+
+
Shares

देउवा समूहले धर्मनिरपेक्षताबारे धारणा बदल्न खोजेको हो ?

कांग्रेसको संस्थापनइतरले हिन्दू, बौद्ध, किराँत, प्राकृत धर्म लगायतका धर्मलाई राष्ट्रिय धर्मको रूपमा संरक्षण गर्ने प्रतिबद्धता गरेको छ । सनातन धर्मलाई राष्ट्रिय पहिचान बनाउने प्रतिबद्धता गरेको छ । धर्मनिरपेक्ष वा सापेक्ष कहाँ उभ्याउनेबारे ठोस निर्णय लिएको छैन ।

लिलु डुम्रे लिलु डुम्रे
२०८३ साउन ३१ गते २०:५५
Listen News
0:00
0:00
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको संस्थापनइतर पक्षले सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने निर्णय गर्दै हिन्दू धर्मको संरक्षणमा जोड दिएको छ ।
  • पूर्वसभापति शेरबहादुर देउवाले आफू हिन्दू भएको दोहोर्‍याउँदै धार्मिक स्वतन्त्रताको पक्षमा रहेको कुरा सार्वजनिक मञ्चबाट व्यक्त गरेका छन्।
  • कांग्रेसका नेताहरूले सनातन धर्मको संरक्षणबारे पार्टीको पछिल्लो निर्णय सही रहेको भन्दै संविधान संशोधनमार्फत यसलाई स्थापित गर्नुपर्ने तर्क अघि सारेका छन् ।

३१ साउन, काठमाडौं । कांग्रेसले २०८० साल फागुनमा गरेको महासमिति बैठकस्थलमा एउटा पक्षले हिन्दू राष्ट्रको हस्ताक्षर अभियान चलाएको थियो ।

नेता शंकर भण्डारीको अगुवाइमा भएको हस्ताक्षर अभि यानमा हिन्दूराष्ट्रको पक्षमा एक हजार ६१ जना महासमिति सदस्यले हस्ताक्षर गरेका थिए । कांग्रेसका नेताहरूबाट सुरु गरिएको वैदिक सनातन हिन्दूराष्ट्र स्थापना अभियान संकलित हस्ताक्षर तत्कालीन सभापति शेरबहादुर देउवालाई बुझाइएको थियो। उक्त अभियानका सह-संयोजक लोकेश ढकालले हिन्दूराष्ट्र पक्षमा तत्कालीन समयमा ४२ जना केन्द्रीय सदस्यहरूले हस्ताक्षर गरेको दाबी गरेका थिए ।

महासमिति हलको परिसरमा ब्यानरसहित अभियान चलाइएको थियो । हिन्दूराष्ट्रको एजेण्डा महासमिति बैठकमा राख्नुपर्ने अडान अभियानकर्मीले लिएका थिए ।

तर, महासमिति बैठकमा हिन्दूराष्ट्रको एजेण्डालाई छलफलका लागि त्यसबेलाका सभापति देउवाले प्रवेश गराएनन् । महासमिति बैठकका ११ वटा निर्णय सार्वजनिक हुँदा हिन्दूराष्ट्रको विषय कहिँकतै उल्लेख गरिएन ।

कांग्रेस हिन्दूराष्ट्रको पक्षमा उभिनुपर्ने विषय त्यसअघि पनि उठ्दै आएको हो । अघिल्लो महासमिति बैठक (२०७५) मा पनि हिन्दूराष्ट्रको पक्षमा महासमितिका ७१४ सदस्यले हस्ताक्षर गरेका थिए ।

त्यसबेला महासमिति सदस्य सहित २२ जना केन्द्रीय सदस्यले हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षर गरेको तत्कालीन समयमा हस्ताक्षरका अगुवा राजुराज जोशीले जानकारी गराएका थिए ।

महासमिति, केन्द्रीय समिति, सार्वजनिक मञ्चमा केही नेताहरूले हिन्दूराष्ट्रका पक्षमा उभ्याउँदै आएपनि छलफलका लागि औपचारिक एजेण्डा पार्टीले बनाएन ।

