+

बच्चाको कानमा बारम्बार संक्रमण हुँदा सुन्ने क्षमतामा कमी आउँछ ?

२०८२ चैत  २५ गते १३:१८ २०८२ चैत २५ गते १३:१८

धेरैजसो संक्रमणमा सुन्ने क्षमतामा अस्थायी कमी आउँछ । तर यदि संक्रमण बारम्बार भइरह्यो भने यो कमी लामो समयसम्म रहन सक्छ ।

Shares
बच्चाको कानमा बारम्बार संक्रमण हुँदा सुन्ने क्षमतामा कमी आउँछ ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बारम्बार कान संक्रमणले बच्चाको सुन्ने क्षमता, बोल्ने र सिक्ने क्षमतामा दीर्घकालीन असर पार्न सक्छ।

बच्चाहरूमा कानको संक्रमण बारम्बार दोहोरिनु आम समस्या हो । सानो बच्चालाई कान दुखिरहँदा अभिभावकहरू निकै चिन्तित हुन्छन् । तर धेरैजसो आमाबुबालाई थाहा हुँदैन कि यो बारम्बार हुने कानको संक्रमणले बच्चाको सुन्ने क्षमतामा स्थायी असर पार्न सक्छ । यदि समयमै ध्यान नदिइएमा बच्चाको बोल्ने, सिक्ने र समग्र विकासमा पनि नकारात्मक प्रभाव पर्न सक्छ ।

कानको सफाइमा ध्यान नदिँदा, बारम्बार चिसो लाग्दा, एलर्जी वा अन्य कारणले बच्चाहरूमा कान संक्रमण सजिलै हुन सक्छ । यसबाट बच्चालाई कानमा दुखाइ, कानबाट पीप निस्कने, कान भारी हुने, ज्वरो आउने, कान चिलाउने र कान बन्द भएको जस्तो महसुस हुने समस्या देखिन्छ ।

के बारम्बार कान संक्रमणले बच्चाको सुनाइमा पनि असर गर्छ ?

कानमा बारम्बार संक्रमण हुँदा बच्चामा सुन्ने समस्या हुनसक्छ । संक्रमणले बच्चालाई कान दुख्ने, पोल्ने, सुन्निने, चिलाउने र कानबाट पानी जस्तो निस्कने जस्ता धेरै कष्ट दिन्छ ।

धेरै अभिभावकले सोच्छन्, बच्चाले ठूलो आवाजमा प्रतिक्रिया दिइरहेको छ भने उसको सुन्ने क्षमता ठीक छ । तर वास्तवमा बारम्बार संक्रमणले गर्दा बच्चाले केही विशेष आवाजको फ्रिक्वेन्सी सुन्न सक्दैन । यी आवाजहरू बोल्ने र भाषा विकासका लागि अत्यन्त जरुरी हुन्छन् ।

बच्चाको सुन्ने क्षमता केवल आवाज सुन्ने कुरा मात्र होइन, यो उसको बोल्ने क्षमता, सिक्ने प्रक्रिया, आत्मविश्वास र समग्र विकाससँग जोडिएको हुन्छ । यदि संक्रमण बारम्बार दोहोरिरह्यो भने यो समस्या अस्थायी नभई दीर्घकालीन बन्न सक्छ ।

त्यस्तै, सानो बच्चालाई सुताएर दूध खुवाउँदा ‘इस्टयाचन ट्यूब’ बाट घाँटी बाट कानमा दूध पस्दा कान पाक्न सक्छ । नाकको पछाडी हुने एडोनोइड  ग्रन्थी ठूलो हुँदा’इस्टयाचन ट्यूब’ बन्द भई लामो समय उपचार नहुदा कानमा पानी भर्दा कान नसुन्ने हुन सक्छ । यस्तो कानको अवस्था लाई ‘ग्लू इयर’ अथवा ‘ओटाई टिस मिडिया विथ इफूजन’ भनिन्छ । यस्तो अवस्थामा कानमा अपरेशन द्वारा ट्यूव ( भीटी ) हाल्नु पर्छ ।

लक्षणहरू

जब बच्चाको कानमा बारम्बार संक्रमण हुन्छ, तब उनीहरू विभिन्न किसिमका असुविधा महसुस गर्छन् । बच्चा चिडचिड बन्छ, रिसाउँछ, राम्रोसँग सुत्दैन र दुखाइका कारण रोइकराउँछन् ।

मुख्य लक्षणहरूमा कानमा तीव्र दुखाइ, कानबाट पानी निस्कनु, कान भारी वा बन्द भएको अनुभव हुनु, ज्वरो आउनु, कान तान्ने व्यवहार र कान चिलाउने समस्या समावेश छन् ।

यी लक्षण देखिएमा बेवास्ता गर्नुहुँदैन । किनकि सानो बच्चाले आफ्नो पीडा शब्दमा व्यक्त गर्न सक्दैन । समयमै ध्यान दिएमा ठूलो समस्या रोक्न सकिन्छ ।

कानमा तरल पदार्थ जम्मा हुनु

कान संक्रमण हुँदा बच्चाको मध्य कानमा तरल पदार्थ जम्मा हुन्छ । यो तरलले ध्वनि तरंगहरूलाई कानको भित्री भागसम्म पुग्नबाट रोक्छ । यस अवस्थालाई ‘कन्डक्टिभ हियरिङ लस’ भनिन्छ ।

तरल जम्मा हुँदा बच्चालाई आवाज सुन्न गाह्रो हुन्छ । यदि यो तरल लामो समयसम्म रह्यो भने सुन्ने समस्या बढेर जान्छ र बच्चाको भाषा सिक्ने तथा बोल्ने क्षमतामा पनि असर पर्छ । सामान्य संक्रमणमा यो समस्या केही दिनमा ठीक हुन्छ, तर बारम्बार दोहोरिँदा यो दीर्घकालीन समस्या बन्न सक्छ।

कानमा चिलाउने र सुन्निने समस्या

बारम्बार संक्रमणले कानमा निरन्तर चिलाउने, सुन्निने र दुख्ने समस्या निम्त्याउँछ । यसले बच्चालाई सुत्न र दैनिक क्रियाकलाप गर्न पनि गाह्रो बनाउँछ ।

कहिलेकाहीँ बाहिरी कानमा पनि संक्रमण फैलिन सक्छ जसले चिलाउने र पोल्ने समस्या अझ बढाउँछ । यस्तो अवस्थामा तुरुन्त चिकित्सकीय सल्लाह लिनु आवश्यक हुन्छ ।

सुन्ने क्षमतामा कमी आउनु

धेरैजसो संक्रमणमा सुन्ने क्षमतामा अस्थायी कमी आउँछ । तर यदि संक्रमण बारम्बार भइरह्यो भने यो कमी लामो समयसम्म रहन सक्छ । यसले बच्चालाई टिभीको आवाज बढाएर हेर्ने, बोलाएको नाममा प्रतिक्रिया नदिने वा बोल्न ढिलो गर्ने जस्ता समस्या देखिन सक्छन् ।

यस्ता संकेतहरूलाई हल्का लिनुहुँदैन, किनकि सुन्ने समस्या भएमा बच्चाको समग्र विकासमा नकारात्मक प्रभाव पर्छ ।

कानलाई सम्भावित क्षति

बारम्बार कान संक्रमणले कानलाई विभिन्न किसिमले हानि पुर्‍याउन सक्छ । यसबाट कानको पर्दामा छिद्र हुन सक्छ, कानका साना हड्डीहरू क्षतिग्रस्त हुन सक्छन् र कानको भित्री भागमा पनि संक्रमण फैलिन सक्छ ।

दीर्घकालीन संक्रमणले कानको स्थायी क्षति निम्त्याउन सक्छ । दुर्लभ अवस्थामा यो समस्या मेनिन्जाइटिस जस्ता गम्भीर रोगसम्म पुग्न सक्छ । त्यसैले, समयमै उपचार गर्नु अत्यन्त जरुरी छ ।

उपचार र रोकथामका उपाय

बारम्बार कान संक्रमणको उपचार औषधिबाट सुरु हुन्छ । एन्टिबायोटिक्स, दुखाइ कम गर्ने औषधि र नाकको स्प्रेले धेरै केसमा राहत दिन्छ । यदि तरल पदार्थ बारम्बार जम्मा हुन्छ भने कानमा सानो ट्युब राख्ने सर्जरी गर्न सकिन्छ ।

यो प्रक्रिया सामान्य र सुरक्षित हुन्छ । अत्यधिक सुन्ने क्षमता घटेमा उन्नत उपचारका विकल्प पनि उपलब्ध छन् ।

कान बालबालिका
डा. ओमप्रकाश यादव
लेखक
डा. ओमप्रकाश यादव
नाक, कान तथा घाँटीका सिनियर शल्यचिकित्सक

मेडिकल काउन्सिल दर्ता नम्बर : ७९४१ एमबीएस, एमएस हाल वीर अस्पताल र बीपी स्मृति अस्पताल, बसुन्धरामामा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय