+
+
Shares

चीनले रोक्यो अवार्ड विजेता फिल्म ‘हर हर्ट बिट्स इन इट्स केज’ प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १४ गते १३:३४

अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पुरस्कार जित्न सफल एक चिनियाँ नारीवादी फिल्म ‘हर हर्ट बिट्स इन इट्स केज’ लाई चीन सरकारले प्रदर्शनमा रोक लगाएको छ । मे ३० तारिखदेखि चीनका हलमा प्रदर्शन तयारीमा रहेको यस फिल्मले कानुन उल्लङ्घन गरेको भन्दै सांघाई चलचित्र ब्युरोले रिलिज रोक्न आदेश दिएको हो ।

यो फिल्मको कथावस्तु घरेलु हिंसा विरुद्ध लड्ने क्रममा अन्जानमा आफ्नो श्रीमानको हत्या गर्न पुगेकी एक महिलाको ‘सत्य घटना’ मा आधारित भनिएको थियो । यसमा शीर्ष अभिनेत्री झाओ सियाओहोङलाई वास्तविक जीवनकै घरेलु हिंसा पीडित महिलाका रूपमा प्रस्तुत गरिएको थियो ।

फिल्ममा १० वर्ष जेल जीवन बिताएर निस्किएपछि उनले आफ्नो सासू र छोराको मन जित्न गरेको संघर्ष देखाइएको छ । यही उत्कृष्ट अभिनयका लागि झाओले गत वर्ष सेप्टेम्बरमा स्पेनमा आयोजित ७३औँ ‘सान सेबास्टियन अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ मा उत्कृष्ट मुख्य भूमिकाका लागि ’सिल्भर सेल’ अवार्ड समेत जितेकी थिइन् ।

प्रदर्शनको मिति नजिकिँदै गर्दा चीनका सर्वसाधारण र इन्टरनेट प्रयोगकर्ताले यसको वास्तविकताबारे कयौँ उजुरी दर्ता गराएका थिए । अनुसन्धानका क्रममा झाओको वास्तविक अदालती फैसला र चलचित्रको कथा पूर्ण रूपमा फरक पाइएको छ ।

अदालतको फैसला अनुसार सन् २०१९ मा सानातिना घरायसी विवादका क्रममा झाओले फलफूल काट्ने चक्कु प्रहार गरी श्रीमानको हत्या गरेकी थिइन् । जसमा घरेलु हिंसाको कुनै प्रमाण भेटिएको थिएन । अदालतले उनलाई १५ वर्षको जेल सजाय सुनाए पनि सजाय अवधि घटेर उनी सन् २०२० मा जेलमुक्त भएकी थिइन् ।

निर्देशक किन सियाओयुले सन् २०११ मा सुरु भएको सुटिङका क्रममा कारागार प्रशासनसँग ‘डकुमेन्ट्री’ बनाउने भन्दै कैदी रहेकी झाओलाई अभिनय गराउने अनुमति लिएका थिए । तर पछि उनले त्यसलाई व्यावसायिक चलचित्रका रूपमा बजारमा ल्याए । चीनको कारागार कानुन अनुसार जेलभित्रका गतिविधि केवल शिक्षा र सुधारका लागि मात्र हुनुपर्ने व्यवस्था छ ।

यसरी झुटो विवरण दिएर व्यावसायिक फिल्म बनाएको र आपराधिक पृष्ठभूमि भएका व्यक्तिलाई अभिनय गराएको भन्दै चीनमा यसको तीव्र विरोध भइरहेको छ । विवाद बढेपछि फिल्मलाई समर्थन गर्ने प्रसिद्ध चिनियाँ अभिनेत्री याओ चेनले आफ्नो सामाजिक सञ्जालको पोस्ट हटाएकी छन् भने अभिनेत्री झाओको सामाजिक सञ्जाल खातामा पनि प्रतिबन्ध लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?