News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा जलवायु परिवर्तनका कारण वर्षा र तापक्रमको चक्रमा आएको बदलावले कृषि क्षेत्रको दैनिकी र उत्पादनमा गम्भीर असर पारिरहेको छ।
- कृषिजन्य उत्पादनको बजारीकरण र प्रशोधनमा कमजोरी रहँदा किसानले आफ्नो उपजको उचित मूल्य पाउन नसकी खाद्यान्न आयात गर्नुपर्ने बाध्यता कायम छ।
- इजरायली मोडलको कृषि प्रविधि र निजी क्षेत्रको सहकार्यमार्फत बाली पोषण, पानीको व्यवस्थापन र पोस्ट हार्वेस्ट प्रविधि अपनाएर कृषि अर्थतन्त्र सुदृढ गर्न सकिन्छ।
हामी सबैले बुझेका छौं, समय परिवर्तनशील छ। तर हामी यो हिमाली शृङ्खलाको काखमा रहेका नेपालीले हाम्रो युग पनि परिवर्तनशील भएको भोगिरहेका छौं। किनभने हिजोको जस्तो जाडोको स्वभाव आजको जाडोमा छैन, हिजोको जस्तो गर्मीको स्वभाव आजको गर्मीमा छैन। विगतमा जस्तो उच्च जाडो हुन छाडेको छ भने गर्मी भने उच्च हुँदै गएको छ।
वर्षात्को स्वभाव पनि परिवर्तनशील भइरहेको छ। साउने झरी र भदौरे वर्षाको स्वभाव पनि अबको वर्षामा देखिन छाडेको छ। बरु त्यसको साटो आरीघोप्टे वर्षा अर्थात् ‘क्लाउड बर्स्ट’ भएर डुबान र बाढी आउन थालेको छ। जब यो ग्रह नै परिवर्तनशील छ भने, त्यसमा रहने हामी पनि परिवर्तनको प्रभावमा पर्ने नै भयौं। र, हामी कृषिमा काम गर्ने व्यक्तिहरूले पनि कृषिको चक्र र दैनिकीमा परिवर्तनको प्रभावलाई देख्दै, भोग्दै र खेप्दै आएका छौं।
कृषिलाई केन्द्रमा राखेर हेर्दा, कृषिमा हामीले कस्तो परिवर्तन देखिरहेका छौं भने खाद्यान्न आयात गर्नुपर्ने अवस्था छ। कृषि उत्पादन भएका ठाउँमा किसानले एक होइन अनेक समस्याको सामना गरिरहेका छन्। कहीं हात्तीले दुःख दिएको छ भने कहीं बाँदरको समस्या छ। यकिन समस्या के हो भन्ने निर्क्योल हुन नसक्दा भएका साना समस्या ठूलो प्रकोपका रूपमा मिडिया मार्फत सार्वजनिक भइरहेका छन्।
तर एउटा कुरा निश्चित के छ भने, हामीलाई अन्नबाली जोगाउन हम्मेहम्मे परिरहेको छ। अर्कोतिर जे-जति उत्पादन भएको छ, त्यो हामी निकासी पनि गर्न सकिरहेका छैनौं वा त्यसको स्थानीय बजारमा बजारीकरण र विस्तार पनि गर्न सकिरहेका छैनौं। यो दुःखको कुरा हो। तर दुःख छ भन्दैमा दुःख निवारणका उपाय छैनन् भन्ने होइन। कुनै समस्या छ भने समस्या समाधानका एक होइन, अनेक उपाय हुन्छन्।
हामीले सधैं नेपाललाई ‘कृषिप्रधान देश’ भन्दै आइरहेका छौं। त्यसो किन भनियो भन्ने प्रश्नको एउटा उत्तर के हो भने, आम नेपालीको जीविकाको आधार नै कृषि थियो। आम नेपालीले आफ्नो जीविकाका लागि अनिवार्य रूपमा खेती नै गर्नुपर्ने थियो, किनभने अन्य कुनै आधार थिएन। त्यसै हुनाले देश कृषिप्रधान बनेको हो। सरकारको प्राथमिकता, राष्ट्रिय योजनाको कार्यान्वयनमा कृषि उच्च स्थानमा छ कि छैन भन्ने चाहिं बेग्लै बहसको पाटो हुन सक्छ।
