News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकको प्रतिवेदन अनुसार रेमिट्यान्स र विदेशी मुद्रा सञ्चितिमा कीर्तिमानी वृद्धि हुँदा मुलुकको अर्थतन्त्रका वाह्य सूचकहरू निकै बलिया देखिएका छन् ।
- चालु आर्थिक वर्षको ११ महिनामा विदेशी मुद्रा सञ्चिति ३७ खर्ब ५५ अर्ब र रेमिट्यान्स आप्रवाह २१ खर्ब २० अर्ब रुपैयाँ बराबर पुगेको छ ।
- बाह्य क्षेत्र सबल रहे पनि आन्तरिकतर्फ मुद्रास्फीति बढेको र बैंक कर्जा विस्तारको दर सुस्ताउँदा अर्थतन्त्रका आन्तरिक सूचकहरू भने कमजोर देखिएका छन् ।
२९ असार, काठमाडौं । मुलुकको अर्थतन्त्रका वाह्य सूचक बलिया देखिएका छन् । तर, आन्तरिक सूचक भने कमजोर छन् ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार अर्थतन्त्रका वाह्य सूचकहरू रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति, शोधनान्तर स्थिति, वैदेशिक व्यापार बलिया देखिएका हुन् ।
आन्तरिक सूचकतर्फ मुद्रास्फीति, बैंक कर्जा, ब्याजदर, आन्तरिक उत्पादन, लगानी, रोजगारी, राजस्व संकलन लगायत भने पछिल्लो ११ महिनामा खासै आशालाग्दो देखिएनन् ।
विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च
केन्द्रीय बैंकका अनुसार मुलुकमा विदेशी मुद्रा सञ्चिति रकम ३७ खर्ब ५५ अर्ब रुपैयाँ बराबर पुगेको छ । यो सञ्चिति रकम हालसम्मकै उच्च हो ।
यस्तो सञ्चिति रकम ११ महिनामै ४०.३ प्रतिशत बढेको हो । गत वर्ष असार मसान्तसम्म विदेशी मुद्रा सञ्चिति २६ खर्ब ७७ अर्ब रुपैयाँ बराबर थियो ।
अमेरिकी डलरमा भने सोही अवधिमा सञ्चिति रकम २६.५ प्रतिशत बढेको छ । जेठ मसान्तसम्म अमेरिकी डलरमा करिब २४ अर्ब ६८ करोड बराबर सञ्चिति मुद्रा छ ।
सञ्चिति रकममध्ये राष्ट्र बैंकमा ३३ खर्ब ३० अर्ब र बैंक तथा वित्तीय संस्थामा ४ खर्ब २५ अर्ब बराबर छ । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
उल्लेख्य रेमिट्यान्स
रेमिट्यान्स आप्रवाह उल्लेख्य दरमा बढेको छ । चालु आव ११ महिनामा २१ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ ।
यो आप्रवाह गत आव सोही अवधिको तुलनामा ३८.२ प्रतिशत धेरै रहेको केन्द्रीय बैंकले जनाएको छ । जेठ २०८३ मा २ खर्ब ३ अर्ब ८९ करोड बराबर रेमिट्यान्स भित्रिएको छ ।
यसअघि वैशाखमा कीर्तिमानी रकम रेमिट्यान्स भित्रिएको थियो । त्यस महिना २ खर्ब ५७ अर्ब रेमिट्यान्स आएको थियो । राष्ट्र बैंकका अनुसार २०८२ जेठमा १ खर्ब ७६ अर्ब ३२ करोड रेमिट्यास भित्रिएको थियो ।
यस अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स २९.६ प्रतिशत बढेर १४ अर्ब ५९ करोड बराबर भित्रिएको छ । अघिल्लो आव सोही अवधिमा डलरमा आप्रवाह १२.८ प्रतिशतमात्र बढेको थियो ।
जेठ मसान्तसम्म खुद द्वितीय आय (खुद ट्रान्स्फर) २३ खर्ब २१ अर्ब ७ करोड पुगेको छ । अघिल्लो आव सोही अवधिमा यस्तो आय १६ खर्ब ६९ अर्ब ५१ करोड थियो ।
केन्द्रिय बैंकका अनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ३ लाख ६७ हजार २ सय ११ (संस्थागत तथा व्यक्तिगत र पुन: श्रम स्वीकृति लिनेको संख्या ३ लाख ५५ हजार ७ सय ३५ छ ।
शोधनान्तर बचत दोब्बर
त्यस्तै मुलुकबाट बाहिरिने विदेशी मुद्राको तुलनामा भित्रिने रकम बढी हुँदा शोधनान्तर बचत गत आव २०८१/८२ को तुलनामा दोब्बर बढेको छ ।
केन्द्रीय बैंकका अनुसार चालु आव ११ महिनासम्म शोधनान्तर स्थिति ९ खर्ब २६ अर्ब ६ करोडले बचतमा छ ।
अघिल्लो आव सोही अवधिमा शोधनान्तर स्थिति ४ खर्ब ९१ अर्ब ४४ करोडले बचतमा थियो । अमेरिकी डलरमा ६ अर्ब ३९ करोडले बचतमा छ ।
अघिल्लो आव सोही अवधिमा अमेरिकी डलरमा शोधनान्तर स्थिति ३ अर्ब ६२ करोडले बचतमा थियो । निश्चित समयावधिभित्र आवासीय र गैरआवासीय व्यक्ति–संस्थाबीच भएका आर्थिक तथा वित्तीय कारोबारको सारांश नै शोधनान्तर स्थिति हो ।
