News Summary
Generated by OK AI. Editorially reviewed.- एमाले अध्यक्ष केपी ओलीले पार्टीको गतिविधि बालकोट केन्द्रित गर्दै पार्टी पुनर्गठन र पुस्तान्तरण रोक्न खोजेका छन्।
- पूर्वराष्ट्रपति विद्या भण्डारीको एमाले सदस्यता ओलीले रोकिदिएपछि पार्टीमा नेतृत्व परिवर्तनको दबाब कमजोर भएको छ।
- ओली र विद्या बीच गठजोडले एमालेमा वैचारिक र सांगठानिक रुपान्तरणको सम्भावना न्यून भएको छ।
एमालेको कार्यालय जहाँसुकै सरोस्, तर त्यसको ढोका अझै पनि केपी ओलीको घरमा नै खुल्छ । च्यासलमा कार्यक्रम गर्दै आएको एमालेले मदन आश्रित स्मृति दिवस बल्खुमा सार्दा पार्टी नेतृत्वले अर्थपूर्ण डिपार्चर लिन खोजेजस्तो आकलन भएकै थियो ।
मदन भण्डारी पत्नी तथा पूर्वराष्ट्रपति विद्या भण्डारीलाई प्रमुख अतिथि बनाएर पार्टीले स्मृतिसभा गर्दा पार्टी अध्यक्ष ओली त्यहाँ गयल थिए ।
२०७२ को वैशाखमा गएको भूकम्पले बल्खु भवन भत्काएपछि एमाले मुख्यालय धुम्बाराही, बबरमहल, च्यासलतिर सर्दैरह्यो । तर खासमा बल्खु हुँदाहुँदै ओलीले पार्टीका गतिविधि बालकोट केन्द्रित गर्दैरहे । बालकोट एउटा गाउँ थियो, २०७१ असारमा ओली पार्टी अध्यक्ष बनेसँगै यसको नाम पनि उनकै व्यक्तित्वसँग पर्यायवाची बनेर जोडिन थाल्यो ।
ओली सामान्य अध्यक्ष बनेनन्, उनले आफू शक्तिमा रहँदा शक्तिमात्रै होइन शासन नै आफूकेन्द्रित गरे । पार्टी उपाध्यक्ष विद्या भण्डारीलाई राष्ट्रपति प्रस्ताव गर्ने उनै ओली हुन् । दोस्रोपल्ट राष्ट्रपति बनाउने पनि उनै ओली हुन् । आफूलाई तेस्रोपल्ट पार्टी अध्यक्ष बनाउने विधान नै केरमेट गराउने पनि उनै त हुन् । साथ दिनेहरूको नाम यहाँ किन चाहियो र ?
उनै ओली हुन्, जसले संसद विघटनको गैरसंवैधानिक सिफारिसमा तत्कालीन राष्ट्रपति विद्या भण्डारीलाई विना प्रश्न स्वीकार गर्न लगाएका थिए । विगतमा विद्यालाई बलियो बनाउन ओली, अनि ओलीलाई बलियो बनाउन विद्या कामयाब भए । यति बेला उनीहरुलाई गणतन्त्रको सर्वोच्च प्रतीक राष्ट्रपति नामक संस्था जोगाउने कुनै चिन्ता परेन ।
तर दोस्रोपल्ट राष्ट्रपति बन्दा भने विद्याको मन खुलेको थिएन । त्यसबेला विभिन्न कारणले लोकप्रियताको ओरालो क्रममा रहेका ओलीसँग बिच्केका कार्यकर्ताले विद्याको माग गर्न थाले । भूराजनीतिक चासोमा पनि उनी पर्न थालिन् । विद्याको विश्वसनीयतासामु ओलीको कट्टरपना कम आकर्षक बन्न थाल्यो । आफूलाई उमेर बाँकी छँदै निकै नै छिटोगरी राष्ट्रपति जस्तो सेरेमोनियल संस्थाको खोपीमा खुम्च्याइएको भनी ओलीसँग समेत उनी बेखुसजस्तो लाग्थिन् ।
