News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा उद्यमशीलता, लगानीमैत्री वातावरण र रोजगारीका अवसर सिर्जना गरी युवा पलायन रोक्नुपर्नेमा जोड दिइएको छ।
मलाई मेरो देश बस्नलायक बनोस् भन्ने चाहना छ । यस्तो नेपाल, जहाँ हरेक क्षेत्र चलायमान होस्, जहाँ कानुन सबैका लागि समान रूपमा लागू होस्, जहाँ अवसर पहुँच र शक्ति होइन, क्षमता, योग्यता र मेहनतका आधारमा प्राप्त होस् । म यस्तो नेपाल चाहन्छु, जहाँ युवाहरूको सपना विदेशको विमानस्थलमा होइन, आफ्नै माटोमा पूरा होस् ।
मलाई २०५२ सालअघिको नेपाल सम्झना आउँछ । म सानै थिएँ । गाउँका मानिसहरू एकअर्काका सुख–दुःखका साझेदार थिए । बिहान खेतबारी, दिउँसो मेलापात र बेलुका चौतारीमा भेला भएर गफ गर्ने चलन थियो । रेडियोका गीतसँगै जीवनका सामान्य खुसीहरू बाँडिन्थे । परिवार, छिमेक र समाजबीचको आत्मीय सम्बन्ध नै मानिसहरूको सबैभन्दा ठूलो सम्पत्ति थियो ।
तर समयसँगै धेरै कुरा बदलिँदै गए । २०५२ सालपछि सशस्त्र द्वन्द्व सुरु भयो । त्यसले नेपाली समाजको संरचनामा गहिरो प्रभाव पार्यो । गाउँहरू खाली हुन थाले, बसाइँसराइ बढ्यो र विदेश जाने लहर तीव्र बन्यो । अवसरको खोजीमा लाखौं नेपाली घरपरिवार छाडेर परदेशिन बाध्य भए । आज पनि कैयौं बुबाआमा आफ्ना सन्तानको अनुहार मोबाइलको स्क्रिनमा हेरेर सन्तोष मानिरहेका छन् । धेरै बालबालिका आमाबुबाको माया र साथबाट टाढा हुर्किरहेका छन् ।
यद्यपि, म निराश छैन । म अझै एउटा समृद्ध, आत्मनिर्भर र सम्मानित नेपालको सपना देख्छु । म त्यो नेपाल चाहन्छु जहाँ व्यवसायीले ढुक्क भएर लगानी गर्न सकुन् । जहाँ नीतिगत अस्थिरता, अनावश्यक झन्झट र प्रशासनिक जटिलताले उद्यमशीलतालाई निरुत्साहित नगरोस् । लगानीकर्ता, उद्यमी र श्रमिकबीच विश्वासको वातावरण निर्माण होस् । साना तथा मझौला उद्योगहरूलाई प्रोत्साहन दिइयोस् र उत्पादनमुखी अर्थतन्त्रको विकास होस् ।
म त्यो नेपाल पनि चाहन्छु जहाँ कलाकार, साहित्यकार, खेलाडी र सर्जकहरूले आफ्नो प्रतिभाको उचित सम्मान पाउन् । नेपाली चलचित्र, संगीत, साहित्य र कला अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सकुन् । नेपालीहरूले आफ्नै सिर्जनामा गर्व गर्न सकून् र संस्कृति तथा पहिचानलाई आधुनिकतासँग जोडेर अगाडि बढाउन सकून् ।
सरकारी सेवा अझै पनि धेरै नागरिकका लागि झन्झटिलो अनुभव बनेको छ । म यस्तो नेपाल चाहन्छु जहाँ सार्वजनिक सेवा छिटो, पारदर्शी र प्रविधिमैत्री होस् । नागरिकले सामान्य कामका लागि घण्टौं लाइन बस्न नपरोस् । सेवाग्राहीलाई सम्मानपूर्वक व्यवहार गरियोस् र राज्यप्रतिको विश्वास बलियो बनोस् ।
नेपाल कृषि प्रधान देश भनिए पनि कृषिले अझै अपेक्षित प्राथमिकता पाउन सकेको छैन । उर्वर भूमि हुँदाहुँदै पनि हामीले दैनिक उपभोगका धेरै वस्तु विदेशबाट आयात गरिरहेका छौं । आधुनिक प्रविधि, सिँचाइ, बजार व्यवस्थापन र कृषिमा आधारित उद्योगहरूको विकासमार्फत कृषि क्षेत्रलाई आकर्षक र सम्मानजनक पेशाका रूपमा स्थापित गर्न सकिन्छ । यदि युवाहरूलाई कृषिमा सम्भावना देखाउन सकियो भने यसले रोजगारी र उत्पादन दुवै बढाउनेछ ।
पर्यटन नेपालको अर्को महत्वपूर्ण सम्भावना हो । प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र धार्मिक सम्पदाले भरिपूर्ण देश भएर पनि हामीले पर्यटन क्षेत्रको पूर्ण उपयोग गर्न सकेका छैनौं । सडक, पूर्वाधार, सरसफाइ, सुरक्षा र गुणस्तरीय सेवामा सुधार गर्न सके नेपाल विश्वकै आकर्षक गन्तव्यहरूमध्ये एक बन्न सक्छ । पर्यटनको विकासले गाउँगाउँसम्म आर्थिक गतिविधि विस्तार गर्न मद्दत पुर्याउँछ ।
