२५ जेठ, धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टेलिफोन गरेर सुदूरपश्चिम प्रदेश सरकारबाट तत्काल मन्त्री नफेर्न निर्देशन दिएका छन् ।
सोमबार एमाले संसदीय दलले पार्टीबाट सरकारमा गएका मन्त्री फेरबदल गर्ने निर्णय लिन बैठक बसिरहेको थियो । त्यही बेला अध्यक्ष ओलीले फोन गरेर तत्काल सरकारमा रहेका मन्त्री नफेर्न निर्देशन दिएको एक नेताले बताए ।
ती नेताका अनुसार एमाले संसदीय दलमा बैठक बसिरहेको थियो । त्यही बेला ओलीको सचिवालयमा रहेकी निरुदेवी पालको नम्बरबाट एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावललाई फोन आएको थियो ।
जसमा अध्यक्ष ओलीले आफै कुरा गरेर तत्काल मन्त्री नफेर्न आफै निर्देशन दिएको ती नेताले बतायो । ‘उहाँले अहिले बजेटको बेला छ । यस्तो बेला मन्त्री फेर्दा राम्रो सन्देश जाँदैन । त्यसैले तत्काल सबै मन्त्री यथावत् राखौं भन्ने कुरा गर्नुभयो,’ ती नेताले भने ।
यसअघि सुदूरपश्चिम सरकारको नेतृत्व गरिरहेको कांग्रेसभित्र किचलो भएपछि असन्तुष्ट पक्षका केही मन्त्री समेट्नेगरी मन्त्रिपरिषद् हेरेफेरको तयारी भएको थियो । सोही अनुरुप एमालेमा पनि मन्त्री हेरफेरको कुरा उठेको थियो । जसअनुसार एमालेले आफ्ना पुराना मन्त्री फिर्ता बोलाएर नयाँलाई पठाउने तयारी गरेको थियो ।
एमालेबाट हाल प्रदेश सरकारमा भौतिक पूर्वाधारमन्त्री सुरेन्द्र पाल, आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्की, भूमि व्यवस्था मन्त्री वीरबहादुर थापा र राज्यमन्त्री निर्मला साउँद सहभागी छन् ।
उनीहरूलाई फिर्ता बोलाएर दलका उपनेता सन्तोष शर्मा, चक्र मल्ल र दमन भण्डारीलाई मन्त्री तथा राज्यमन्त्रीमा जानकी ऐर बमलाई पठाउने एमालेले तयारी थालेको थियो ।
प्रतिक्रिया 4