+

इम्युनोथेरापी के हो ? क्यान्सरको उपचारमा कति प्रभावकारी छ ?

२०८३ जेठ  ४ गते १३:२२ २०८३ जेठ ४ गते १३:२२

कुनै पनि औषधि साइड इफेक्ट बिना हुँदैन । किमोथेरापीका दुष्प्रभाव हुन्छन् तर इम्युनोथेरापीका हुँदैनन् भन्नु गलत हुन्छ ।

इम्युनोथेरापी के हो ? क्यान्सरको उपचारमा कति प्रभावकारी छ ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इम्युनोथेरापीले शरीरको आफ्नै प्रतिरक्षा प्रणाली सक्रिय बनाएर क्यान्सरको उपचारमा नयाँ विकल्प प्रदान गरेको छ।
  • नेपालमा इम्युनोथेरापीको प्रयोग बढ्दै छ तर यसको खर्च धेरै महँगो छ र सबै बिरामीमा समान प्रभावकारी हुँदैन।

क्यान्सर उपचारको क्षेत्रमा पछिल्ला वर्षहरूमा इम्युनोथेरापीले नयाँ आशा थपेको छ । शल्यक्रिया, किमोथेरापी र रेडियोथेरापीपछि अहिले इम्युनोथेरापी पनि प्रभावकारी उपचार विकल्पका रूपमा स्थापित हुँदै गएको छ ।

शरीरको आफ्नै प्रतिरक्षा प्रणालीलाई सक्रिय बनाएर क्यान्सरसँग लड्ने यो प्रविधि नेपालमा पनि विस्तारै प्रयोगमा आउन थालेको छ । तर यो उपचार सबै बिरामीका लागि समान रूपमा प्रभावकारी हुँदैन र यसको खर्च पनि निकै महँगो छ ।

क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीसँग इम्युनोथेरापी के हो, यसले कसरी काम गर्छ, यसको प्रभावकारिता, चुनौती र भविष्यबारे गरिएको कुराकानी गरिएको छ ।

के हो इम्युनोथेरापी ?

क्यान्सरको उपचारका लागि पहिले सामान्य रूपमा शल्यक्रिया, किमोथेरापी र रेडियोथेरापीको सहारा लिइन्थ्यो । अब यो सूचीमा इम्युनोथेरापी पनि थपिएको छ । इम्युनोथेरापी नेपाल भारतसहित सारा विश्वमा अपनाइँदै छ । एक शताब्दीभन्दा बढी समयको अनुसन्धानपछि अब इम्युनोथेरापी उपचारमा प्रयोग भइरहेको छ ।

यसले केही बिरामीहरूको अझ सटीक उपचार गर्न मद्दत गर्छ । यस तरिकाको उपचारमा कम साइड इफेक्ट हुन्छ र लामो समयसम्म क्यान्सरलाई नियन्त्रणमा राख्न पनि सहयोग पुग्छ ।

अब नेपालमा पनि विभिन्न प्रकारका क्यान्सरको उपचारमा इम्युनोथेरापीको प्रयोग बढ्दै छ । किमोथेरापीले छिटो बढ्ने क्यान्सर कोषहरूमा प्रत्यक्ष आक्रमण गर्छ तर यस प्रक्रियामा धेरै स्वस्थ कोषहरूलाई पनि हानि पुर्‍याउँछ भने इम्युनोथेरापीले शरीरको आफ्नै प्रतिरक्षा प्रणाली इम्युन सिस्टमलाई क्यान्सर पहिचान गर्न र त्यससँग लड्न मद्दत गर्छ ।

यद्यपि, डाक्टरहरूले अझै पनि यसलाई चमत्कारिक उपचार भन्नबाट जोगिन सल्लाह दिन्छन् । यसको सफलता क्यान्सरको प्रकार, बिरामीको स्वास्थ्य र रोगको जैविक प्रकृति ‘बायोलोजी’मा धेरै हदसम्म निर्भर गर्छ ।

इम्युनोथेरापी र किमोथेरापीमा के फरक छ ?

किमोथेरापीमा औषधिहरू मार्फत छिटो विभाजित हुने क्यान्सर कोषहरूलाई नष्ट गरिन्छ । तर किमोथेरापीले केवल क्यान्सर कोषहरूलाई मात्र असर गर्दैन, शरीरका स्वस्थ र छिटो बढ्ने कोषहरूलाई पनि हानि पुर्‍याउँछ ।

यसै कारणले कपाल झर्ने, बान्ता हुने, थकान र संक्रमणको जोखिम जस्ता धेरै साइड इफेक्टहरू देखिन्छन् । किमोथेरापीले क्यान्सर कोषहरूलाई मार्छ, तर यसले शरीरका सबै छिटो विभाजित हुने कोषहरूलाई पनि असर गर्छ, त्यसैले शरीरका सामान्य कोषहरू पनि प्रभावित हुन्छन् । यही कारणले किमोथेरापीका धेरै साइड इफेक्ट हुन्छन् ।

इम्युनोथेरापीले फरक तरिकाले काम गर्छ । यसले क्यान्सरमा प्रत्यक्ष आक्रमण गर्दैन, बरू शरीरको इम्युन सिस्टमलाई बलियो र सक्रिय बनाउँछ, ताकि त्यसले क्यान्सर कोषहरूलाई पहिचान गरेर उनीहरूलाई समाप्त गर्न सकोस् ।

इम्युनोथेरापीले शरीरको इम्युन सिस्टमलाई क्यान्सर कोषहरूलाई पहिचान गर्न र समाप्त गर्न तालिम दिन्छ । सजिलो भाषामा बुझ्दा किमोथेरापीले क्यान्सरमा प्रत्यक्ष आक्रमण गर्छ भने इम्युनोथेरापीले शरीरलाई क्यान्सरसँग लड्न तयार पार्छ ।

इम्युनोथेरापीका साइड इफेक्टहरू के हुन् ?

इम्युनोथेरापीमा सामान्यतया किमोथेरापीको तुलनामा कम साइड इफेक्ट हुन्छ, तर यसको मतलब यो होइन कि यसका कुनै दुष्प्रभाव छैनन् । यो उपचारले शरीरको इम्युन सिस्टमलाई सक्रिय बनाउँछ, त्यसैले कहिलेकाहीँ शरीरले स्वस्थ अंगहरूमाथि पनि आक्रमण गर्न थाल्छ ।

कुनै पनि औषधि साइड इफेक्ट बिना हुँदैन । किमोथेरापीका दुष्प्रभाव हुन्छन् तर इम्युनोथेरापीका हुँदैनन् भन्नु गलत हुन्छ । दुवैका आफ्ना दुष्प्रभाव हुन्छन् ।

इम्युनोथेरापीले शरीरका इम्युन कोषहरूलाई क्यान्सरमाथि आक्रमण गर्न सक्रिय बनाउँछ । तर कहिलेकाहीँ यी कोषहरू आवश्यकताभन्दा बढी सक्रिय भएर सामान्य कोषहरूलाई पनि प्रभावित गर्न थाल्छन् । विशेष गरी थाइरोइड र एड्रिनल जस्ता हर्मोन उत्पादन गर्ने ग्रन्थीहरूलाई यसले प्रभाव पार्छ । यसका कारण हाइपोथाइरोइडिज्म, शरीरमा स्टेरोइडको कमी, सोडियमको स्तर घट्ने र थकान जस्ता समस्याहरू हुन सक्छन् ।

इम्युनोथेरापी कसरी काम गर्छ ?

