+
+
Shares

जनावर खानकै बनेका लागि हुन् ?

संसारमा तथाकथित गुरु, धर्मशास्त्री र नैतिकवानहरू नै पाखण्डले भरिएका छन्

गिरिजा प्रसाद पनेरू गिरिजा प्रसाद पनेरू
२०८३ असोज २ गते १७:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लेखमा पशुहरूलाई खानकै लागि बनेका हुन् भन्ने तर्कलाई मनोविज्ञान, सामाजिक संस्कार, स्वार्थ र अन्धविश्वासले सही ठहर्‍याइने भनिएको छ।

‘जनावर त खानकै बनेका लागि हुन् ।’ अक्सर मानिसहरू खसी, बाख्रा, कुखुरा, भैंसीलगायत पशुपन्छीको मासु खाने विषयमा यसप्रकारको तर्क दिने गर्दछन् । सुन्दा यो वाक्य सामान्य लागे पनि गहिरिएर हेर्ने हो भने त्यसका पछाडि उनीहरूको गहिरो मनोविज्ञान, लामो समयदेखि चल्दै आएको सामाजिक संस्कार, मान्यता अनि स्वाद र स्वार्थलाई सही ठहर्‍याउने प्रवृत्ति स्पष्ट देखिन्छ ।

एक शताब्दी अघि मात्रै पनि महिलालाई जिउँदै आगोमा जलाइन्थ्यो । १९७७ सालको असार २५ मा सती प्रथाको अन्त्य भएको घोषणा चन्द्रशमशेरले गरे । प्रारम्भमा केही अन्धविश्वासीहरूले चन्द्रशमशेरको यस कार्यको विरोध गरेका थिए ।

आजभन्दा १६१ वर्षअघि अमेरिकामा दास प्रथा हुँदा, त्यसलाई पनि सामान्य मानिन्थ्यो । यसको सन् १८६५ मा औपचारिक रूपमै अन्त्य हुनुअगाडि १९६० देखि १९६५ सम्म यसको अन्त्य हुनु हुँदैन भनेर अमेरिकामा गृहयुद्ध नै भएको थियो ।

नेपालमा जातजातिबीच छुवाछूतका घटनाहरू अहिले पनि बेलाबखत सार्वजनिक हुने गरेका छन् । केही पौराणिक कथाको सहारा लिएर महिलामा हुने महिनावारीलाई पापको नजरले वर्णन गरिएको छ । किनभने कुनै पनि व्यक्तिलाई शोषण गर्न जहिले पनि उनिहरूलाई तिमी कमजोर छौ भन्ने मानसिकताले ग्रस्त पारिन्छ ।

जसरी महिलालाई आफ्नो स्वार्थका लागि पुरुषले तथाकथित धार्मिक ग्रन्थको सहारा लियो, त्यसरी नै मानिसले पशुलाई पनि खानकै लागि बनेका हुन् भन्ने तर्क गरिरहेका छौँ । हामी वेद–वेदान्त (उपनिषद्) लाई भन्दा तथाकथित ग्रन्थको सहारा लिएर अगाडि बढिरहेका छौँ किनकि त्यहाँ सत्य प्रकट हुन्छ स्वार्थ पूर्ति हुँदैन ।

विगतमा जात र लिंगका आधारमा भेदभाव भयो र त्यसको लागि सामाजिक आन्दोलन भए । किनकि मानिस एक चेतनशील प्राणी हो उसले विद्रोह गर्न सक्छ । तर, पशु निर्दोष छ । हो उसलाई आफ्नो प्राणको प्रेम छ । उ पनि डराउँछ । जब आफूलाई वध गर्ने थाहा हुन्छ उसको आँखा आसुले रसाउँछ । तर ऊ समाजसँग विद्रोह गर्न सक्दैन । ऊ न्यायका लागि अदालत धाउन सक्दैन । उसले आफ्नो दाइ र आमा मारिएको खबर पत्रकारलाई पठाएर मिडियाको हेडलाइन बनाउन सक्दैन ।

न त कोही सम्पादकले आफ्ना रिपोर्टरलाई भन्छ, ‘आज काठमाडौंको वधशालामा कति भैंसीका दाजुभाइ र आमा मारिए ? खोजी गर ।’ न त भन्छ, ‘ती सानी नानीको खबर के छ, जसको आमालाई बाह्र चक्के ट्रकले काठमाडौं बासीलाई मःम खुवाउन ल्याएको छ ।’

मानिसलाई पर्दा सामाजिक आन्दोलन हुन्छन् । हेडलाइन बन्छन् । तर, जनावरलाई पर्दा कसले बोल्ने ? कसले लेख्ने ?

अदालत, मिडिया, न्याय, स्वतन्त्रता भन्ने शब्द मानिसले मानिसका लागि मात्रै बनाएका हुन् । पशुका लागि के न्याय ? पशुका लागि के स्वतन्त्रता ? उ त बस मानिसको स्वादका लागि बनेको हो । यस्तै सोच्दो हो, मानिस । त्यसैले त खानकै लागि बनेको तर्क गर्छ उसले ।

अझै हिंसालाई सही ठहर्‍याउनका लागि धर्मको नाममा काटमार चलिरहेको छ । समाजका नैतिकवान भनिएका व्यक्तिहरू, धर्मशास्त्रीहरू, तथाकथित विद्वानहरू सबैलाई पूरा विश्वास छ, खसीको टाउको काटियो भने मानवको कल्याण हुनेछ । अझ कतिपय त मन्दिरमा बलि चडाउँदा जनावरले मुक्तिको बाटो रोज्ने तर्क गर्छन् । मानिसका यी तर्क सुनेर जनावरले के सोच्दा हुन् ?

यस्तै अन्धविश्वासले भरिएको समाज भएर होला हाम्रो पूर्वीय दर्शनमा आत्मज्ञानलाई सबैभन्दा उच्च स्थान दिइएको छ । किनभने संसारमा तथाकथित गुरु, धर्मशास्त्री र नैतिकवानहरू नै पाखण्डले भरिएका छन् । स्वाद र स्वार्थले मानिस निर्दयी छ र यसैको शिकार निर्दोष पशुले हुनुपरेको छ ।

नेपाल एउटा यस्तो देश हो, जहाँ पशु अर्थात मानव र जनावर समस्त प्राणीका रक्षक पशुपतिनाथ हुनुहुन्छ र यहीँ विभिन्न चाडपर्वमा अत्यधिक हिंसा हुने गरेको छ । कतिपय राजनीतिक पार्टीहरू हिन्दू धर्म बचाउन निकै लागिपरेका छन् । तर अचम्मलाग्दो कुरा हिंसामुक्त समाज निर्माण गर्ने कुनै पार्टीको एजेन्डा छैन।

कहता हूँ कहि जात हूँ, कहूँ जो मान हमार।
जाका गला तुम काटिहो, सो फिर काटि तुम्हार।।
-संत कबिर

संसारका हरेक देशमा द्वन्द्व भएको र हरेक देशमा पशु हिंसा रहिआएको छ । संत कबिरको माथि उल्लेखित यो दोहाले पनि समाजमा चलिरहने द्वन्द्वलाई दर्साउँछ । जसले हिंसा गर्छ उसले हिंसा भोग्छ पनि । अर्थात हिंसाले हिंसा निम्त्याउँछ ।

पूर्वीय दर्शनलाई नै मान्ने हो भने हिंसामुक्त समाज निर्माण सम्भव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?