+
+
Shares
पुस्तक चर्चा :

नर्मन बोरलगदेखि अकिनोरी किमुरासम्म

किमुरा भन्छन्- किसान नै त्यो व्यक्ति हो, जसले बिग्रिएको वातावरणलाई पुनरुत्थान गर्न सक्छ। उनी आफ्ना बिरुवाहरूलाई मायालु हेरचाह चाहिने साना बालबालिकासँग तुलना गर्छन्। बिरुवाहरू चेतनावान् प्राणी हुन्; तिनीहरू आफूलाई कस्तो महसुस भइरहेछ र तिनीहरूले हामीलाई कसरी मद्दत गर्न सक्छन् भन्ने कुरा भन्न चाहन्छन्।

चैतन्य मिश्र चैतन्य मिश्र
२०८३ भदौ २७ गते १७:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अकिनोरी किमुराको पुस्तक ‘पृथ्वी बचाउने खेतीपाती’ नेपाली अनुवादमा २०२६ मा काठमाडौंमा प्रकाशित भएको छ।
  • किमुराले मल र विषादीरहित ‘प्रकृतिसम्मत खेती’ अपनाएको, सिरका बाहेक कुनै पूरक नचलाएको र उत्पादनमा जोखिम घटेको अनुभव बताएको छ।
  • पुस्तकले नेपालका किसान, किसान समूह र कृषि विज्ञलाई प्राकृतिक खेती व्यवहारमा ल्याउन र जलवायु सङ्कट कम गर्न आग्रह गरेको छ।

पुस्तक : पृथ्वी बचाउने खेतीपाती

लेखक : अकिनोरी किमुरा

नेपाली अनुवाद : अर्निमैया बज्राचार्य

सम्पादक : कृष्णप्रसाद पौडेल

प्रकाशक : खाद्यान्नका लागि कृषि अभियान, फरेस्ट एक्सन नेपाल

प्रकाशन वर्ष : २०२६ (काठमाडौं)

पृष्ठ : १५४

आज हामीमध्ये धेरैजसोलाई पृथ्वीलाई घेरिरहेको जलवायु सङ्कटबारे केही न केही जानकारी छ। हामी यस सङ्कटको विस्तार र गहिराइप्रति पनि काफी सचेत छौं।

वायुमण्डलको माथिल्लो भाग र गहिरो समुद्रभित्र के भइरहेको छ भन्नेबारे हामीलाई कमै थाहा भए तापनि; वायुप्रदूषण, अत्यधिक गर्मी, खडेरी, बाढी र बेमौसमी वर्षा हामी बसोबास गर्ने ठाउँका साथै विश्वका धेरै भागमा बारम्बार भइरहेका छन् भन्ने कुरामा हामी झन्–झन् सचेत बन्दै गएका छौं।

यस वर्षको ‘एल निनो’ ले मुख्यतया अत्यधिक गर्मी मार्फत ठूलो असर पार्ने अपेक्षा गरिएको छ; जुन पछि अनिश्चित, अत्यधिक वा कम वर्षा, बालीनालीको क्षति, हिमनदी पग्लिने, बाढी आउने जस्ता रूपमा प्रकट हुन्छ। धेरै जानकारहरूले विश्वव्यापी जलवायु सङ्कटलाई दुई हप्ताअघि रसुवामा आएको बाढी र यसले मानिसहरूको जीवन, जीविकोपार्जन, भावनात्मक कल्याण, सामाजिक आत्मीयता, पूर्वाधार, निजी/सार्वजनिक वित्त तथा त्यहाँका युवा पुस्ताको भविष्यमा पुर्‍याएको क्षतिसँग जोडेका छन्। अवश्य पनि, बाढीग्रस्त क्षेत्रहरूलाई आवासीय क्षेत्र, कार्यस्थल, विद्यालय आदिमा परिणत गरिनुलाई पनि केही दोष दिनुपर्छ।

आज नेपालका हामीमध्ये धेरैजसोलाई विशेषगरी तरकारीमा विषादी मिसाइएको समाचारले दिनहुँ घेर्ने गरेको छ। बजारमा तरकारी किन्दा ‘यो तरकारी कति विषालु होला ?’ भनेर आफूले आफूलाई नसोधीकन किन्न गाह्रो छ। बजार जाँदा र भान्सामा खाना खान बस्दा समेत यही प्रश्न दिनहुँ दोहोरिरहन्छ। हामीले घोत्लिने मुख्य विषय यही हो कि ‘के म आफूलाई, परिवारका अन्य सदस्यहरूलाई विस्तारै मारिरहेको छु र नयाँ पुस्ताको क्षमतालाई अपाङ्ग बनाउँदैछु ?’

