२ असोज, संखुवासभा । उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गत मकालु गाउँपालिका–३ अल्फाटेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।
लगातार वर्षासँगै आएको पहिरोले राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार भोटखोला र मकाल बीचमा पहिरोले सडक बगाएपछि यातयात सेवा अवरुद्ध भएको हो ।
उत्तर दक्षिण कोशी राजमार्गको मकालु–३ स्थित अल्फाटेमा गएराति वर्षासँग आएको पहिरोले सडक बगाउँदा भोटखोला जाने र सदरमुकाम खाँदबारी आउने यातायातका साधन अलपत्र परेका छन् ।
अवरुद्ध सडकको पहिरो हटाउन सुरु गरिएको भएपनि भारी वर्षाका कारण सडक खुलाउन नसकिएको प्रहरीले जनाएको छ । पहिरो हटाउन सडक कार्यालयका दुई वटा एक्साभेटर परिचालन गरिएको छ ।
यस्तै, पहिरोले खाँदबारी–किमाथाङ्का सडकखण्डको भोटखोला गाउँपालिका–३ थोगाम खोलामा ह्युमपाइप बगाएको छ । भोटखोला –३ थोगाम खोलामा ह्युमपाइप बगाएपछि भोटखोलामासमेत यातायात सेवा ठप्प भएको छ ।
पहिरोका कारण सङ्खुवासभाको मकालु गाउँपालिका–३ मा निर्माणाधीन ९०० मेगावट क्षमताको अरुण तेस्रो आयोजनाको ड्राइभर्सन टनेल आउटलेट भागमा क्षति पुगेको छ ।
माथिबाट पहिरो खस्दा अरुण तेस्रो आयोजनाको ड्राइभर्सन टनेल आउटलेट बगाएको प्रहरीले जनाएको छ ।
पहिरोले बाहिरको पहुँच सडकको ९२ मिटर देखि १६५ मिटर सम्म बगाएको छ ।
प्रतिक्रिया 4