+
+
Shares

एउटै कुवाको पानी, उही गाउँबेंसी र बिसौनी

पार्टीको रक्षा र गलत नीतिको पक्षपोषण गर्नु एउटै कुरा होइन। गलत नीति, गलत नेताको पक्षपोषण गर्दा अन्ततः त्यसले पार्टीलाई नै डुबाउँछ। भदौ २४ बाट चेत्नुपर्थ्यो कि सरकारमा जानु र कोही प्रधानमन्त्री, मुख्यमन्त्री या मन्त्री हुनु नै पार्टीको सफलताको सङ्केत होइन। त्यसैले यो आत्ममन्थनको समय हो। यतिबेला विगत ३५ वर्षका नीति र नेतृत्वको निर्मम समीक्षा गर्ने समय हो, सङ्गठनका थुरहरू झार्ने समय।

झलक सुवेदी झलक सुवेदी
२०८३ असोज ३ गते १७:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लेखकले भदौ २२ को गोदावरी विधान अधिवेशनपछि दुई दिनमै एमाले नेतृत्वको सरकार ढलेको भन्दै पार्टीको रणनीति र नेतृत्वमाथि प्रश्न उठाएका छन्।
  • उनले एमालेले विचारभन्दा कुर्सीका लागि राप्रपा र नेकपालगायतसँग गठबन्धन गर्दा पार्टी, लोकतन्त्र र वामपन्थी आन्दोलन कमजोर भएको टिप्पणी गरेका छन्।
  • लेखकले ३५ वर्षको नीति र नेतृत्वको निर्मम समीक्षा, आत्ममन्थन र केपी शर्मा ओलीको नेतृत्वबाट हटाउने आवश्यकता रहेको तर्क गरेका छन्।

१.

प्रिय भक्तजी, नमस्कार !
तपाईं र परिवारका सबै सदस्यहरूको सुस्वास्थ्य र खुसहाल जीवनका लागि शुभकामना। २०५३ सालतिर होला, तपाईं पृथ्वीनारायण क्याम्पस, पोखराको स्ववियु सभापति रहेकै बेला हो कि जस्तो लाग्छ- हामी केही साथीहरू एउटी सुन्दर युवतीसँग हुन लागेको तपाईं (भक्तबहादुर गुरुङ) को बिहेमा सामेल हुन अर्मलासम्म पुगेको सम्झन्छु। त्यसयता तपाईंसँग खासै लामो समय भेटघाट र बसउठ गरिएन। अहिले तपाईंको पारिवारिक जीवनबारे मलाई खासै थाहा पनि छैन; तर खुशी र सुखी हुनुहोला भन्ने कामना गर्दछु।

तपाईंले पृथ्वीनारायण क्याम्पसको गौरवपूर्ण विद्यार्थी आन्दोलनको प्रतिनिधित्व गर्दै अनेरास्ववियुको केन्द्रीय उपाध्यक्षका रूपमा पनि काम गर्नुभयो। अरू पनि कतिपय उच्च भूमिका निर्वाह गर्नुभयो। तपाईंको राजनीतिक गतिशीलतामा हामीले निर्माण गरेको इतिहासको योगदान थियो भन्ने सम्झँदा खुशी लाग्छ।

पृथ्वीनारायण क्याम्पसको विद्यार्थी राजनीति कुनै अस्थायी युवा जोस र अल्लारे ठिटाठिटीहरूको ‘रोमान्टिसिजम’ को उपज थिएन। २०२७ मा आयोजित साहित्य सम्मेलन, २०३२ र २०३६ को विद्यार्थी आन्दोलनदेखि २०४६ को जनआन्दोलनसम्म त्यस क्याम्पस र खासगरी पोखरामा प्रगतिशील विद्यार्थीले खेलेको भूमिकालाई एउटै मालामा उनेर हेर्नुभयो भने त्यो आन्दोलन सामन्तवाद र साम्राज्यवाद विरोधी नेपाली जनसङ्घर्षकै एउटा मोर्चा थियो भन्ने पुष्टि हुनेछ।

राजाहरूको निरङ्कुश शासन विरुद्धको सङ्घर्षको एउटा केन्द्र थियो भन्ने सत्य उजागर हुनेछ। नेपालको जनवादी क्रान्तिकै एउटा किल्ला थियो भन्ने सत्य भेटिन्छ। पञ्चायती शासकहरूले त्यसलाई ‘खालिस्तानीहरूको स्वर्णमन्दिर’ सँग त्यसै तुलना गरेका थिएनन्।