विगतमा विद्याको महत्त्वाकांक्षा बढाइदिने ओली नै हुन्, विद्याको महत्त्वाकांक्षा घटाइदिने पनि उनै ओली हुन् । अरु त सिर्फ रमिते हुन् ।
यस्तै महत्त्वाकांक्षा बढ्दै जाने क्रममा अनलाइनखबरसँग तीन वर्षअघिको एक कुराकानीका क्रममा विद्याले पार्टी राजनीतिमा आउन सक्ने संकेत गरेकी थिइन् । पार्टी राजनीतिमात्रै होइन, एमालेको अध्यक्ष नै बन्ने संकेत उनले सहकर्मी सइन्द्र राई र मसँग दिएकी थिइन् । त्यसपछि ओली निकट नेताहरू शंकर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु पौडेल आदिले विद्याको आगमनबारे संवैधानिक, राजनीतिक, नैतिक सबैखाले मर्यादा सम्झाएर रोक लगाउन खोजे ।

पोहोर साउन ८ गते एमाले प्रचार विभागले च्यासलमा गरेको कार्यक्रममा महासचिव शंकर पोखरेलले भने, ‘विद्या राजनीतिमा आउँदा लोकतन्त्रलाई नै घाटा हुन्छ ।’
केही नेताले त विद्या मदन भण्डारीको बलमा फुत्त माथि गएको, उनलाई संगठनको कुनै ज्ञान नभएको समेत भन्न भ्याए ।
विद्याले त्यसपछि आक्रोशित हुँदै आफू अहिले पनि एमालेमै रहेको, आफ्नो सदस्यता कसैले खान नसक्ने जवाफ दिएकी थिइन् । उनलाई महाधिवेशनमा जान समेत रोकिएको थियो ।
विद्याको पक्षमा कार्यकर्ताले पर्चा बाँडेका थिए, जसलाई पछि नेतृत्वले रोक लगाएको थियो । अध्यक्ष ओलीले एउटा कार्यक्रममा मदन भण्डारीको वैवाहिक अवस्था र सहकारी अपचलनबारे विभिन्न हल्ला चल्ने गरेको, जनताको बहुदलीय जनवादमा नयाँपन खासै नभएको, बरु आफूहरूले संरक्षण गरेपछि त्यो मान्यता अघि बढेको समेत भन्न भ्याए, जसप्रति विद्याले अनौपचारिक वार्तालापहरूमा ठूलै चित्त दुखाएकी थिइन् ।
त्यस बेला प्रधानमन्त्री रहेका ओलीले विद्यालाई बालुवाटारमै भेटेर समेत चेतावनीको शैलीमा गतिविधि नगर्न भनेका थिए, अनि चीनमा हुन लागेको एउटा भ्रमण समेत उनले रोकिदिएका थिए ।
ओलीले दुईवटा कुरा स्पष्ट भनेका थिए– पार्टीको विधानभन्दा कोही माथि हुँदैन । दोस्रो, पूर्वराष्ट्रपतिले तटस्थताको मर्यादा राख्नुपर्छ ।

यति बेला भने उनै ओलीले आफूलाई विधानभन्दा माथि करार गर्दै विद्याको आगमन गराउन चाहेका छन् । अनि पूर्वराष्ट्रपतिसँग रहने नागरिक अपेक्षाको समेत तिलान्जली दिएका छन् ।
यसले के देखाउँछ भने एमालेलाई अहिले पुनर्गठन चाहिएको छैन । यसलाई पुस्तान्तरण चाहिएको छैन । समयले मागेको युवा दबाबलाई पार्टीले टेर्ने कुनै गुन्जायस छैन । ओली अवकाश सकभर लिंदैनन्, लिए पनि त्यसपछिको शक्तिसमेत अहिले नै सुनिश्चित गर्न चाहन्छन् ।
