+
+
Shares
विचार :

‘खन्चुवा चेत’ नफेरिए हाम्रो नियति बदलिंदैन

प्रकृति र श्रमलाई कहिल्यै नरित्तिने भण्डार ठान्ने ‘खन्चुवा चेत’ले माटो, समाज र भविष्य एकैसाथ रित्याइरहेको छ। विकासको अर्थ बढी निकाल्नु, उपभोग गर्नु र फ्याँक्नु मात्र होइन; प्रकृतिको पुनर्जीवन, सामाजिक न्याय र भावी पुस्ताको अधिकार सुनिश्चित गर्नु पनि हो।

कृष्णप्रसाद पौडेल कृष्णप्रसाद पौडेल
२०८३ साउन १९ गते ११:३६
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • औद्योगिक क्रान्तिले जीवाश्म इन्धनको प्रयोगमार्फत उत्पादन र उपभोगमा तीव्रता ल्याए पनि यसले पर्यावरणीय सन्तुलनमा गम्भीर असर पुर्‍याएको छ।
  • अत्यधिक नाफाकेन्द्रित र प्रकृति दोहन गर्ने 'खन्चुवा चेत'ले गर्दा माटोको उर्वराशक्ति ह्रास हुनुका साथै सामाजिक सम्बन्धहरूमा पनि विखण्डन आएको छ।
  • विकासको दिगोपनका लागि प्रविधि त्याग्नुभन्दा पनि प्रकृतिको वहन क्षमता बुझेर स्थानीय ज्ञान र आधुनिक विज्ञानको समन्वय गर्नु आजको आवश्यकता बनेको छ।

खेतीपाती र पशुपालन शुरु हुनुअघि मानिस पनि अन्य प्राणी झैं प्रकृतिको लय र ऋतुचक्र अनुसार आफ्नो जीवनयापनको बन्दोबस्त गर्थ्यो। तर उन्नत चेतना र जिज्ञासाले उसलाई प्रकृतिका नियम बुझ्न, ऊर्जा प्रयोग गर्न र आफ्नो आवश्यकता अनुसार प्रविधि विकास गर्न सिकायो।

यही सिकाइसँगै मानिसमा प्रकृतिको लयलाई नियन्त्रण गर्न सकिन्छ भन्ने विश्वास बढ्दै गयो। हजारौं वर्षदेखि पृथ्वीको जीवनचक्र धानिरहेको प्राकृतिक नियम उसलाई आफ्नै गतिमा लागेको अवरोध जस्तो देखिन थाल्यो। फलस्वरूप, उसले प्रकृतिको गतिभन्दा छिटो उत्पादन गर्ने, टाढासम्म पुग्ने र कम समयमा धेरै उपभोग गर्ने उपाय खोज्न थाल्यो।

१८औं शताब्दीपछि फैलिएको औद्योगिक क्रान्तिले यस यात्रालाई अभूतपूर्व गति दियो। कोइला, पेट्रोलियम र प्राकृतिक ग्यास जस्ता जीवाश्म इन्धनले मानिसलाई तत्काल उपलब्ध घाम, हावा, पानी, पशु र मानवीय श्रमको सीमाबाट धेरै हदसम्म मुक्त गरिदियो। उत्पादन, यातायात र सञ्चारमा आएको तीव्रताले मानव जीवनमा सुविधा थप्यो। तर त्यसको लाभ समान रूपमा बाँडिएन र पर्यावरणीय मूल्यलाई लामो समयसम्म बेवास्ता गरियो।

प्रकृतिको लयभन्दा तीव्र गति

प्रकृतिले लाखौं वर्ष लगाएर पृथ्वीको गर्भमा सञ्चय गरेको कोइला र खनिज तेल मानिसले केही शताब्दीमै निकालेर धुवाँमा परिणत गर्‍यो। जीवाश्म ऊर्जाको बलमा विकसित उत्पादन प्रणालीले धेरै उत्पादन र बढी नाफालाई सफलताको मुख्य मापदण्ड बनायो।

यसको प्रभाव खेतीपातीमा पनि पर्‍यो। ठूला खेत, भारी यन्त्र, एकनासे बाली, लामो आपूर्ति शृङ्खला र बाह्य सामग्रीमा निर्भर कृषि प्रणाली विस्तार भयो। स्थानीय जैविक विविधता र किसानको ज्ञानलाई उत्पादन बढाउने दौडले क्रमशः किनारामा धकेल्दै लग्यो।