त्यस क्रममा अग्रभागमा रहेर भूमिका खेल्नेहरूलाई धेरैले चिन्छन्। हाम्रा अग्रज, समकालीन र अनुज पुस्ताका कतिपय साथीहरूले राष्ट्रिय राजनीति या राज्य सञ्चालनका महत्त्वपूर्ण ठाउँमा भूमिका पनि खेलेका छन्। तर यो बिर्सनुहुँदैन कि, कुनै नाम र पहिचान स्थापित नभएका सयौं युवायुवतीले जीवनको उर्वर समय, शक्ति, सामर्थ्य र रचनात्मक क्षमताको प्रयोग गरेर त्यो ज्योति बालेका थिए; जसले खासगरी गण्डकी र धवलागिरि क्षेत्रको कम्युनिस्ट आन्दोलन जगाउन रक्तबीजको काम गरेको थियो। तपाईं-हामी सबै त्यो ज्योतिमा थोरैथोरै पसिनाको तेल हाल्ने र त्यसलाई निभ्न नदिने कार्यकर्ता थियौं। अग्रजहरूकै पाइला पछ्याएका यात्री नै त थियौं !

म उक्त आन्दोलनमा सामेल भएका, तर पछि कुनै राजनीतिक भूमिकामा नरहेका सयौं युवायुवतीलाई सम्झन्छु। कलिलै उमेरमा कस्टडी, यातना र जेल बसेकाहरू। निजी पढाइ र करिअरलाई छाडेर सङ्घर्षमा लामबद्ध भएका, प्रहरी र मण्डलेको लाठी, अश्रुग्यास र गोलीको सामना गरेका।

घरबाट बाबु–आमाले दुःखले पठाएको दुईचार पैसा र दाल–चामलले सङ्गठनलाई सहयोग गरेका र पार्टीको ‘सेल्टर’ का रूपमा खाना खुवाएका। जसले एकएक इँटा उठाएर, दलिन बोकेर, साटाभाटा, चोया र खर, माटो र पानी जम्मा गरेर आन्दोलनको त्यो घर बनाएका थिए; जसको निःस्वार्थ योगदानले हामीले त्यो किल्ला निर्माण गरेका थियौं।

के उनीहरूसँगै हामीले देखेका सपनाहरू साकार भए ? कि हामी कतै अलमलियौं ? राज्य र पार्टी ‘हाइरार्की’ को सोपानमा माथि–माथि पुगेकाहरू र वर्गोत्थान भएकाहरूले बिर्सन पनि सक्छन् यस्ता कुरा, म चाहिं तलै छु, त्यसैले होला बिर्सन सक्दिनँ। कहिलेकतै बिहान अनायास ब्युँझेका बेला उडिहिंड्ने मनले यस्ता कुरा सम्झाउँछ, कोक्किन्छु र भावुक हुन्छु।

सपना देखाउने कुरामा सानो अंशमा भए पनि जिम्मेवार छु भन्ने सम्झँदा अनावश्यक रूपमा ‘गिल्टी फिल’ गर्छु। आज त्यही आन्दोलनको जगमा खडा भएका र शासन र शक्तिमा पुगेका नेता र पार्टीलाई आधारभूत वर्गका जनताले धारेहात लगाएर गाली गरेको या ‘तेलमा पानी तर्केझैं’ श्रमजीवी जनसाधारणको पङ्क्ति एमालेबाट तर्केको देखेर मन अमिलो हुन्छ।

हाम्रा अत्यन्त सम्मानित नेता हुनुहुन्थ्यो, कमरेड केपी शर्मा ओली। पोखरा जेलमा उहाँलाई भेट्न जानु आस्था र ज्ञानको मन्दिरमा गएको जस्तो हुन्थ्यो। हामीले रातिराति कुकुर भुकाउँदै र प्रहरीसँग छलिंदै पोखराका घरका भित्ताहरूमा उहाँको रिहाइको माग गर्दै भित्तेलेखन गरेका थियौं। त्यत्रो त्याग र बलिदानबाट उदाएका उनै नेता प्रधानमन्त्री हुँदाहुँदै सेनाको सुरक्षामा हेलिकप्टर चढेर भागेको देख्नुपर्दा आत्मग्लानिले मरेतुल्य हुँदोरहेछ।

त्यसको दुई दिन मात्र अगाडि, २०८२ भदौ २२ गते गोदावरीमा सम्पन्न विधान अधिवेशनका दृश्यहरू तपाईंको स्मृतिमा ताजै होलान् (तपाईं त्यहाँ अवश्य उपस्थित हुनुभएको होला भन्ने विश्वास छ) जहाँ पार्टी र प्रधानमन्त्रीका रूपमा अध्यक्षको दिग्विजयको शङ्ख बजाइएको थियो। संसद्‌मा दुईतिहाइको समर्थन थियो, पार्टीभित्र विपक्षमा बोल्न सक्ने कोही थिएनन्; जो थिए तिनलाई बोल्न दिइन्नथ्यो। (कर्ण थापा आधा घण्टा उभिइरहे, तर बोल्न पाएनन् भन्ने भाइरल समाचार पनि आएको थियो।)