यसैकारण त राष्ट्रपतिकालपछि विद्याले नवीकरण गराइसकेको पार्टी सदस्यता ओलीले एकाएक होल्ड गराइदिए । ओलीले सदस्यता रोक्दा जसरी एमालेको ठूलो पंक्ति बोलेन, अहिले आज सदस्यता फुकाउँदा उसैगरी त्यो पंक्ति बोलेन ।
यसबीचमा ओलीलाई विद्याले गुन्डुमा दुईपल्ट, अनि अस्पतालमा दुईपल्ट भेटेकी छन् । चैत १ र वैशाख २८ मा गुन्डुमा, चैत १६ र चैत २९ गते त्रिवि शिक्षण अस्पतालमा भेटेकी थिइन्, जुन बेला सरकारले ओलीमाथि जेनजी आन्दोलन दमनको अभियोग लगाउँदै थुनेको थियो । यी भेट त्यस्तो समयमा भएका छन्, जुन बेला ओलीमाथि पार्टीको सचिवालय बैठक राखेर चुनावी हारको समीक्षा गर्न र नेतृत्व छोड्न दबाब बढेको छ । पार्टीमा नेताहरूको एउटा पंक्ति अब पुस्तान्तरणको पक्षमा अघि बढेको छ । ओली, विद्या, ईश्वर वा त्यो पुस्ताबाट हुँदैन, नयाँमा जानुपर्छ भनिरहेको छ ।
तर आज विद्यालाई सदस्यता फुकाउने ओलीको निर्णयबाट तीनवटा सन्देश गएका छन् । एक, ओलीले चाहे भने कुनै पनि व्यक्तिलाई लुँडोको लिस्नो चढाइदिन सक्छन् या सर्पको मुखमा राखेर किचिपिची पारिदिन सक्छन् । दुई, ओली कुनै पनि हालतमा आफ्नो राजनीतिक औचित्य सावित गरिराख्न चाहन्छन् । तीन, एमालेमा कार्यकर्ताले चाहे पनि नेतृत्व पुनर्गठन र रुपान्तरणको पक्षमा छैन ।
पार्टीमा ठोस वैचारिक प्रस्थानविन्दु नखोजी, सांगठनिक रूपान्तरणको प्रस्ताव नल्याई केवल ओलीको ठाउँमा विद्या राख्न चाहने पंक्तिलाई भने ओली–विद्याको गठजोडले झस्काउने छ ।
विगतमा संकट परेका बेला आफ्नो प्रतिरक्षाका लागि मिल्ने गरेका ओली विद्या फेरि उसैगरी मिले भने एमालेमा त्यसको प्रतिक्रिया के होला ? अनि जेनजी प्रदर्शन, नयाँ चुनावी मतादेशले फेरिएको राजनीतिक वातावरणमा एमालेको छवि कस्तो बनेर जाला ? यो प्रश्नको जवाफ चाहिं एमालेकै सदस्यहरुले खोज्नुपर्छ ।
यति चाहिं भन्न सकिन्छ, पूर्वराष्ट्रपतिको पार्टी राजनीतिमा आगमनले नेपालमा अझै पनि लोकतन्त्रप्रतिको प्रतिबद्धता औपचारिक अर्थमा बढी छ भन्ने स्पष्ट देखाउँछ । सात दशकको अभ्यासले पनि हाम्रा पार्टीहरूलाई लोकतन्त्रको शब्द त कण्ठ गरायो, तर मर्म चाहिं आत्मसात् गर्न बाँकी छ । मदन भण्डारी बाँचिरहेका भए आँखा छोप्ने थिए । सायद भन्ने थिए– शीतलनिवासमा बसिसकेपछि पार्टी कार्यालयतिर आँखा नचम्काइयोस्, गोडा नलम्काइयोस् ।
तर एमाले वैचारिक रुपमा यस्तो निर्जीव बन्ने बाटोतर्फ छ कि यसलाई मदन भण्डारीका राजनीतिक मान्यताहरुको छुः मतलब ?
प्रतिक्रिया 4