+
+
Shares

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

ऊर्जा समूह आइएनइओएसले ‘ग्रीन्स्यान्ड’ कार्बन कब्जा तथा भण्डारण (सिसिएस) परियोजनाअन्तर्गत पुरानो तेल प्लेटफर्ममुनि कार्बनडाइअक्साइड भण्डारण सुरु भएको जनाएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २ गते १६:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डेनमार्कले उत्तरी सागरमा समुद्री सतहमुनि कार्बनडाइअक्साइड भण्डारण गर्ने ग्रीन्स्यान्ड परियोजना सञ्चालनमा ल्याएको छ।
  • आइएनइओएसले ग्रीन्स्यान्डलाई युरोपेली सङ्घको पहिलो पूर्ण क्षमताको कार्बनडाइअक्साइड भण्डारणस्थल भनेको छ।
  • परियोजनाको पहिलो चरणमा निनी वेस्टको पुरानो तेल प्लेटफर्ममुनि प्रतिवर्ष चार लाख टन कार्बनडाइअक्साइड भण्डारण गरिनेछ।

२ असोज, कोपेनहेगन (रासस/एएफपी)। डेनमार्कले उत्तरी सागरमा समुद्री सतहमुनि कार्बनडाइअक्साइड भण्डारण गर्ने सुविधा सञ्चालनमा ल्याएको छ। ऊर्जा समूह आइएनइओएसले ‘ग्रीन्स्यान्ड’ कार्बन कब्जा तथा भण्डारण (सिसिएस) परियोजनाअन्तर्गत पुरानो तेल प्लेटफर्ममुनि कार्बनडाइअक्साइड भण्डारण सुरु भएको जनाएको छ।

आइएनइओएसका प्रमुख कार्यकारी डेभिड बकनलले ग्रीन्स्यान्ड युरोपेली सङ्घ (इयु) को पहिलो पूर्ण क्षमताको कार्बनडाइअक्साइड भण्डारणस्थल भएको बताए। उनका अनुसार यसले युरोपभरि यस्ता परियोजना विस्तारका लागि आधार तयार गर्नेछ।

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल (आइपिसिसी) र अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइइए) ले सिमेन्ट र स्टिलजस्ता उद्योगबाट हुने कार्बन उत्सर्जन घटाउन सिसिएस प्रविधिलाई उपयोगी उपायका रूपमा लिँदै आएका छन्। यद्यपि, यो प्रविधि जटिल र महँगो मानिन्छ।

डेनमार्कको पश्चिमी तटबाट करिब २०० किलोमिटर टाढा रहेको ग्रीन्स्यान्डको भण्डारणस्थल निनी वेस्टको पुरानो तेल प्लेटफर्ममुनि छ। परियोजनाको पहिलो चरणमा प्रतिवर्ष चार लाख टन कार्बनडाइअक्साइड भण्डारण गरिनेछ। आइएनइओएसले सन् २०३० सम्ममा क्षमता बढाएर वार्षिक ४० लाखदेखि ८० लाख टनसम्म पुर्‍याउने योजना बनाएको छ।

कार्बनडाइअक्साइड मुख्यतः डेनमार्कका बायोमिथेन उत्पादन केन्द्रबाट सङ्कलन गरी तरलीकृत अवस्थामा एस्बेर्ज बन्दरगाहबाट जहाजमार्फत भण्डारणस्थलसम्म पुर्‍याइनेछ।

युरोपेली सङ्घ (इयु) ले नेट–शून्य उद्योग ऐनअन्तर्गत सन् २०३० सम्ममा वार्षिक कम्तीमा पाँच करोड टन कार्बनडाइअक्साइड भण्डारण क्षमता विकास गर्ने लक्ष्य लिएको छ।

यसअघि छिमेकी नर्वेको ‘नर्दर्न लाइट्स’ परियोजनाले सन् २०२५ अगस्टमा समुद्रको पिँधमुनि रहेको चट्टानी तहमा कार्बनडाइअक्साइड भण्डारण सुरु गरेको थियो । इक्विनोर, शेल र टोटल इनर्जीको लगानी रहेको उक्त परियोजनाले दशकको अन्त्यसम्म वार्षिक १५ लाखदेखि ५० लाख टनसम्म भण्डारण क्षमता पुर्‍याउने योजना बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?