त्यस्तो नेताको नेतृत्वमा रहेको सरकार गोदावरीबाट फर्केको दुई दिनमै कसरी तासको महल झैं ढल्यो ? र देशभरबाट आएको एमालेको ‘क्रिम लेयर’ ले त्यस्तो पूर्वानुमान किन गर्न नसकेको ? भन्ने सम्झँदा मलाई अचम्म मात्रै लाग्छ।

हामीले आफ्नो किशोर र युवावय बिताएको पृथ्वीनारायण क्याम्पसको समय र आजको अवस्थाका बीच तुलना गर्छु- अँध्यारोबाट उज्यालोतिर जान हिंड्दाहिंड्दै हाम्रो यात्रा सन्ध्याकालमै अडिएको देख्छु र अलमलमा पर्छु। तपाईं त पार्टीको नीति र नेतृत्व छनोटमा सक्रिय रहनुभएकाले अलि फरक ढङ्गले बुझ्नुहुन्छ होला। तपाईंको धारणा र मेरो विचार मिल्नैपर्छ भन्ने पनि त छैन। आजलाई यो विषयलाई यहीं छाडेर यो पत्रको मुख्य विषयमा प्रवेश गरौं।

२.
तपाईं बेलायतमा बसेर पनि नेपालको राजनीति, अर्थतन्त्र र समाजका बारेमा निरन्तर लेख्ने, संवाद गर्ने गर्नुभएको छ। राजनीतिका प्रतिको निरन्तरको यो लगाव र हरेक प्रश्नको उत्तर दिन तपाईंले देखाउने सक्रियता लोभलाग्दो छ। तपाईंको यो सक्रिय उपस्थिति देखेर खुशी लाग्छ, यसले निरन्तरता पाओस् भन्ने शुभेच्छा व्यक्त गर्दछु।

तपाईं नेकपा एमालेको दैनिक राजनीतिमा सामेल हुनुहुन्छ, कुनै महत्त्वपूर्ण भूमिकामा पनि हुनुहोला। फेसबुकमा तपाईंका पोस्टहरू हेर्दा त्यस्तो अनुमान गर्छु। म एमालेको दैनिक राजनीतिमा आबद्ध नभएको तीन दशकभन्दा बढी भयो। चार–पाँच वर्ष पहिले ‘पार्टीको दैनिक राजनीतिमा सामेल भएर पुराना साथीहरूसँग सहयात्रा गरौं’ भन्ने लागेर च्यासलतिर गएको पनि थिएँ। त्यहाँ पुगेपछि मात्र थाहा पाएँ- मेरा समकालीनहरू पार्टी राजनीतिको एमए–पीएचडी गरिसकेका, म चाहिं निमाविमै फेल ! आफूलाई एमालेको राजनीतिक कक्षामा सामेल हुन र कामकाज गर्न बिल्कुल अयोग्य पाएँ; नार पनि नमिल्ने, काँध पनि नमिल्ने जस्तो। तर काम गर्दै जाँदा यस्तो मनोविज्ञान स्वतः कमजोर हुन्छ भन्ने लागेको थियो।

म अलिकति भ्रममा पनि रहेछु, आफ्नो हैसियत नबुझेको भनौं न ! मेरो जीवनदृष्टि र पार्टीको कार्यव्यापारका बीच दूरी बढिसकेको रहेछ। म आफैं त्यहाँ असहज महसुस गर्दै खासै कसैलाई काम नलाग्ने, तर आत्मसन्तुष्टि हुने आफूले खनेकै बाटोमा फर्केर आएँ। कसैका प्रति वफादारी निर्वाह गरिरहनु नपर्ने ‘वनचरीको बाटो’।

फर्केर हेर्दा त्यतिबेला मलाई ‘पार्टीमा नआए हुन्थ्यो’ भनेर बाटो ब्लक गर्न प्रयास गरिरहनेहरूले मेरो कल्याण नै गरेको जस्तो लाग्छ; उनीहरूलाई हृदयदेखि धन्यवाद दिन्छु। म अलि बढी नै स्वतन्त्रता रुचाउने मान्छे हुँ। पार्टीको दैनिक जीवनमा बाँधिंदा मैले त्यो स्वतन्त्रता गुमाउने थिएँ। न त्यहाँ पूर्ण रूपमा इन्जोय गर्न सक्ने, न बाहिर निस्कन सक्ने अवस्थामा म निस्सासिंदो हुँ। कतिपय मन नपरेका गलत नीति र गलत काम गरिरहेको नेतृत्वको बचाउ गर्नुपर्दा मरेतुल्य हुँदो हुँ।

अहिले टाढैबाट त्यसका गतिविधि नियाल्छु र मनमा लागेका कुरा प्याच्च भन्छु या त्यसलाई टिपेर पत्रपत्रिकामा लेख्छु (यसरी लेख्दा मेरो दालभात, चिया-कफीको आवश्यकता पूरा गर्न पनि सहयोग पुग्छ)। यस्तो गर्नुको बाध्यता पनि महसुस हुन्छ।

