+

सडक किनारमा हुने पार्थेनियमको झार प्रकोप : छालाको रोगको मौन महामारी

२०८३ जेठ  ३ गते १२:४६ २०८३ जेठ ३ गते १२:४६
Shares
सडक किनारमा हुने पार्थेनियमको झार प्रकोप : छालाको रोगको मौन महामारी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पार्थेनियम हिस्टेरोफोरस नामक झारले नेपाल र भारतमा छाला एलर्जी, दम र वातावरणीय क्षति निम्त्याइरहेको छ।
  • यस झारले छालामा चिलाउने, रातो दाग र पोल्ने समस्या गराउँछ भने श्वासप्रश्वासमा पनि असर गर्छ।

के तपाईंको अनुहार, घाँटी वा छातीमा बारम्बार चिलाउने, रातो दाग देखिने हुन्छ ? कारण हुन सक्छ– पार्थेनियम झार । नेपाल र भारतका सडक किनार, खाली जमिन, खेतबारी, निमार्ण क्षेत्र तथा शहरी फोहोर स्थानहरूमा व्यापक रूपमा फैलिएको एउटा झारले अहिले सार्वजनिक स्वास्थ्य, कृषि र वातावरणमा गम्भीर चुनौती सिर्जना गरिरहेको छ ।

यो झार हो– पार्थेनियम हिस्टेरोफोरस । यसलाई नेपाल र भारतमा ‘कंग्रेस घाँस’, ‘गाजर झार’, ‘सेतो टुप्पे झार’ आदि नामले चिनिन्छ । विशेषगरी छालामा हुने एलर्जिक कन्ट्याक्ट डर्माटाइटिसको प्रमुख कारणका रूपमा यो दक्षिण एसियामा व्यापक रूपमा पिरिचत छ ।

भारतमा त छाला रोग क्लिनिकमा आउने किरब ४० प्रतिशत बिरामीमा पार्थेनियम जिम्मेवार रहेको अध्ययनहरूले देखाएका छन् । नेपालमा यसलाई वैज्ञानिक लेखहरूमा ‘अत्यन्त एलर्जी पैदा गर्ने आक्रामक विदेशी प्रजाति’ को रूपमा वर्णन गरिएको छ ।

कस्तो वनस्पति हो पार्थेनियम ?

पार्थेनियम एस्टेरेसी (कम्पोजिटे) परिवारको झार हो । यो साधारणतया १–२ मिटर अग्लो हुन्छ । यसको काटिएको जस्तो हरियो पात र सेता साना फूलहरूको गुच्छा हुन्छ । अत्यन्त धेरै बीउ उत्पादन गर्ने क्षमता हुने यो झारको एउटै बोटबाट १० हजार भन्दा बढी बीउ उत्पादन हुन्छ ।

सुख्खा तथा कम मलिलो माटोमा पनि सजिलै उम्रिने र वषभरि बढ्न सक्ने क्षमता हुन्छ । यो झार मूलतः उष्ण तटबन्धीय क्षेत्र अमेरिका तथा क्यारिबियन क्षेत्रको स्थानीय वनस्पति मानिन्छ । पछि, यो अमेरिका हुँदै एशिया, अफ्रिका र अष्ट्रेलियामा फैलियो ।

नेपाल र भारतमा कसरी भित्रियो ?

अनुसन्धान अनुसार १९५० को दशकमा अमेरिकाबाट भारत ल्याइएको मिसावटयुक्त गहुँ तथा घाँसको बीउसँगै पार्थेनियम भित्रएको मानिन्छ । त्यसपछि, यो भारतभरि तीव्र रूपमा फैलियो र नेपालमा पनि प्रवेश गर्यो । नेपालमा विशेषगरी, तराई क्षेत्र, काठमाडौं उपत्यका, राजमार्ग आसपास र खेतीयोग्य जमिन आसपास यसको तीव्र विस्तार देखिएको छ । नेपालमा यसलाई ‘अत्यन्त एलर्जी पैदा गर्ने आक्रामक विदेशी प्रजाति’ भनेर वैज्ञानिक लेखहरूमा वणर्न गरिएको छ ।

पार्थेनियम किन खतरनाक छ ?