शोधनान्तर बचत भए वाह्य क्षेत्र कारोबारबाट विदेशी मुद्रा आप्रवाह बढ्छ भने घाटा भए विदेशी मुद्रा वाह्य प्रवाह बढी हुन जान्छ । शोधनान्तर खाताले चालु खाता र पूँजी तथा वित्तीय खातामा गैरआवासीय व्यक्ति तथा संस्थासँग भएको कारोबारलाई समेट्छ । नेपालका हकमा रेमिट्यान्स आप्रवाह उल्लेख्य हुँदा त्यसको सकारात्मक प्रभाव शोधनान्तर स्थितिमा पर्छ ।
केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा चालु खाता ८ खर्ब २ अर्ब ६ करोडले बचतमा छ । अघिल्लो आव चालु खाता ३ खर्ब २१ अर्ब ७४ करोडले बचतमा थियो । अमेरिकी डलरमा चालु खाता ५ अर्ब ५३ करोडले बचतमा छ ।
महँगी दोब्बर
अघिल्लो वर्षको तुलनामा यस वर्ष जेठमा महँगी झन्डै दोब्बर बढेको छ । राष्ट्र बैंकका अनुसार जेठमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२२ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष सोही महिना यस्तो मुद्रास्फीति २.७२ प्रतिशतमात्र थियो ।
यद्यपि, आव २०८२/८३ को ११ महिनाको औसत मुद्रास्फीति भने २.८९ प्रतिशतमा सीमित भएको छ । अघिल्लो वर्ष सोही अवधिमा औसत मुद्रास्फीति ४.२४ प्रतिशत थियो ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थको तुलनामा गैरखाद्य तथा सेवा समूहको महँगी बढी देखिएको छ । राष्ट्र बैंकका अनुसार खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.९५ प्रतिशत रहँदा गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.३७ प्रतिशत पुगेको छ ।
अघिल्लो वर्ष यी समूहको मुद्रास्फीति क्रमश: ०.५४ र ३.९४ प्रतिशतमात्र थियो ।
कर्जा विस्तार ओरालो
चालु आव ११ महिनामा बैंक तथा वित्तीय संस्थाबाट ६.२ प्रतिशत मात्रै कर्जा विस्तार भएको छ । राष्ट्र बैंकका अनुसार चालु आव साउनदेखि जेठ मसान्तसम्म ३ खर्ब ४० अर्ब रुपैयाँ कर्जा विस्तार भएको हो ।
कर्जा विस्तारको दर पोहोरको तुलनामा सुस्ताएको छ । गत आव सोही अवधिमा कर्जा विस्तार ८ प्रतिशत थियो । बैंक तथा वित्तीय संस्थाबाट जेठ मसान्तसम्म कुल ५८ खर्ब ३८ अर्ब बराबर कर्जा प्रवाह भएको छ ।
पर्याप्त तरलता र न्यून ब्याजदर हुँदाहुँदै कर्जा विस्तार सुस्ताएको छ । ब्याजदर निरन्तर ओरालो लागिरहेको छ । वाणिज्य बैंकहरूको औसत आधार दर यो जेठमा ४.८८ प्रतिशतमा झरेको छ, जबकि गत वर्ष जेठमा यस्तो दर ६.०९ प्रतिशत थियो । सोही अवधिमा विकास बैंकको औसत आधार दर ८.२९ बाट ६.८६ र फाइनान्सको ९.०२ बाट ७.१६ प्रतिशतमा झरेको छ ।
त्यस्तै कर्जाको भारित औसत ब्याजदर पनि उच्च दरले नै घटेको छ । कर्जामा भारित औसत ब्याजदर वाणिज्य बैंकहरूको ७.९९ बाट ६.६४, विकास बैंक ९.४० बाट ७.७१ तथा फाइनान्स कम्पनीहरूको १०.२२ बाट ८.९० प्रतिशतमा झरेको छ ।
बढ्यो निक्षेप दर
चालु आव ११ महिना अवधिमा बैंक तथा वित्तीय संस्थामा निक्षेप रकम भने १०.३ प्रतिशत बढेको छ । यस अवधिमा निक्षेप ७ खर्ब ४८ अर्ब रुपैयाँ थप भएसँगै जेठ मसान्तसम्म कुल निक्षेप ८० खर्ब १२ अर्ब पुगेको छ ।
निक्षेप रकम पोहोरको तुलनामा बढेको हो । गत आव सोही अवधिमा निक्षेप ८ प्रतिशतले नै बढेको थियो । कर्जाभन्दा निक्षेपको वृद्धि उच्च भइरहँदा तरलता व्यवस्थापनमा चुनौती थपिइरहेको छ ।
पर्यटकले गर्ने खर्च घट्यो
नेपालमा पर्यटकले गर्ने खर्च सामान्य घटेको छ । राष्ट्र बैंकका अनुसार चालु आव ११ महिनासम्म भ्रमण आय ०.१ प्रतिशत घटेर ८२ अर्ब २२ करोड कायम भएको छ । गत आव सोही अवधिमा भ्रमण आय ८२ अर्ब ३३ करोड थियो । यस अवधिमा भ्रमण व्यय १ खर्ब ९३ अर्ब ६५ करोड बराबर छ ।
गत वर्ष सोही अवधिमा भ्रमण व्यय २ खर्ब ३ अर्ब थियो । शिक्षातर्फको व्यय ११ महिनामा १ खर्ब ३२ अर्ब २३ करोड छ । गत आव शिक्षाका लागि ११ महिनामा १ खर्ब २४ अर्ब ७५ करोड विदेशिएको थियो ।
भ्रमण आयको तुलनामा व्यय बढी हुँदा खुद सेवा आय ७२ अर्ब ५४ करोडले घाटामा छ । गत आव यस्तो घाटा ८२ अर्ब ७८ करोड थियो ।
प्रतिक्रिया 4