पहिलो कारण हो- नेकपा एमाले र त्यसका नेता तथा नीतिले नेपालको लोकतन्त्र, आम जनसाधारणका जनजीविका र राष्ट्रको समग्र हित/अहितको निर्क्योल गर्न भूमिका खेल्छन्। उसले राम्रो बाटो लिंदा देशलाई हित हुन्छ, लोकतन्त्र बलियो हुन्छ, सामाजिक न्यायको बाटो अलि फराकिलो पनि बन्छ। तपाईंले नै तुलना गर्न सक्नुहुन्छ- २०५१ सालको अल्पकालीन सरकारपछि बढेको पार्टीको लोकप्रियताको अर्थ र भदौ २४ र फागुन २१ को अवस्था।

एमालेले गलत बाटो लिंदा देश भड्खालोमा पनि जान्छ। आखिर २०२५ सेप्टेम्बरका घटनाहरू एमाले, माओवादी र कांग्रेस जस्ता दल र कमरेड ओली, माधव, प्रचण्ड, झलनाथ, वामदेव या देउवा सहितका मुख्य नेताहरूले १० वर्षमा गरेका गल्तीहरूको सञ्चित प्रभाव नै त थिए।

घटनामा कर्ताका रूपमा जो–जो पर्दामा देखिएका भए पनि त्यसको कार्यकारण सम्बन्ध हेर्दा भने एमाले, माओवादी र कांग्रेसका दोष खोटको मुख्य भूमिका देखिन्छ; इतिहासले ठहर गर्ने कुरा पनि त्यही हो।
दोस्रो हो- म अझै पनि नेपालको कम्युनिस्ट या वामपन्थी आन्दोलनप्रति भरोसा राख्छु। मार्क्सवादको विद्यार्थी हुँ। ‘अफिसियल कम्युनिस्ट’ हरूका दृष्टिमा मलाई कम्युनिस्ट बन्न अयोग्य ठानिएछ भने पनि मलाई कुनै गुनासो छैन। कमरेड ओली, कमरेड प्रचण्ड र कमरेड झलनाथहरूले प्रत्यक्ष/अप्रत्यक्ष लाञ्छित गरेकै छन्।

मेरो झुकाव मार्क्सवादतिर छ र म समाजको पिंधमा परेको वर्ग तथा उत्पीडित समुदायको पक्षमा बोल्नु आफ्नो कर्तव्य सम्झन्छु। नेपालका सन्दर्भमा दलाल पूँजीवादी सत्ताको विरोध गर्नु, पूँजीवादी विश्व व्यवस्थाका राजनीतिक, आर्थिक तथा सांस्कृतिक मूल्यहरूको विपक्षमा आवाज उठाउनु, विश्वभरका न्यायपूर्ण जनसङ्घर्षहरूको समर्थन गर्नु र समाजवादी व्यवस्थाका प्रति सकारात्मक भावना राख्नु मेरो आफ्नो छनोटको जीवनमूल्य हो।

कम्युनिस्ट या वामपन्थीहरूले जनताका आधारभूत तहका कार्यसूची बोकून्, श्रमिक वर्गको आवाजको प्रतिनिधित्व गरून्, अन्य उत्पीडित समूह र समुदायको, आवाजविहीनहरूको आवाज बनून् भन्ने आशा राख्छु।

मार्क्सवाद–लेनिनवादको झन्डा बोकेको नेकपा एमाले जस्तो सङ्गठित शक्तिले आफूलाई वामपन्थी कार्यसूचीप्रति प्रतिबद्ध समूहका रूपमा अगाडि बढाओस् भन्ने अपेक्षा गर्छु। त्यसैले एमालेका विषयमा लेखिरहन्छु, आलोचना पनि गरिरहन्छु। नेकपा या प्रचण्डहरूका विषयमा पनि कुरा उही हो।

यसबाहेक एमाले, ओली या नेकपा र प्रचण्ड तथा अरू नेताहरूका प्रति निजी असन्तोष या आग्रह पाल्नुपर्ने कुनै कारण छैनन्। उनीहरूले मेरा बाको बारीको कर्कलो फाँडेका पनि छैनन्, मेरो कागुनो बारीमा आफ्ना गाईभैंसी हुलेका पनि छैनन्।

त्यता पुगेपछि तपाईंले राजनीति, इतिहास, समाज र अर्थशास्त्रका केही शास्त्रीय ज्ञान पनि हासिल गर्नुभएको तपाईंका पोस्टमा झल्किने गरेका छन्। आजको एमालेमा सबैभन्दा ठूलो खडेरी नै ज्ञान आर्जनको हो। अध्ययन, चिन्तन र आलोचनात्मक चेत नभएका र खासगरी इतिहास चेतको अभाव भएका व्यक्तिहरू नै पार्टी केन्द्रमा पुगेका, अझ पदाधिकारी नै बनेको देख्दा चिन्ता लाग्छ।

