+
+
Shares
नरहरि आचार्यसँग वार्ता :

‘नयाँ सरकारको कार्यशैली अलग छ, तर संविधानको लिक छाडेको मैले देखेको छैन’

पार्टीभित्रको किचलो अन्त्य हुनुपर्छ। अन्त्य गर्ने वैधानिक प्रक्रिया पनि छ, राजनीतिक प्रक्रिया पनि छ। त्यो प्रक्रिया पूरा गर्लान् भन्ने अपेक्षा छ।

बसन्त बस्नेत लिलु डुम्रे बसन्त बस्नेत, लिलु डुम्रे
२०८३ असोज २ गते २०:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नरहरि आचार्यले संविधान निर्माण कांग्रेसको पुरानै माग भएको बताउँदै जेनजी आन्दोलनमा संविधान जलेन, त्यसैले संविधान चलेको दाबी गरे ।
  • उनले संविधानको जनताको सार्वभौमिकता र स्वतन्त्रताको आधार संशोधन नहुने, तर दुईतिहाइ पुगेका दलले अन्य प्रावधान परिवर्तन गर्न सक्ने बताए ।
  • आचार्यले कांग्रेसले सत्ता फर्काउनेभन्दा प्रतिष्ठा फर्काउने कोसिस गर्नुपर्ने, १५औँ महाधिवेशनले नयाँ पुस्ता र वैचारिक बहस अघि बढाउनुपर्ने बताए ।

नेपाली कांग्रेसका प्राज्ञिक तथा बौद्धिक नेता नरहरि आचार्य स्वास्थ्यका कारण अहिले सक्रिय राजनीतिमा छैनन्। शारीरिक व्यायाम, अध्ययन, लेखन र भेटघाटमा उनको दैनिकी बितिरहेको छ।

कांग्रेसलाई गणतन्त्र र संविधानसभाका पक्षमा उभ्याउन महत्त्वपूर्ण भूमिका खेलेका आचार्यको लोकतन्त्र, गणतन्त्र र संविधान निर्माणमा सक्रिय योगदान रह्यो। कांग्रेसका वैचारिक नेता आचार्यसँग संविधान निर्माणको ११ वर्ष, संविधान संशोधनको मुद्दा र कांग्रेसको पछिल्लो राजनीतिबारे अनलाइनखबरकर्मी बसन्त बस्नेत र लिलु डुम्रेले गरेको कुराकानी :

संविधान निर्माण गरेर हामी अहिले एघारौँ वर्षमा छौँ। तपाईं अहिले केही समयदेखि स्वास्थ्यका कारण आराम गरिरहनुभएको छ। तर सबै कुरालाई सक्रिय अवलोकनकर्ताका रूपमा हेरिरहनुभएको छ। संविधानको कार्यान्वयन कसरी भइरहेको छ ?

संविधान बनाउन त्यत्रो समय लाग्छ जस्तो मलाई लागेको थिएन। लगभग १० वर्ष लाग्यो। मलाई के सम्झना हुन्छ भने, नेपाली कांग्रेसले २००६ सालमा संविधानसभाको माग राखेको थियो। नेपाल प्रजातान्त्रिक कांग्रेस र नेपाली राष्ट्रिय कांग्रेस एकीकृत भएपछिको त्यो अवस्था हो।

संविधानसभा कांग्रेसले त्यही बेलादेखि राखेको माग हो। मैले कुनै नयाँ अनुसन्धान गरेर भनेको होइन। ‘त्यही कांग्रेसकै माग राख्नुपर्छ’ भनेर त्यही कुरा राखेको हुँ। कांग्रेसको त्यो माग पूरा नहुँदा संविधान बनाउनुपर्ने भयो।

छ–सातपटक संविधान बनाइसकेको थियो, तैपनि रहेन। जुनजस्तो प्रतिक्रान्ति र क्रान्ति आए पनि संविधानमाथि नै आक्रमण भयो। ‘जनता आफैँले संविधान बनाउनुपर्‍यो’ भन्ने पहल मैले कांग्रेसकै इतिहास देखेर लागेको हुँ। त्यो आफैँ जन्मेर देखेको त होइन मैले, तर इतिहास हेरेर, पढेर जानेको त्यही कुरा गरेको हुँ।

