+
+
Shares

युवालाई विदेश होइन, विश्वको डिजिटल बजारतिर पठाऔं

नेपालले अब श्रमिक मात्र निर्यात गर्ने अर्थतन्त्रबाट सीप, सेवा, ज्ञान र सिर्जनशीलता निर्यात गर्ने अर्थतन्त्रतर्फ फड्को मार्नुपर्छ।

विज्ञान श्रेष्ठ विज्ञान श्रेष्ठ
२०८३ असोज २ गते १५:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले श्रमिक मात्र होइन, सीप, सेवा, ज्ञान र सिर्जनशीलता निर्यात गर्ने अर्थतन्त्रतर्फ फड्को मार्नुपर्ने लेखले जोड दिएको छ।
  • लेखले प्रत्येक स्थानीय तहमा डिजिटल सीप केन्द्र, विद्यालयदेखि प्रोग्रामिङ र साइबर सुरक्षा शिक्षा, तथा फ्रीलान्सर र स्टार्टअपका लागि सहज वातावरण आवश्यक रहेको बताएको छ।

नेपालको आजको ठूलो संकट बेरोजगारी मात्र होइन, रोजगारीप्रतिको हाम्रो परम्परागत सोच पनि हो । हरेक वर्ष हजारौँ युवा श्रम बजारमा प्रवेश गर्छन् । देशभित्र रोजगारी सिर्जनाको गति अपेक्षाअनुसार बढ्न सकेको छैन । उद्योग विस्तार सीमित छ र परम्परागत सेवा क्षेत्रले सबैलाई समेट्न सक्ने अवस्था छैन । फलतः धेरै युवाका लागि वैदेशिक रोजगारी विकल्पभन्दा बढी बाध्यता बन्दै गएको छ।

तर संसारमा काम गर्ने तरिका बदलिइसकेको छ ।

आज काठमाडौंमा बसेको नेपाली युवाले अमेरिकाको कम्पनीका लागि सफ्टवेयर बनाउन सक्छ । विराटनगरबाट युरोपेली ग्राहकका लागि डिजाइन गर्न सक्छ । दार्चुलामा बसेर अस्ट्रेलियाको व्यवसायलाई डिजिटल सेवा दिन सक्छ । काम गर्ने ठाउँ र बजारबीचको भौगोलिक दूरीलाई प्रविधिले धेरै हदसम्म मेटाइदिएको छ ।

त्यसैले नेपालले अब फरक प्रश्नमा बहस गर्नु आवश्यक छ– हामी युवालाई रोजगारी खोज्न विदेश पठाइरहने कि उनीहरूको सीपलाई विश्व बजारसँग नेपालमै बसेर जोड्ने ?

मेरो विचारमा नेपालको भविष्य दोस्रो बाटोमा छ ।

६८ अर्बबाट डेढ खर्ब नजिक

नेपालले सूचना प्रविधि सेवा निर्यात गर्न सक्छ कि सक्दैन भन्ने बहस अब पुरानो भइसकेको छ । नेपालले विश्व बजारमा आफ्नो क्षमता प्रमाणित गरिसकेको छ ।

एकीकृत विकास अध्ययन संस्थान (आईआईडीएस) को अध्ययनअनुसार सन् २०२२ मा नेपालबाट करिब ५१५ मिलियन अमेरिकी डलर अर्थात् झन्डै ६८ अर्ब रुपैयाँ बराबरको सूचना प्रविधि सेवा निर्यात भएको थियो । त्यसबेला नै सयभन्दा बढी आईटी कम्पनी र हजारौँ स्वतन्त्र पेशाकर्मी विश्व बजारका लागि काम गरिरहेका थिए ।

त्यसको केही वर्षमै उद्योगको आकार झन्डै दोब्बर भएको अनुमान छ । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेज कम्पनिज ले सन् २०२५ सम्म नेपालको वार्षिक आईटी सेवा निर्यात करिब एक अर्ब अमेरिकी डलर अर्थात् झन्डै १ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको अनुमान गरेको छ ।

अर्थात् केही वर्षअघिसम्म करिब ५०–७० अर्ब रुपैयाँको स्तरमा रहेको आईटी सेवा निर्यात अहिले डेढ खर्ब रुपैयाँ नजिक पुगेको छ।

यो सामान्य वृद्धि होइन । झन् महत्वपूर्ण कुरा के हो भने यो उपलब्धि ठूलो सरकारी परियोजना, विशाल अनुदान वा दशकौँ लामो सरकारी औद्योगिक रणनीतिको परिणाम मात्र होइन । यसको मुख्य चालक नेपाली युवा, उद्यमी, आईटी कम्पनी, फ्रिलान्सर र विश्व बजार खोजिरहेका निजी क्षेत्रका व्यवसाय हुन् ।

नेपालको आईटी उद्योगले पहिला बजार खोज्यो । प्रतिभा तयार गर्‍यो । ग्राहक ल्यायो । डलर कमायो । त्यसपछि मात्र राज्यले यस क्षेत्रको आकार र सम्भावनालाई गम्भीर रूपमा हेर्न थालेको हो ।

यही कारणले एउटा स्वाभाविक प्रश्न उठ्छ– पर्याप्त नीतिगत सहजीकरणबिनै डेढ खर्ब रुपैयाँ नजिक पुग्न सक्ने उद्योगलाई राज्यले साँच्चिकै प्राथमिकता दियो भने यो कहाँसम्म पुग्न सक्छ ?