कमरेड ओलीले त मलाई लक्षित गरेरै एउटा सार्वजनिक कार्यक्रममा बोलेका पनि थिए- ‘आलोचनात्मक हुनुहुँदैन, कसैको आलोचना गरेपछि उसको मित्र हुन सकिन्न।’ केही समय पहिले एउटा कुराकानीमा एमाले उपाध्यक्ष कमरेड रघुजी पन्तले भनेका थिए : ‘मार्क्स र लेनिनको मात्र होइन, मदन भण्डारी र जबजको नाम नसुनेकाहरू पार्टी केन्द्रीय सदस्य भएर आए भने पनि अनौठो नमाने हुन्छ।’

अघिल्लो महिनातिर होला, मैले बागमती प्रदेश सरकार गठनका सम्बन्धमा आफूलाई चित्त नबुझेका कुरा फेसबुकमा लेखेको थिएँ। तपाईंले त्यसमा टिप्पणी गर्नुभयो। ठीकै भयो, हाम्रो संवाद भयो। तर तपाईंको टिप्पणी र मेरो पोस्टका बीच विषयको बुझाइ र त्यसको ‘कन्टेक्स्ट’ मा केही दूरी रहेको महसुस भयो। मैले एउटा कुरा गरें, तपाईंले अर्कै भावले त्यसमा प्रश्न गर्नुभयो, आक्षेप पनि लगाउनुभयो। हामी एउटै कुवाको पानी खाएका र उही डाँडाखोलामा गाउँबेंसी गरेका हुनाले यस्ता विषयमा मित्रवत् छलफल हुनु राम्रो होला भन्ने लागेको छ; त्यसैले यहाँ त्यो विषयमा नै अलि लम्ब्याएर चर्चा गर्ने प्रयास गरेको छु।

३.

तपाईंको जिज्ञासाबाट कुरा शुरु गरौं। तपाईंले मेरो स्टाटसमा गरेको कमेन्ट थियो- ‘बागमतीमा एमाले+नेकपा+राप्रपाका सांसदहरूको गठबन्धनमा सरकार नबनाउँदा या त मध्यावधि चुनावमा जानुपर्छ, या ठूलो दलको हैसियतमा कांग्रेसलाई अल्पमतको एकल सरकार बनाउन दिनुपर्छ।

कांग्रेसले कम्युनिस्ट जस्तो विचार नमिल्ने ‘तत्व’ हरूसँग गठबन्धनमा नजाने बरु प्रतिपक्षमा बस्ने भनेर निर्णय गरेर अडिग भएर बसेको छ। यी सबै अप्सन न त देशको हितमा छ, न त एमालेको हितमा छ, न त वामको हितमा छ। तपाईंले यस्ता विचार प्रवाह गरेर देश, एमाले र वामको विरुद्धमा मोर्चा खोल्न लाग्या हो र ?’

फेसबुकमै किन जुहारी खेल्नु भनेर मैले यसको विस्तृत उत्तर दिन उचित ठानिनँ। तर तपाईंका जिज्ञासा अरू धेरैका पनि होलान्, यो विषयमा दहल–फसेल गर्दा वर्तमान राजनीतिमा एमालेको स्थान र भूमिकाका विषयमा निर्क्योल गर्न सहज होला भनेर यता विस्तारमा लेख्न मन लाग्यो।

क.

राप्रपा र नेकपाको सहयोगमा एमालेले सरकार नबनाउँदा मध्यावधिमा जानु या कांग्रेसलाई अल्पमतको सरकार बनाउन दिनु मात्र विकल्प थिए, त्यसो गर्नु देश, एमाले र वामको हितमा थिएन भन्ने तपाईंको तर्कका विषयमा कुरा गरौं।

पहिलो कुरा त अर्को गठबन्धन सरकार नबनाउँदा मध्यावधिमा जानुपर्ने या कांग्रेसलाई अल्पमतको सरकार बनाउन दिनुपर्ने अवस्था आएको एमालेकै कारणले हो। उसले छँदाखाँदाको गठबन्धन नछाडेको भए यस्तो नौबत आउने थिएन। ठीक हो कि कांग्रेससँग गठबन्धनमा रहँदा एमालेको मुख्यमन्त्री हुने थिएन। तर तपाईंलाई थाहा छ- नेकपा र नेकपा एमालेका गरेर अहिलेसम्म २२ जना जति मुख्यमन्त्री भइसकेछन्। उनीहरूले सबै प्रदेशमा मुख्यमन्त्री बनेर सरकार पनि चलाइसके।

त्यसको परिणाम के भयो ? एमालेका मुख्यमन्त्री भएकाले पार्टीको प्रभाव विस्तार भयो ? कि धेरै ठाउँमा गठबन्धन भत्काउने/बनाउने गर्दा पार्टीको सत्तालोलुप चरित्र उदाङ्गो भएकाले बद्नाम भयो ? जनताका लागि एमालेका मुख्यमन्त्रीहरूले गरेको कामले भएको प्रत्यक्ष फाइदा के थियो ? यी प्रश्नको पनि त जवाफ दिनुपर्ने होला।