पूर्वसभापति शेरबहादुर देउवा पक्षले आव्हान गरेको तीन दिने भेला/सम्मेलनको निर्णयमा ‘हिन्दूराष्ट्र’ नभनिए पनि हिन्दू धर्मलाई महत्वमा राखिएको नेताहरुले बताएका छन् । निर्णयमा भनिएको छ,‘नेपालको सनातनदेखि चलि आएको धर्म संस्कृति हाम्रो राष्ट्रिय पहिचान पनि हो । नेपालमा रही आएको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र हरेक व्यक्ति र धार्मिक समुदायको आफ्नो धर्म मान्ने धार्मिक स्वतन्त्रतालाई सुनिश्चित देखि चलिआएको हिन्दू, बौद्ध, किराँत, प्राकृत धर्मको संरक्षण गर्ने दायित्वलाई दृष्टिगत गरी सनातन धर्मलाई राष्ट्रिय पहिचान रुपमा राष्ट्रलाई अघि बढाउने प्रतिबद्धता गर्नेछ ।’

संस्थापनइतरले भेला/सम्मेलनको संयोजक बनाएका डा.शशांक कोइराला स्वयं धर्मनिरपेक्षताको विपक्षमा छन् । राष्ट्र धर्म सापेक्ष/निरपेक्ष नहुने तर धार्मिक स्वतन्त्रतासहितको राष्ट्र हुने उनले बताउँदै आएका छन् । नेपाललाई धर्म निरपेक्ष बनाउनु दुर्भाग्य भएको कोइरालाले विगतमा भन्दै आएका छन् ।

उनले विगतमा भन्दै आएका छन्,‘ धर्म न निरपेक्ष हुन्छ, न धर्म सापेक्ष हुन्छ । धर्म स्वतन्त्र हुन्छ । दुर्भाग्यवश हामीले धर्म निरपेक्ष बनायौं ।’

संविधानको धारा २६ मा धार्मिक स्वतन्त्रताको हकको व्यवस्था छ । उक्त धाराको उपधारा (१) मा ‘धर्मको आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफ्नो आस्था अनुसार धर्मको अबलम्बन, अभ्यास र संरक्षणको स्वतन्त्रता हुने’ उल्लेख छ । संविधानको धारा ४ मा नेपाल धर्मनिरपेक्ष राष्ट्र हुने उल्लेख गरिएको छ । उक्त धारा अन्तर्गत नेपाललाई ‘नेपाल स्वतन्त्र, अभिभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य’ भनिएको छ ।

राज्यले सनातन धर्म संस्कृति संरक्षण गर्ने र धर्म निरपेक्षता भन्नु विरोधाषपूर्ण रहेको संस्थापनइतरका नेता डा. महत बताउँछन् । उनी भन्छन्,‘संविधानमा धार्मिक स्वतन्त्रताको कुरामात्रै उठाएको हो । सबै पार्टीसँग सहमति जुटाउनु पर्ने भएकाले सनातन धर्म संस्कृतिलाई राज्यले संरक्षण गर्ने भन्यौं । सँगै धर्म निरपेक्षता पनि लेख्यौं, यो विरोधाभाषपूर्ण थियो ।’

संस्थापनइतरको तीन दिने भेला/सम्मेलनले ‘सनातन धर्मलाई राष्ट्रिय पहिचानका रुपमा अघि बढाउने प्रतिबद्धता’ गरेको छ । नेपालका सनातन धर्महरूमा हिन्दू, बौद्ध, किराँत लगायतलाई चिनिन्छ । हिन्दू धर्म मान्ने जनसंख्या ८१ प्रतिशत रहेको हुँदा सनातन धर्मको कुरा प्रमुखत हिन्दू धर्मावलम्बी बहस बढी हुन्छ ।

