+

इम्युनोथेरापी के हो ? क्यान्सरको उपचारमा कति प्रभावकारी छ ?

२०८३ जेठ  ४ गते १३:२२ २०८३ जेठ ४ गते १३:२२

कुनै पनि औषधि साइड इफेक्ट बिना हुँदैन । किमोथेरापीका दुष्प्रभाव हुन्छन् तर इम्युनोथेरापीका हुँदैनन् भन्नु गलत हुन्छ ।

इम्युनोथेरापी के हो ? क्यान्सरको उपचारमा कति प्रभावकारी छ ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इम्युनोथेरापीले शरीरको आफ्नै प्रतिरक्षा प्रणाली सक्रिय बनाएर क्यान्सरको उपचारमा नयाँ विकल्प प्रदान गरेको छ।
  • नेपालमा इम्युनोथेरापीको प्रयोग बढ्दै छ तर यसको खर्च धेरै महँगो छ र सबै बिरामीमा समान प्रभावकारी हुँदैन।

क्यान्सर उपचारको क्षेत्रमा पछिल्ला वर्षहरूमा इम्युनोथेरापीले नयाँ आशा थपेको छ । शल्यक्रिया, किमोथेरापी र रेडियोथेरापीपछि अहिले इम्युनोथेरापी पनि प्रभावकारी उपचार विकल्पका रूपमा स्थापित हुँदै गएको छ ।

शरीरको आफ्नै प्रतिरक्षा प्रणालीलाई सक्रिय बनाएर क्यान्सरसँग लड्ने यो प्रविधि नेपालमा पनि विस्तारै प्रयोगमा आउन थालेको छ । तर यो उपचार सबै बिरामीका लागि समान रूपमा प्रभावकारी हुँदैन र यसको खर्च पनि निकै महँगो छ ।

क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीसँग इम्युनोथेरापी के हो, यसले कसरी काम गर्छ, यसको प्रभावकारिता, चुनौती र भविष्यबारे गरिएको कुराकानी गरिएको छ ।

के हो इम्युनोथेरापी ?

क्यान्सरको उपचारका लागि पहिले सामान्य रूपमा शल्यक्रिया, किमोथेरापी र रेडियोथेरापीको सहारा लिइन्थ्यो । अब यो सूचीमा इम्युनोथेरापी पनि थपिएको छ । इम्युनोथेरापी नेपाल भारतसहित सारा विश्वमा अपनाइँदै छ । एक शताब्दीभन्दा बढी समयको अनुसन्धानपछि अब इम्युनोथेरापी उपचारमा प्रयोग भइरहेको छ ।

यसले केही बिरामीहरूको अझ सटीक उपचार गर्न मद्दत गर्छ । यस तरिकाको उपचारमा कम साइड इफेक्ट हुन्छ र लामो समयसम्म क्यान्सरलाई नियन्त्रणमा राख्न पनि सहयोग पुग्छ ।

अब नेपालमा पनि विभिन्न प्रकारका क्यान्सरको उपचारमा इम्युनोथेरापीको प्रयोग बढ्दै छ । किमोथेरापीले छिटो बढ्ने क्यान्सर कोषहरूमा प्रत्यक्ष आक्रमण गर्छ तर यस प्रक्रियामा धेरै स्वस्थ कोषहरूलाई पनि हानि पुर्‍याउँछ भने इम्युनोथेरापीले शरीरको आफ्नै प्रतिरक्षा प्रणाली इम्युन सिस्टमलाई क्यान्सर पहिचान गर्न र त्यससँग लड्न मद्दत गर्छ ।

यद्यपि, डाक्टरहरूले अझै पनि यसलाई चमत्कारिक उपचार भन्नबाट जोगिन सल्लाह दिन्छन् । यसको सफलता क्यान्सरको प्रकार, बिरामीको स्वास्थ्य र रोगको जैविक प्रकृति ‘बायोलोजी’मा धेरै हदसम्म निर्भर गर्छ ।

इम्युनोथेरापी र किमोथेरापीमा के फरक छ ?

