+
+
Shares
ओलीलाई नविनाको प्रश्न :

‘मन पर्दा छोराछोरी, मन नपर्दा आवारा ?’

उहाँ फेलर भइसकेको अवस्था छ । जनताले उहाँलाई ५० हजार मतान्तरले हराइदिए । उहाँ मात्रै होइन, उहाँले टिकट बाँडेको नेताहरूले हारेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३१ गते १४:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठन अभियानमा लागेका नेताहरूलाई \'आवारा\' भन्दै पार्टी छोड्न चेतावनी दिएका छन् ।
  • अध्यक्ष ओलीको उक्त अभिव्यक्तिको पार्टीका युवा नेताहरूले चर्को विरोध गर्दै सामाजिक सञ्जालमा \'म आवारा\' अभियान सुरु गरेका छन् ।
  • नेतृ नविना लामाले पार्टीको नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको माग गर्दै आफूहरूले राजनीतिक संस्कारअनुसार नै बहस अगाडि बढाएको बताइन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठन अभियान चलाउनेहरूलाई ‘आवारा’ भनेपछि नेताहरूले चर्को आपत्ति जनाएका छन् । सामाजिक सञ्जालहरूमा ‘म आवारा’ अभियान नै चलेको छ । उनीहरूले पुनर्गठनको बहस चलाउनेहरूलाई आवारा भन्न नमिल्ने तर्क गरिरहेका छन् । ओलीले पुनर्गठन अभियानमा लागेकाहरूलाई पार्टी छोड्न चेतावनी दिएकाप्रति सशक्त प्रतिवाद भइरहेको छ । ओलीको प्रतिवाद गर्नेमध्येका एक नेतृ नविना लामासँग अनलाइनखबरकर्मी सइन्द्र राईले संक्षिप्त कुराकानी गरेका छन् ।

इलाम पुगेर अध्यक्ष ओलीले कसैले हटाउन सक्दैन भनेर चुनौती दिनुभएको छ । लगत्तै जवाफ फर्काउनुभयो नि ?

कसैसँग व्यक्तिगत रूपमा प्रश्न गर्नेभन्दा पनि जायज मुद्दा उठाएका हौँ । हामीले पार्टीका नेताहरूसँग छलफल गरेका छौँ । पार्टी कसरी बन्छ र पार्टीको इतिहासलाई कसरी जोगाउन सकिन्छ भनेर नयाँ ढंगले बहस सुरु गरेका हौँ ।

तर, उहाँलाई पार्टीमा यस्तो बहस र छलफल भएको मन नपरेर हामीलाई आवारा भन्नुभएको छ । पार्टी कार्यालयमा बसेर पार्टीबारे बहस गर्नेहरूलाई ‘आवारा’ भन्न मिल्छ ?

हिजो मन पर्दा छोराछोरी भन्ने, मन नपर्दा आवारा भन्ने कहीँ हुन्छ ? त्यो तरिका भएन । उहाँलाई हामी ‘केपी बा’ भनेर सम्बोधन गर्छौं, अध्यक्ष भनेर सम्मान गर्छौं । उहाँको मन नपर्ने कुरा हामीले भनेका हौंला । तर, मन नपर्दैमा आवारा भन्ने शब्द प्रयोग गर्न मिल्छ ?

एमालेमा नयाँ एजेन्डा र नेतृत्वको खोजी भइरहेको छ । यसबारे सोचौं र छलफल गरौं भनेको हो । हामी आवारा त होइन नि । गुण्डागर्दी गर्ने, ठेक्कापट्टा गर्ने, हप्ता असुली गर्ने त होइन नि ।

अध्यक्षको शब्दले मन दुखेको हो ?

हामीले उहाँलाई सम्मानपूर्वक नेतृत्व हस्तान्तरण गर्नुपर्छ भनेका हौँ । अरू के भनेका छौँ र ?

हामी कुनै अराजक गतिविधिमा संलग्न भएर आएका मानिस होइनौँ । एमालेमा लामो समयदेखि विभिन्न कमिटीमा बसेर, स्कुलदेखि नै संगठनमा काम गर्दै आएका मानिस हौँ ।

उहाँले पार्टीमा हामीले भन्दा धेरै योगदान गर्नुभएको होला । उहाँ हामीभन्दा ३०–४० वर्षअगाडि जन्मिनुभएको हो, उहाँको योगदान पनि हामीले स्वीकार गर्छौं ।

तर, हामी जन्मिएदेखि नै पार्टीमा लागेका हौँ । हाम्रो पनि यो पार्टीमा योगदान छ । हामीलाई पार्टीको माया छैन त ? फेरि कसैले छोड भन्दैमा हामीले पार्टी छोड्ने हो र ?

अध्यक्षले पार्टी छोड्नुस् भनेर चुनौती दिनुभएको छ । डर त लागेको होला नि ?