सनातन धर्मलाई राष्ट्रिय पहिचानका रुपमा अथवा राष्ट्रिय धर्म भनेर राष्ट्रिय पहिचानका रुपमा निर्णय गरिएको पूर्व प्रवक्ता महत बताउँछन् । उनी भन्छन्,‘यसरी स्पष्ट रुपमा पहिला गरेको थिएन । धर्म निरपेक्षता, धार्मिक स्वतन्त्रतामात्रै भन्थ्यौं । अब यो होइन, सनातन धर्मलाई हाम्रो राष्ट्रिय पहिचानका रुपमा अगाडि बढाउने भन्ने कुरा भयो ।’

संविधान संशोधनको बेला यो विषयलाई बहसमा लानुपर्ने कांग्रेस संस्थापनइतरको तर्क छ । जनतमत संग्रह वा छलफल जुन विधिबाट टुंगो लगाएपनि त्यसका लागि तयार रहेको महतले बताए । महत भन्छन्,‘सनातन धर्मलाई हाम्रो राष्ट्रिय पहिचानका रुपमा अगाडि बढाउने निर्णय गर्‍यौं । संविधानमै लेख्नका लागि कुन बाटो जानु पर्छ भन्ने कुरा त पछिको कुरा हो ।’

भेला/सम्मेलनको अन्तिम दिन धर्मको विषयले प्राथमिकता पायो । पूर्व सभापति देउवाले जोड दिएर आफू हिन्दू भएको दोहोर्‍याए । आफू धार्मिक स्वतन्त्रता हुनुपर्छ पक्षमा रहेको बताउँदै देउवाले भने,‘नेपाल के हुने, के नहुने त नेपाली जनतामा भर पर्छ । तर, हिन्दूलाई तँ हिन्दू होइनस् भन्न पाइँदैन । म हिन्दू हो, हिन्दू, हिन्दू, हिन्दू हो ।’

हिन्दूराष्ट्रलाई पार्टीले एजेण्डा बनाउनुपर्ने माग गर्दै आएका कांग्रेस नेताहरू संस्थापनइतरको आजको निर्णयबाट उत्साहित देखिएका छन् ।

वैदिक सनातन हिन्दूराष्ट्रको पक्षमा पार्टी बैठक र सार्वजनिक रुपम बोल्दै आएका नेता शंकर भण्डारीले सनातन धर्मको संरक्षण भनेपछि स्वतः हिन्दू धर्म पहिलो हुने बताए ।

भण्डारी भन्छन्,‘वैदिक सनातन भनेकै हिन्दूराष्ट्र हो । कांग्रेसले ढिलो गरी निर्णय लियो । सही निर्णय लिएको छ ।’

हिन्दूराष्ट्रको पक्षमा निरन्तर बोल्दै आएका राप्रपाका पूर्व नेता रवीन्द्र मिश्र धर्मका बारेमा देउवा पक्षले स्पष्ट धारणा बाहिर नल्याएको बताउँछन् ।

संस्थापनइतरले भेला/सम्मेलनबाट गरेको निर्णय लगत्तै सामाजिक सञ्जालबाट जवाफ खोजेका छन् । ‘सनातन धर्मलाई राष्ट्रिय पहिचानको रुपमा अघि बढाउने’ भनिएको छ । त्यो भनेको के हो ? वाहियातीको सीमा हुन्छ । संसारमा कुनै पनि विद्वान या सर्वसाधारणलाई ‘संसारको ४ प्रमुख धर्म के हुन् ? भनेर प्रश्न गर्यो भने सबैको जवाफ एउटै हुन्छः हिन्दू, बौद्ध, इसाई र इस्लाम,’ देउवा पक्षलाई मिश्रको प्रश्न छ,‘हामीले सनातनदेखि चलिआएको हिन्दू, बौद्ध, किरात र प्राकृत धर्म भनेर व्याख्या गर्नु एउटा कुरा हो । तर सनातन धर्म भनेर संसारभरीका मानिसले के बुझ्ने ? कि सबैलाई शब्दकोषमा अर्थ खोज्नु भन्ने ? सिधै ‘हिन्दू अधिराज्य’ भन्ने आँट किन नआएको ?’

लेखक
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?