वर्तमान संविधान चल्यो कि चलेन भन्ने सबैलाई लागेकै कुरा हो। कोही ‘चलेन’ भन्छन्, कोही ‘चलेको’ भन्छन्। तर जेनजी आन्दोलनमा सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन, संसद् भवन पनि जल्यो। त्यो भवन ‘संविधान दिवस’ को सम्झना गराउने भवन थियो।

संसद् भवन जले पनि संविधानचाहिँ जलेन। त्यसो भएको हुनाले संविधान चल्यो भन्ने कि चलेन भन्ने ? अरू सानो–सानो आन्दोलन हुँदा पनि संविधान परिवर्तन भए। महेन्द्रले गरेको ‘कु’ मा पनि उनले संविधान परिवर्तन गरे, जबकि २०१५ सालमा उनैले संविधान दिएका थिए।

संविधानका मुख्य आधारस्तम्भ नै संशोधन गर्ने कि भन्ने बहस छ। संशोधन गर्दा केमा गर्नुपर्छ ?

संविधानले जनताको सार्वभौमिकता र स्वतन्त्रताको अधिकारलाई चल्दै नचल्ने बनाएको छ। त्यसभन्दा अरूलाई संविधानले रोकेको छैन। कुनै दलले दुवै सदनमा दुईतिहाइ संख्या पुर्‍यायो भने ‘चल्दैन’ भनेर मैले कसरी भन्न सक्छु ? मैले समर्थन गरेरै संविधान बनेको हो।

ठूलो सत्ताविप्लव नै जस्तो भए पनि संविधानचाहिँ परिवर्तन भएन। यसलाई कसरी बुझ्ने ?

यसलाई कसरी बुझौँ भने, जनताले बनाएको चिज त्यसै परिवर्तन हुँदैन। जनताले बनाएको भवन जल्न सक्छ, तर जनताको दस्ताबेज, संविधान, जल्न सक्दैन।

‘जेनजी’ आन्दोलनपछि नितान्त नयाँ अवस्था बन्यो। नयाँ पार्टीले सरकार बनायो। पुराना भनिएका दलहरू खुम्चिए। त्यसपछिको परिदृश्यलाई तपाईंले कसरी हेरिरहनुभएको छ ?

हाम्रो बृहत् सिद्धान्तभन्दा बाहिर त गएको होइन। ‘जनताको प्रतिनिधि भएपछि जनताको समस्यालाई बेवास्ता गर्ने, त्यसको विपरीत जान खोजेपछि जनताले गर्ने सजाय भनेकै निर्वाचनद्वारा हराइदिने हो।’ अरू केही होइन नि !

अब बीपी कोइराला भन्नुहुन्थ्यो, ‘प्रजातन्त्र नभएको बेलामा अलिकति कुरा गरे पनि मर्ने स्थिति बनाउँछन्। प्रजातन्त्र भएको देशमा मर्ने स्थिति त हुँदैन, जनताले साह्रै नै खेदे भने चुनाव हार्ने मात्रै हो।’ त्यो फरक छ।

जसलाई पुरानो पार्टी भनिन्छ, अब त पुरानो भन्न पनि छाडे होलान् ! यति छिट्टै पुराना दल भन्न छाड्ने स्थिति आउने रहेछ नि !

यति छिट्टै पुराना दल भन्न किन छाडेका होलान् त ?

पुरानो पार्टीलाई सैद्धान्तिक जुन आरोप लगाउँछन्, त्यो आरोप ठीक थिएन। उनीहरूको व्यवहारको आरोपचाहिँ ठीकै थियो। पुराना दलले भ्रष्टाचार गरे, अकुत धनसम्पत्ति जोड्नतिर लागे। जति ठूलो क्रान्ति, जति ठूलो आन्दोलन गरे पनि उनीहरूले त्यो सबै बिर्सिए। त्यो माओवादीलाई पनि लाग्यो, त्यो कांग्रेसलाई त लागिरहेकै थियो। अब एमाले त्यसबाट बच्ने कुरै भएन।

आरोप जनताले लगाइरहन्छन् नि ! आरोप लागिरहँदा सानो दल हुने, खिइँदै जाने हुन्छ।

प्रतिनिधिसभामा करिब दुईतिहाइ सिटसहित रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह अहिले प्रधानमन्त्री हुनुहुन्छ। खासगरी संघीयता कार्यान्वयनका विषयमा महाधिवेशनको बेलाका बोली र चुनावी सभामा बोलेका विषयमा पनि कतिपयमा विरोधाभासजस्तो देखिन्छ। तपाईंले यसलाई कसरी हेर्नुभएको छ ?