किमोथेरापीमा औषधिहरू मार्फत छिटो विभाजित हुने क्यान्सर कोषहरूलाई नष्ट गरिन्छ । तर किमोथेरापीले केवल क्यान्सर कोषहरूलाई मात्र असर गर्दैन, शरीरका स्वस्थ र छिटो बढ्ने कोषहरूलाई पनि हानि पुर्‍याउँछ ।

यसै कारणले कपाल झर्ने, बान्ता हुने, थकान र संक्रमणको जोखिम जस्ता धेरै साइड इफेक्टहरू देखिन्छन् । किमोथेरापीले क्यान्सर कोषहरूलाई मार्छ, तर यसले शरीरका सबै छिटो विभाजित हुने कोषहरूलाई पनि असर गर्छ, त्यसैले शरीरका सामान्य कोषहरू पनि प्रभावित हुन्छन् । यही कारणले किमोथेरापीका धेरै साइड इफेक्ट हुन्छन् ।

इम्युनोथेरापीले फरक तरिकाले काम गर्छ । यसले क्यान्सरमा प्रत्यक्ष आक्रमण गर्दैन, बरू शरीरको इम्युन सिस्टमलाई बलियो र सक्रिय बनाउँछ, ताकि त्यसले क्यान्सर कोषहरूलाई पहिचान गरेर उनीहरूलाई समाप्त गर्न सकोस् ।

इम्युनोथेरापीले शरीरको इम्युन सिस्टमलाई क्यान्सर कोषहरूलाई पहिचान गर्न र समाप्त गर्न तालिम दिन्छ । सजिलो भाषामा बुझ्दा किमोथेरापीले क्यान्सरमा प्रत्यक्ष आक्रमण गर्छ भने इम्युनोथेरापीले शरीरलाई क्यान्सरसँग लड्न तयार पार्छ ।

इम्युनोथेरापीका साइड इफेक्टहरू के हुन् ?

इम्युनोथेरापीमा सामान्यतया किमोथेरापीको तुलनामा कम साइड इफेक्ट हुन्छ, तर यसको मतलब यो होइन कि यसका कुनै दुष्प्रभाव छैनन् । यो उपचारले शरीरको इम्युन सिस्टमलाई सक्रिय बनाउँछ, त्यसैले कहिलेकाहीँ शरीरले स्वस्थ अंगहरूमाथि पनि आक्रमण गर्न थाल्छ ।

कुनै पनि औषधि साइड इफेक्ट बिना हुँदैन । किमोथेरापीका दुष्प्रभाव हुन्छन् तर इम्युनोथेरापीका हुँदैनन् भन्नु गलत हुन्छ । दुवैका आफ्ना दुष्प्रभाव हुन्छन् ।

इम्युनोथेरापीले शरीरका इम्युन कोषहरूलाई क्यान्सरमाथि आक्रमण गर्न सक्रिय बनाउँछ । तर कहिलेकाहीँ यी कोषहरू आवश्यकताभन्दा बढी सक्रिय भएर सामान्य कोषहरूलाई पनि प्रभावित गर्न थाल्छन् । विशेष गरी थाइरोइड र एड्रिनल जस्ता हर्मोन उत्पादन गर्ने ग्रन्थीहरूलाई यसले प्रभाव पार्छ । यसका कारण हाइपोथाइरोइडिज्म, शरीरमा स्टेरोइडको कमी, सोडियमको स्तर घट्ने र थकान जस्ता समस्याहरू हुन सक्छन् ।

इम्युनोथेरापी कसरी काम गर्छ ?

इम्युनोथेरापीका दुई प्रमुख प्रकार छन् : कार–टी सेल थेरापी र इम्युन चेकप्वाइन्ट इनहिबिटरहरू । कार–टी सेल थेरापी एक आधुनिक र व्यक्तिगत उपचार हो, जसको प्रयोग हाल मुख्य रूपमा केही प्रकारका रक्त क्यान्सरमा गरिन्छ ।

यो प्रक्रियामा डाक्टरले बिरामीको शरीरबाट टी–सेल निकाल्छन् । यी विशेष इम्युन कोषहरू हुन् जसले शरीरमा बाहिरी खतरा पहिचान गरेर समाप्त गर्छन् ।

ल्याबमा यी कोषहरूमा आनुवंशिक परिवर्तन गरिन्छ, ताकि तिनीहरूले क्यान्सर कोषहरूलाई राम्रोसँग पहिचान गर्न सकुन् । त्यसपछि तिनीहरूलाई फेरि बिरामीको शरीरमा हालिन्छ ।

यी परिवर्तित कोषहरूले क्यान्सरलाई पहिचान गरेर त्यसमाथि अझ प्रभावकारी आक्रमण गर्छन् । हाल यो थेरापी मुख्य रूपमा रक्त क्यान्सरको उपचारमा प्रयोग भइरहेको छ ।

इम्युन चेकप्वाइन्ट इनहिबिटरहरू के हुन् ?

