News Summary
Generated by OK AI. Editorially reviewed.- वसन्त थापाका संस्मरणात्मक निबन्धसङ्ग्रह ‘औसत एउटा जिन्दगी’ मा ३२ वटा निबन्ध समेटिएका छन् र यसलाई प्रभावशाली कृति भनिएको छ।
- समालोचकले थापाको जीवनलाई औसतभन्दा फरक, संघर्षमय र तथ्यमा उभिएको बताउँदै उनी लेखनमा इमानदार रहेको उल्लेख गरेका छन्।
- सङ्ग्रहका अधिकांश निबन्ध धरान र धनकुटाबारे छन्, र लेखकको विद्यार्थी राजनीति, परिवार, अभाव तथा स्मृतिहरू पनि समेटिएका छन्।
आधा शताब्दीभन्दा अघि अग्रज शंकर नेपालले एउटा पुस्तक (पुस्तिका) दिनुभएको थियो । पुस्तकको शीर्षक थियो, ‘मार्क्सवादको पहिलो पुस्तक’ । त्यसबेला पुस्तकको विषयवस्तु भन्दा पनि त्यसमा उल्लेख भएको ‘अनुवादक : वसन्त थापा’ भन्ने कुरामा मेरो ध्यान गयो ।
‘अनुवादक’ भनेको असाध्यै धेरै पढेको, संसारका धेरै भाषा जानेबुझेको, सर्वश्रेष्ठ विद्वान् हो भन्ने प्रभाव ममा थियो । त्यसैले उक्त पुस्तकका अनुवादक वसन्त थापा पनि मेरा लागि ठूलो बिम्ब बन्न पुगेका थिए । उनी को होलान्, कहाँका होलान्, कति धेरै पढेका होलान् भन्ने जस्ता जिज्ञासाहरू बढेका थिए ।
त्यसको केही समयपछि कुनै एउटा वामपन्थी विद्यार्थी संगठनको नेताका रूपमा वसन्त थापा भन्ने नाम चर्चामा आयो । त्रिभुवन विश्वविद्यालयमा विद्यार्थी आन्दोलन सञ्चालन गर्नका लागि विभिन्न वामपन्थी विद्यार्थी संगठनको एउटा राष्ट्रिय संघर्ष समिति बनेको र त्यसमा पूर्वतिरबाट वसन्त थापा रहेको चर्चाले मेरो ध्यानाकृष्ट भयो । मैले अनुवादक वसन्त थापा तिनै हुन् कि क्या हो भनेर विभिन्न अग्रजसँग जिज्ञासा राखें ।
धेरैले मेरो जिज्ञासा मेटाउन सकेनन् । अन्तिममा मलाई उक्त पुस्तक दिने शंकर नेपालले नै भन्नुभयो, ‘त्यस पुस्तकका अनुवादक वसन्त थापा र विद्यार्थी नेता वसन्त थापा एकै हुनुपर्छ ।’
मेरो एक खालको जिज्ञासा त मेटियो तर ‘अनुवादक वसन्त थापा’ भन्ने नामको जुन बिम्ब ममा थियो, त्यसैका कारण उनीप्रतिका अन्य उत्सुकताहरू भने यथावत थिए । म आफैं पनि अलिअलि वामपन्थी प्रभावमा पर्दै गएको थिएँ ।
२०३५÷०३६ सालपछि वामपन्थी साहित्यिक आन्दोलनमा सक्रिय हुने क्रममै पूर्वतिरका धेरै कवि लेखकहरूसँग भेट भयो । धरानकै कविहरूसँग पनि भेटघाट भयो । कवि गोविन्द विकलले वसन्त थापाका बारेमा धेरै कुरा बताएपछि उनीप्रतिका अधिकांश जिज्ञासाहरू मेटिएका थिए ।
‘मार्क्सवादको पहिलो पुस्तक’ पढेपछि लामो समयसम्म वसन्त थापाका नाममा प्रकाशित अन्य कुनै लेख÷रचना वा अनुवाद पढ्न पाएको थिइनँ । उनी ‘हिमाल द्वैमासिक’ को सम्पादक रहेका बेला यदाकदा केही पढेजस्तो लाग्छ । उनले ‘ऋतुविचार’ का नाममा लेखेका व्यंग्यको भने म नियमित पाठक नै थिएँ । मेरो पढाइमा उनी गम्भीर निबन्धकार मात्र होइनन्, राम्रा व्यंग्यकार पनि हुन् ।