यहाँनेर म आफ्नो जीवन भोगाइका आधारमा के भन्छु भने, निर्वाहका लागि खेती गरिंदै आएको विगतको नेपाली समाजमा खाद्यान्नले नै प्राथमिकता पाएको थियो। तर जब कृषि विकासका लागि वैकल्पिक र लाभदायक खेती-फसलका सम्भावनाहरूमा काम हुँदै जाँदा, खाद्यान्नभन्दा तरकारी र फलफूल खेती हुने ठाउँमा तिनको प्रवर्धन गर्दै जाँदा तरकारी र फलफूल खेतीबाट किसानले राम्रो आम्दानी गरेर जीवनस्तर उकास्न सफल भए। विगतमा स्थानीय बजारमा सीमित आलु उत्पादन राम्रो हुँदै गएर अहिले केही मात्रामा आलुको बीउ निर्यात भइरहेको छ।
त्यस्तै हरियो तरकारी पनि केही रूपमा निर्यात हुन थालेको छ। केरा र आँप आयात बन्द गरिदिंदा यहाँका किसानले राम्रो मूल्य पाएका छन्। तर यो सबै केही उदाहरण हुन्। मूलप्रवाहीकरण हुनुपर्ने यी उदाहरण मूलप्रवाहीकरण हुनसकेका छैनन्। त्यसैले अबको हाम्रो राष्ट्रिय आवश्यकता हो– खाद्यान्न र पोषण सुरक्षाका लागि दिगो कृषि।
यसो हेर्दा जहाँतहीं समस्या मात्र छन् जस्तो देखिन्छ। तर कुनै पनि चुनौतीले बहुल अवसरहरू पनि उपलब्ध गराइरहेका हुन्छन् भन्ने हामीले बिर्सनुहुँदैन। कुनै पनि देशलाई आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा अघि बढाउनका लागि निजी क्षेत्र नै गतिशीलताको आधार हो भन्ने विश्व अनुभवले पुष्टि गरिसकेको छ। ‘प्राइभेट सेक्टर इज इन्जिन अफ ग्रोथ’ त्यसै भनिएको होइन। यही कुरा कृषिको हकमा पनि लागू हुन्छ।
कृषि उत्पादन वृद्धि गर्ने दुई तरिका छन्— एउटा खेती गर्ने क्षेत्र बढाउँदै जानु र अर्को उत्पादकत्व बढाउनु। यसमा ‘प्लान्ट न्युट्रिसन’ (बाली पोषण) र ‘वाटर युटिलाइजेसन’ (पानीको व्यवस्थापन) को काम मिहिन ढङ्गले हुनुपर्छ। हामीले उन्नत बीउको उपयोग र बालीको पोषणका कुरालाई त्यति ध्यान दिन सकेका छैनौं भने पानीको उपयोगमा पनि पछि नै छौं। कुनै पनि कृषि वस्तुको राम्रो उत्पादन भयो भने यसको बजारभाउ पनि राम्रो हुन्छ।
उत्पादनलाई त्यसको गुणको हिसाबले ‘ग्रेडिङ’ गर्दा पनि बजार विस्तार हुन्छ। तर त्यसका लागि चाहिने ‘पोस्ट हार्भेस्टिङ’ विधि र प्रक्रियाबारे हामीले बुझाउनै सकेका छैनौं। बुझाएका छौं भने पनि त्यो कार्यान्वयन गराउनै सकेका छैनौं। कुनै पनि उत्पादनलाई राम्रो गुणको राम्रै भाउ, मध्यम गुणको मध्यम भाउ र कमसल उत्पादनलाई अन्य औद्योगिक वा घरेलु उत्पादनमा हामीले लैजानै सकेनौं अहिलेसम्म। त्यो हाम्रो अहिलेसम्मको कमजोरी हो।