कृत्रिम नाइट्रोजन मलले कृषि उत्पादन बढाउन र बढ्दो जनसङ्ख्याका लागि खाद्यान्न जुटाउन महत्त्वपूर्ण योगदान गरेको छ। तर यसको उत्पादन जीवाश्म ऊर्जामा निर्भर छ। असन्तुलित तथा अत्यधिक प्रयोगले माटोको पोषक सन्तुलन बिगार्न, पानी प्रदूषित गर्न र हरितगृह ग्यास उत्सर्जन बढाउन सक्छ।

पहिले बीउ, श्रम र ज्ञान साटिन्थ्यो। अहिले हरेक कुरा बजारबाट किन्नुपर्ने अवस्था बनेको छ। बजार आवश्यक छ, तर जीवनका सबै सम्बन्ध बजारले मात्रै निर्धारण गर्न थालेपछि समुदायको पारस्परिक निर्भरता कमजोर हुन्छ। एक्लोपन, अविश्वास र सामाजिक विखण्डन बढ्न सक्छ।

विषादीको अवस्था पनि त्यस्तै हो। आवश्यकता अनुसार विवेकपूर्ण प्रयोग गर्नुपर्ने रसायनमाथिको अत्यधिक निर्भरताले लाभदायक कीरा, माटोका जीव, पानीका स्रोत र मानव स्वास्थ्यमा असर पुर्‍याउन सक्छ। त्यसैले समस्या प्रत्येक मेसिन, मल वा आधुनिक प्रविधि आफैंमा होइन; तिनको प्रयोगलाई निर्देशित गर्ने उत्पादन र उपभोगको सोचमा छ।

यहाँ ‘खन्चुवा चेत’ भन्नाले आवश्यकता पूरा गर्न गरिने स्वाभाविक उपयोग होइन, निरन्तर धेरै चाहने र प्रकृति तथा श्रमलाई कहिल्यै नरित्तिने भण्डार ठान्ने मानसिकता हो। यस चेतले लिने कुरा मात्र देख्छ, फर्काउनुपर्ने जिम्मेवारी देख्दैन। आजको लाभ हिसाब गर्छ, तर भावी पुस्ताले चुकाउनुपर्ने मूल्यलाई बेवास्ता गर्छ।

औपनिवेशिकतादेखि विकासको नयाँ आवरणसम्म

जीवाश्म इन्धनबाट प्राप्त ऊर्जा कारखाना र खेतीमा मात्र सीमित रहेन। वाष्पजहाज, रेल, हतियार र औद्योगिक उत्पादनको बलमा उपनिवेशवादी शक्तिले संसारका विभिन्न भूभाग, प्राकृतिक स्रोत र श्रममाथि नियन्त्रण विस्तार गरे।

औपचारिक औपनिवेशिक साम्राज्यहरू कमजोर भए, तर प्रकृति र मानिसलाई दोहन गरेर समृद्धि हासिल गर्ने सोच हराएन। त्यो ‘विकास’, ‘आधुनिकीकरण’ र ‘आर्थिक वृद्धि’को नयाँ आवरणमा संसारभर फैलियो। देश, कम्पनी र व्यक्तिको सफलता उसले कति उत्पादन र उपभोग गर्‍यो भन्ने आधारमा मापन हुन थाल्यो।

पृथ्वीका लाखौं प्रजातिमध्ये मानिस पनि एउटा प्रजाति मात्र हो। उन्नत चेतना भएको प्राणीका रूपमा उसले अरू जीव र भावी पुस्ताप्रति बढी जिम्मेवार हुनुपर्ने हो। तर प्रकृतिमाथि विजय हासिल गरेको भ्रमले मानिसलाई अत्यधिक भोगतर्फ डोर्‍याएको छ।

आजको पर्यावरणीय संकट, जैविक विविधताको क्षति, माटोको ह्रास र जलवायु परिवर्तन यही सम्बन्धविच्छेदका विभिन्न रूप हुन्। यिनका सबै कारण एउटै छैनन्, तर प्रकृतिको वहन क्षमताभन्दा बाहिर गएको उत्पादन र उपभोग प्रणालीले संकटलाई गहिरो बनाएको छ।

माटो र श्रम बीच बढेको दूरी

कार्ल मार्क्सले १९औं शताब्दीमै नाफाकेन्द्रित उत्पादन प्रणालीले माटो र श्रमिक दुवैको जीवनक्षमता कमजोर बनाउनेतर्फ सचेत गराएका थिए। पछि पर्यावरण सम्बन्धी चिन्तकहरूले प्रकृति र मानिस बीच उत्पन्न यही दूरीलाई ‘पारिस्थितिक विच्छेद’का रूपमा व्याख्या गरे।