हामी प्रायः यो प्रश्न आफूसँग साना स्वरमा मात्रै गर्छौं, किनभने ठूलो स्वरमा सोधिएको प्रश्नले थप ठूलो र असजिलो उत्तर ल्याउनेछ भन्ने डर हामीलाई हुन्छ। स्पष्ट रूपमा, हामी विश्वव्यापी र स्थानीय इतिहासको एउटा यस्तो विशिष्ट चरणमा छौं, जसको एउटा अँध्यारो पक्ष छ।

नर्मन बोरलग चरण

नर्मन बोरलग (१९१४–२००९) एक अध्ययनशील कृषि वैज्ञानिक र लगनशील अनुसन्धानकर्ता थिए। उनले दोस्रो विश्वयुद्धपछि र १९७० को दशकसम्म आफ्नो उद्देश्य भेटाए; जसलाई पछि उनका विश्वभरका चेलाहरूले अघि बढाए (उदाहरणका लागि भारतमा एम.एस. स्वामीनाथन)। त्यो काम अरू केही नभएर विश्वभर चर्चित ‘हरित क्रान्ति’ सम्पन्न गर्नु थियो।

बीउ र बिरुवाको आनुवंशिक (जेनेटिक) गुणमा परिवर्तन गरेर, कृत्रिम रासायनिक मल र विषादीको अत्यधिक प्रयोग गरेर, सरकारी तथा प्रशासनिक प्राथमिकताहरूलाई नयाँ रूप दिएर र कृषि प्रसार कार्यकर्ताहरूको टोलीलाई परिचालन गरेर यस क्रान्तिले मुख्यतया १९५० देखि १९८० को बीचमा गहुँ र धानको उत्पादन कम्तीमा दोब्बर बनायो। यस क्रान्तिका प्रमुख ‘स्थलहरू’ मेक्सिको, भारत र पाकिस्तान थिए; तर पृथ्वीमा यसले नछोएको शायदै कुनै ठाउँ थियो।

नर्मन बोरलग आधुनिक कृषिका नायक बने र व्यापक रूपमा सम्मानित भए। उनले नोबेल पुरस्कार सहित धेरै पुरस्कारहरू प्राप्त गरे। उनले धेरैको ज्यान बचाए। कतिपयको भनाइमा उनले लगभग एक अर्ब मानिसलाई बचाए भनिन्छ। यस्तो हो भने, यो वास्तवमै एउटा अद्भुत उपलब्धि थियो !

तर पासा पल्टियो

नीति र व्यवहारको स्तरमा खाद्यान्न अझै पनि मुख्य प्राथमिकतामा रहे तापनि वैचारिक स्तरमा बोरलगको अवधारणा अहिले धेरै हदसम्म विस्थापित भइसकेको छ। जनसङ्ख्याको आकार र यसरी ‘खुवाउनुपर्ने मुखहरू’ अब ठूलो समस्याको रूपमा रहेका छैनन्; किनभने धेरैजसो देशहरू प्रतिस्थापन स्तरभन्दा कम प्रजनन दरमा प्रवेश गरिसकेका छन् वा प्रवेश गर्दै छन्। सन् २०८० पछि विश्वको जनसङ्ख्या तीव्र रूपमा घट्ने अपेक्षा गरिएको छ।

यसैबीच, जलवायु सङ्कटले मुख्य स्थान लिएको छ। जलवायु सङ्कटको ठूलो हिस्सा मानवसिर्जित हो र समग्र मानवजाति नै ‘खुशीसाथ’ आफ्नै विनाशतर्फ तीव्र गतिमा अघि बढिरहेको छ भन्ने व्यापक भान छ।