मेरो विचारमा २० खर्ब रुपैयाँको आईटी अर्थतन्त्र वा निर्यात क्षमता असम्भव सपना होइन।

घोषणा होइन, वातावरण चाहिन्छ

सरकारले सूचना प्रविधिको सम्भावना नदेखेको भने होइन । सूचना प्रविधि दशक घोषणा गरिएको छ । नेपाललाई आईटी हब बनाउने लक्ष्य राखिएको छ । विगतका बजेटमा आगामी १० वर्षमा सूचना प्रविधि क्षेत्रबाट ३० खर्ब रुपैयाँ बराबरको निर्यात गर्ने र ठूलो संख्यामा प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्यसमेत सार्वजनिक गरिएको छ ।

लक्ष्य महत्वाकांक्षी हुनु राम्रो कुरा हो । तर उद्योगलाई लक्ष्यभन्दा बढी कार्यान्वयन चाहिन्छ । नेपालका आईटी कम्पनीलाई विदेशी ग्राहकसँग सम्झौता गर्न, विदेशी मुद्रा ल्याउन, विदेशमा कार्यालय वा बिक्री प्रतिनिधि राख्न, अन्तर्राष्ट्रिय भुक्तानी गर्न, दक्ष विदेशी जनशक्तिसँग सहकार्य गर्न, बौद्धिक सम्पत्ति सुरक्षित गर्न र विश्व बजारमा प्रतिस्पर्धा गर्न सहज वातावरण चाहिन्छ ।

फ्रीलान्सरले विदेशबाट कमाएको पैसा नेपाल ल्याउँदा सहज प्रक्रिया चाहिन्छ । स्टार्टअपलाई कम्पनी सुरु गर्न, बन्द गर्न, लगानी ल्याउन र विस्तार गर्न महिनौँ सरकारी कार्यालय धाउनुपर्ने अवस्था हुनु हुँदैन ।

राज्यको भूमिका सफ्टवेयर कम्पनी चलाउनु होइन । नेपाली सफ्टवेयर कम्पनीलाई संसारभर कम्पनी चलाउन सक्ने वातावरण बनाउनु हो ।

डिग्री मात्र सफलताको बाटो होइन

नेपालमा अझै पनि राम्रो शिक्षा भन्नाले चार वर्षे स्नातक तह र त्यसपछि जागिर भन्ने बुझाइ बलियो छ । विश्वविद्यालय शिक्षाको आफ्नै महत्व छ । तर सूचना प्रविधिको क्षेत्रमा बजार प्रवेशको एकमात्र बाटो डिग्री होइन ।

सबै युवाले १० वा २० लाख रुपैयाँ खर्च गरेर चार वर्ष औपचारिक शिक्षा लिन सक्दैनन् । त्यसको अर्थ उनीहरूले आईटी क्षेत्रमा भविष्य बनाउन सक्दैनन् भन्ने होइन । छोटो अवधिका सीपमूलक कार्यक्रम, व्यावसायिक प्रमाणपत्र, निरन्तर अभ्यास र राम्रो पोर्टफोलियोले पनि विश्व बजारको ढोका खोल्न सक्छ । प्रोग्रामिङ, क्लाउड कम्प्युटिङ, साइबर सुरक्षा, डेटा विश्लेषण, कृत्रिम बुद्धिमत्ता, यूआई/यूएक्स डिजाइन, डिजिटल मार्केटिङ, एनिमेसन र भिडियो उत्पादनजस्ता क्षेत्रमा विश्वव्यापी माग छ ।

विश्वको आईटी बजारले एउटा महत्वपूर्ण प्रश्न सोध्छ: तपाईंले कति वर्ष पढ्नुभयो मात्र होइन, तपाईं के गर्न सक्नुहुन्छ ? हाम्रो शिक्षा प्रणालीले यही परिवर्तनलाई आत्मसात् गर्नुपर्छ ।

प्रत्येक स्थानीय तहमा डिजिटल सीप

नेपालको आईटी क्रान्ति काठमाडौंमा मात्र सीमित हुनु हुँदैन । सरकारले प्रत्येक स्थानीय तहमा प्रभावकारी डिजिटल सीप केन्द्र स्थापना गर्ने लक्ष्य लिन सक्छ। त्यसका लागि सबै भवन र पूर्वाधार सरकारले नै बनाउन आवश्यक छैन । स्थानीय सरकार, निजी तालिम संस्था, विद्यालय, विश्वविद्यालय, आईटी कम्पनी र उद्योगबीच सहकार्य गर्न सकिन्छ।

तर त्यहाँ सामान्य कम्प्युटर चलाउन सिकाउने तालिम मात्र दिएर हुँदैन । बजारमा बिक्री हुने सीप सिकाउनुपर्छ । प्रोग्रामिङ, डेटा, साइबर सुरक्षा, क्लाउड, एआई, डिजाइन, डिजिटल मार्केटिङ र भिडियो सम्पादनसँगै व्यावसायिक अंग्रेजी, ग्राहकसँग संवाद, पोर्टफोलियो निर्माण, रिमोट रोजगारी तथा फ्रीलान्सिङसम्बन्धी व्यवहारिक ज्ञान आवश्यक छ ।

विश्व बजारमा आफ्नो प्रोफाइल कसरी बनाउने ? ग्राहकलाई प्रस्ताव कसरी पठाउने ? सम्झौता गर्दा के हेर्ने ? विदेशबाट कानुनसम्मत रूपमा पैसा कसरी ल्याउने ? बौद्धिक सम्पत्ति कसरी जोगाउने ? यी सबै आधुनिक सीप शिक्षाका हिस्सा हुन् ।

विद्यालयबाटै सिर्जनाकर्ता बनाऔँ

सूचना प्रविधिको शिक्षा स्नातक तहमा पुगेपछि सुरु गर्ने विषय होइन । विद्यालय तहदेखि डिजिटल साक्षरता, कम्प्युटेसनल थिङ्किङ, आधारभूत प्रोग्रामिङ, साइबर सुरक्षा, समस्या समाधान र जिम्मेवार प्रविधि प्रयोग सिकाउन सकिन्छ । कक्षा १० पूरा गर्दासम्म प्रत्येक विद्यार्थीले कम्तीमा एउटा डिजिटल कामको नमुना तयार गर्न सक्ने वातावरण किन नबनाउने ?

कसैले वेबसाइट बनाओस् । कसैले सानो एप बनाओस् । कसैले डिजाइन गरोस् । कसैले भिडियो बनाओस् । कसैले डेटा विश्लेषण गरोस् । कसैले एआई उपकरण प्रयोग गरेर समस्या समाधान गर्न सिकोस् ।

सबै प्रोग्रामर बन्नुपर्छ भन्ने होइन । तर सबैले प्रविधिलाई उपभोग गर्ने मात्र होइन, त्यसबाट मूल्य सिर्जना गर्न सक्ने क्षमता विकास गर्नुपर्छ ।

शरीर होइन, सीप निर्यात गरौँ

रेमिट्यान्सले दशकौँदेखि नेपालको अर्थतन्त्रलाई ठूलो सहारा दिएको छ । तर त्यसका लागि लाखौँ नेपालीले आफ्नो परिवार र देश छाडेर विदेशमा श्रम गर्नुपरेको छ । डिजिटल अर्थतन्त्रले हामीलाई फरक अवसर दिन्छ।

मानिस नेपालमै बस्न सक्छ । परिवार नेपालमै हुन्छ । खर्च नेपालमै हुन्छ । कर नेपालमै तिरिन्छ । तर उसको ग्राहक अमेरिका, बेलायत, जापान, अस्ट्रेलिया वा संसारको कुनै पनि देशमा हुन सक्छ । यही नयाँ अर्थतन्त्र हो ।

युवालाई ‘देश नछोड’ भनेर सम्झाएर उनीहरू रोकिने छैनन् । देशमै बसेर विश्वस्तरको आम्दानी गर्ने अवसर दिनुपर्छ ।

काठमाडौंमा बसेको नेपाली युवाले अमेरिकी कम्पनीबाट आम्दानी गर्न सक्छ भने रोजगारीका लागि उसलाई अमेरिका पुग्नैपर्ने बाध्यता किन रहन्छ र ?‍ विराटनगरमा बसेकी युवतीले युरोपेली कम्पनीका लागि सफ्टवेयर बनाउन सक्छिन् भने उनको प्रतिभाको मूल्यांकन राहदानीले होइन, सीपले किन नगर्ने ? दार्चुलामा बसेको युवाले इन्टरनेटमार्फत विश्व बजारमा आफ्नो सेवा बेच्न सक्छ भने उसको भौगोलिक दूरीलाई आर्थिक कमजोरी किन मानिरहने ?

नेपालले अब श्रमिक मात्र निर्यात गर्ने अर्थतन्त्रबाट सीप, सेवा, ज्ञान र सिर्जनशीलता निर्यात गर्ने अर्थतन्त्रतर्फ फड्को मार्नुपर्छ।

सफ्टवेयर निर्यात गरौँ।

डिजिटल सेवा निर्यात गरौँ।

ज्ञान र सिर्जनशीलता निर्यात गरौँ।

हाम्रो भविष्य विमानस्थलको प्रस्थान कक्षमा मात्र लेखिनु पर्दैन । त्यो नेपाली युवाको हातमा रहेको ल्यापटप र त्यसले जोड्ने विश्व बजारमा पनि लेखिन सक्छ।

युवालाई विदेश होइन, विश्व बजारतिर पठाऔँ । शरीर होइन, सीप निर्यात गरौँ।

(लेखक नेपाल चेम्बर अफ कमर्सका आईटी प्रमुख एवं सफ्टएड ग्रुपका संस्थापक हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?