खेतबाट उत्पादन र पोषक तत्त्व शहर पुग्छन्, तर ती पुनः माटोमा फर्कने प्रणाली हुँदैन। उत्पादनबाट प्राप्त नाफा बजार र कम्पनीले लैजान्छन्, तर क्षतिग्रस्त माटो, प्रदूषित पानी र किसानले व्यहोरेको जोखिम गाउँमै छाडिन्छ। श्रमिकको श्रम बिक्री हुन्छ, तर उसको स्वास्थ्य, मर्यादा र भविष्य आर्थिक हिसाबमा समेटिंदैन।

खन्चुवा चेतले प्रकृति, मानिस र श्रमलाई उपयोग गर्न मिल्ने वस्तुका रूपमा मात्र हेर्छ। उपयोग गर, नाफा कमाऊ र काम सकिएपछि फ्याँक- यसको मूल प्रवृत्ति यही हो। प्रकृतिको पुनर्स्थापना क्षमता र मानवीय सम्बन्धको संवेदनशीलता यसका लागि गौण हुन्छ।

यसै कारण आज उत्पादनका सबै शर्तलाई नियन्त्रणमा राख्न खोजिन्छ। बीउदेखि खाद्यान्नको मूल्यसम्म, पानीदेखि किसानको ज्ञानसम्मलाई बजारको अधीनमा राख्ने प्रयास हुन्छ। प्रकृतिका साझा स्रोतलाई निजी नाफाको साधन बनाइन्छ, तर त्यसबाट सिर्जित जोखिम समाज र भावी पुस्तालाई हस्तान्तरण गरिन्छ।

भान्छासम्म पुगेको खन्चुवा चेत

यो चेत उद्योग र प्रविधिमा मात्र सीमित छैन; हाम्रो दिमाग, दैनिकी र भान्छासम्म पुगिसकेको छ। सबैलाई छिटो कमाउनु छ, धेरै सञ्चय गर्नु र अरूभन्दा पहिले उपभोग गर्नु छ। प्रकृतिको सुस्त र चक्रीय लयभन्दा बिल्कुल फरक ‘छिटो, धेरै र सस्तो’को प्रतिस्पर्धाले हाम्रो जीवनशैली निर्धारण गरिरहेको छ।

हाम्रा पुर्खाले जोगाएको बीउ, मौसम हेरेर खेती गर्ने अनुभव, माटोको अवस्था बुझ्ने सीप र स्थानीय खाद्य प्रणालीलाई लामो समयसम्म ‘पछौटे’ ज्ञान ठानियो। त्यसको ठाउँमा प्याकेट, विज्ञापन र सामाजिक सञ्जालबाट आउने अप्रमाणित सूचना ज्ञानको मुख्य स्रोत बन्न थाले।

सबै परम्परागत अभ्यास वैज्ञानिक, न्यायपूर्ण वा पर्याप्त थिए भन्ने होइन। विगतमा भोक, कठोर श्रम तथा जातीय र लैङ्गिक विभेद पनि थिए। तर बीउ संरक्षण, मिश्रित खेती, स्थानीय जैविक विविधता, पानीको सामूहिक व्यवस्थापन र पर्म जस्ता अभ्यासमा रहेको पारिस्थितिक तथा सामाजिक ज्ञानलाई एकैपटक अस्वीकार गर्नु पनि विवेकपूर्ण हुँदैन।

पहिले बीउ, श्रम र ज्ञान साटिन्थ्यो। अहिले हरेक कुरा बजारबाट किन्नुपर्ने अवस्था बनेको छ। बजार आवश्यक छ, तर जीवनका सबै सम्बन्ध बजारले मात्रै निर्धारण गर्न थालेपछि समुदायको पारस्परिक निर्भरता कमजोर हुन्छ। एक्लोपन, अविश्वास र सामाजिक विखण्डन बढ्न सक्छ।

यसरी खन्चुवा चेतले खेत र माटो मात्र होइन, हाम्रो सोच, संस्कृति र सामाजिक सम्बन्धलाई पनि परिवर्तन गरिरहेको छ।

