+
+
Shares
महोत्तरीमा युवक हत्या प्रकरण :

छोरालाई गुपचुप विदेशबाट बोलाए, बुहारीका प्रेमीलाई घरमै बोलाएर हत्या गरे

विवेक र सोनुबीच प्रेम सम्बन्ध थियो । यो कुरा थाहा पाएपछि वैदेशिक रोजगारीमा रहेका सोनुका श्रीमान् जितेन्द्र ठाकुर नेपाल आए । त्यसपछि घरमै बोलाएर विवेकको हत्या गरिएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर विश्वम्भरनाथ साहले बताए ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८३ असोज २ गते १८:४४

२ असोज, जनकपुरधाम । गत २६ भदौमा महोत्तरी बलवा नगरपालिका-७ बनौटाका अशोक ठाकुरको शौचालयको सेफ्टी ट्यांकीमा एक युवकको शव टुक्राटुक्रा अवस्थामा फेला पर्‍यो । उक्त शव महोत्तरीकै भंगहा नगरपालिका-६ का २४ वर्षीय विवेक सरदारको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट अशोकको परिवारले नै विवेकको हत्या गरी शव सेफ्टीट्यांकीमा लुकाएको खुलेको छ । विवेक र आफ्नी बुहारी सोनु ठाकुरबीच प्रेम सम्बन्ध रहेको थाहा पाएपछि अशोकको परिवारले घरमै बोलाएर विवेकको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको हो ।

विवेक र सोनु ठाकुरबीच पहिलेदेखि नै प्रेम सम्बन्ध थियो । यो कुरा थाहा पाएपछि वैदेशिक रोजगारीमा रहेका सोनुका श्रीमान् जितेन्द्र ठाकुरलाई उनको परिवारले नेपाल झिकायो ।

जितेन्द्र गुपचुप रूपमा वैदेशिक रोजागरीबाट फर्किए । त्यसपछि योजनाबद्ध रूपमा फोन गरी घरमै बोलाएर विवेकको हत्या गरिएको अनुसन्धानबाट पाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर विश्वम्भरनाथ साहले बताए ।

विवेक र सोनु ठाकुरबीच बिहे अघिदेखि नै प्रेम सम्बन्ध थियो । विवेक र सोनुको माइती एउटै वडा भंगहा नगरपालिका-६ हो ।

प्रहरीका अनुसार विवेकको शवलाई ९ टुक्रा पारी सेफ्टी ट्यांकीभित्र हालेर प्लास्टर गरिएको थियो ।

घटनामा संलग्न रहेको आरोपमा बलवा नगरपालिका–७ का अशोककुमार ठाकुर, उनकी श्रीमती ५० वर्षीया रामकलीदेवी ठाकुर, बुहारी जितेन्द्रकी श्रीमती २२ वर्षीया सोनुकुमारी ठाकुर र ज्वाइँ महोत्तरी गाउँपालिका–५ का २८ वर्षीय सियाराम शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

विवेक र सोनु ठाकुरबीच बिहे अघिदेखि नै प्रेम सम्बन्ध थियो । विवेक र सोनुको माइती एउटै वडा भंगहा नगरपालिका-६ हो । विवेकको घर बिर्जौना टोल र सोनुको माइती संग्रामपुर हो । फरक टोलका दुवै जनाबीच प्रेम सम्बन्ध थियो । सोनुको बिहे ८ वर्षअघि नै भए पनि विवेकसँग हिमचिम भइरह्यो ।

कसरी भयो हत्या ?

