News Summary
Generated by OK AI. Editorially reviewed.- अख्तियारले छानबिन थालेपछि एमालेले पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्रीहरूको उपचारबापतको ३ करोड ८५ लाख ९९ हजार ८६९ रुपैयाँ सरकारी कोषमा फिर्ता गरेको छ ।
- पार्टी कोषबाट भीभीआईको उपचार खर्च फिर्ता गरिएको विषयमा उपाध्यक्ष गोकर्ण बिष्टले सचिवालय बैठकमा प्रश्न उठाउनुभएको छ ।
- अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ताको लेबीबाट भीभीआईको उपचार खर्च बेहोरिएको विषयमा बैठकमा उठेका प्रश्नहरूको कुनै जवाफ दिनुभएन ।
१२ जेठ, काठमाडौ । गैरकानुनी रुपमा राज्य कोषबाट गरिएको भीभीआईको उपचार खर्च पार्टीको कोषबाट फिर्ता गरिएकोबारे उठेको प्रश्नलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बेवास्ता गरेका छन् ।
कार्यकर्ता पंक्तिले सामाजिक सञ्जाल र अनौपचारिक आग्रह मार्फत यसबारे चासो राखेका थिए । थुप्रैले कार्यकर्ताको लेबीबाट उठेको पैसा नेतृत्वले गरेको गल्ती छोप्न खर्च गर्न नहुने भनेर आपत्ति जनाएका थिए ।
‘..हिजो ठूलाबढाले गरेको करोडौं अनियमित खर्च मात्र पार्टी कोषबाट तिर्ने हो कि जन्दगीभर पार्टी काम गर्दागर्दै खानै समस्या परेका पार्टी कार्यकर्तालाई पनि थोरै हेर्ने हो,’ एमालेका पुराना नेता उदयराज पाण्डेले लेखेका छन् ।
अर्का नेता अरविन्द सिंहको यस्तै आक्रोश थियो । ‘लाखौंलाख पार्टी सदस्यहरूको लेबी आफ्नो कर्तुत लुकाउन सिध्यायो,’ उनले फेसबुकमा लेखेका थिए, ‘पद, पैसा र अवसरको लोभमा कार्यकर्ता पंक्तिलाई दास र लास बनायो ।’
यस्ता आक्रोशहरूलाई सुनेका उपाध्यक्ष गोकर्ण बिष्टले पार्टीको सचिवालय बैठकमै उपचार खर्च पार्टी कोषबाट फिर्ता गरिएकोबारे जिज्ञासा राखेका थिए ।
‘कार्यकर्ताहरूको लेबीबाट उठेको कोषबाट पैसा सरकारलाई फिर्ता गरियो भनेर मिडियाहरूमा समाचार आएको छ,’ बिष्टले अध्यक्ष ओलीलाई सोधेका थिए, ‘भएको के हो ? यस्तो गर्न मिल्छ कि मिल्दैन ?’
बैठक स्रोतका अनुसार, चार दिनसम्म चलेर आइतबार राति सकिएको सचिवालय बैठकमा ओलीले यसबारे कुनै जवाफ दिएनन् । ‘गोकर्ण बिष्टले राखेको प्रश्नमा अरु पदाधिकारीहरूको पनि समर्थन देखिन्थ्यो । यसको जवाफ चाहिन्छ भनिएको थियो,’ स्रोत भन्छ, ‘तर ओलीले यसतर्फ कुनै जवाफ नदिई बैठक सकियो ।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रुपमा राज्य कोषबाट विदेशमा भएको उपचार खर्च बेहोर्ने निर्णयमाथि छानबीन थालेपछि एमालेले पार्टी कोषबाट उक्त खर्च फिर्ता गरेको थियो ।
पूर्वराष्ट्रपति रामवरण यादव, पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र झलनाथ खनाललाई विदेशमा उपचार गराउँदा लागेको ३ करोड ८५ लाख ९९ हजार ८६९ रुपैयाँ एमालेले आफ्नो पार्टी कोषबाट फिर्ता गरेको छ ।
प्रतिक्रिया 4