‘गड अफ स्मल थिङ्स’ उपन्यासका लागि विश्वप्रसिद्ध बुकर पुरस्कार मिलेपछि अरुन्धती रोयको नामले विशेष उचाइ हासिल गरेको हो। ‘मिनिस्ट्री अफ अटमोस्ट ह्याप्पिनेस’, ‘महात्मा और विद्रोही’ जस्ता किताबहरूको प्रकाशनपछि पनि उत्तिकै तरङ्ग फैलाउन सफल त उनी छँदै थिइन्, तर ‘मदर मेरी कम्स टू मी’ को प्रकाशनपश्चात् उनको चर्चा अझ उर्लिएको छ, भारतमा मात्र नभई पूरै संसारमा नै।
त्यसको प्रमाण हो– प्रकाशनले एक वर्ष पार गर्दा नगर्दै चालीसभन्दा धेरै भाषामा किताब उल्था भइसकेको छ, अनेकन अन्तर्राष्ट्रिय संस्थाले किताबको चर्चा गरिसकेका छन् भने राष्ट्रिय र अन्तर्राष्ट्रिय चार–पाँच संस्थाले पुरस्कार दिइसकेका अथवा दिने तयारीमा छन्।
‘मदर मेरी कम्स टू मी’ एक संस्मरणात्मक पुस्तक हो, जुन उनले आफ्नो दाजु ललित के. रोय र स्वर्गीय आमाको नाममा समर्पण गरेकी छन्। आफ्नी आमा मेरी रोयका आनीबानी, उनको लगनशीलता, उनको धैर्य र उनले हासिल गरेका उपलब्धिहरूको भरपुर चर्चा गरेकी छन्।
साथसाथै, सामान्य आमाहरूभन्दा भिन्न प्रकृतिकी आमाको चित्रण किताबमा गरेकी छन्। झट्ट हेर्दा आमाको रुष्टता, ससाना कुरामा पनि झडङ्ग रिसाउने बानी र आफ्ना छोराछोरीप्रतिको स्नेह एवं मायालुपनको अभाव स्पष्ट देखिन्छ उनकी आमाको हरेक दिनको व्यवहारमा। स्वभावजन्य रूपमा आमाहरू आफ्ना सन्ततिप्रति अत्यधिक आसक्तिमा चुर्लुम्म डुबेका हुन्छन्।
जस्तै परोपकारी र सशक्त आमाहरूले पनि आफ्ना सन्तानलाई भन्दा अरूलाई प्राथमिकता दिएको कुरा मानिसलाई अस्वाभाविक लाग्छ। यो स्वाभाविक प्रकृतिभन्दा मेरी आमा फरक थिइन्, जसले हामी दाजुबहिनीलाई उति ध्यान दिइनन् जति अरूलाई दिइन् भन्ने अरुन्धतीले जिकिर गर्दै आमाको रुष्ट र निर्दयी व्यवहारका यथेष्ट प्रमाण पस्केकी छन् किताबभरि, विशेष गरेर किताबका पहिलो खण्डमा।
आफू सानै हुँदा मदिरा दुर्व्यसनी बाबु मिकी रोयसँगको सम्बन्धविच्छेदपश्चात् एकल आमाले हुर्काएका दुईजना दाजुबहिनीका अनुभवका अनेक शृङ्खलामा आमाको रिस, आवेग र झन्डै दुर्व्यवहार नै भन्न मिल्ने व्यवहारका लामै फेहरिस्त भेटिन्छन्।
आमाका ‘तँलाई अनाथालयमा छोडिदिनुपर्ने थियो’, ‘तँ मेरो गलाको पासो होस्’ जस्ता उद्गार त सामान्य नै लाग्छ। यतिसम्म कि आफूभन्दा धेरै बोलेको सामान्य निहुँमा चल्दै गरेको गाडीबाट निकालेर छोरीलाई एक्लै छोडिदिएको घटनालाई दुर्व्यवहार भन्नैपर्ने हुन्छ। कोही पनि सामान्य आमाले यस्तो गरेको पचाउन गाह्रै हुन्छ।
आमा मेरी रोय आसामको चिया बगानबाट मदिरामग्न लोग्नेलाई छोडेर हिँड्दा अरुन्धती केवल दुई वर्षकी थिइन्। जीविकोपार्जनका लागि अध्यापन पेसामा संलग्न रोयले बिस्तारै आफ्नै विद्यालय स्थापना गर्दै केरलाका ग्रामीण बस्तीमा सयौँ, हजारौँलाई शिक्षाको आलोक छर्न सफल भइन्। रोयको निर्णय क्षमता र सङ्घर्षको कथा यति प्रबल देखिन्छ कि न लोग्नेसँगको बिछोड र सम्बन्धविच्छेदले उनलाई विचलित बनाउँछ, न त आफ्नै दाजुसँग सार्वजनिक रूपमा खुलेरै झगडा गर्न र मुद्दा हाल्न हिच्किचाउँछिन् उनी।
करिब आधा शताब्दी अगाडिको भारतीय परम्परागत समाजमा हुर्केकी महिलाको एक्लो साहस १९८६ मा आएर अर्थपूर्ण र प्रशंसा गर्नलायक कदमका रूपमा साबित हुन्छ, जब इन्डियन क्रिश्चियन महिलाको पैतृक सम्पत्तिमाथि पुरुष बराबरको हक स्थापना गर्न उनी सफल बनिन्।
मेरी रोयले स्थापना गरेका विद्यालय र क्याम्पसका माध्यमबाट भएको शिक्षाको प्रचारले केरलाबासीहरू विशेषगरी छात्राहरू कसरी लाभान्वित भए भन्ने राम्रो झल्को एकातिर दिन्छ भने, अर्कातिर तिनै सामाजिक-शैक्षिक अभियन्ता मेरी रोय आफ्ना सन्तानप्रति कति रुष्ट र बेपरवाह थिइन् भन्ने स्पष्ट देखिन्छ।
आमाकै कारण उनका दाजु घरबाट निस्केको र अरुन्धती पनि आमालाई थाहा नदिई दिल्ली प्रस्थान गरेकी थिइन्, जहाँ उनले आर्किटेक्चरल इन्जिनियरिङमा स्नातक उपाधि हासिल गरिन्। जवान छोरी घरबाट एक्लै जाँदा पनि आमाले खासै सोधखोज र चासो नलिएको र उनको अध्ययन सकिउन्जेलसम्म यदाकदाबाहेक सम्पर्क नभएको कुरा पत्याउन गाह्रै हुन्छ।
आफ्नै छोराछोरीप्रति यतिविघ्न अनुदार आमाकी छोरी कसरी यति उदार, यति मानवीय संवेदनायुक्त व्यक्ति बनिन् होला भन्ने कौतूहल किताबले जगाउँछ। एकातिर आफ्नै छोराछोरीलाई यतिविघ्न बेवास्ता गर्ने व्यक्ति मेरी रोय, समाजमा भने त्यतिविघ्न शिक्षाप्रेमी र कानुनी आन्दोलक एवं उद्धारक साबित रहेको कुरा पत्याउन पनि उत्तिकै कठिन जस्तो लाग्छ।
तथापि आमाका विरोधाभासपूर्ण कुराहरूलाई पनि अरुन्धतीको लेखनले सुरुचिपूर्ण बनाएको छ। कहिले ठट्यौली बिम्बमा, कहिले संवेदनात्मक त कहिले व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरिएका छोटाछोटा शीर्षकमा पाठक रोमाञ्चित हुँदै अघि बढ्न पाउँछन्।
आमासँगको सद्भाव र सम्पर्कको अभावका बिच दिल्लीमा अध्ययनको सिलसिलामा भोगेका सानाठूला सङ्घर्षका कथा, आर्थिक विपन्नताका व्यथा, संस्कार-संस्कृतिका अनेक पहलुसँग जुध्दै जाँदा कहिले थिचिनुपरेका त कहिले बहिष्कृत हुनुपरेका अनेक सन्दर्भ र प्रसङ्ग जति चाखलाग्दा छन्, तिनबाट जोगिँदै र उम्किँदै एक युवतीले दिल्ली जस्तो ‘एब्युसिभ’ सहरमा स्थापित गरेको सङ्घर्षको कथा पनि कम रोचक लाग्दैन। आफूले अध्ययन गरेअनुसारको क्षेत्रमा अर्थात् आर्किटेक्चरल इन्जिनियरिङमा उति धेरै लगनशील देखिइनन् अरुन्धती। त्यसैले उनको आधारभूत प्रतिभा अन्तै रहेछ भन्ने सिद्ध हुन्छ।
उनले फिल्ममा पनि अभिनय गरेको कुरा धेरैलाई नौलो लाग्न सक्छ। अभिनयमा पनि उनी टिकिनन्, बरु फिल्मका लागि स्क्रिप्ट लेखनमा उनको रुचि देखिन थाल्यो। यो पनि केही समयका लागि मात्र रह्यो। बरु यही लेखनकार्यको निरन्तरताअनुरूप दुईवटा उत्कृष्ट आख्यान र नौवटा गैरआख्यान समाजले पाएको छ।
निकै रोचक कुरा त के भने, पहिलो उपन्यास लगायत अरुन्धतीका हरेक लेखनले समाजमा कम्पन नै ल्याउने गरेका छन्। उनको लेखनको दायरा विशाल छ। धर्म, राजनीति, संस्कार र संस्कृतिका अनेक पाटालाई केलाउन र व्यक्त गर्न सक्ने क्षमताले उनलाई केवल लेखिकाको रूपमा मात्र सीमित हुन दिएको छैन।
गरिब, विपन्न, महिला र सीमान्तकृतको पक्षमा सशक्त लेखनीका कारण उनी जहिले पनि राजनीतिक रूपमा प्रतिपक्षको आवाज बन्ने गरेकी छन्। गज्जब त के लाग्छ भने, समाजको जुनसुकै तप्काले पनि आफ्नो आवाजको प्रतिनिधित्व गर्न सक्ने व्यक्तिको रूपमा स्वीकार्दै उनलाई आफ्नो अगुवा बनिदिनसमेत अपेक्षा गर्ने गरेका अनेक घटनाले साबित गरेका छन्।
भूमिगत माओवादीपन्थी, नक्सलवादी, दलित र अनेक सीमान्तकृत तथा अल्पसङ्ख्यक समुदाय एवं मुसलमानहरूको समेत विश्वास जित्न सफल यी जन्मजात हिन्दु-क्रिश्चियन (बाबु हिन्दु, आमा क्रिश्चियन) महिलालाई अरूहरूले ‘लेफ्टविङ एक्टिभिस्ट’ भनेर एक कित्तामा थन्क्याउन खोजेको देखिन्छ। तर उनी स्वयं भने आफूलाई हिन्दु, क्रिश्चियन अथवा कम्युनिस्ट कुनै कित्ताको हुँ भनेर स्वीकार्दिनन्।
उनी आफू “नट हिन्दु इनफ, नट क्रिश्चियन इनफ, नट कम्युनिस्ट इनफ” हुँ भनेर दाबी गर्छिन्। तापनि धेरैले उनीसँग आफ्ना सवाल उजागर गरिदिऊन् भन्ने अपेक्षा गर्छन्। भूमिगत माओवादीसँग पनि हिँडेकी छन्, मेधा पाटकरको ‘नर्मदा बचाऊ आन्दोलन’ जस्तो पर्यावरण र अहिंसात्मक गान्धीवादी आन्दोलनमा पनि उत्तिकै लागि परेकी छन्, कश्मीरी समस्या र मुसलमानका दबिएका आवाज पनि उचो बनाएकी छन्। लाग्छ, भारतीय समाजमा यिनी मात्र एक्ली प्रतिपक्ष हुन्।
किताबमा उनले कुन समय र सन्दर्भमा के के लेखेँ भन्ने पनि खुलाएकी छन्। दुई उपन्यासहरू ‘गड अफ स्मल थिङ्स्’ र ‘मिनिस्ट्री अफ अटमस्ट ह्याप्पीनेस’ को परिकल्पना, पात्रहरूको चयनका बारेमा पनि छोटामाटा सन्दर्भ समेटेकी छन्। आफ्नै आमा, मामा लगायत आफ्नै परिवेशका मानिसहरू उनको उपन्यासका पात्रहरू बनाइएको कुरा खुलस्त पारेकी छन्।
‘मिनिस्ट्री अफ अटमोस्ट ह्याप्पिनेस’मा अफ्ताबका रूपमा जन्मिएको बालक महिलाको रूपमा बदलिएपछि अञ्जुम नामक हिजडा बनेकी र उनले सिर्जना गरेको ‘जन्नत’ गेस्ट हाउस (स्वर्गको आगन्तुक गृह) समाजका विपन्न, सीमान्तकृत र बहिष्कृतहरूका लागि आश्रयस्थल बनेको अनौठो परिकल्पना छ। हरेकको पुण्यकर्मको कमाइ अर्को जुनीका लागि सञ्चय नगरी यही भूमि र यसै जुनीका धर्म, जात, वर्ग र अर्थका हिसाबले पीडितहरूका लागि खर्चिनुपर्छ भन्ने दृढ मान्यता बोकेको देखिन्छ।
आफ्नो सशक्त कलमका माध्यमबाट चर्चा कमाउन सफल अरुन्धती रोयका व्यक्तित्वका अनेक पाटा स्पष्ट देखिन्छन् किताबमा। शिक्षा, प्रेम, स्वतन्त्रता, यौन जीवन र मानवीय सम्बन्धका अनेक पक्षमा उनको गहिरो अवलोकन र अनुभूति प्रस्तुत भएको छ।
नितान्त व्यक्तिगत यौन जीवनका बारेमा पनि उनी स्पष्ट रूपमा खुलेकी छन्। कतै केही लुकाएको आभास हुँदैन पाठकलाई। अति रहस्यमय ठान्दै आएको परम्परागत समाजका मान्यतालाई उपेक्षा गर्दै यस पक्षमा लुकाउनुपर्ने कुनै दरकार नदेख्नु पनि एक किसिमको चुनौती र साहस नै मान्न सकिन्छ। दुईजना पुरुषसँगको उनको सम्बन्धको शृङ्खला पनि कम रोचक लाग्दैन। जति सजिलोसँग यौन जीवनमा प्रवेश गरिन्, जति सजिलोसँग विवाह स्वीकारिन्, उति नै सजिलोसँग तिनलाई त्याग्दै अहिले एकल र स्वतन्त्र जीवनमा रमाएकी छन्।
संस्मरणात्मक यस गाथामा अरुन्धतीले आफ्नी आमाको दीक्षा र योगदानप्रतिको कृतज्ञताको चर्चा गरेकी छन् भने, उनकै आफूप्रतिको भावना र असजिलो व्यवहारलाई यसरी प्रस्तुत गरेकी छन्– ‘एकातिर मेरी आमाले मलाई कसरी चिन्तन गर्ने भनेर सिकाइन्, अर्कोतिर मेरा हरेक विचारप्रति उनी रोष प्रकट गर्थिन्। मलाई स्वतन्त्र हुन उनैले सिकाएकी हुन्, तथापि मैले अभ्यास गर्ने गरेको स्वतन्त्रता उनैलाई पाच्य हुँदैनथ्यो। लेखनकला उनैले सिकाइन् मलाई, तर पनि मेरो लेखनप्रति उनी खुसी होइन आक्रोशित हुन्थिन्।‘
आमाको असजिलो व्यवहारको बारेमा पहिलो खण्डमा जति खरो उत्रिए पनि पछिल्ला खण्डहरूमा आमाप्रतिको कृतज्ञता उसरी नै वर्षाएकी छन्। आमाको कडा मिजासलाई आँधीहुरीसँग तुलना गर्दै आफ्ना लागि आमा आश्रय पनि हुन् भनी स्वीकार्छिन्। अल्कोहोलिक बाबु र दम रोगले ग्रस्त आमाको स्याहारसुसारमा दाजुबहिनीले यथेष्ट श्रम र समय खर्चेका छन्।
आफू गर्भमा रहेका बेला आमाले भ्रूणहत्या गर्ने प्रयास गरेको रोचक प्रसङ्ग पनि छ किताबमा। दाजु जन्मेको नौ महिनामा नै गर्भमा आएकी अरुन्धतीलाई जन्माउने आमाको इच्छा नहुँदानहुँदै जन्मिएको घटनाको वर्णन देख्दा सबै पाठकलाई एक किसिमको झड्का (सक) पैदा हुन सक्छ, जस्तो मलाई भयो।
यदि मेरी रोयको प्रयास सफल भएको भए एक्काइसौँ शताब्दीकी यी अद्वितीय प्रतिभा संसारले गुमाउने थियो, जो साहित्यिक प्रतिभाका रूपमा मात्र स्थापित छैनन्, जसको भूमिका सामाजिक-सांस्कृतिक आन्दोलनमा मात्र पनि सीमित छैन।
उनी त पिछडा वर्ग र निमुखाको सशक्त आवाज बन्ने गरेकी छन्, जसले भारतीय राजनीतिमा झन्डै एक्लो प्रतिपक्षजस्तै साबित गर्न सफल भएकी छन्। मेरी रोयको गर्भनिरोधको प्रयास असफल भएकोमा समाजले बहुविधाकी प्रतिभा, एक होनहार विश्वचर्चित व्यक्तित्व पाएको छ भनेर खुसी मान्नुपर्ने हुन्छ।
अन्त्यमा, यो संस्मरणात्मक पुस्तक पढ्दै जाँदा आख्यान लेख्न प्रेरित गर्ने अवस्थाको चित्रणसँगै भारतीय राजनीतिक अवस्थाको उहापोह र परम्परागत एवं संरचनात्मक सांस्कृतिक अवस्थासँग साक्षात्कार गर्दाका अनेकन कठिन परिस्थिति र तिनको दस्तावेजीकरणको पोका उनले जसरी फुकाउँदै गएकी छन्, यी हरेक घटना र सन्दर्भले पाठकलाई उनको लगनशीलता, विद्रोही चरित्र र इमान्दारिताको अनुपम झल्को दिन्छ।
किताब सबैका लागि रोचक छ, तथापि समाजका उत्पीडित वर्ग, सीमान्तकृत, महिला, नारीवादी एवं धर्म, जात र संस्कृतिको नाममा पिसिएकाहरूका लागि विशेष अर्थपूर्ण साबित हुनेछ।
प्रतिक्रिया 4