लामो अन्तरालपछि २०५६ सालको दशैंतिर वसन्त थापाको नाममा प्रकाशित ‘आजको पकेटबुक दशैं’ शीर्षकको संस्मरण ‘हिमाल पाक्षिक’ मा पढेको थिएँ । त्यसयता उनका फुटकर रूपमा प्रकाशित बीस–बाइस वटा संस्मरणात्मक निबन्धहरू पढ्न पाइयो । उनकै भनाइ अनुसार पनि उनी ‘दशैं लेखक’ भनेर चिनिए । एउटा समय यस्तो थियो, केही नाम चलेका राष्ट्रिय पत्रिकाका दशैं विशेषाङ्कमा वसन्त थापाका संस्मरणात्मक निबन्धहरू प्रकाशित भएकै हुन्थे । कुनै वर्ष एउटैमात्र रचना छापिँदा पनि उनी चर्चामा रहन्थे, संस्मरणात्मक निबन्ध लेखकका रूपमा ।
मैले पढेको उनको सबैभन्दा पछिल्लो संस्मरणात्मक निबन्ध थियो, ‘बाँच्न गाह्रो कम्युनिस्ट पुत्र भएर’ । दुई–तीन वर्षअघि पढेको त्यो प्रभावशाली निबन्धपछि मैले उनका कुनै रचना पढेको थिइनँ । खुसीको कुरो, अहिले उनका संस्मरणात्मक निबन्धहरू संगृहीत नयाँ पुस्तक ‘औसत एउटा जिन्दगी’ पढ्ने अवसर मिल्यो ।
मान्छे गतिशील छ । मान्छेको गतिशीलता समाजको पनि गतिशीलता हो । त्यसैले मान्छेको गतिशीलताले सामाजिक महत्व बोकेको हुन्छ ।मान्छेको त्यही गतिशीलताले नै अनेकन् स्मृतिहरूको निर्माण गरेको हुन्छ । ‘उहिलेका कुरा खुइले’ भनेर उखान बनाइए पनि विगत भनेको वर्तमानको पृष्ठभूमि पनि हो, जसलाई मेटेर मेट्न सकिन्न । कतिपय मानिसको विगत सम्झँदा सामाजिक इतिहास नै सम्झेजस्तो लाग्छ । ‘औसत एउटा जिन्दगी’ एउटा त्यस्तै पुस्तक हो जसले लेखक वसन्त थापामार्फत उनी जन्मे–हुर्केको समाजको विगतलाई झल्झली सम्झाउने काम गरेको छ ।
वसन्त थापाले आफ्नो जिन्दगीलाई ‘औसत’ भनेका छन् । ‘औसत’ शब्दलाई नामका रूपमा बुझ्ने हो भने यसको अर्थ ‘सालाखाला’, ‘सरदर’ भन्ने हुन्छ , विशेषणका रूपमा लिने हो भने ‘मध्यम’ वा ‘साधारण’ भन्ने अर्थ लाग्छ । वसन्त थापाको जीवनका कतिपय घटना औसत पनि लाग्छन् । तर उनका पूर्वस्मृतिहरू सबै औसत भने छैनन् । ‘औसत एउटा जिन्दगी’ का संस्मरणात्मक निबन्धहरूको अध्ययनपछि थाहा हुन्छ उनको जिन्दगी औसतभन्दा फरक छ ।
उनले जीवनमा जेजति संघर्ष गरेका छन्, जेजस्ता दुःखकष्ट बेहोरेका छन् र जुन किसिमका विशिष्ट अनुभवहरू सँगालेका छन् तिनले औसत जिन्दगीको सीमालाई नाघेका छन् । औसत, सादा र सामान्य जीवनमा संस्मरणको कुनै अर्थ हुन्छ जस्तो लाग्दैन । संस्मरण बन्नका लागि जीवन कुनै पनि उल्लेख्य, विशेष वा विशिष्ट घटनासँग जोडिनै पर्छ ।