नयाँ सरकारले संविधानको लिक छाडेको मैले देखेको छैन। कार्यशैली त अवश्यै परिवर्तन छ। त्यसो भएको हुनाले विविधीकरणको बेलामा सानातिना आलोचना त भइहाल्छन्। अहिले मिडियाहरूको विविधीकरण भएको छ, प्रिन्ट मिडिया मात्र छैन।

समयअनुसार परिवर्तन भएजस्तै राजनीतिमा पनि शैली परिवर्तन हुन्छन्। नयाँ पुस्ताले नयाँ शैलीले गर्छन्। पहिलेपहिले कांग्रेसमा हामीलाई ‘यी नबुझ्ने केटाहरू !’ भनेर सामूहिक आरोप लगाउँथे।

‘केटौले’ भन्ने आरोप तपाईंलाई पनि आउँथ्यो ?

आउँथ्यो, आउँथ्यो !

तपाईं पहिलोचोटि सांसद बन्दा कति वर्षको हुनुहुन्थ्यो ?

३६ वर्षको थिएँ। पहिलोपटक मन्त्री बन्दा ४२ वर्षको थिएँ। अहिलेको हिसाबले भन्दा ‘केटौले’ हो त नि ! मलाई केटौले भन्ने मान्छेले २००७ सालको मन्त्रिमण्डलमा २५ वर्ष नपुगेकालाई मन्त्री बनाएका थिए।

त्यही आन्दोलनमा बसिरहँदाखेरि चाहिँ मान्छे बूढो त भइहाल्छ। म पनि अहिले बूढो भइसकेँ।

तपाईं जुन क्याबिनेटमा मन्त्री हुनुहुन्थ्यो, त्यसबेलाका प्रधानमन्त्री शेरबहादुर देउवा अहिले पनि सक्रिय हुनुहुन्छ, ताउरमाउर घटेकै छैन। केपी शर्मा ओलीलगायत नेताहरू नेतृत्व छाड्न दबाब भए पनि छाड्न तयार हुनुहुन्न। राष्ट्रपति भइसकेकी विद्या भण्डारीलाई सक्रिय राजनीतिमा आउने इच्छा छ। तपाईंले ‘म बूढो भएँ’ भन्न मिल्ने हो ?

त्यसरी तुलना गर्ने हो भने अरूको सन्दर्भमा मलाई बूढो भन्न मिल्दैन भन्न सकिएला। तर त्यो कुरा स्वाभाविक हो जस्तो मलाई लाग्दैन।

म त एक प्रकारले बिरामी भएको हुनाले मलाई ‘वानप्रस्थ राजनीति’ भन्छु ! आफूलाई मन लागेको कुरा त बोल्न पाइन्छ, कार्यकारी हैसियत हुँदैन। बोल्न पाइने स्वतन्त्रता हुन्छ।

कांग्रेसको १५औँ महाधिवेशन आइरहेको छ। विगतमा तपाईंले राजनीतिक बहसका लागि प्रतिवेदनहरू ल्याउनुहुन्थ्यो, त्यसले वैचारिक बहस सिर्जना गर्दथ्यो। ‘महाधिवेशन प्रतिनिधि भोट मात्रै हाल्न आउने होइनन्, वैचारिक बहस गर्नुपर्छ’ भनेर तपाईंले हुटहुटी जगाइदिनुहुन्थ्यो। यसपालि त्यस्तो हुटहुटी जगाउने केही छ कि छैन ?