पार्थेनियम केवल एउटा सामान्य झार होइन, यो चार क्षेत्रका लागि खतरा हुन्छ । यसले स्वास्थ्यमा समस्या गराउँछ र कृषि उत्पादन समेत घटाउँछ । यसले पशु स्वास्थ्यमा समेत असर गर्न सक्छ र जैविक विविधतालाई पनि नष्ट गर्छ । यो एक आक्रामक विदेशी प्रजाति हो । यसले स्थानीय वनस्पति हटाउँदै वातावरणीय सन्तुलन बिगार्छ । किसानहरूका अनुसार यसले खेतबारीको उत्पादनसमेत घटाउन सक्छ ।

एलर्जी कसरी हुन्छ ?

पार्थेनियममा पाइने सेस्क्विटरपिन ल्याक्टोन नामक रसायन नै एलर्जीको मुख्य कारण हो । यो पात, डाँठ, फूल, परागकण र स-साना रौँ मा पाइन्छ । यी कणहरू हावामा उडेर मानिसको छालामा पुग्छन् र यिनले हावाबाट हुने एलर्जी निम्त्याउँछन् । यो बिरुवालाई नछोए पनि एलर्जी हुन सक्छ ।

शरीरमा पर्ने असर

१. छालामा

सबैभन्दा धेरै असर छालामा देखिन्छ । छाला अत्यधिक चिलाउने, रातो बिमिरा वा दाग आउने, पोल्ने हुन्छ । धेरैजसो यसले अनुहार, निधार, आँखावरिपरि, गाला, चिउँडो, घाँटी, हातखुट्टालाई प्रभावित बनाउँछ । कतिपय बिरामीमा आँखावरिपरि सुन्निने पनि हुन्छ । घाँटीको अगाडिको भाग, तथा छातीको खुल्ला भाग पनि धेरै प्रभावित हुन्छ । दीघर्कालीन अवस्थामा छाला बाक्लो र कालो हुने र कतिपय बिरामीमा यो रोग ‘दीर्घकालीन सूर्यप्रकाशजन्य छाला रोग’ जस्तै देखिन सक्छ ।

२. श्वासप्रश्वासमा

श्वासप्रश्वास पार्थेनियमले नाकको एलर्जी गराउने, हाछ्यूँ आइरहने, दम वा सास फेर्न गाह्रो हुने समस्या पनि गराउन सक्छ ।

३. पशुमा

पार्थेनियम पशुहरूले खाँदा तिनिहरूमा विषाक्त असर वा एलर्जी हुने जोखिम हुन्छ । पाचनमा समस्या हुने र मृत्यु समेत हुन सक्ने अध्ययनहरूमा उल्लेख गरिएको छ ।

अनुसन्धानले के भन्छ ?

भारतमा ‘अल इन्डिया इन्स्चट्युट अफ मेडिकल साइन्स’ लगायतका संस्थाहरूले गरेको अध्ययन अनुसार पार्थेनियमका कारण छालामा हुने सबैभन्दा आम रोग यसले निम्त्याएको छ ।

अनुसन्धानहरूले ४ अतिसंवेदनशीलता (ढिलो देखिने एलर्जी) र प्रकार १ अतिसंवेदनशीलता (तुरुन्त देखिने एलर्जी) दुवै हुन सक्ने देखाएका छन् । कतिपय बिरामीमा अन्य कम्पोजिट परिवारका वनस्पति जस्तैः सयपत्री, सूर्यमुखीले पनि उस्तै एलर्जी गराउन सक्छन् ।

उपचार

१. सबैभन्दा महत्वपूर्ण भनेको पार्थेनियमबाट बच्नु नै मुख्य उपचार हो ।

२. औषिध (लक्षण अनुसार) : एन्टिहिस्टामिन, बाहिरी रूपमा लगाइने स्टेरोइड क्रिम, मोइस्चराइजर, मुखबाट खाने स्टेरोइडहरू प्रयोग गरिन्छ ।