इम्युनोथेरापीका दुई प्रमुख प्रकार छन् : कार–टी सेल थेरापी र इम्युन चेकप्वाइन्ट इनहिबिटरहरू । कार–टी सेल थेरापी एक आधुनिक र व्यक्तिगत उपचार हो, जसको प्रयोग हाल मुख्य रूपमा केही प्रकारका रक्त क्यान्सरमा गरिन्छ ।

यो प्रक्रियामा डाक्टरले बिरामीको शरीरबाट टी–सेल निकाल्छन् । यी विशेष इम्युन कोषहरू हुन् जसले शरीरमा बाहिरी खतरा पहिचान गरेर समाप्त गर्छन् ।

ल्याबमा यी कोषहरूमा आनुवंशिक परिवर्तन गरिन्छ, ताकि तिनीहरूले क्यान्सर कोषहरूलाई राम्रोसँग पहिचान गर्न सकुन् । त्यसपछि तिनीहरूलाई फेरि बिरामीको शरीरमा हालिन्छ ।

यी परिवर्तित कोषहरूले क्यान्सरलाई पहिचान गरेर त्यसमाथि अझ प्रभावकारी आक्रमण गर्छन् । हाल यो थेरापी मुख्य रूपमा रक्त क्यान्सरको उपचारमा प्रयोग भइरहेको छ ।

इम्युन चेकप्वाइन्ट इनहिबिटरहरू के हुन् ?

इम्युनोथेरापीको अर्को प्रमुख श्रेणी इम्युन चेकप्वाइन्ट इनहिबिटर हो । हाल यो इम्युनोथेरापीको सबैभन्दा बढी प्रयोग हुने तरिका हो । कहिलेकाहीँ क्यान्सर कोषहरूले शरीरको इम्युन सिस्टमलाई धोका दिन ‘अफ स्विच’ सक्रिय गरिदिन्छन्, जसले इम्युन कोषहरूले तिनीहरूमाथि आक्रमण गर्दैनन् ।

चेकप्वाइन्ट इनहिबिटर औषधिहरूले यी ‘अफ स्विच’ लाई ब्लक गरिदिन्छन्, जसले इम्युन सिस्टम सक्रिय रहन्छ । त्यसपछि टी–सेलले क्यान्सरलाई खतरा ठानेर त्यसमाथि आक्रमण गर्न सक्छ ।

यो प्रविधि विकास गर्ने वैज्ञानिकहरूलाई सन् २०१८ मा नोबेल पुरस्कार पनि दिइएको थियो । आज यी औषधिहरूको प्रयोग विश्वभरि, फोक्सोको क्यान्सर, पाठेघरको मुखको क्यान्सर र केही कोलोरेक्टल क्यान्सरको उपचारमा भइरहेको छ ।

यद्यपि, हरेक प्रकारको क्यान्सरमा इम्युनोथेरापी समान रूपमा प्रभावकारी हुँदैन । केही क्यान्सरहरू छन् जसमा इम्युनोथेरापी त्यति राम्रो काम गर्दैन, जस्तै ब्रेन क्यान्सर र ब्रेस्ट क्यान्सर । यो लिभर क्यान्सरमा पनि काम गर्न सक्छ तर फोक्सोको क्यान्सर, सर्वाइकल क्यान्सर, एमएसआई–हाई कोलोरेक्टल क्यान्सर र छालाको क्यान्सरमा जति प्रभावकारी हुन्छ, त्यति हुँदैन ।

के इम्युनोथेरापी क्यान्सरको उपचार हो ?

इम्युनोथेरापीलाई क्यान्सरको ‘पक्का उपचार’ भन्नु सही हुँदैन । केही प्रकारका क्यान्सरमा इम्युनोथेरापीले बिरामीहरूको निको हुने सम्भावना निकै बढाउन सक्छ वा लामो समयसम्म रोग नियन्त्रणमा राख्न मद्दत गर्न सक्छ ।

केही क्यान्सरमा इम्युनोथेरापीबाट बिरामीहरू निको हुने सम्भावना बढ्छ । त्यसैले यो हरेक क्यान्सर पूर्णरूपमा ठीक गर्छ वा एकदमै असर गर्दैन भन्नु सही हुँदैन ।