दुग्ध व्यवसाय फस्टाएको यतिका वर्षपछि बल्ल हामी मोही, दही, मक्खन, मिठाईमा विविधीकरण गर्न सक्ने भएका छौं, नत्र ‘मिल्क होलिडे’ को मारमा थियौं। अर्कोतिर ती दुग्धजन्य पदार्थको राम्रो बजारीकरण अझै हुनसकेको छैन। त्यसो हुन सक्दा खपत पनि स्वतः बढ्छ। अहिले जसरी खाद्य संस्थान र साल्ट ट्रेडिङको स्टलमा बिक्रीको मात्रा बढ्दै गएको छ, त्यसको कारण शहरबजारमा जनसङ्ख्या वृद्धि हुँदा र सरकारी ब्रान्डप्रतिको विश्वासका कारणले हो। बिक्रीको त्यो ग्राफले बजार विस्तार पुष्टि गरिसकेको अवस्थामा, त्यसलाई सबलीकरण र विस्तार गर्न गर्नुपर्ने काम भने हुन नसकेको देखिन्छ।
यहाँ एउटा उदाहरण पेश गरौं। म नेपाल सरकारको कर्मचारीको हैसियतले अध्ययन भ्रमणमा जापान जाँदा एकपटकको ट्रेनको यात्रामा बीउ नभएको सुन्तला (सिडलेस सिट्रस) १५० येनमा तीन पोका लियौं। पोकाभित्र जालीको सानो थैली थियो। जाली खोलेर हेर्दा जापानी र अङ्ग्रेजी भाषामा लेखिएको थियो– ‘बोक्रा झोलामा राखेर कुनै ठाउँको फोहोर फाल्ने डब्बामा राखिदिनुहोला।’ मलाई उत्सुकता जाग्यो र दोभाषेलाई सोधें– ‘किन यसो गरेको ?’ उनले भने, ‘यी बोक्राहरू सबै सङ्कलन गरिन्छन् र उद्योगमा लगिन्छ।’
त्यहाँ पहिले सुन्तलाको बोक्राबाट तेल निकालिन्छ। तेल अर्थात् अरेन्ज आयल, जुन साबुन, फोहोर सफा गर्ने झोल, डिटर्जेन्टमा उपयोग हुन्छ। त्यसपछि सुन्तलाको बोक्राको भित्री तहमा हुने सेतो भाग कस्मेटिकको उत्पादनमा उपयोग गरिन्छ र बाँकी रहेका बोक्राका अवशेषलाई सबै सुकाएर धुलो बनाएर कुखुराको दानामा मिसाइन्छ। कुनै कुरा खेर जाँदैन। हामीले त्यो तहको काम केही पनि गर्नै सकेका छैनौं।
यदि फलफूल उत्पादन हुने क्षेत्रमा हामीले सङ्कलन केन्द्र र ‘पोस्ट हार्वेस्ट टेक्नोलोजी’ लाई अपनाउन सक्यौं र उत्पादनलाई सुरक्षित पार्ने ‘फ्रुट प्रिजर्भेसन’ को काम पनि गर्यौं भने हामीले धेरै फाइदा लिन सक्छौं। यो काम स्याउ, नास्पाती, स्ट्रबेरी, आरू, आरुबखडा, जुनार लगायत फलफूल उत्पादन हुने ठाउँमा गर्न सकिंदा धेरै लाभ लिन सकिन्छ। यो लाभ किसान, उद्योगी र समग्र देशकै हितमा हुन्छ।
अर्कोतिर पशुपालनमा पनि हामीले केही सुधार तत्काल गर्नुपर्ने देखिन्छ। उच्च पहाडी क्षेत्र जहाँ हामीले पशुपालन गरिआएका छौं, विशेषगरी भेडापालनमा हामीले ऊन काट्नका लागि खुर्पाकै उपयोग भइरहेको छ। आजको समयसम्म पनि हामीले एउटा ‘ह्यान्ड अपरेटेड सेयरिङ मेसिन’ दिन सकेका छैनौं। त्यस्तै हामीले ऊन सफा गर्ने र त्यसबाट धागो बनाउने र बुन्ने कामलाई पनि उन्नत बनाउन सकेका छैनौं। हामी राडी, पाखी, काम्लोमा सीमित भइरहेका छौं। त्यसमा सुधार गर्न सकिन्छ। त्यस्तै, मौरीपालन र मह उत्पादन फस्टाएको छ, तर गुणस्तर कायम गर्ने चुनौती छ।