इम्युनोथेरापीको अर्को प्रमुख श्रेणी इम्युन चेकप्वाइन्ट इनहिबिटर हो । हाल यो इम्युनोथेरापीको सबैभन्दा बढी प्रयोग हुने तरिका हो । कहिलेकाहीँ क्यान्सर कोषहरूले शरीरको इम्युन सिस्टमलाई धोका दिन ‘अफ स्विच’ सक्रिय गरिदिन्छन्, जसले इम्युन कोषहरूले तिनीहरूमाथि आक्रमण गर्दैनन् ।

चेकप्वाइन्ट इनहिबिटर औषधिहरूले यी ‘अफ स्विच’ लाई ब्लक गरिदिन्छन्, जसले इम्युन सिस्टम सक्रिय रहन्छ । त्यसपछि टी–सेलले क्यान्सरलाई खतरा ठानेर त्यसमाथि आक्रमण गर्न सक्छ ।

यो प्रविधि विकास गर्ने वैज्ञानिकहरूलाई सन् २०१८ मा नोबेल पुरस्कार पनि दिइएको थियो । आज यी औषधिहरूको प्रयोग विश्वभरि, फोक्सोको क्यान्सर, पाठेघरको मुखको क्यान्सर र केही कोलोरेक्टल क्यान्सरको उपचारमा भइरहेको छ ।

यद्यपि, हरेक प्रकारको क्यान्सरमा इम्युनोथेरापी समान रूपमा प्रभावकारी हुँदैन । केही क्यान्सरहरू छन् जसमा इम्युनोथेरापी त्यति राम्रो काम गर्दैन, जस्तै ब्रेन क्यान्सर र ब्रेस्ट क्यान्सर । यो लिभर क्यान्सरमा पनि काम गर्न सक्छ तर फोक्सोको क्यान्सर, सर्वाइकल क्यान्सर, एमएसआई–हाई कोलोरेक्टल क्यान्सर र छालाको क्यान्सरमा जति प्रभावकारी हुन्छ, त्यति हुँदैन ।

के इम्युनोथेरापी क्यान्सरको उपचार हो ?

इम्युनोथेरापीलाई क्यान्सरको ‘पक्का उपचार’ भन्नु सही हुँदैन । केही प्रकारका क्यान्सरमा इम्युनोथेरापीले बिरामीहरूको निको हुने सम्भावना निकै बढाउन सक्छ वा लामो समयसम्म रोग नियन्त्रणमा राख्न मद्दत गर्न सक्छ ।

केही क्यान्सरमा इम्युनोथेरापीबाट बिरामीहरू निको हुने सम्भावना बढ्छ । त्यसैले यो हरेक क्यान्सर पूर्णरूपमा ठीक गर्छ वा एकदमै असर गर्दैन भन्नु सही हुँदैन ।

कुनै बिरामीलाई इम्युनोथेरापी दिन सकिन्छ वा सकिँदैन भन्ने कुरा ट्युमरको प्रकार, त्यसको अवस्था र शरीरमा त्यसको स्थिति जस्ता धेरै कुरामा निर्भर गर्छ । यो पनि आवश्यक छैन कि हरेक बिरामीलाई इम्युनोथेरापी दिन सकियोस् ।

हरेक बिरामीलाई इम्युनोथेरापी दिइँदैन । यसको फाइदा कसैलाई ७५ प्रतिशत कसैलाई ५० प्रतिशत र कसैलाई मात्र २० प्रतिशतसम्म हुन सक्छ । यो पूर्णरूपमा क्यान्सरको प्रकार र बिरामीको अवस्थामा निर्भर गर्छ । जुन बिरामीहरूमा इम्युनोथेरापी प्रभावकारी हुन्छ, उनीहरूमा यसको फाइदा लामो समयसम्म रहन सक्छ ।

नेपालमा इम्युनोथेरापीको खर्च कति छ ?