हामी किन डराउने ? डराउनुपर्ने कुनै कारण छैन । हामी राजनीतिक बहस, छलफल र विचारको अन्तरक्रिया गर्ने हो ।

हामीले उहाँलाई पार्टी छोड्नुस् भनेका होइनौँ । उहाँले नेतृत्व छोड्नुपर्छ भन्ने विषयमा पार्टीभित्र दबाब र जागरण सिर्जना गर्ने हो । उहाँको नेतृत्व असफल भइसकेको अवस्थामा अब नेतृत्व परिवर्तन आवश्यक छ ।

पार्टी छोड्ने कसले त ? 

पार्टी किन छोड्ने हामीले ? उहाँले नेतृत्व हस्तान्तरण गर्नुपर्छ । अध्यक्ष पद हस्तान्तरण गर्नुपर्छ । अब युवा पुस्तालाई नेतृत्व दिनुपर्छ । पार्टीलाई नयाँ ढंगले पुनर्गठन गर्नुपर्छ ।

किनभने, उहाँ फेलर भइसकेको अवस्था छ । जनताले उहाँलाई ५० हजार मतान्तरले हराइदिए । उहाँ मात्रै होइन, उहाँले टिकट बाँडेको नेताहरूले हारेका छन् । यसका धेरै सकारात्मक नकारात्मक कारणहरू छन् । तर, उहाँकै कारणले जनता असन्तुष्ट भएको कुरा नै तथ्य नै हामीले बोलेका छौं ।

हामीलाई कुनै पद चाहिँदैन । सांसद र मन्त्री बन्नलाई पुनर्गठनको कुरा गरेकै होइन । तर, आज पार्टी संकटमा परेकाले हामीले बहस चलाएका हौं ।

केपी ओलीले अब सक्नुहुन्न ?

उहाँको नेतृत्व असफल भइसक्यो । प्रधानमन्त्रीका रूपमा धेरै पटक जिम्मेवारी सम्हाल्नुभयो । पार्टी अध्यक्षका रूपमा पनि तीन कार्यकाल चलाइरहनु भएको छ । अब कति समय उहाँ नै त्यसरी बसिरहने ?

अहिले देशमा ३५ वर्षको उमेरको व्यक्ति प्रधानमन्त्री बनेको छ । राजनीति बाहिरबाट मानिस संसद्मा बहुसंख्यक पुगेका छन् । यस्तो अवस्थामा हामीले पनि नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गर्नुपर्छ, पुस्तान्तरण गर्नुपर्छ भनेका हौँ ।

मन नपरेका मानिसहरूलाई चर्को अभिव्यक्ति दिनु केपी ओलीको शैली नै हो । किन मन दुखाउनुभएको ?

विगतमा माधव नेपाललगायत नेताहरूले पार्टी छोडेर जानुभयो । उहाँहरूले पार्टी छोड्ने अवस्थासम्म पुग्दा पनि राजनीतिक रूपमा यस्ता अभिव्यक्ति आएका थिएनन् ।

हामीले पार्टी छोड्नुस् भनेर हस्ताक्षर संकलन गरेका होइनौँ । आफ्नै संरचनाभित्र, पूर्वअखिलका साथीहरूको बीचमा कार्यक्रम गरेका हौँ । सम्मानजनक बहिगर्मनको कुरा गरेको हो । तर कसरी उहाँले हामीलाई आवारा भन्नुभयो । किन पार्टी छोड् भनेको ? उहाँको पेवा हो र पार्टी ?

विधि र प्रक्रिया त हुन्छ भन्नुभएको छ नि ?

हामी पूर्वअखिलका साथीहरू कुराकानी गरेका हौँ । बहसको थालनी गरेका हौँ ।

चोक–चोकमा गएर कुरा गरेको होइन । कोठाभित्र बसेर छलफल गरेका हौँ । हामी राजनीतिक मान्छे हौँ, राजनीतिक संस्कार र शैली बोकेका मान्छे हौँ ।

अब के हुन्छ ?

उहाँले देशको प्रमुख कार्यकारी पद सम्हालिसक्नुभएको छ, पार्टी अध्यक्ष भइसक्नुभएको छ । हजारौँ कार्यकर्ताले निर्माण गरेको संगठनले उहाँलाई यहाँसम्म पुर्‍याएको हो । त्यसको योगदानलाई उहाँले पनि सम्मान गर्नुपर्छ ।

पार्टीमा विचार, सिद्धान्त, नीति, विधि र पद्धति हुन्छ । त्यसअनुसार पार्टीका कमिटीहरू हुन्छन् । केन्द्रीय पदाधिकारी, सचिवालय, केन्द्रीय कमिटी र विभिन्न निकाय छन् । पार्टीको आफ्नै संरचना छ ।

अब उहाँले पनि यही संरचनाभित्र उठेका प्रश्न र असन्तुष्टिको सामना गर्नुपर्छ । बहुसंख्यक कार्यकर्ता र नेताहरूले भनेका कुरालाई उहाँले सम्मानपूर्वक ग्रहण गर्नुपर्छ ।

उहाँले आफ्नो कुरा राख्न सक्नुहुन्छ, त्यसमा दुईमत छैन । तर, हामीले पनि आफ्नो कुरा राखिसकेका छौँ । अब त्यही विधि र पद्धतिअनुसार अगाडि बढेर अन्तत: उहाँले सम्मानजनक रूपमा नेतृत्व हस्तान्तरण गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?