News Summary
Generated by OK AI. Editorially reviewed.- कांग्रेसको शेरबहादुर देउवा समूहको भेलामा धर्मसम्बन्धी प्रस्तावलाई लिएर नेता विमलेन्द्र निधि र प्रकाशशरण महतबीच मञ्चमै कागज खोसाखोस भएको छ।
- सनातन धर्मलाई राष्ट्रिय पहिचान बनाउने प्रस्तावको भाषामा निधिले असहमति जनाउँदै धार्मिक स्वतन्त्रताको शब्द मात्र प्रयोग गर्नुपर्ने धारणा राखेका थिए।
- अन्ततः भेलाले सनातन धर्मको संरक्षणलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रस्ताव पारित गरेको छ र देउवाले सबै धर्मको सम्मान गर्ने प्रतिबद्धता जनाएका छन्।
३१ साउन, काठमाडौं । कांग्रेसको शेरबहादुर देउवा समूहको भेलामा धर्मसम्बन्धि प्रस्ताव पारित गर्ने विषयमा मञ्चमै नेता विमलेन्द्र निधि र प्रकाशशरण महतबीच कागज खोसाखोस भएको छ ।
नेता दीपक कुइँकेलले भेलाले पारित गर्ने प्रस्ताव रोस्ट्रमबाट पेश गरिरहँदा नेता निधि उठेर रोस्ट्रमतर्फै गएका थिए । त्यसबेला उनीहरूबीच कागज खोसाखोस भएको थियो । प्रकाशशरणले निधिलाई रोकेर मञ्चमै फर्काएका थिए ।
उनीहरूबीचको विवाद धर्मसम्बन्धी प्रस्ताव पारित गर्ने विषयमा भएको थियो । प्रस्ताव प्रकाशशरण महत लगायतले तयार गरेका थिए । उक्त बुँदाको भाषामा निधिको आपत्ति रह्यो ।
एक नेताका अनुसार भेलाले महत लगायतका नेताहरूले नै तयार गरेको प्रस्ताव पारित गर्यो । जुन प्रस्तावमा सनानत धर्मलाई राष्ट्रिय पहिचान बनाउने कुरा उल्लेख छ ।
निधि चाहिँ धार्मिक स्वतन्त्रता भन्ने मात्र शब्द प्रयोग गर्ने पक्षमा रहेका थिए ।
यसअघि कांग्रेसले नेपाल धार्मिक स्वतन्त्रता भनेर सिधा बोल्दै आएकोले यसभन्दा अन्यथा जान नहुने खालको उनको धारणा थियो ।
तर भेलाले सनातन धर्मबारे थप व्याख्यासहित बोल्यो । भेलाबाट पारित प्रस्तावमा छ-‘नेपालको सनातनदेखि चली आएको धर्म संस्कृति हाम्रो राष्ट्रिय पहिचान पनि हो ।
नेपालम रहि आएको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र हरेक व्यक्ति र धार्मिक समुदायको आफ्नो धर्म मान्ने धार्मिक स्वतन्त्रतालाई सुनिश्चितदेखि चलिआएको हिन्दू, बौद्ध, किरात र प्राकृत धर्मको संरक्षण गर्ने दायीत्वलाई दृष्टिगत गरि सनातन धर्मलाई राष्ट्रिको पहिचान रुपमा राष्ट्रलाई अघि बढाउने प्रतिवद्धता गर्नेछ’ देउवा समूहले पारित गरेको प्रस्तावमा छ ।
भेलामा शेरबहादुर देउवाले आफू हिन्दू भएको र तर सबै धर्म मान्ने स्वतन्त्रतालाई सम्मान गर्ने बताए ।
प्रतिक्रिया 4