भदौ १३ गते रक्षाबन्धनमा आएकी आफ्नी दिदीलाई जलेश्वर नगरपालिका–११ पिगौस्थित घर पुर्‍याउन विवेक १४ गते साँझ मोटरसाइकलमा गएका थिए । राति त्यहीँ बसेका उनी दिदीको घरबाट बिहान साढे ११ बजेतिर आफ्नो घरतर्फ हिँडेका थिए ।

तर, घर नआएपछि परिवारले भदौ १६ गते जिल्ला प्रहरी कार्यालयमा हुलियासहित निवेदन दिए । त्यसपछि विवेकको खोजबिन सुरु भयो ।

वडा कार्यालयको सीसीटीभी फुटेज, मोबाइल लोकेसन विश्लेषण, प्राविधिक अनुसन्धान लगायतका माध्यमबाट प्रहरीले निरन्तर खोजी गर्‍यो । अनुसन्धानमा संलग्न अधिकृत साहका अनुसार अन्ततः यहींबाट हराएको र यतै कतै हुनसक्ने निष्कर्ष निकालियो ।

अशोक ठाकुरलाई शं‍काको आधारमा प्रहरीले सुधपुछ र केरकार गर्न थाल्यो । तर उनले आफूलाई कुनै जानकारी नभएको दाबी गरे ।

अशोकले आफ्नो छोरा जितेन्द्र विदेशबाट आएको कुरा लुकाइरहेका थिए । तर भदौ २६ गते इन्स्पेक्टर साह विवेकको हत्या गरी घरमै लुकाएको हुनसक्ने आशंकामा घरमा पुगेर खोजी गर्न थाले । त्यस क्रममा छोरा जितेन्द्र विदेशबाट आएको केही प्रमाण फेला परे ।

‘सोनुका श्रीमान् विदेशबाट आएको कुरा नै लुकाइएको थियो । तर घर खानतलासी गर्दा नयाँ समान देखियो । त्यसपछि उनी घर आएको र केही घटना गरेको निष्कर्षमा हामी पुग्यौं,’ सूचना अधिकारी इन्स्पेक्टर साहले भने ।

अनुसन्धानमा संलग्न अधिकारीका अनुसार शवलाई ९ टुक्रा पारिएको थियो । घाँटी, दुवै हात, दुवै खुट्टा काटिएको थियो ।

त्यसपछि प्रहरी विवेकको हत्या भइसकेको निष्कर्षमा पुग्यो । घरमा खोजतलासको क्रममा शौ‍चालयको सेफ्टी ट्यांकीको एक छेउमा नयाँ प्लास्टर गरेको देखियो । यतै लाश लुकाएको हुनसक्ने आशंकामा प्रहरीले प्लास्टर फोड्न सुरु गरेपछि अशोकले हत्या गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ ।

अनुसन्धानमा संलग्न अधिकारीका अनुसार शवलाई ९ टुक्रा पारिएको थियो । घाँटी, दुवै हात, दुवै खुट्टा काटिएको थियो । तिघ्रादेखि खुट्टासम्मको ‍भागलाई दुई-दुई टुक्रा पारिएको थियो ।

त्यसबेलै प्रहरीले अशोकसहित परिवारका तीन जनालाई पक्राउ गर्‍यो । छोरा जितेन्द्र फरार नै छन् ।

‘हत्यापछि शवलाई टुक्राटुक्रा पारी सेफ्टी ट्यांकीमा राखिएको थियो । जितेन्द्र फरार छन् । खोजी गर्दै छौं,’ इन्स्पेक्टर साहले भने ।

१५ गते बुहारी सोनुलाई विवेकलाई फोन गरी बोलाउन लगाइएको, मध्याह्न १२ बजेतिर आएका विवेकलाई बुबाछोरा मिलेर घाँटी थिचेर हत्या गरेको र त्यसपछि फुर्सा (दाउ) ले शवलाई ९ टुक्रा गरी सेफ्टी ट्यांकीमा लुकाइएको उनीहरूले बयान दिएका छन् । प्रहरीले दाउ पनि बरामद गरेको छ ।

विवेकको मोटरसाइकल अझैसम्म फेला परेको छैन । जितेन्द्रले श्रीमतीसँग परपुरुषको सम्बन्ध रहेको थाहा पाइसकेपछि उतैबाट योजना बनाएर विवेकको हत्या गर्न गोप्य रूपमा विदेशबाट आएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

घटनामा अरूको संलग्नता हुनसक्ने आशंकासहित प्रहरीले अनुसन्धान गरिरहेको छ । विवेकको गत फागुनमा बिहे भएको थियो । उता सोनु कुमारीका दुई सन्तान छन् ।

लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?