त्यसमाथि अहिले रास्वपा जस्तो दक्षिणमार्गी लोकप्रियतावादी शक्तिले जनमत हासिल गरेको छ। यो जनमत नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न लामो समय सङ्घर्ष गरेका मार्क्सवादी विचारधारामा आधारित राजनीति गर्ने दलहरूलाई किनारामा धकेलेर आएको हो।

यस्तो बेलामा केवल कुर्सीका लागि नेकपा र एमालेले मिलेर खेलेको खेल ती दललाई थप बद्नाम गर्न र कमजोर बनाउन मात्र काम लागेको छ। नपत्याए उक्त गठबन्धन बनेपछि नेकपा र एमालेभित्र प्रदेश–प्रदेशमा भएको घरझगडा हेर्नुस्, ओलीकै नेतृत्वमा पार्टीभित्र खेलिएको झेली खेलले पार्टीलाई पुर्‍याइरहेको नोक्सानी पनि हेर्नुस्।

बागमतीमा त नेकपाको झगडाले प्रदेश सभामा विश्वासको मत लिन जालझेल गर्नुपरेकै थियो। फेरि छलकपट गरेर राप्रपा विभाजित गर्नुपरेको थियो। के यस्तो खेलले नेकपा एमालेका प्रति र प्रदेश सभाप्रतिको विश्वास बढाउन मद्दत गर्‍यो ? यो कुनै पनि दृष्टिले पार्टीलाई बलियो बनाउने योजनामा भएको थिएन भन्ने कुरा त हिक्मत कार्कीमाथि दिइएको दबाबले छताछुल्ल भएकै छ।

तपाईं भन्न सक्नुहुन्छ- यसरी कुनै विचारधाराको छ्यानविचार नगरीकनै जो पायो त्यो दलसँग मिलेर सरकार बनाएका कारणले एमाले र वामपन्थी आन्दोलनलाई के–के फाइदा पुग्यो ? धेरै स्थानीय र प्रदेश सरकार एमालेको नेतृत्वमा चल्दा पनि, २०६३ वैशाखदेखि २०८२ भदौसम्म बनेका सबै सङ्घीय सरकारमा वामपन्थीहरूको सहभागिता र धेरै समय नेतृत्व हुँदा पनि पार्टीको प्रभाव स्वाट्टै किन घट्यो होला ?

दुईतिहाइको सरकारको नेतृत्व एमालेका अध्यक्षले नै गरिरहेको, कोशी, लुम्बिनी र कर्णालीमा पनि एमालेकै मुख्यमन्त्री भएको र सबै प्रदेश सरकारमा एमाले सामेल भएकै बेलामा जेनजी आन्दोलन किन भयो ? त्यस्तो आन्दोलन उठाउन जुन वैचारिक ‘न्यारेटिभ’ स्थापित गरिएको थियो, त्यसलाई चिरेर आफ्नै सन्तानहरूलाई आन्दोलनमा जानबाट एमाले नेताहरूले किन रोक्न सकेनन् ? एमालेकै कार्यकर्ताहरू र कतिपय नेताका सन्तानहरू सडकमा किन निस्केका ? भदौ २४ पछि एमाले नेताहरूकै सन्तानले केपी ओलीका विरुद्ध सामाजिक सञ्जालमा लेखेका अनेक टिप्पणीहरूले के बताउँछन् ?

देशव्यापी रूपमा पार्टीका कार्यालय, नेताहरूका आवास र निजी व्यवसाय ध्वस्त हुँदा ६ लाखभन्दा बढी पार्टी सदस्य भएको दलले प्रतिरोध गर्न किन नसकेको ? के यी बेवास्ता गर्न या दरीमुनि घुसारेर आनन्दले सुत्न मिल्ने प्रश्नहरू हुन् ? के यी प्रश्नले सन् १९९१ मा गेन्नादी यनाएभहरूले गरेको गोर्वाचोभ–विरुद्धको सत्तापलटको विपक्षमा मस्कोका सडकमा निस्केको जुलुसलाई लेनिन र ट्रोट्स्कीहरूले गठन गरेको लालसेनाको ‘मस्को ग्यारिसन’ ले साथ दिएको दिनको झल्को आउँदैन ?

यी प्रश्नहरूको जवाफले नै भन्नेछन्- हामीले विगतमा जनताको विश्वास र समर्थन गुमाउँदै गएका रहेछौं। भदौ २३ र २४ मा कोही आवेगमा, गलत भाष्यको पछि लागेर या ‘अल्गोरिदम’ को प्रभावले सामेल भएको रहेछ भनेर मान्दा पनि त्यो ‘स्केल’ को विध्वंस र विनाश भएको, लोकतान्त्रिक प्रणालीमाथि नै आघात पुगेको देखेर पनि फागुन २१ मा लाम लागेर मानिसहरूले बालेन र रविलाई किन मत दिएका ? आम मतदातालाई घण्टीमा मत दिन लगाउन के अमेरिकाको, आर्मीको या अल्गोरिदमले जोरजुलुम गरे ? भन्ने हावादारी दाबी गरेर राजनीतिको वास्तविकता उल्टिन्छ ? गत निर्वाचनको तुलनामा एमालेको मत झन्डै ५० प्रतिशतले किन घटेको ? हिजो कसले मत दियो र अहिले कसले नदिएको हो ? २०८२ भदौमा ६ लाख ६५ हजार पार्टी सदस्य रहेको दलले फागुनमा पुग्दा समानुपातिक मत जम्मा १४ लाख ५५ हजार जति मात्र कसरी आयो ?

यसमा पार्टीका अनेक अरू कमजोरी होलान्; तर मूल कुरा त हामीले सरकार चलाउँदा जुन राजनीतिक दाउपेच, धोखाधडी, गठबन्धनहरू बनाउने/भत्काउने, विचारधारात्मक रूपले ‘जो जस्तो विचारकासँग पनि जतिबेला पनि मिल्न तयार हुनु’ को परिणाम थियो।

हामीले सरकार चलाएर पनि जनताको आकाङ्क्षा अनुरूप काम गर्न नसक्दाको परिणाम थियो। यदि यस्तो हो भने अहिले थप एक वर्षका लागि जालझेल गरेर एउटा प्रदेशमा मुख्यमन्त्री बनाउँदा एमालेलाई फाइदा पुग्छ कि नोक्सान ? एउटा मार्क्सवादी दलले ‘घोषित राजावादी र हिन्दु फन्डामेन्टालिजम’ को नारा लिएको दलसँग सहकार्य गर्नुपर्ने कुन राष्ट्रिय सङ्कट सामना गर्नका लागि हो ?

अहिले कमरेड किरण (किरण गुरुङ) मुख्यमन्त्री भएकाले प्रदेशले के सकारात्मक भूमिका खेलेको छ ? एमालेसँग त्यस्तो के कार्यक्रम, योजना छ, ‘प्रोजेक्ट’ छ, जसलाई लागू गरेर आउने वर्षमा बागमतीमा लोकप्रियता कमाउन सक्छ ? जब जनतालाई दिन सकिने, सेवा प्रवाहबाट सन्तुष्ट पार्न सकिने कुनै योजना पनि छैन, उपलब्ध बजेटले गर्न सकिने कुनै ठोस उपलब्धि पनि छैन भने यसरी बनाउने सरकारले एमालेलाई या वामपन्थीलाई थप अलोकप्रिय मात्र बनाउँछ। सङ्घीयता र विद्यमान संवैधानिक व्यवस्थालाई बद्नाम गर्नेहरूले मात्र लाभ पाउँछन्।

देश, एमाले र वामपन्थी विरुद्ध मोर्चा खोल्ने हैसियत त मेरो कसरी हुनु यार ? यो त अलि हावादारी आरोप भयो भक्तजी ! बरु वर्तमान गठबन्धन बनाएर अध्यक्ष ओली र संयोजक प्रचण्डले नै यस्तो मोर्चा खोलेको किन नभन्ने ? राजावादी र हिन्दुवादी कार्यसूची बोकेर हिंडेको राप्रपासँग साँठगाँठ गरेर सरकार बनाउँदा एमालेको वामपन्थ या साम्यवादी आदर्श कहाँ बाँकी रहन्छ ?

हामीले अनेकथरी रङ्गीविरङ्गी गठबन्धन बनाएर एमालेले सरकार बनाएको देखेकै हौं। तपाईं वामपन्थको कुरा गर्नुहुन्छ; छँदाखाँदाको कम्युनिस्ट नेतृत्वको सरकार विघटनको तहसम्म पुर्‍याउने पनि त एमाले र नेकपाको नेतृत्व नै होइन र ?

विचार गर्नुस् त- राजेश्वर देवकोटा, मोहमद मोहसिन, लोकेन्द्रबहादुर चन्द, कमल थापा, राजेन्द्र लिङ्देन, विक्रम पाण्डे, धवलशमशेर, दीपक बोहरा जस्तालाई बोकेर हिंड्दा एमालेको वैचारिक स्खलन र पतन, पार्टीको अमार्क्सवादीकरण र गैरराजनीतीकरण कति विस्तार भयो ? जोसँग पनि सरकार बनाउँदै हिंड्दा पार्टीको ओरिजिनल रातो रङमा थपिएका अनेक थरी टालाले यसलाई खैरो–टाटेपाटेमा बदलेकै कारण जनताबाट टाढिंदै गएको भन्ने कोणबाट पनि सोच्नुपर्दैन र ?