जीवनमा कुनै उल्लेख्य घटना नै छैन भने संस्मरणमा के लेख्ने ? जीवन आफैंमा आरोह–अवरोहमा छ, उथलपुथलमा छ, ऐतिहासिक कालखण्डहरूसँग जोडिएको छ र रोमाञ्चक छ भने ती घटना संस्मरणका शक्तिशाली विषय बन्छन् । वसन्त थापाको जीवनमा यस्ता घटनाहरू अनगिन्ती छन् । त्यसैले उनको जिन्दगी औसतभन्दा फरक देखिन्छ ।
विगतको स्मृति कल्पनाको साभार होइन । क्रूर यथार्थ नै संस्मरणात्मक निबन्धको विशेषता हो । आख्यानमा जतिसुकै कल्पना गरे पनि हुन्छ । तर संस्मरणात्मक निबन्धहरूमा त्यस्तो गर्न मिल्दैन । यसमा झूटो बोल्नै पाइँदैन, लेख्नै पाइँदैन । कतिले संस्मरणका नाममा फूलबुट्टा भरेर मनगढन्ते कुरा लेख्ने गरेका छन् । तर वसन्त थापा स्वभावैले भ्रामक, झूटा र असत्य कुराहरू बोल्ने र लेख्ने प्रवृत्तिका विरुद्ध उभिने लेखक हुन् । यस पुस्तकमा उनका विगतका स्मृतिहरू जमिनमा टेकेर, तथ्यमा उभिएर, कटु सत्यका रूपमा प्रस्तुत भएका छन् ।
संस्मरण लेखनमा अभ्यस्त कतिपयले आफ्नो जीवनका अभाव, अपमान,आचरण, नैतिकता जस्ता कुरालाई सकेसम्म लुकाउने गरेका छन् , आफ्नो विगतलाई सकेसम्म महिमामय बनाउने गरेका छन् । तर वसन्त थापा आफ्नो विगतबारे खुलस्त छन् । आफ्नो परिवार र आफूले भोगेको दुःखलाई उनले कतै पनि लुकाएका छैनन् । आफ्नो संघर्षमय जीवनमा पियनमा जागिर खाएको, क्याम्पस चिफलाई पिटेर जेल गएको जस्ता कुरालाई पनि नलुकाइकन पुस्तकमा समेटेका छन् । उनका संस्मरणात्मक निबन्धहरूमा उनको लेखकीय इमानदारिता मुखरित भएको छ ।
यस सँगालोका संस्मरणात्मक निबन्धहरू निजात्मक छन् । निजात्मक भन्दैमा लेखकले निजी गन्थन कतै पनि लेखेका छैनन् । उनले आफ्नो दिनचर्या र व्यक्तिगत गन्थनलाई निषेध गरेका छन् । वसन्त थापाको जीवनका अनेकन् घटनाहरू यस कृतिका संस्मरणात्मक निबन्धहरूमा समेटिएका छन् । तर यी निबन्धमा उनी एक्लै उपस्थित भएका छैनन् । उनका हरेक निबन्ध समाजसँग जोडिएका छन् । लेखक र समाज दुवैको उपस्थिति सँगसँगै भएको छ । लेखकको मात्र उपस्थिति पाठकलाई पट्यारलाग्दो हुनसक्छ भने समाजकै मात्र उपस्थितिमा संस्मरणात्मक निबन्धको अर्थ रहँदैन ।
लेखक र समाज दुवैको सशक्त उपस्थिति प्रभावशाली संस्मरणात्मक निबन्धको आधारभूत विशेषता हो । यो कृति लेखक वसन्त थापाको जीवनयात्राको सेरोफेरोमा हुँदाहुँदै पनि यसमा समाजको उपस्थिति दर्बिलो छ । पुस्तकमा आफूलाई महत्व दिनुभन्दा पनि लेखकले समाजलाई महत्व दिएका छन् । लेखक जहाँ उभिएका छन्, त्यहाँ उनको समाज पनि उपस्थित भएको छ । सामाजिक अध्ययनका दृष्टिले पनि उनको कृति महत्वपूर्ण रहेको छ ।
