News Summary
Generated by OK AI. Editorially reviewed.- कान पाक्ने समस्या रुघाखोकी, पानी पर्नु, कान कोट्याउने बानी र अस्वच्छताका कारण हुन्छ र समयमै उपचार नगरे जाली फाट्ने जोखिम बढ्छ।
कान पाक्ने समस्या धेरैले सामान्य ठानेर बेवास्ता गर्ने रोग हो । तर समयमै उपचार नगरे यसले कानको जाली फाट्ने, सुन्ने क्षमता घट्ने, पटकपटक संक्रमण दोहोरिने र गम्भीर अवस्थामा मस्तिष्कसम्म संक्रमण फैलिने जोखिम बढाउँछ । रुघाखोकी, कानमा पानी पस्नु, कान कोट्याउने बानी र अस्वच्छता यसका प्रमुख कारण मानिन्छन् ।
कान पाक्ने समस्यालाई सामान्य रूपमा लिनु र बाहिरी कान र मध्य कानको संक्रमणबीचको फरक नबुझ्दा र कानमा जथाभावी तेल वा पातको रस हाल्दा जाली फुट्ने र सुन्न नसक्ने अवस्था आउन सक्छ । यस्तोमा कान पाक्ने समस्या किन हुन्छ, कसरी चिन्ने र कसरी बच्ने भन्ने विषयमा नाक, कान, घाँटीरोग विशेषज्ञ डा. अरुण केसीसँग गरिएको कुराकानी :
कान पाक्ने समस्या भनेको के हो ? यो कसरी सुरु हुन्छ ?
कान पाक्ने समस्या भनेको कानमा संक्रमण हुनु हो । यसलाई बाहिरी कानको संक्रमण र मध्य कानको संक्रमणमा विभाजन गर्न सकिन्छ । यो सामान्यतया रुघाखोकी, चिसो वा संक्रमणबाट सुरु हुन्छ ।
नेपालमा कुन क्षेत्रमा यो समस्या विकराल छ ?
तराई क्षेत्रमा यो समस्या धेरै देखिन्छ । जनघनत्व बढी भएको, एउटै ठाउँमा धेरै जना बस्ने र संक्रमण सजिलै सर्ने भएकाले तराईमा बढी छ । तर पहाड र हिमालमा पनि छ । मुख्य कारण अज्ञानता र जनचेतनाको कमी नै हो ।
कान पाक्ने मुख्य कारणहरू के–के हुन् ?
रुघाखोकी, बेस्सरी सींसीं गर्नु, कान कोट्याउने बानी, पानी पर्नु, धुलो/माटोको सम्पर्क, बच्चालाई सुताएर दूध खुवाउनु आदि कान पाक्ने मुख्य कारणहरूमा पर्छन् । मनसुनमा पानी पर्दा जालीमा प्वाल भएको कानमा संक्रमण हुने सम्भावना बढ्छ ।
बाहिरी कान र मध्य कानको संक्रमणमा के फरक छ ? पानी पस्दा वा कोट्याउँदा कसरी संक्रमण हुन्छ ?
बाहिरी कानको संक्रमण बाहिरी भागमा हुन्छ भने मध्य कानको संक्रमण जालीभित्र हुन्छ । पानी पसे वा जथाभावी कोट्याउँदा जीवाणु भित्र पस्छ र संक्रमण बढ्छ ।
कानमा तेल हाल्ने, जथाभावी कोट्याउने बानीले कति जोखिम बढाउँछ ?
यो बानीले जोखिम एकदमै बढाउँछ । सियो, बर्ड वा जे पायो त्यहीले कोट्याउँदा जाली फुट्न सक्छ र इन्फेक्सन बढ्छ । कानमा तेल युरिन, सिउडीको पातको रस, कुनै पनि जडीबुटी हाल्नु एकदमै हानिकारक र अवैज्ञानिक अभ्यास हो । यसले समस्या झन् बढाउन सक्छ ।
कान पाक्दा के–के लक्षण देखिन्छन् ?
लगातार कान पाक्दा कान डम्म हुनुका साथै दुख्ने गर्दछ । कानमा पिप बगिरहँदा कानको भित्री भागमासमेत संक्रमण हुन्छ । कानको जाली नै प्वाल पर्ने भएकाले कम सुन्ने वा सुन्दै नसुन्ने पनि हुनसक्छ ।
कानको जाली भनेको के हो ? यसको मुख्य काम के हो ?
कानको जाली भनेको मध्य कान र बाहिरी कानबीचको पातलो झिल्ली हो । कानको मध्यभागमा जाली रहेको हुन्छ । कानको बाहिरी भाग जसले बाहिरको आवाजलाई भित्र लैजाने काम गर्छ ।
आवाज जब कानमा प्रवेश गर्छ, तब कानको पर्दामा कम्पन हुन्छ । यो कम्पनले मस्तिष्कमा संकेत दिन्छ । कानको जालीको माध्यम हुँदै आवाज मस्तिष्कसम्म पुग्ने भएकाले यसको मुख्य काम आवाज सुन्न सहयोग गर्ने हो ।
कानको जाली फाट्ने मुख्य कारणहरू के के हुन् ?
कानमा पटकपटक संक्रमण हुँदा कानमा प्वाल पर्ने जोखिम हुन्छ । संक्रमण हुँदा पर्दापछि तरल पदार्थ एकत्रित हुन थाल्छ, त्यसैको दबाबले पर्दामा प्वाल पर्छ । साथै चोटपटकको कारण ट्रमा भएर पनि कानको जाली प्वाल पर्छ । कान चिलाउनेबित्तिकै एयर बर्ड, सिन्का लगायत प्रयोग गरेर हामी कान कोट्याउने गर्छौं, जसले गर्दा पनि कानमा प्वाल पर्न सक्छ ।
जाली फुटेपछि पानी पस्दा वा संक्रमण हुँदा के प्रभाव पर्छ ?
कानको जाली फाटेपछि संक्रमणको जोखिम धेरै हुन्छ । यस्तोमा कानमा पानी पसेर पटकपटक संक्रमणको कारण कानको जाली फाट्ने र कानको जाली फाटेपछि कानको भित्रसम्म संक्रमणको जोखिम बढ्छ र सुन्ने क्षमता कम हुँदै जान्छ।
घरेलु उपचार तेल हाल्ने, विभिन्न जडीबुटीको रस हाल्ने आदिले कति फाइदा वा हानि गर्छ ?
यस्ता उपचारले फाइदा गर्दैन, झन् जटिलता बढाउँछन् । कानमा तेल युरिन, पातको रस आदि हाल्नु एकदमै खतरनाक हुन्छ ।
कानको जाली टाल्नुपर्छ वा यत्तिकै छाड्दा पनि हुन्छ ?
पटकपटक कानमा संक्रमण भएका कारण कानको जाली फाटेको हो भने जाली आफैं टालिँदैन त्यसलाई टाल्नुपर्छ । चोटपटकको कारण जाली फाटेको हो भने यत्तिकै छाड्दा पनि हुन्छ त्यो बिस्तारै आफैं टालिन्छ ।
कानको जाली टाल्न कस्तो उपचार गर्नुपर्छ ?
कानको जाली टाल्न एक मात्र उपचार विधि भनेको शल्यक्रिया गरेर कानको जाली टाल्ने हो । औषधिको सेवनबाट यसको उपचार सम्भव हुँदैन ।
कानको जाली टाल्ने शल्यक्रिया कति जोखिमपूर्ण हुन्छ ? यसको अवधि कति लाग्छ ?
कानको जाली टाल्ने शल्यक्रिया दुई किसिमले हुन्छ । कानको जाली फाटेको छ भने जाली टाल्ने साधारण शल्यक्रिया धेरै जोखिमपूर्ण हुँदैन । यो शल्यक्रिया गर्दा बिरामीलाई बेहोस् पनि नबनाई कानको जाली टालेर त्यही दिन घर पठाउन सकिन्छ ।
संक्रमणको कारण कानको जालीसँगै हड्डी खिइएको, कुहिएको छ भने हड्डी निकालेर जाली राख्नु यो अलि जोखिमपूर्ण हुन्छ । तर समयको कुरा गर्दा दुवै शल्यक्रिया यति नै समय लाग्छ भनेर भन्न सकिँदैन । शल्यक्रिया गर्ने विधि, डाक्टर र बिरामीको जटिलता अनुसार फरक समय लाग्न सक्छ ।
कानको जालीको शल्यक्रिया गरिएन भने त्यसको असर के-के हुन सक्छ ?
कानको जालीको शल्यक्रिया समयमा गरिएन भने त्यसको जटिलता बढ्दै जान्छ । सुन्ने क्षमता कम हुँदै जान्छ । कानको जाली फाटेको कारण कानमा संक्रमण बढ्दै गएर मस्तिष्कसम्म नै संक्रमण पुग्ने हुन सक्छ । साथै मस्तिष्कमा पिप जम्ने, मुख बाङ्गो हुनेदेखि लिएर सुन्ने क्षमता पूरै हराउने पनि हुन्छ ।
कानको जाली जोगाउन के गर्नुपर्छ ?
कानको जाली जोगाउन कानलाई हरसम्भव सुख्खा र सफा राख्ने, रुघाखोकी लागेको बेला नाक बेस्सरी सींसीं नगर्ने, कान सफा गर्नका लागि तिखो चीज प्रयोग नगर्ने, कानमा तेल नहाल्ने गर्नुपर्छ ।
यस्तै बच्चालाई दूध खुवाउँदा सुताएर नखुवाउने, कोल्टे पारेर अलि माथि उठाएर मात्र खुवाउने गर्नुपर्छ । चर्को ध्वनिबाट बच्ने, कानलाई चोटपटक लाग्नबाट बचाउने, कानमा कुनै पनि प्रकारको संक्रमण देखियो भने तुरुन्त अस्पताल गएर चिकित्सकको सल्लाह लिनुपर्छ ।
प्रतिक्रिया 4