म त्यो नेपाल चाहन्छु जहाँ निर्माण हुने पूर्वाधारहरू दीर्घकालीन सोचका साथ बनाइएका होऊन् । सडक, पुल, खानेपानी, विद्यालय र अस्पताल निर्माण गर्दा गुणस्तरलाई प्राथमिकता दिइयोस् । हरेक वर्ष उही सडक भत्काएर पुनः निर्माण गर्ने परम्पराको अन्त्य होस् । सार्वजनिक स्रोतको सही उपयोग गरियोस् र विकास योजनाहरू राजनीतिक परिवर्तनसँगै रोकिएर नबसून् ।
विदेशमा रहेका लाखौं नेपालीसँग ज्ञान, सीप, अनुभव र पूँजी छ । उनीहरूलाई स्वदेश फर्केर काम गर्ने वातावरण बनाउन सकियो भने देशको विकासमा ठूलो योगदान पुग्न सक्छ । उनीहरूलाई सम्मानजनक रोजगारी, उद्यमशीलताका अवसर र लगानीमैत्री वातावरण उपलब्ध गराउनुपर्छ । विदेशबाट फर्किएका युवाहरूलाई चुनौती होइन, सम्भावनाका रूपमा हेर्न आवश्यक छ ।
नेपालको शिक्षा प्रणालीमा पनि आमूल परिवर्तन आवश्यक छ । शिक्षा केवल प्रमाणपत्र प्राप्त गर्ने माध्यम होइन, जीवन उपयोगी ज्ञान र सीप विकास गर्ने प्रक्रिया बन्नुपर्छ । विद्यालय र विश्वविद्यालयहरूलाई श्रम बजारसँग जोड्नुपर्छ । प्राविधिक तथा व्यावसायिक शिक्षालाई विस्तार गर्दै युवाहरूलाई रोजगार र उद्यमशीलताका लागि सक्षम बनाउनुपर्छ ।
स्वास्थ्य क्षेत्रमा पनि गुणस्तरीय सेवा सबै नागरिकको पहुँचमा पुग्नुपर्छ । उपचारका लागि विदेश धाउनुपर्ने बाध्यता कम गर्न आधुनिक स्वास्थ्य पूर्वाधार, दक्ष जनशक्ति र अनुसन्धानमा लगानी बढाउन आवश्यक छ । स्वास्थ्य सेवा सुविधा होइन, नागरिकको आधारभूत अधिकारका रूपमा स्थापित हुनुपर्छ ।
मलाई लाग्छ, विकास केवल सरकारको जिम्मेवारी होइन । नागरिकको सोच, व्यवहार र जिम्मेवारी पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ । कानुनको सम्मान गर्ने, कर तिर्ने, सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने र आफ्नो काम इमानदारीपूर्वक गर्ने संस्कार विकास भएन भने कुनै पनि योजना सफल हुन सक्दैन।
हामी प्रायः परिवर्तनको अपेक्षा अरूबाट गर्छौं, तर परिवर्तनको सुरुवात आफैंबाट गर्नुपर्ने हुन्छ । अनुशासन, समयको सम्मान, परिश्रम र उत्तरदायित्वलाई जीवनशैली बनाउन सके विकासको गति धेरै तीव्र हुन सक्छ । जापान, दक्षिण कोरिया र चीनजस्ता देशहरूको प्रगतिको आधार केवल सरकार होइन, नागरिकको कार्यसंस्कृति पनि हो ।
स्थानीय सरकारहरूले पनि आफ्नो क्षेत्रको दीर्घकालीन विकास योजना तयार गर्नुपर्छ । कहाँ कृषि विकास गर्ने, कहाँ पर्यटन प्रवर्धन गर्ने, कहाँ उद्योग स्थापना गर्ने र कुन क्षेत्रमा लगानी आकर्षित गर्ने भन्ने विषयमा वैज्ञानिक अध्ययन आवश्यक छ । स्थानीय स्रोत र सम्भावनाको पहिचान गरेर विकासलाई दिगो बनाउन सकिन्छ ।
हिंसा, आक्रोश र निराशा घटाउने सबैभन्दा प्रभावकारी उपाय भनेको नागरिकलाई अवसर र उद्देश्य दिनु हो । जब मानिस आशावादी हुन्छ, श्रमको सम्मान हुन्छ र भविष्यप्रति भरोसा बढ्छ, तब समाज स्वाभाविक रूपमा शान्त र सकारात्मक बन्छ ।
म विश्वास गर्छु राज्यले नागरिकको भावना बुझ्नेछ, नागरिकले आफ्नो जिम्मेवारी पूरा गर्नेछन् र कानुनको निष्पक्ष कार्यान्वयन हुनेछ । एकअर्काप्रति सम्मान, विश्वास र सहकार्यको भावना बलियो बन्दै गए नेपालले अवश्य पनि नयाँ दिशा लिनेछ।
सायद म एक्लो होइन, यस्तो परिवर्तनको प्रतीक्षा गर्ने । सुन्दर, समृद्ध र आत्मनिर्भर नेपालको सपना देख्ने लाखौं नेपालीमध्ये म पनि एक हुँ । त्यो सपना अझै जीवित छ, अझै सम्भव छ ।
नेपाल बदलिने दिनको केवल प्रतीक्षा नगरौं । नेपाल बदल्ने यात्राका सक्रिय सहभागी बनौं । किनकि देश परिवर्तन हुने कुनै चमत्कारिक घटना होइन, हामी सबैको साझा प्रयासको परिणाम हो ।
प्रतिक्रिया 4