निश्चित रूपमा, मानवजातिको कुन वर्ग केवल सहभागी मात्र भइरहेको छ र कुन वर्गले जानीजानी वा आत्मभ्रममा परेर आफूलाई यसको एजेन्टका रूपमा अघि बढाउँदै छ भन्ने कुरा बीच भिन्नता छुट्याउनुपर्छ। तर, ठूलो परिप्रेक्ष्यमा त्यो भिन्नताले धेरै फरक नपार्न सक्छ। यो कुरा ‘एन्थ्रोपोसिन’ को अवधारणामा स्पष्ट र सशक्त रूपमा ल्याइएको छ; जसले प्रकृति स्वयंलाई मानवजातिले नै पुनर्गठित र पुनः सिर्जना गरिरहेको छ भन्ने बताउँछ।

हामीले अहिले जसलाई ‘पर्यावरणवाद’ भन्छौं, त्यसको सुरुआत १९औं शताब्दीको युरोपमा शहरी औद्योगिक धुवाँका चिम्नीहरूका विषयमा उठेका चिन्ताहरूबाट भएको थियो। १९६० को दशकको शुरुदेखि नदी र तालहरूको तुलनात्मक रूपमा स्थानीय रासायनिक प्रदूषणप्रति गम्भीर चिन्ता व्यक्त हुन थाल्यो। त्यसपछि यो वायुप्रदूषण, हरितगृह ग्यास र ओजोन तह, अत्यधिक गर्मी, बाढी, आणविक विकिरण, प्लास्टिकका अवशेष, सर्वव्यापी विषादी आदिसम्म आइपुग्यो।

तैपनि, पूँजीवादको लोभ र ‘बाध्यता’ तथा प्रमुख पूँजीवादी देशहरूको प्रभाव यस्तो छ कि लगभग सम्पूर्ण मानवजाति त्यही बाटोमा लागिरहेको छ, जसले उसलाई कष्ट र मृत्युतर्फ लैजाँदैछ।

अकिनोरी किमुराको आगमन

बोरलग जस्तो अकिनोरी किमुरा विश्वका लागि ‘हरेक घरमा चिनिने नाम’ होइनन्। न त किमुरासँग ठूला विश्वविद्यालय, अनुसन्धान केन्द्र वा अमेरिका र युरोपको स्वीकृतिको छाप नै छ। हाल ७७ वर्षका उनी कुनै वायुमण्डलीय, महासागरीय वा सम्पूर्ण पृथ्वीस्तरीय वातावरणीय वैज्ञानिक होइनन्।

किमुरा जापानको होक्काइडो टापुको ठीक दक्षिणमा पर्ने आओमोरीका ‘केवल’ एक किसान हुन्। उनको अद्वितीय शक्ति माटो, आर्द्रता, पानीको तह र गुणस्तर, मौसम र उनको खेतीबारीलाई आफ्नो घर बनाउने जीवाणु र कीराहरूको संसारलाई सूक्ष्म, एकाग्र र आत्मीय रूपमा अवलोकन गर्नुमा निहित छ।

उनी आफ्ना छिमेकीहरूसँग पनि कुराकानी गर्छन्, जसमध्ये धेरैजसोले उनको मल र विषादीरहित खेतीलाई ‘सपना’ मात्र भन्थे र त्यसलाई ‘वास्तविक खेती’ मान्दैनथे। माटोसँग निकै नजिक रहेकाले उनले व्यापक दृश्य देख्छन् र सबैभन्दा महत्त्वपूर्ण कुरा, त्यसैअनुसार जीवन बिताउँछन्। केही वर्षदेखि उनी आफ्नो अभ्यास र उनले कोरेको ठूलो चित्र सुन्न चाहने जोकोही, जापानका स्थानीय तथा अन्य सरकारहरू, किसान सङ्गठनहरूका साथै जर्मनी र अन्य ठाउँका उस्तै समूहहरूसँग बाँडिरहेका छन्।

किमुराले आफूले भने झैं ‘परम्परागत किसान’ का रूपमा सुरुआत गरेका थिए; अर्थात् बोरलग शैलीमा रासायनिक मल र विषादीको अत्यधिक प्रयोगमा दृढ विश्वास गर्ने किसान। उनले एक दशकसम्म यही गरे। त्यसपछि, केही वर्षका लागि उनी ‘जैविक’ अर्थात् कम्पोस्ट (रासायनिक मलरहित) तर्फ मोडिए।