पुरानो तथा गम्भीर अवस्थामा एजाथायोप्रिन, मेथोट्रेक्सेट आदि औषिधिहरूको प्रयोग हुन सक्छन् ।

४. प्याच टेस्ट : एलर्जीको कारण पुष्टि गर्न प्याच टेस्ट उपयोगी हुन्छ ।

रोकथाम

घर वरिपरि पार्थेनियम घास हटाउने, पञ्जा, मास्क र पूरा बाहुला भएका कपडा प्रयोग गर्ने, बाहिरबाट आएपछि नुहाउने गर्नुपर्छ । अनुहार वा घाँटीमा बारम्बार हुने एक्जिमा देखिए चिकित्सकलाई भेट्ने ।

सडकपेटी, सार्वजनिक जमिनमा रहेका झार नियन्त्रण अभियान चलाउने, स्थानीय तह, विद्यालय, स्वास्थ्य संस्थामा जनचेतना फैलाउने । भारतमा हरेक वर्ष अगष्ट महिनामा ‘पार्थेनियम अवेरनेस विक’ समेत मनाइन्छ । भारतमा जस्तै नेपालमा पनि अगस्ट महिनालाई पार्थेनियम जनचेतना सप्ताह मनाउन सकिन्छ ।

पार्थेनियम केवल एउटा साधारण झार होइन, यो स्वास्थ्य, कृषि र वातावरण तीनै क्षेत्रमा असर गर्ने आक्रामक प्रजाति हो । यदि नेपालमा यसको तीव्र फैलावटलाई नियन्त्रण गरिएन भने भविष्यमा एलर्जी, दम, क्रोनिक डर्माटाइटिस र वातावरणीय क्षति अझ गम्भीर बन्दै जानेछ ।

यदि परिवारमा कसैलाई बारम्बार अनुहार, घाँटी वा छातीमा चिलाउने दाग देखिने हुन्छ भने पार्थेनियमलाई पनि सम्भावित कारणको रूपमा सोच्नुपर्छ

समयमै विशेषज्ञको परामर्श र सचेतनाले दीर्घकालीन पीडा रोक्न सक्छ ।

एलर्जी छाला पार्थेनियम
डा. विकास पौडेल
लेखक
डा. विकास पौडेल
छाला, यौन तथा सौन्दर्य विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर :९१११ एमबीबीएस, एमडी, फेलोसिप इन क्लिनिकल डर्माटोलोजी (दक्षिण कोरिया) ललितपुर लगनखेलस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहायक प्राध्यापक, पाटन अस्पताल, नेसनल मेडिकल कलेज वीरगञ्ज, शंखमूल हेल्थकेयरर इलिट हेल्थ क्लिनिकमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

फुटबल खेलाडी सनम विकको उपचारका लागि २२ लाख ५३ हजार संकलन

फुटबल खेलाडी सनम विकको उपचारका लागि २२ लाख ५३ हजार संकलन

सडक किनारमा हुने पार्थेनियमको झार प्रकोप : छालाको रोगको मौन महामारी

सडक किनारमा हुने पार्थेनियमको झार प्रकोप : छालाको रोगको मौन महामारी

स्वास्थ्य मन्त्रालयको नाममा जोडिएका थरीथरीका पुच्छर : २००७ सालदेखि २०८३ सम्म

स्वास्थ्य मन्त्रालयको नाममा जोडिएका थरीथरीका पुच्छर : २००७ सालदेखि २०८३ सम्म

बारम्बार कान पाक्छ ? समयमै उपचार नगर्दा फाट्न सक्छ जाली

बारम्बार कान पाक्छ ? समयमै उपचार नगर्दा फाट्न सक्छ जाली

शहीद मेमोरियल अस्पतालका स्वास्थ्यकर्मी सेवा छोडेर आन्दोलनमा

शहीद मेमोरियल अस्पतालका स्वास्थ्यकर्मी सेवा छोडेर आन्दोलनमा

शिशुमा एसिड रिफ्लक्स भएको कसरी थाहा पाउने ? कारण र सामाधानका उपाय

शिशुमा एसिड रिफ्लक्स भएको कसरी थाहा पाउने ? कारण र सामाधानका उपाय