यसपटक नयाँ कुरा त छ नि ! संविधानको कुरा पो अब एउटा किनारामा लाग्यो, नयाँ कुरा त हुन्छ नि।

नयाँ कुरा भनेको हामीले कार्यकारी प्रमुख बनाउने खोज्न हुँदैन। हाम्रो सुझाव सत्ता पक्षले लिन्छ कि लिँदैन, थाहा छैन। अब उनीहरूले अलिकति मिहिनेत गर्नुपर्छ भन्ने लाग्छ। कांग्रेस, एमाले र माओवादीले त आफ्नो सत्ता फर्काउने मिहिनेत गरिहाल्छन्।

कांग्रेसले चाहिँ अलिकति भिन्नै ढंगले हिँड्न खोज्दै छ। सत्ता फर्काउनेभन्दा पनि आफ्नो प्रतिष्ठा फर्काउनेतिर कांग्रेस कोसिस गरिरहेको जस्तो लाग्छ मलाई।

पार्टीमा विशेष महाधिवेशन भएपछि स्पष्ट दुईवटा कित्ता बनेको छ। यसप्रति तपाईंको धारणा के छ ?

मैले विशेष महाधिवेशन सुरु हुँदा नै भनिसकेको हो यो कुरा। विशेष महाधिवेशन विधानअनुसार नै हो। अहिले के फरक भयो भने, २०१२ सालको महाधिवेशनबाट सुवर्णशमशेर राणा सभापति हुनुभयो। २०१४ सालमा उहाँले विशेष महाधिवेशन आयोजना गर्नुभयो। त्यो बेलामा किन आयोजना गर्नुभयो ? भन्दा, मलाई लागेको के छ भने, त्यो बेलामा चुनाव भएन।

२०१४ सालमा सुवर्णजीले सभापतिमा बीपी कोइरालालाई छान्नुभयो। त्यो विशेष महाधिवेशनले चुनावको माहोल बनायो।

अहिले कांग्रेसमा सभापतिमा गगन थापा, उपसभापतिमा विश्वप्रकाश शर्मा, महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरेलगायतको टिम बनेको छ। यो टोलीसँग तपाईंको अपेक्षा के छ ?

यो टोलीसँग अब १५औँ महाधिवेशन सम्पन्न गर्ने एउटा अपेक्षा छ। तर त्यो १५औँ महाधिवेशनले कांग्रेसको प्रतिष्ठाको पुनर्जागरण गर्ने आकाङ्क्षा छ।

१५औँ महाधिवेशन प्राविधिक रूपमा मात्रै सम्पन्न भएर हुँदैन। त्यसले प्रतिष्ठा पनि फर्काउन सक्नुपर्‍यो। कांग्रेसमा नयाँ पुस्ताहरूको पनि उदय हुनुपर्‍यो।

त्यो प्रतिष्ठा कसरी फर्किन्छ त ?

कांग्रेसको स्थापना सत्ताका लागि भएको होइन नि ! स्वतन्त्रता र लोकतन्त्रका लागि भएको हो। त्यसका लागि भएको हुनाले २०६२/६३ को आन्दोलनसम्म ‘मूल परिवर्तनको वाहक’ कांग्रेस नै बनेको थियो। संविधान पनि परिवर्तन भइरहेको थियो।

जेनजी आन्दोलनले परिवर्तनको वाहक हुने सबैलाई मौका दिएको थियो।

कांग्रेसभित्रको किचलो कायमै रहेर त्यो प्रतिष्ठा कायम हुन सक्ला ?

पार्टीभित्रको किचलो अन्त्य हुनुपर्छ। अन्त्य गर्ने वैधानिक प्रक्रिया पनि छ, राजनीतिक प्रक्रिया पनि छ। त्यो प्रक्रिया पूरा गर्लान् भन्ने अपेक्षा छ।

‘कसरी मिल्नुपर्छ’ भन्नेमा तपाईंले गगन थापा र शेरबहादुर देउवालाई दिने सुझाव छ ?

विशेष अधिवेशन हुने दिन नै मैले शेरबहादुर देउवालाई ‘तपाईं पूर्वसभापति भएर अभिभावक बन्नुस्’ भनेको थिएँ। पार्टीमा अहिले पूर्वसभापति कोही पनि नभएको हुँदा ‘खुरुक्क विशेष अधिवेशनमा जानुस्’ भनेको थिएँ।

त्यो अधिवेशनमा जान सकेको भए उहाँको, देउवाको, प्रतिष्ठा कत्रो हुन्थ्यो ?