नेपालमा इम्युनोथेरापीको सबैभन्दा ठूलो चुनौती यसको खर्च हो । यो उपचार पारम्परिक किमोथेरापीको तुलनामा निकै महँगो हुन्छ ।

उपचारको कुल खर्च कुन औषधि दिइँदै छ, क्यान्सरको प्रकार के हो र उपचार कति समयसम्म चल्छ भन्नेमा निर्भर गर्छ । केही अवस्थामा उपचार एकदेखि दुई वर्षसम्म चल्न सक्छ । एक साइकलको खर्च ५० हजार देखि ६ लाख रुपैँयासम्म पर्छ ।

यदि कुनै औषधिको एक डोजको ३ देखि लाख रुपैयाँको छ र बिरामीलाई १२ डोज चाहिन्छ भने, कुल खर्च कति हुन्छ अन्दाज गर्न सकिन्छ ।

सरकारले नेपालमै इमिनोथेरापी औषधि उत्पादन गर्न स्थानीय औषधि उद्योगलाई प्रोत्साहन र प्राविधिक सहयोग दिनुपर्छ । यसले औषधिको मूल्य घटाउँछ, रोजगारी सिर्जना गर्छ र दक्ष जनशक्ति विदेश पलायनबाट जोगाउँछ ।

के क्यान्सर उपचारको भविष्य हो इम्युनोथेरापी ?

इम्युनोथेरापी पूर्णरूपमा किमोथेरापी वा रेडियोथेरापीको स्थान लिइरहेको छैन । बरु, यो क्यान्सर उपचारको एक महत्वपूर्ण नयाँ विकल्प बन्दै गइरहेको छ ।

अब डाक्टरहरू राम्रो नतिजाका लागि इम्युनोथेरापीलाई किमोथेरापी, शल्यक्रिया वा रेडिएसनसँग मिलाएर प्रयोग गरिरहेका छन् । जब इम्युनोथेरापीलाई किमोथेरापीसँग दिइन्छ, धेरै रोगहरूमा राम्रो नतिजा देखिन्छ ।

क्यान्सर सामान्यतया ‘पूर्ण निको भयो’ जस्ता शब्द प्रयोग हुँदैन । तर केही बिरामीहरूमा इम्युनोथेरापीले आयु निकै बढाउन सक्छ ।

अनुसन्धानकर्ताहरू अब नयाँ इम्युनोथेरापी औषधि र विभिन्न उपचारहरूको संयोजनमा काम गरिरहेका छन्, ताकि कुन बिरामीहरूलाई यसबाट सबैभन्दा बढी फाइदा होला भन्ने थाहा पाउन सकियोस् ।

इम्युनोथेरापी कुनै चमत्कारिक उपचार होइन । तर जुन बिरामीहरूमा यो प्रभावकारी हुन्छ, उनीहरूका लागि यो क्यान्सर उपचारको चित्र बदलिरहेको छ ।

इम्युनोथेरापी क्यान्सर
लेखक
सुमित्रा लुइटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

इम्युनोथेरापी के हो ? क्यान्सरको उपचारमा कति प्रभावकारी छ ?

इम्युनोथेरापी के हो ? क्यान्सरको उपचारमा कति प्रभावकारी छ ?

नयाँ ठाउँमा जाँदा किन लाग्दैन मस्त निद्रा ?

नयाँ ठाउँमा जाँदा किन लाग्दैन मस्त निद्रा ?

‘असल नियतले गरिएको उपचारलाई अपराधसँग जोड्न हुँदैन’

‘असल नियतले गरिएको उपचारलाई अपराधसँग जोड्न हुँदैन’

फुटबल खेलाडी सनम विकको उपचारका लागि २२ लाख ५३ हजार संकलन

फुटबल खेलाडी सनम विकको उपचारका लागि २२ लाख ५३ हजार संकलन

सडक किनारमा हुने पार्थेनियमको झार प्रकोप : छालाको रोगको मौन महामारी

सडक किनारमा हुने पार्थेनियमको झार प्रकोप : छालाको रोगको मौन महामारी

स्वास्थ्य मन्त्रालयको नाममा जोडिएका थरीथरीका पुच्छर : २००७ सालदेखि २०८३ सम्म

स्वास्थ्य मन्त्रालयको नाममा जोडिएका थरीथरीका पुच्छर : २००७ सालदेखि २०८३ सम्म