जीवनका यथार्थहरूलाई प्रस्तुत गर्ने आख्यानात्मक शिल्प–शैलीका कारणले पनि होला, उनका संस्मरणहरू यथार्थवादी कथा झैं लाग्छन् । यसलाई उनको लेखनको विशिष्ट शिल्प नै मान्नुपर्छ । ‘दश रुपियाँको नोट’, ‘बाह्रखरीको मेरो पाठशाला,’ ‘सर्दुझैं जीवन’, ‘बाँच्न गाह्रो कम्युनिस्ट –पुत्र भएर’, ‘हिप्पी जोडीसितको यात्रा’, ‘मेरो मालगुडी’ ‘वन र बिजुली’, ‘त्यो आठ रुपियाँ’ जस्ता संस्मरणात्मक निबन्धहरू उनको त्यस्तो शिल्प–शैलीका उदाहरण हुन्।
यस कृतिमा लेखक ठाउँठाउँमा चिन्तनपरक पनि देखिएका छन् । चिन्तन भनेको विचार–प्रवाहको एउटा प्रकिया हो । चिन्तनपरकता निबन्धको प्रमुख विशेषता पनि हो । वसन्त थापा त्यस प्रक्रियामा धेरै बोझिलो बन्न चाहँदैनन् । तर पनि चिन्तनपरक अभिव्यक्तिमा उनी निर्भीक भएर प्रस्तुत भएका छन् ।
अहिले संस्मरण पनि आख्यानजस्तै आकर्षणको विधा बनेको छ । संस्मरणका लेखकमात्र बढेका छैनन्, यसलाई रुचाउने पाठक पनि बढेका छन् । पुस्तक प्रकाशकहरूले पनि आफ्नो प्राथमिकतामा उपन्यासपछि संस्मरणालाई नै राखेको देखिन्छ ।
राष्ट्रियस्तरका दैनिक पत्रपत्रिका र अनलाइनहरूले समेत संस्मरणलाई महत्व दिएको पाइन्छ । संस्मरण लेखनको यस माहोलमा अतीतलाई व्यक्ति, समाज, विचार र चिन्तनका दृष्टिले हेर्ने कुरामा वसन्त थापाको यस कृतिलाई संस्मरणात्मक निबन्धको हैसियतमा स्तरीय कृति मान्नुपर्छ ।
‘मेरो गाउँ डाँडागाउँ’, ‘घुमाउने चौतारा’, ‘रेडियोका गीत र समयको फेर’, ‘बिहारी मास्टर, बंगाली डाक्टर’, ‘धरानः नेपालको माइक्रोकोज्म’ ‘छालाको मेरो जुत्ता,’ ‘दुई मास झ्यालखाना बास,’ ‘लाहुरे शहरको गैरलाहुरे,’ ‘मो.वि.गो.४२,’ ‘इन्द्रेणीका यी रङ’ ‘एक इङ्लिस जेन्टलमेन’, ‘जनाना जेलमा’ जस्ता सुन्दर संस्मरणात्मक निबन्धहरू यस कृतिमा छन् । अधिकांश संस्मरणात्मक निबन्धहरू धरान र धनकुटाका छन्।
काठमाडौ र दार्जीलिङका दुई–दुई वटा निबन्ध छन् । ‘द गडफादर’ फिलिम र भारतीय अभिनेता देव आनन्द बारेका निबन्धलाई पनि कृतिमा समेटिएको छ । कुकुर पाल्दाको व्यथालाई लिएर लेखिएको निबन्ध मर्मस्पर्शी छ । ‘किन म लेखक होइन’ भन्ने निबन्धमा उनले दिएको स्पष्टीकरणलाई पाठकले स्वीकार गर्ने देखिँदैन किनभने कुनै गैरलेखकले यस्ता निबन्धहरू लेख्नै सक्दैन ।
बत्तीस वटा संस्मरणात्मक निबन्धहरू संगृहीत यस पुस्तकमा लेखकले आफू जन्मेको ठाउँ धनकुटाको डाँडागाउँ र हुर्के–बढेको अनि पढेको धरानका बारेमा लेखेका संस्मरणात्मक निबन्धहरू बलशाली छन् । उनी विद्यार्थी राजनीतिमा सक्रिय रहेका बेलाको सन्दर्भलाई उनले निबन्धहरूमा रोचक पाराले प्रस्तुत गरेका छन् ।