कुनै बिरामीलाई इम्युनोथेरापी दिन सकिन्छ वा सकिँदैन भन्ने कुरा ट्युमरको प्रकार, त्यसको अवस्था र शरीरमा त्यसको स्थिति जस्ता धेरै कुरामा निर्भर गर्छ । यो पनि आवश्यक छैन कि हरेक बिरामीलाई इम्युनोथेरापी दिन सकियोस् ।

हरेक बिरामीलाई इम्युनोथेरापी दिइँदैन । यसको फाइदा कसैलाई ७५ प्रतिशत कसैलाई ५० प्रतिशत र कसैलाई मात्र २० प्रतिशतसम्म हुन सक्छ । यो पूर्णरूपमा क्यान्सरको प्रकार र बिरामीको अवस्थामा निर्भर गर्छ । जुन बिरामीहरूमा इम्युनोथेरापी प्रभावकारी हुन्छ, उनीहरूमा यसको फाइदा लामो समयसम्म रहन सक्छ ।

नेपालमा इम्युनोथेरापीको खर्च कति छ ?

नेपालमा इम्युनोथेरापीको सबैभन्दा ठूलो चुनौती यसको खर्च हो । यो उपचार पारम्परिक किमोथेरापीको तुलनामा निकै महँगो हुन्छ ।

उपचारको कुल खर्च कुन औषधि दिइँदै छ, क्यान्सरको प्रकार के हो र उपचार कति समयसम्म चल्छ भन्नेमा निर्भर गर्छ । केही अवस्थामा उपचार एकदेखि दुई वर्षसम्म चल्न सक्छ । एक साइकलको खर्च ५० हजार देखि ६ लाख रुपैँयासम्म पर्छ ।

यदि कुनै औषधिको एक डोजको ३ देखि लाख रुपैयाँको छ र बिरामीलाई १२ डोज चाहिन्छ भने, कुल खर्च कति हुन्छ अन्दाज गर्न सकिन्छ ।

सरकारले नेपालमै इमिनोथेरापी औषधि उत्पादन गर्न स्थानीय औषधि उद्योगलाई प्रोत्साहन र प्राविधिक सहयोग दिनुपर्छ । यसले औषधिको मूल्य घटाउँछ, रोजगारी सिर्जना गर्छ र दक्ष जनशक्ति विदेश पलायनबाट जोगाउँछ ।

के क्यान्सर उपचारको भविष्य हो इम्युनोथेरापी ?

इम्युनोथेरापी पूर्णरूपमा किमोथेरापी वा रेडियोथेरापीको स्थान लिइरहेको छैन । बरु, यो क्यान्सर उपचारको एक महत्वपूर्ण नयाँ विकल्प बन्दै गइरहेको छ ।

अब डाक्टरहरू राम्रो नतिजाका लागि इम्युनोथेरापीलाई किमोथेरापी, शल्यक्रिया वा रेडिएसनसँग मिलाएर प्रयोग गरिरहेका छन् । जब इम्युनोथेरापीलाई किमोथेरापीसँग दिइन्छ, धेरै रोगहरूमा राम्रो नतिजा देखिन्छ ।

क्यान्सर सामान्यतया ‘पूर्ण निको भयो’ जस्ता शब्द प्रयोग हुँदैन । तर केही बिरामीहरूमा इम्युनोथेरापीले आयु निकै बढाउन सक्छ ।

अनुसन्धानकर्ताहरू अब नयाँ इम्युनोथेरापी औषधि र विभिन्न उपचारहरूको संयोजनमा काम गरिरहेका छन्, ताकि कुन बिरामीहरूलाई यसबाट सबैभन्दा बढी फाइदा होला भन्ने थाहा पाउन सकियोस् ।

इम्युनोथेरापी कुनै चमत्कारिक उपचार होइन । तर जुन बिरामीहरूमा यो प्रभावकारी हुन्छ, उनीहरूका लागि यो क्यान्सर उपचारको चित्र बदलिरहेको छ ।

इम्युनोथेरापी क्यान्सर
लेखक
सुमित्रा लुइटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय