपालन संस्कृति छ; जहाँ मानिस, घरेलु पशु र वन्यजन्तुले एउटै भूदृश्य साझा गर्दै आएका छन्। यसमा स्थानीय ज्ञान, धार्मिक विश्वास, पर्यटन, बजार अर्थतन्त्र र जलवायु परिवर्तनले समेत प्रत्यक्ष प्रभाव पारिरहेका छन्। अर्थात् हिमाल केवल प्रिडेटर–प्रे प्रणाली होइन। यो प्रिडेटर–प्रे–पिपुल्स प्रणाली हो।

यही कारणले लोक्टा–भोल्टेरा मोडल गलत होइन, तर हिमालको सामाजिक–पारिस्थितिक यथार्थलाई पूर्ण रूपमा व्याख्या गर्न अपूर्ण छ। त्यसैले अब अर्को प्रश्न उठ्छ- यदि राम्रो चरनका कारण जङ्गली सिकार बढ्छ र त्यससँगै हिउँचितुवा पनि बढ्छ भने त्यसको सामाजिक मूल्य कसले तिर्छ ?

यस प्रश्नको उत्तर खोज्नु नै आधुनिक संरक्षण विज्ञानको सबैभन्दा ठूलो चुनौती हो।

अब संरक्षणको नयाँ समीकरण लेख्ने समय

बाख्रा गोठबाट छोडिएको सकुशल हिउँचितुवा ।

लोक्टा–भोल्टेरा मोडलले प्राकृतिक पारिस्थितिक प्रणालीमा सिकारी र सिकार बीचको सम्बन्धलाई अत्यन्त प्रभावकारी रूपमा व्याख्या गर्छ। तर हिमालको यथार्थ त्यसभन्दा धेरै जटिल छ। यहाँ जङ्गली सिकार, सिकारी र मानिस एउटै सामाजिक–पारिस्थितिक प्रणालीका अविभाज्य अङ्ग हुन्। त्यसैले हिमालको संरक्षणलाई केवल ‘सिकारी–सिकार’ को दृष्टिकोणबाट बुझ्नु पर्याप्त हुँदैन।

यदि राम्रो चरनका कारण नाउर र झारल बढ्छन् भने हिउँचितुवाको सङ्ख्या पनि बढ्न सक्छ। तर त्यसपछि अर्को प्रक्रिया शुरु हुन्छ, जसलाई परम्परागत पारिस्थितिक मोडलले समेट्दैन।

सबै हिउँचितुवाले एउटै गुणस्तरको क्षेत्र पाउँदैनन्। युवा चितुवाले नयाँ क्षेत्र खोज्नुपर्छ। वृद्ध वा कमजोर चितुवाले कम जोखिम भएको सिकार रोज्न सक्छ। कतिपय अवस्थामा गोठमा राखिएका बाख्रा र भेडा जङ्गली सिकारभन्दा धेरै सजिला लक्ष्य बन्छन् (Thapa et al., 2023)

यसरी एउटा नयाँ चक्र सुरु हुन्छ :

चरन सुधारिन्छ जङ्गली सिकार बढ्छ हिउँचितुवा बढ्छ घरेलु पशुमाथि आक्रमण बढ्छ किसानको आर्थिक क्षति बढ्छ संरक्षणप्रतिको असन्तुष्टि बढ्छ।

यही बिन्दुबाट संरक्षणको प्रश्न जैविक मात्र रहँदैन, सामाजिक पनि बन्छ।

प्रविधिले केही समय मद्दत गर्छ, तर स्थायी समाधान होइन

मानव–हिउँचितुवा द्वन्द्व कम गर्न नेपालका हिमाली क्षेत्रमा फक्सलाइट, सौर्य बत्ती, विद्युतीय बार, सिकारी–प्रतिरोधी गोठ, जीपीएस कलर र निगरानी क्यामेरा जस्ता विभिन्न प्रविधि प्रयोग गरिएका छन्। यी उपायले केही हदसम्म सकारात्मक परिणाम दिएका पनि छन्।

