News Summary
Generated by OK AI. Editorially reviewed.- चिनियाँ संस्थाहरूले दोलखाको श्री गौरीशङ्कर माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक तथा खेलकुद सामग्रीहरू सहयोगस्वरूप प्रदान गरेका छन्।
- पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइनाको आर्थिक एवं प्राविधिक सहयोगमा सो विद्यालयमा नयाँ पुस्तकालय भवन निर्माण गरी शैक्षिक सामग्री उपलब्ध गराइएको छ।
- दुर्गम क्षेत्रका बालबालिकाको सिकाइ स्तर सुधार्न सन् २०१५ देखि विद्यालय सहयोग र अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको चिनियाँ प्रतिनिधिहरूले बताए।
२१ जेठ, काठमाडौं । नेपाल–चीन सीमानजिकै दोलखा जिल्लाको एक सरकारी विद्यालयका बालबालिकाको शैक्षिक र शारीरिक विकासका लागि चिनियाँ संस्थाले सहयोग प्रदान गरेका छन्।
अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा तामाकोशी ५ जलविद्युत् आयोजना क्षेत्रमा रहेको श्री गौरीशङ्कर माध्यमिक विद्यालयमा बिहीबार आयोजित एक विशेष समारोहका बीच विद्यालय व्याग, स्वास्थ्य उपचार किट्स लगायतका सामग्री हस्तान्तरण गरिएको हो।
यो सहायता चिनियाँ ग्रामीण विकास फाउन्डेसन, नेपाल–चीन सांस्कृतिक केन्द्र र पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना (पावर चाइना) को संयुक्त लगानी तथा त्रिपक्षीय सहकार्यमा उपलब्ध गराइएको हो।
नेपालस्थित चिनियाँ दूतावासको आर्थिक तथा वाणिज्य कार्यालयका काउन्सिलर झु फेङ, नेपाल–चीन सांस्कृतिक केन्द्रका निर्देशक लिउ झाङपिङ र चिनियाँ ग्रामीण विकास फाउन्डेसन नेपाल कार्यालयकी राष्ट्रिय निर्देशक जोउ झिकियाङ लगायतले संयुक्तरूपमा सो सहयोग सामग्रीहरू हस्तान्तरण गरेका हुन् ।
भौगोलिक रूपमा दुर्गम क्षेत्रका विद्यार्थीहरूको सिकाइ स्तर सुधार्न र अतिरिक्त क्रियाकलापलाई बढावा दिन सहयोग गरिएको उनीहरुको भनाइ छ।
पावर चाइनाको आर्थिक एवं प्राविधिक सहयोगमा विद्यालयमा एक नयाँ पुस्तकालय भवन निर्माण गरिएको छ।
तामाकोशी ५ जलविद्युत् आयोजना निर्माण गरिरहेको पावर चाइनाको टोलीले स्थानीय क्षेत्रमा केवल स्वच्छ ऊर्जा प्रविधि मात्र नभई, आयोजना प्रभावित क्षेत्रका बालबालिकाको उज्यालो भविष्यका लागि शिक्षामा प्रत्यक्ष लगानी गरेको बताएको छ। नेपालमा स्थापना भएको यो चौथो पुस्तकालय हो।
उक्त पुस्तकालयमा विभिन्न उमेर समूहका विद्यार्थीहरूले सहजै बुझ्न सक्ने गरी चीनको इतिहास, संस्कृति र ज्ञानसँग सम्बन्धित नेपाली भाषामा अनुवाद गरिएका विविध पुस्तकहरू र शैक्षिक सामग्री (स्टेसनरी) उपलब्ध गराइएको छ।
यसैगरी, चिनियाँ ग्रामीण विकास फाउन्डेसनको तर्फबाट बालबालिकाहरूको शारीरिक विकासका लागि आवश्यक पर्ने विभिन्न खेलकुदका सामग्रीहरूले भरिपूर्ण खेलकुद किट्स प्रदान गरिएको छ। पावर चाइनाका कर्मचारीहरूले कार्य-पोशाकमै विद्यार्थीहरूसँग ब्याडमिन्टन र भलिबल जस्ता मैत्रीपूर्ण खेलहरू खेलेर समुदायसँगको सम्बन्धलाई अझ प्रगाढ बनाए ।
कार्यक्रममा बोल्दै काउन्सिलर झु फेङले यो कार्यक्रम कर्पोरेट सामाजिक उत्तरदायित्व, सांस्कृतिक आदानप्रदान र सार्वजनिक कल्याणको सफल समायोजनको ज्वलन्त उदाहरण भएको बताए।
त्यस्तै, पावर चाइनाका नेपाल प्रतिनिधि चेन सु र सिनोहाइड्रो ब्युरो ६ कम्पनी लिमिटेडका वाङ हुआले चिनियाँ कम्पनीहरूको मूल दर्शन नै “आयोजना निर्माण गर्ने र स्थानीय समुदायलाई लाभान्वित बनाउने” रहेको भन्दै आगामी दिनमा पनि विद्यालयहरूलाई शैक्षिक प्रायोजन गरिरहने प्रतिबद्धता जनाए।
नेपाल–चीन सांस्कृतिक केन्द्रका निर्देशक लिउ झाङपिङ र चिनियाँ ग्रामीण विकास फाउन्डेसन नेपालकी राष्ट्रिय निर्देशक जोउ झिकियाङले सन् २०१५ देखि संस्थाले नेपालका दुर्गम क्षेत्रका बालबालिकाहरूको जीवनस्तर र सिकाइ अवस्था सुधार्न विद्यालय सहयोग र अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्दै आएको बताइन । उनले यो सहकार्य त्यसैको निरन्तरता भएको उल्लेख गरिन्।
प्रतिक्रिया 4