समाधान प्रविधि त्याग्नु होइन

अहिले देखिएको संकट प्राकृतिक परिघटना मात्र होइन; यो राजनीतिक, आर्थिक र वैचारिक रोजाइको परिणाम पनि हो। त्यसैले यसको समाधान प्रविधि र विज्ञान त्यागेर विगततिर फर्कनु होइन। बरु प्रविधि कसको नियन्त्रणमा छ, के उद्देश्यका लागि प्रयोग भइरहेको छ र त्यसको सामाजिक तथा पर्यावरणीय मूल्य कसले तिरिरहेको छ भन्ने प्रश्न उठाउनु हो।

हामीलाई प्रकृतिका सीमाभित्र रहने, श्रमको सम्मान र उत्पादनसँगै पुनर्जीवनको व्यवस्था गर्ने विज्ञान चाहिएको छ। माटो परीक्षणका आधारमा सन्तुलित मल प्रयोग, प्राङ्गारिक पदार्थको पुनःप्रयोग, एकीकृत कीरा व्यवस्थापन, स्थानीय बीउ संरक्षण, बाली विविधीकरण, पानी पुनर्भरण र नवीकरणीय ऊर्जाको विस्तार त्यस दिशाका व्यावहारिक कदम हुन्।

यदि हाम्रो चेत बदलिंदैन भने विकासका ठूला योजना प्रकृति रित्याउने झन् ठूला ‘खन्चुवा’ बन्नेछन्। अन्ततः हामीसँग रित्तिएको माटो, कमजोर सामाजिक सम्बन्ध र अनिश्चित भविष्य मात्र बाँकी रहनेछ।

त्यससँगै सहकारी खेती, कृषि उपकरणको साझा प्रयोग, किसानको ज्ञान र वैज्ञानिक अनुसन्धान बीच सहकार्य तथा उत्पादक–उपभोक्ताको दूरी घटाउने बजार संरचना आवश्यक छ। प्रकृतिमैत्री उत्पादनको भार किसानमाथि मात्र थोपरेर पुग्दैन। राज्यको नीति, बजारको प्रोत्साहन, उद्योगको उत्तरदायित्व र उपभोक्ताको व्यवहार पनि बदलिनुपर्छ।

हाम्रा पहाड र तराईमा जैविक विविधता अझै बाँकी छ। परम्परागत पारिस्थितिक ज्ञान पूर्ण रूपमा हराएको छैन। त्यसलाई वैज्ञानिक अनुसन्धान, आधुनिक प्रविधि र नयाँ पुस्ताको सिर्जनशीलतासँग जोड्न सकिन्छ।

अबको यात्रा प्रविधि विरोधी होइन, खन्चुवा चेत विरोधी हुनुपर्छ। कति धेरै निकाल्यौं भन्नेभन्दा कति जोगायौं र पुनर्जीवित गर्‍यौं भन्ने आधारमा विकास मापन गर्नुपर्छ। पृथ्वीलाई पुर्खाबाट प्राप्त निजी सम्पत्ति होइन, भावी पुस्तालाई सुरक्षित हस्तान्तरण गर्नुपर्ने साझा दायित्वका रूपमा बुझ्नुपर्छ।

यो परिवर्तन रातारात सम्भव हुँदैन। यसको सुरुआत आफ्नै भान्छा, खेतबारी, बजार र सार्वजनिक नीतिमाथि प्रश्न गरेर गर्न सकिन्छ। हामीले खाने खाना कहाँबाट आयो? उत्पादन गर्दा माटो, पानी र श्रमिकले कस्तो मूल्य चुकाए? प्रयोगपछि बाँकी वस्तु कहाँ पुग्छ? यस्ता सामान्य प्रश्नले पनि चेत परिवर्तनको ढोका खोल्न सक्छन्।

यदि हाम्रो चेत बदलिंदैन भने विकासका ठूला योजना प्रकृति रित्याउने झन् ठूला ‘खन्चुवा’ बन्नेछन्। अन्ततः हामीसँग रित्तिएको माटो, कमजोर सामाजिक सम्बन्ध र अनिश्चित भविष्य मात्र बाँकी रहनेछ।

प्रश्न अब प्रकृतिबाट कति लिन सकिन्छ भन्ने होइन। प्रश्न हो- लिएको कुरा फर्काउँदै, प्रकृतिसँगै बाँच्ने विवेक हामीसँग अझै बाँकी छ कि छैन?

लेखक
कृष्णप्रसाद पौडेल

कृषिविज्ञ पौडेल खानाका लागि खेतीपातीका अभियन्ता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?