त्यसपछि उनी यस निष्कर्षमा पुगे कि कम्पोस्टको प्रयोगले रासायनिक मलले जस्तै स्वास्थ्य जोखिमहरू उत्पन्न गर्छ। सबै खालका गैरप्राकृतिक खेतीले वायुमण्डललाई हानि पुर्‍याउँछ र यसले अत्यधिक गर्मी र जलवायु सङ्कट निम्त्याउँछ।

त्यसपछि उनले जीवनभरका लागि साँचो ‘प्रकृतिसम्मत खेती’ अपनाए। यो थप कुनै पनि मल प्रयोग नगर्ने किमुरा विधि नै हो। यसको सट्टा पृथ्वी, सूर्य, पानी, जीवित र मृत बिरुवाहरू (खासगरी गलत रूपमा बुझिएका ‘झारपात’ पनि पर्छन्), बिरुवामुनिका ब्याक्टेरिया र अन्य कीराहरू किसानका साथी हुन्। अझ, सबैभन्दा महत्त्वपूर्ण कुरा सूक्ष्म, गहिरो, आत्मीय र मायालु अवलोकनको शक्तिलाई उपयोग गर्नु नै यस्तो खेतीपातीका लागि काफी हुन्छ।

प्रकृतिको चक्रले बाँकी सबै कुराको ख्याल राख्छ। किमुराले कहिलेकाहीं प्रयोग गर्ने एक मात्र पूरक ‘भिनेगर’ (सिरका) हो, जसलाई उनी लाही कीरा नियन्त्रण गर्न उपयोगी मान्छन्।

गहिरो र व्यवस्थित व्यक्तिगत अनुभवका आधारमा किमुराले हामीलाई इमानदारीपूर्वक भन्छन् कि धेरैले आशङ्का गरे झैं प्राकृतिक खेतीले वास्तवमा मल र विषादीयुक्त खेतीको तुलनामा कम उत्पादन गर्छ। सुरुआतका वर्षहरूमा उनको आफ्नै धान उत्पादन प्रति १ हजार वर्गमिटर खेतमा ४५० किलोग्राम मात्र थियो, जबकि उनका छिमेकीले ६०० किलोग्राम उत्पादन गरेका थिए।

योसँगै किमुराले आफ्नो प्राकृतिक खेतीको अनुभव बताउँछन् कि जब एक चिसो वर्षमा उनका छिमेकीको उपज शून्यको नजिक झर्‍यो, उनको आफ्नै उपज ४६८ किलोग्राम थियो। अर्को शब्दमा, उनको प्राकृतिक खेती स्वाभाविक रूपमा मौसमी जोखिमबाट सुरक्षित थियो। यसका अलावा, किमुराले मल र विषादी छर्ने वित्तीय र श्रम लागत बेहोर्नुपर्दैन।

उत्तिकै महत्त्वपूर्ण कुरा, उनी आफ्नो शिर ठाडो राख्छन्, किनकि उनले पृथ्वीलाई प्रदूषित गर्दैनन्, यसलाई अत्यधिक तातो बनाउँदैनन् र मानव स्वास्थ्यलाई क्षति पुर्‍याउँदैनन्। उनी पृथ्वीलाई त्यस्तै शुद्ध छाड्छन्, जस्तो उनले पाएका थिए।

किमुराले पुनः आफ्नै अनुभवका आधारमा सचेत गराउँछन् कि मल र विषादीयुक्त खेतीबाट प्राकृतिक खेतीमा स्थानान्तरण हुनु कष्टरहित छैन। विशेषगरी परिवर्तनका पहिलो तीन वर्षमा धेरै कम उत्पादनको अपेक्षा गर्न सकिन्छ।

उनी ती प्रारम्भिक वर्षहरूमा आफू कसरी ऋणमा डुबे र उनको परिवारले कसरी ठूलो कष्ट भोग्यो भन्ने कुरा विस्तारमा वर्णन गर्छन्। त्यसैले, उनी प्राकृतिक खेतीमा आउने नयाँ व्यक्तिहरूलाई पहिलो तीन वर्षमा आफ्नो वार्षिक खेती पात्रोको रूपान्तरण खेतको एकतिहाइभन्दा बढी नगर्न सल्लाह समेत दिन्छन्।