विशेषगरी फक्सलाइटले राति अनियमित रूपमा झिलिमिली बत्ती बालेर मानिसको उपस्थिति भएको भ्रम सिर्जना गर्छ। शुरुका दिनमा हिउँचितुवाले यस्तो प्रकाशलाई सम्भावित जोखिमका रूपमा लिन्छ र गोठनजिक आउन हिचकिचाउँछ।

तर वन्यजन्तु केवल सहज प्रवृत्तिबाट मात्र चल्दैनन्; उनीहरू सिक्छन्, अनुभवबाट व्यवहार परिवर्तन गर्छन् र जोखिमको पुनर्मूल्याङ्कन पनि गर्छन्।

यदि कुनै हिउँचितुवाले पटक–पटक फक्सलाइट देख्यो तर त्यहाँ मानिस, कुकुर वा कुनै वास्तविक खतरा नभएको अनुभव गर्‍यो भने उसले त्यो बत्तीलाई सामान्य वस्तुका रूपमा लिन थाल्छ। संरक्षण जीवविज्ञानमा यसलाई हबिटुएसन (अभ्यस्तीकरण) भनिन्छ।

यही कारणले फक्सलाइट जस्ता प्रविधिको प्रभाव प्रायः अल्पकालीन हुन्छ। फू गाउँको घटनामा पनि फक्सलाइट जडान गरिएको गोठमै हिउँचितुवाले प्रवेश गरेको थियो (Thapa, 2021)

यसले फक्सलाइट निरर्थक छ भन्ने होइन, तर एउटै प्रविधिमा आधारित संरक्षण रणनीति दीर्घकालीन समाधान हुन सक्दैन भन्ने स्पष्ट सङ्केत गर्छ।

समाधान एउटै उपाय होइन, बहुआयामिक व्यवस्थापन हो

हिमालको अनुभवले देखाउँछ कि कुनै पनि प्रविधिले एक्लै मानव–वन्यजन्तु द्वन्द्व समाधान गर्न सक्दैन। समाधान बहुआयामिक व्यवस्थापनमा छ।

यसका प्रमुख आधार हुन् :

  • बलियो र सिकारी–प्रतिरोधी गोठ निर्माण,
  • राति सबै पशुलाई सुरक्षित रूपमा एउटै गोठमा राख्ने व्यवस्था,
  • अनुभवी गोठालो र गोठालो कुकुरको प्रयोग,
  • चरन क्षेत्रको जोखिम मूल्याङ्कन,
  • मौसमी चरन व्यवस्थापन,
  • छिटो, पारदर्शी र न्यायोचित क्षतिपूर्ति,
  • पशु बीमा,
  • स्थानीय समुदायको प्रत्यक्ष सहभागिता।

यी उपायहरू अलग–अलग होइनन्; एकअर्काका पूरक हुन्। स्थानीय परिस्थिति अनुसार यिनको संयोजन नै दीर्घकालीन रूपमा प्रभावकारी हुन्छ (Thapa et al., 2023)

अब केवल ‘इकोलोजिकल क्यारिङ क्यापासिटी’ पर्याप्त छैन

संरक्षण विज्ञानमा हामी प्रायः ‘इकोलोजिकल क्यारिङ क्यापासिटी’ अर्थात् कुनै वासस्थानले कति वटा वन्यजन्तु धान्न सक्छ भन्ने प्रश्नमा केन्द्रित हुन्छौं।

तर हिमालले अर्को प्रश्न पनि सोधिरहेको छ- स्थानीय समाजले कति क्षति सहन सक्छ ?

यदि कुनै क्षेत्रमा जैविक हिसाबले ३० वटा हिउँचितुवा बस्न सक्छन् तर त्यसका कारण प्रत्येक वर्ष पशुपालकले असहनीय आर्थिक क्षति बेहोर्नुपर्छ भने संरक्षणप्रतिको सामाजिक समर्थन कमजोर हुन सक्छ। यही अवस्थालाई बुझ्न ‘सोसल क्यारिङ क्यापासिटी’ को अवधारणा महत्त्वपूर्ण हुन्छ।

संरक्षणको दीर्घकालीन सफलता वन्यजन्तुको वहन क्षमताले मात्र होइन, मानव समाजको सहनशीलता र विश्वासले पनि निर्धारण गर्छ।

संरक्षणको केन्द्रमा मानिस किन हुनुपर्छ ?

नेपालले बाघ, गैंडा र हिउँचितुवा जस्ता करिश्माई प्रजातिको संरक्षणमा उल्लेखनीय सफलता हासिल गरेको छ। यो उपलब्धि महत्त्वपूर्ण छ र यसमा गर्व गर्न सकिन्छ। तर अब संरक्षण अर्को चरणमा प्रवेश गरिसकेको छ।

पहिलो चरणमा हाम्रो लक्ष्य थियो— वन्यजन्तुलाई लोप हुनबाट बचाउने।

अब दोस्रो चरणको लक्ष्य हुनुपर्छ— वन्यजन्तु र मानिस बीचको सहअस्तित्वलाई दिगो बनाउने।

यदि संरक्षण कार्यक्रमले स्थानीय समुदायलाई साझेदार बनाउन सकेन भने दीर्घकालीन रूपमा संरक्षणको सामाजिक आधार कमजोर हुन सक्छ। त्यसैले संरक्षणको सफलता अब केवल प्रजाति पुनरुत्थानले होइन, सहअस्तित्व पुनरुत्थानले पनि मापन हुनुपर्छ।

सिकारी–सिकार–मानिस : हिमालका लागि नयाँ दृष्टिकोण

एक शताब्दीअघि लोक्टा–भोल्टेरा मोडलले सिकारी र सिकार बीचको सम्बन्ध बुझ्न नयाँ आधार दियो। तर आज हिमालले हामीलाई अर्को पाठ सिकाइरहेको छ।

हिमालमा संरक्षणको समीकरण दुई पात्रको होइन, तीन पात्रको हो— सिकारी–सिकार–मानिस ।

यस दृष्टिकोणका तीन आधारभूत स्तम्भ छन् :

  • पहिलो, स्वस्थ वासस्थान र पर्याप्त जङ्गली सिकार।
  • दोस्रो, सुरक्षित जीविकोपार्जन— घरेलु पशुको सुरक्षा, क्षतिपूर्ति, बीमा र स्थानीय अर्थतन्त्रको संरक्षण।
  • तेस्रो, स्थानीय समुदायको निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता, स्थानीय ज्ञानको सम्मान र संरक्षणबाट न्यायोचित लाभ।

यी तीन आधारमध्ये कुनै एउटा कमजोर भयो भने संरक्षणको सन्तुलन पनि कमजोर हुन्छ।

निष्कर्ष

फू गाउँमा एउटै रातमा मारिएका ४४ वटा बाख्रा केवल एउटा स्थानीय घटना थिएन। त्यो हिमालको संरक्षण नीतिका लागि एउटा गम्भीर सन्देश थियो।

हामीले हिउँचितुवालाई जोगाउनुपर्छ, तर पशुपालकलाई असुरक्षित बनाएर होइन। हामीले जङ्गली सिकारको संरक्षण गर्नुपर्छ, तर त्यसको सामाजिक परिणामलाई बेवास्ता गरेर होइन। हामीले आधुनिक प्रविधि अपनाउनुपर्छ, तर स्थानीय ज्ञान, परम्परागत पशुपालन प्रणाली र समुदायको भूमिकालाई कमजोर बनाएर होइन।

अन्ततः संरक्षण भनेको वन्यजन्तु बचाउने कार्यक्रम मात्र होइन; यो प्रकृति र मानिस बीचको विश्वास जोगाउने प्रक्रिया हो।

यदि हामीले संरक्षणलाई केवल ‘सिकारी–सिकार’ को समीकरणमा सीमित राख्यौं भने हिमालको सबैभन्दा महत्त्वपूर्ण पात्र— मानिसलाई बिर्सनेछौं। अब संरक्षण विज्ञानले नयाँ समीकरण लेख्ने समय आएको छ- सिकारी–सिकार–मानिस ।

(विगत तीन दशकदेखि हिउँचितुवाको अध्ययन तथा संरक्षण कार्यमा सक्रिय लेखक वन्यजन्तु पारिस्थितिकीविद् हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?