त्यस्तै हामीले केसर खेती गर्न सकिने सम्भावना छ भने कस्तुरी खेती पनि गर्न सकिन्छ। कृषिको क्षेत्रमा हामीसँग अथाह सम्भावना छन्। महँगो मूल्यमा बिक्ने गुच्ची च्याउको खेतीलाई पनि विस्तार गर्न सकिन्छ। जसरी निजी क्षेत्रलाई आर्थिक विकासको इन्जिन मानिन्छ, त्यसैगरी राष्ट्रिय अर्थतन्त्रको श्रीवृद्धिका लागि ‘ट्रेड’ अर्थात् व्यापारलाई मुख्य तत्त्व मानिन्छ। हाम्रो देशमा कृषिजन्य उत्पादन हुनसक्ने भएकाले तथा हाम्रो कृषिमा आधारित सामाजिक अवस्था भएकाले हामीले हाम्रो आन्तरिक र बाह्य व्यापारमा कृषिलाई प्राथमिकता दिंदै कृषि व्यापारलाई बढाउँदै लैजानुपर्ने देखिन्छ।
त्यसका लागि हामीले तत्काल के गर्न सक्छौं, ती काम गरेर कृषि व्यापारको क्षेत्र बढाउँदै लैजानुपर्ने हुन्छ। जस्तो, काठमाडौं उपत्यकामा दिनकै हजारौं राँगा, लाखौं कुखुरा, हजारौं खसीबोका खपत हुन्छन्। तर तिनको मासु मात्रै खपत हुन्छ; छाला, रौं, भुत्ला, हड्डी उपयोग हुँदैन। त्यसैले शहरी क्षेत्रमा पालिकासँगको सहकार्यमा वधशाला बनाउँदा छालाहरूको उपयोग हुने छालामा आधारित उद्योग बनाउन सकिन्छ, रोजगारी उत्पादन गर्न सकिन्छ। रौं र भुत्लाबाट थप उद्योग विस्तार हुन सक्छ।
इजरायल मरुभूमिको देशले कृषि क्रान्ति गरेको छ। उसले कृषिका लागि चाहिने आवश्यक लगानी यथेष्ट रूपमा गरेको छ। आज त्यही मरुभूमिमा तरकारी टिप्न र खेतीका काम गर्न जाने नेपालीले यहाँको भन्दा राम्रो आम्दानी पाएर यहाँको गाउँठाउँ छाडेर जाँदा हाम्रा उत्पादनशील गाउँठाउँ बाँझो बन्न पुगेका छन्। अहिले हामी इजरायली मोडलको ‘थोपा सिंचाइ’ को कुरा गर्छौं। म सन् १९७२ मा इजरायल पुग्दा उनीहरूले के बताए भने, खानेपानीका लागि जडान गरिएको पाइपभन्दा १० गुणा पाइप खेती गर्ने ठाउँमा लगाइएको छ।
अहिले आएर इजरायलको कृषि उत्पादन सबैलाई आश्चर्यमा पार्ने खालको छ। त्यहाँ हुने ‘जाफा अरेन्ज’ एक हेक्टरमा २६२ टन उत्पादन हुन्छ। हाम्रो सुन्तलाको उत्पादन प्रतिहेक्टर ३० टन मात्रै छ। त्यस्तै उनीहरूले एक हेक्टरमा ३०० टन गोलभेंडा खेती गर्छन्, हाम्रोमा भने प्रतिहेक्टर ३० टन छ। हाम्रामा दिनको ४० लिटरसम्म दूध दिने गाई पनि आएका छन्, चीनतिरबाट। जबकि इजरायलमा औसत गाईले दिनकै १५० लिटरसम्म दूध दिन्छन्।
इजरायलले गर्न सक्छ भने हामी किन गर्न सक्दैनौं ? त्यो तहमा गर्न सकिएला वा नसकिएला त्यो अर्कै कुरा हो, तर प्रयास त गर्नुपर्यो नि ! त्यसैले हामी कृषिविज्ञहरूले अब सरकारलाई के सोध्नुपर्ने बेला भइसकेको छ भने, ‘कृषि शिक्षा, कृषि विस्तार र कृषि अनुसन्धानलाई उपयोग गर्न चाहन्छौं कि चाहन्नौं ?’ कृषि शिक्षा, अनुसन्धान र विस्तारलाई एकै लयमा मिलाएर हिंड्न सक्यौं भने मात्र हाम्रो देशको अर्थतन्त्रको केन्द्र कृषि बन्न जाने निश्चित छ।
(कृषि विभागका पूर्वमहानिर्देशक तथा नेपाल कृषि अनुसन्धान परिषद्का पूर्वसदस्य-सचिव शिवबहादुर नेपाली प्रधानका ‘कृषिमा मेरो बाटो’, ‘प्लानिन फर एग्रिकल्चर डेभलपमेन्ट’, ‘नेपाल स्पिक्स: कन्सियस सोसल अर्डर’ लगायत पुस्तक प्रकाशित छन्।)
प्रतिक्रिया 4