गगनजीले एउटा भन्नुभएको छ, ‘पूर्वसभापति आएर १५औँ महाधिवेशनको उद्घाटन गरिदिनुस्।’ त्यही कुरालाई म समर्थन गर्छु।

तपाईंले प्रजातान्त्रिक समाजवादका लागि धेरैपल्ट बोलेर, लेखेर आउनुभएको छ। अहिले ‘सामाजिक लोकतन्त्र’ को बहस आएको छ। यसलाई तपाईंले कसरी हेर्नुभएको छ ?

त्यसमा सैद्धान्तिक रूपमा प्रस्ट भइसकेको छैन। जसले पनि अब लोकतन्त्र त भन्नैपरेको छ। अब एउटा–एउटा विशेषता राखेका छन्। सामाजिक लोकतन्त्र भन्नाले मैले बुझेको चाहिँ के हो भने, (मैले साह्रै धेरै बुझेको छैन) लोकतन्त्र भनेको ‘केवल चुनाव जित्ने र आफ्ना कार्यकर्ताहरूलाई संरक्षण गर्ने, अनि फेरि अर्को चुनाव लड्ने’ त्यति मात्रै बन्न पुगेको थियो। समाजका समस्याहरूलाई जागरूक गराउन सक्यो भने ‘सामाजिक लोकतन्त्र’ त्यही हुन्छ।

सामाजिक लोकतन्त्र र प्रजातान्त्रिक समाजवाद फरक–फरक होइन भने त्यसलाई स्पष्ट गरिदिनुपर्‍यो। त्यसबेला गगनले प्रस्तुत गरे। व्याख्याचाहिँ कसैले गरेको छैन।

कांग्रेसमा दुई–दुईवटा महाधिवेशनको घोषणा गरिएको छ। यस्तो अवस्थामा कांग्रेसका कार्यकर्तालाई तपाईंले दिने सन्देश के हुन्छ ?

कार्यकर्तालाई सन्देश दिने विज्ञ म होइन। मचाहिँ असोज ३ बाट सुरु हुने अधिवेशनमा भोट हाल्छु। त्यहीँ म सदस्य छु।

तपाईंले नेपालमा राजनीतिक पार्टीहरूको उदय, उत्थान र विलय कसरी भएको छ भन्ने कुरा पनि हेर्नुभएको छ। अहिले नयाँ पार्टीहरू आएका छन्। ती सबै ‘डेमोक्रेटिक फ्रेमवर्क’ मा छन्। रास्वपा, श्रम संस्कृति, उज्यालो नेपाललगायतका नयाँ दल छन्। यस्तो अवस्थामा नेपाली कांग्रेसको पुनरुदय ठीकठाक ढंगले हुनेमा तपाईं विश्वस्त हुनुहुन्छ ?

कहिले हुन्छ ? मैले देख्न पाउँछु, सुन्न पाउँछु कि पाउँदिनँ ?

किनभने संकटभन्दा पनि चुनौती कांग्रेसले बेहोर्‍यो। यसलाई चाहिँ अब नयाँ बनाउनैपर्छ।

कांग्रेसका खम्बाहरू के भन्छन् भने, ‘८० वर्ष पुरानो पार्टी, सबैभन्दा पुरानो त जहिल्यै हुन्छ नि !’ भनेर भन्छन्। त्यसका लागि म एउटा उदाहरण दिन्छु।

१९९७ सालमा चार जना सहिद भए। १९९३ सालमा प्रजापरिषद् खुलेको थियो। नेपाली कांग्रेस गठन हुँदा त्यो दललाई समाप्त गर्छु भनेको थिएन। ‘उसलाई पनि लिएर जाने हो’ भन्यो।

त्यो दलका सभापति टङ्कप्रसाद आचार्य जेलमा बसेका थिए। उनैलाई सभापति बनाएर बीपी कार्यवाहक सभापति भएर अग्रसर भएका थिए।

त्यो अभ्यास कस्तो थियो ?

समाप्त हुन लागेको पार्टीलाई पुनर्जीवित गर्ने प्रयास हो त्यो। प्रजापरिषद् त पछि टङ्कप्रसादले नै पुनर्जीवित गर्न सक्नुभएन। चुनावमा त्यो स्थिति देखियो।

त्यस्तो खालको स्वीकारोक्तिचाहिँ अहिले घटेको हो कांग्रेसभित्र ?

स्वीकारोक्ति अलि घट्दै–घट्दै गयो। सुवर्णशमशेरलाई नै बिर्सिने स्थितिमा पुगे।

म त संयोगले अब सुवर्णशमशेरकै घर भएको क्षेत्रबाट उठेँ। मैले सधैँ सुवर्णशमशेरलाई सम्झिनुपर्छ भन्ने कारण पनि त्यो हो।

तपाईं लामो समय प्राज्ञिक क्षेत्रमा रहनुभयो। तपाईं ‘शक्तिको विज्ञान’ बारेमा पनि जानकार हुनुहुन्छ। ज्ञान र शक्ति दुवै भएका दुई पात्रमध्ये तपाईं पर्नुहुन्छ। पछिल्लो समय फोनहरू कम आउने, कार्यकर्ताहरू कम आउने र जनताका समस्यामा सधैँ साक्षात्कार हुन नपाउँदाखेरि तपाईंलाई अचेल कस्तो लागिरहेको छ ?

मलाई त्यस्तो केही लाग्दैन। जीवन अन्त्य हुँदासम्म स्वस्थ हुन पाए अब अलिअलि पढिन्छ।

सक्रिय राजनीति हुँदा २५ वर्ष गरेँ। १७ वर्ष म प्राध्यापन गरेँ। मेरो दुईवटा जीवन छ। त्यही दुईवटा जीवनको पुनरावलोकन गर्दै छु।

शारीरिक व्यायाम गर्नुपर्दछ। बिहान त म त्यसैमा व्यस्त हुन्छु।

राजनीतिक हिसाबले निराशाको भाव छैन ?

छैन।

आज बिहानै पनि एउटा कांग्रेस पार्टीकाले ‘अधिवेशनमा जाने होइन ?’ भनेका थिए। ‘म त यहींबाट गइरहेको छु नि’ भनेँ। सम्भव भयो भने म जाने हो। नभए पनि ‘मेरो शुभेच्छा जान्छ’ भनेको छु।

तपाईंले लेखेको छिट्टै पढ्न पाइने केही छ कि ?

छिट्टै पाइन्छ कि पाइन्न, थाहा छैन। अरू त केही जानिएको छैन।

‘पठनपाठनमुखी भएरै २५ वर्षको राजनीति पनि बिताउन खोजेँ। पढ्ने मान्छेले राजनीति गर्दैन पनि’ भने। गिरिजाप्रसाद कोइरालाले पनि भनेका हुन्। तैपनि म त्यसलाई अन्यथा ठान्दिनँ।

उहाँको बोलीका आधारमा भन्दा गिरिजाप्रसाद सही हुनुहुन्थ्यो कि तपाईं ?

होइन, गिरिजाप्रसादले भनेको कुरो पनि सही नै जस्तो लाग्छ।

उहाँले २०५६ सालमा मलाई ‘टिकट दिने’ भन्दाभन्दै अकस्मात् दिनुभएन। एक वर्षअगाडि ‘कहाँ लड्ने ?’ भनेर उहाँलाई सोध्दा ‘तपाईं जहाँ बस्नुहुन्छ, त्यहीँ’ भन्नुभएको थियो। टिकट दिनुभएन। राजनीति भनेको त्यस्तो पनि हुन्छ।

नदिनुको कारण विभिन्न होला। मैले खोतलिनँ। ‘कम्युनिस्टहरूको बीचमा जित्दैन कि !’ भनेर नदिएको हो कि ! वा, ‘पैसा छैन, चुनाव लड्न सक्दैन’ भनेर पो हो कि !

लेखक
बसन्त बस्नेत

बसन्त बस्नेत अनलाइनखबरका प्रधान सम्पादक हुन् । उनका 'महाभारा' र 'सिमसारा' उपन्यास तथा '७२ को विस्मय : संविधान मधेस र नाकाबन्दी' सामयिक इतिहास गरी तीन किताब प्रकाशित छन् ।

लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?