किमुराले यस उत्कृष्ट पुस्तकमा हामीलाई छिनछिनमा दुःखी, आनन्दित र उत्साहित बनाउँछन्। उनी हामीलाई आफ्नो फार्ममा आफ्नै घरमा जस्तै महसुस गराउँछन्। उनी भन्छन् कि किसान नै त्यो व्यक्ति हो, जसले बिग्रिएको वातावरणलाई पुनरुत्थान गर्न सक्छ। उनी आफ्ना बिरुवाहरूलाई मायालु हेरचाह चाहिने साना बालबालिकासँग तुलना गर्छन्। उनी पाठकलाई भन्छन् कि उनी प्रायः आफूलाई ‘यस्तो भए के हुन्थ्यो’ भन्ने प्रश्न सोध्छन् : ‘यदि म बन्दाकोबी भएको भए मलाई कस्तो महसुस हुन्थ्यो ?’

‘यदि म गाजर भएको भए मलाई कस्तो महसुस हुन्थ्यो ?’ उनी हामीलाई भन्छन् कि बिरुवाहरू चेतनावान् प्राणी हुन्। तिनीहरू आफूलाई कस्तो महसुस भइरहेछ र तिनीहरूले हामीलाई कसरी थप मद्दत गर्न सक्छन् भन्ने कुरा भन्न चाहन्छन्। यो कुरा हामीले अझ राम्ररी सुनेको भए अहिलेसम्म यो पृथ्वी कति सुन्दर हुनेथियो होला !

निष्कर्ष

नेपालका राजनीतिज्ञ र नीतिनिर्माताहरूले यदि खेतीपाती, किसान र स्थानीय समुदायको पुनरुत्थान नगरी देश समृद्ध हुन सक्छ भन्ने ठानेका छन् भने उनीहरू पूर्ण रूपमा गलत छन्। आज नेपालको सामाजिक अर्थतन्त्रको स्वरूपलाई हेर्दा, फस्टाउँदो कृषि काम र रोजगारी, आम्दानी र उपभोगका साथै सामाजिक आत्मीयता र समुदायलाई प्रवर्धन गर्ने कार्यक्रमको प्रमुख तत्त्वका रूपमा लिइनुपर्छ। धेरै हिसाबले, किमुराको पुस्तक यहाँ उपयोगी हुन सक्छ। वास्तवमा, यो पुस्तक आजको नेपाललाई ध्यानमा राखेर तयार पारिएको जस्तै महसुस हुन्छ।

पुस्तकले जोड दिए झैं प्राकृतिक खेतीले स्वस्थ जीवनलाई प्रवर्धन गरेर, हरितगृह ग्यास घटाएर र अत्यधिक गर्मीलाई नियन्त्रण गरेर जारी जलवायु सङ्कटलाई कम गर्न धेरै हदसम्म मद्दत गर्न सक्छ। यसले खेतीको लागत पनि घटाउन सक्छ।

यो पुस्तक नेपाली भाषामा उपलब्ध भएकाले मात्र नभई, नेपालभरका किसान र किसान समूहका साथै कृषि विज्ञहरूले यो पुस्तक प्राप्त गर्नुपर्छ, आपसमा छलफल गर्नुपर्छ र यसलाई व्यवहारमा ल्याउनुपर्छ। वास्तवमा शीर्षकले सङ्केत गरे झैं यो एउटा यस्तो पुस्तक हो, जसलाई सम्पूर्ण पृथ्वीको रक्षा गर्न विश्वभरका किसानले व्यवहारमा ल्याउन सक्छन्। त्यो पृथ्वीमा निश्चित रूपमा हिमनदीहरू, भोटेकोशी, रसुवा र विश्वभरका उस्तै अन्य ठाउँहरू समावेश छन्।

लेखक
चैतन्य मिश्र

प्राध्यापक चैतन्य मिश्र नेपालमा समाजशास्त्रको पठनपाठन गराउने पहिलो पुस्ताका समाजशास्त्री हुन् । उनका एस्सेज अन द सोसियोलोजी अफ नेपाल, बदलिँदो नेपाली समाज, पुँजीवाद र नेपाल लगायत किताब प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?