News Summary
Generated by OK AI. Editorially reviewed.- चीनसँगको व्यापारिक भुक्तानीमा चिनियाँ मुद्रा युआनको हिस्सा सन् २०१७ को १३ प्रतिशतबाट बढेर हाल ३० प्रतिशत पुगेको छ।
- चीनको सीमापार हुने कुल युआन कारोबार सन् २०१७ को ९ ट्रिलियनबाट वृद्धि भई हाल ६४ ट्रिलियन युआन पुगेको छ।
- अमेरिकी डलरमाथिको निर्भरता कम गर्ने रणनीतिअनुसार चीनले विश्वव्यापी भुक्तानी र विदेशी मुद्रा सञ्चितिमा युआनको प्रयोग बढाउन जोड दिएको छ।
१३ जेठ, काठमाडौं । चिनियाँ मुद्रा युआन (आरएमबी) को प्रयोग चीनसँग हुने व्यापारिक भुक्तानीमा तीव्र रूपमा बढेको छ। गोल्डम्यान स्याक्सको अनुसन्धानलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले हालै एउटा रिपोर्ट सार्वजनिक गरेको छ।
उक्त रिपोर्ट अनुसार, सन् २०१७ मा चीनसँग जोडिएको व्यापार भुक्तानीमा युआनको हिस्सा १३ प्रतिशत मात्र थियो। अहिले यो बढेर ३० प्रतिशत पुगेको छ। यो ठूलो वृद्धि भए पनि विश्लेषकहरू अझै सन्तुष्ट छैनन्।
उनीहरूका अनुसार, विश्व अर्थतन्त्रमा चीनको प्रभाव अनुरुपको युआनको पहिचान अझै हुन सकेको छैन। त्यसैले अन्तर्राष्ट्रिय बजारमा युआन विस्तार हुने सम्भावना अझै धेरै छ।
व्यापार विस्तार र वृद्धिको सम्भावना चीनको सीमापार हुने कुल युआन कारोबारमा भारी वृद्धि भएको छ। सन् २०१७ मा यस्तो कारोबार ९ ट्रिलियन युआन मात्र थियो। अहिले यो बढेर ६४ ट्रिलियन युआन पुगेको छ।
विश्वव्यापी भुक्तानी र विदेशी मुद्रा सञ्चितिको सवालमा भने युआन अझै केही पछि नै देखिन्छ। विश्वव्यापी भुक्तानीमा युआनको हिस्सा करिब ३ देखि ४ प्रतिशत मात्र छ।
त्यस्तै विभिन्न देशका केन्द्रीय बैंकहरूको विदेशी मुद्रा सञ्चितिमा यसको हिस्सा २ प्रतिशत मात्र रहेको छ। तर पनि युआनको प्रयोगमा देखिएको यो गतिले बेइजिङको एउटा ठूलो रणनीतिलाई प्रष्ट पार्छ। चीन अमेरिकी डलरमाथिको आफ्नो निर्भरतालाई बिस्तारै कम गर्न चाहन्छ।
पूर्व केन्द्रीय बैंकर र विश्लेषकहरूले युआनको भविष्य अझै राम्रो रहेको बताएका छन्। उनीहरूका अनुसार औद्योगिक आपूर्ति शृङ्खला, वस्तु खरिदको भुक्तानी र ‘करेन्सी स्वाप’ संयन्त्रमा युआनको प्रयोग अझ बढ्नेछ। यसले गर्दा विश्वभर युआनलाई अपनाउने क्रम आगामी दिनमा अझ तीव्र हुने देखिन्छ।
(एससीएमपीबाट)
प्रतिक्रिया 4