‘खरानी’ र ‘गोबर’ का प्रसंगहरू चाखलाग्दा छन् । त्यसबेला राजनीति, साहित्य, गीत–संगीत, सिनेमा आदि विषयमा गम्भीर रुचि राख्ने वसन्त थापाको जीवन बहुआयामिक देखिन्छ । जीवनका दुःखहरूसँग संघर्ष गर्दै उनी जताततै दौडिएका देखिन्छन् । आफूसँग रेडियो नभएको तर अरूको रेडियोमा गीतहरू सुन्न पाउँदाको खुसीलाई उनले अत्यन्तै मार्मिक ढंगले चित्रण गरेका छन् ।
संस्मरणात्मक निबन्धमा प्रभावशाली लेखनको एउटा उदाहरण पनि हो यो पुस्तक । यसमा उल्लेखनीय कमजोरी केही देखिंदैन । केही संस्मरणमा पाठकका सामान्य टिप्पणीहरू भने रहन सक्छन् । जस्तै – ‘दश रुपियाँको नोट’ एउटा उत्कृष्ट निबन्ध हो । तर यसमा पछि आमासँग भेट हुँदा उहाँको के कस्तो प्रतिक्रिया रह्यो भन्ने प्रसंग छैन ।
पाठकमा जिज्ञासा बढाएर लेखकले संस्मरणलाई टुंग्याएका छन् । ‘म भासिएँ यस गर्तमा’ शीर्षकको संस्मरणात्मक निबन्धमा पहिलो पटक काठमाडौं आएको चर्चा छ । तर त्यही कुरा अर्को निबन्ध ‘ब्युटी क्विन काठमान्डु र काला ख्याकहरू’ शीर्षकको निबन्धमा पनि दोहोरिएको छ । त्यस्तै, धरानको इन्डियन कोलोनीमा फिलिम देखाउने प्रसंग, ब्रिटिश क्याम्पमा फिलिम देखाउने कुरा, धरानमा शिव सिनेमा हल र गणेश टाकिज खुलेका सन्दर्भहरू पनि दोहोरिएका छन् । पुस्तकको शीर्षक ‘औसत एउटा जिन्दगी’ को सट्टा ‘एउटा औसत जिन्दगी’ भएको भए राम्रो हुन्थ्यो ।
विशिष्ट स्मृतिहरूलाई प्रभावशाली किसिमले संस्मरणात्मक निबन्धमा उपस्थिति गराउने शक्ति भनेको कलात्मक प्रस्तुति नै हो । विषय जतिसुकै महत्वपूर्ण, मार्मिक र रोमाञ्चक भए पनि प्रस्तुति कलाहीन भयो भने त्यसले संस्मरणात्मक निबन्धको शक्ति गुमाउँछ । यस कुरामा वसन्त थापा सचेत छन् । उनका संस्मरणात्मक निबन्धहरू कलात्मक लेखनका अब्बल उदाहरण हुन् ।
आफूले आफैंलाई लेखक नमाने पनि अरूले लेखक मानेका वसन्त थापा कुशल सम्पादक र अनुवादक पनि हुन् । उनको यस कृतिलाई नेपाली साहित्यको संस्मरणात्मक निबन्ध लेखनमा एउटा महत्वपूर्ण उपलब्धि मान्नुपर्छ । पुस्तकको आवरण, आकार–प्रकार, मोटाइ र छपाइ त्यतिकै आकर्षक छ ।
कवि गोविन्द विकलले वसन्त थापाका बारेमा जे जति कुराहरू सुनाएका थिए, वास्तवमा ती आत्मकथा लेख्न लायक कुराहरू थिए । त्यसैले म बेलाबेलामा वसन्त थापालाई आत्मकथा लेख्न प्रेरित गरिरहन्थे । तर उनका संस्मरणहरूको यो सँगालो आएपछि उनले आत्मकथा लेखिरहनु आवश्यक लागेन । यस पुस्तकका संस्मरणात्मक निबन्धहरूले उनको आत्मकथाकै झल्को दिन्छन् । उनले धरान छोडेपछिका संस्मरणहरू भने लेखेको देखिंदैन । उनको जीवनको अर्को एउटा खण्ड त लेख्न बाँकी नै देखिन्छ ।
प्रतिक्रिया 4