तपाईं त बेलायत बस्नुहुन्छ। के बेलायतमा दोस्रो विश्वयुद्धको गम्भीर सङ्कटको समयमा बाहेक लेबर र कन्जर्भेटिभको संयुक्त सरकार बनेको छ कहिल्यै ? कि सरकार बन्न नसक्दा मध्यावधिमा जाने गरिएको छ ? के बेलायतको लेबर या अहिले नयाँ दल खोलेका जेरेमी कोर्बिनले मौका मिल्यो भने ‘रिफर्म युके’ सँग मिलेर कहिल्यै सरकार बनाउने कल्पना गर्न सकिन्छ ?

मलाई यी प्रश्नले चैनसँग निदाउन दिंदैनन् र फेसबुकमा लेखेको हो भक्तजी ! तपाईं ‘नेकपा अध्यक्षले जे गरे त्यो ठीक मान्ने’ जेसुकै भक्त हुनुहुन्छ भने त केही भन्नु छैन, हैन आलोचनात्मक रूपले हेर्नुहुन्छ भने फरक उत्तरहरू आउँछन्।

पार्टीको रक्षा गर्नु र गलत नीतिको पक्षपोषण गर्नु एउटै कुरा होइनन्। गलत नीतिको पक्षपोषण गर्दा, गलत नेताको पक्षपोषण गर्दा अन्ततः त्यसले पार्टीलाई नै डुबाउँछ। भदौ २४ बाट चेत्नुपर्थ्यो कि सरकारमा जानु र कोही प्रधानमन्त्री, मुख्यमन्त्री या मन्त्री हुनु नै पार्टीको सफलताको सङ्केत होइन।

त्यसैले यो आत्ममन्थनको समय हो। पुराना गल्तीबाट सिक्ने र नयाँ बाटो तय गर्ने समय हो। यसो गर्दा नीति मात्र सच्चिंदैनन्, नेता पनि सच्चिनुपर्छ। सही नीति गलत नेताले पनि चल्दैन। गलत नीति लिएको नेता पनि कहिल्यै सही हुन सक्दैन। यतिबेला विगत ३५ वर्षका नीति र नेतृत्वको निर्मम समीक्षा गर्ने समय हो, सङ्गठनका थुरहरू झार्ने समय।

ख.

मलाई ‘देश, एमाले र वामका विरुद्ध मोर्चा खोल्न खोजेको’ भनेर निकै रुखो प्रश्न सोध्नुभएको रहेछ। पहिलो कुरा त म जस्तो साधारण कलमजीवीले त्यत्रा शक्तिका विरुद्ध मोर्चा खोल्ने कुरा नै असङ्गतिपूर्ण र असम्भव शङ्का हो। ‘देशका विरुद्ध मोर्चा खोल्न खोजेको’ भनेर देशप्रतिको मेरो भावनामाथि प्रश्न गर्नु तपाईंको मूर्खतापूर्ण निकृष्ट सोच हो।

तेस्रो कुरा- म एमाले र वामपन्थी आन्दोलनको शुभेच्छुक हुँ। उनीहरूको भविष्य राम्रो होस् भन्ने मेरो कामना छ। म आफू वामपन्थी र मार्क्सवादी स्कूलको विद्यार्थी भएकोले ‘नेपालमा मार्क्सवादी र वामपन्थी विचारका पक्षधर शक्तिहरू बलियो हुँदा लोकतान्त्रिक पद्धति बलियो हुन्छ’ भन्ने मान्यता राख्छु। यही स्वार्थले पनि म एमाले र वामपन्थी शक्तिहरू कमजोर नहोऊन् भन्ने चाहन्छु। एमाले कमजोर नहोस् भनेर त्यसमा सुधारका पक्षधरहरू, सुधारका कार्यसूचीहरूको पक्षमा बोल्छु र लेख्छु पनि।

अहिले त अब कमसेकम केपी शर्मा ओली एमालेको नेतृत्वबाट नहटेसम्म एमालेको पुनर्जागरण असम्भव छ भन्ने मान्छु; वैचारिक भाष्य नबदले ओली हटेर पनि केही हुँदैन भन्ने कुरामा विश्वास गर्छु। त्यसरी आलोचनात्मक रूपमा लेख्नु नै कसैका विरुद्ध मोर्चा खोल्ने अर्थ लाग्छ भने त म के भन्न सक्छु र ?

तपाईंको पार्टीप्रतिको निष्ठा र प्रेमप्रति मेरो सम्मान नै छ। तर फेरि तपाईंलाई अनुरोध गर्छु- अन्धभक्तिले सर्वनाश निम्त्याउँछ। भदौ २२ मा गोदावरीमा जम्मा भएका एमालेको बहुसङ्ख्यालाई ‘ओलीले चलाइरहेको पार्टी र सरकार ठिकठाक चलेको र विकल्परहित हो’ जस्तो लागेको थियो।

यता सडकमा सुकेको खर, सलाई र पेट्रोल ओलीकै सरकारले तयार गरिदिएको थियो; जुन सल्किन मात्र बाँकी थियो। उता गोदावरीको मेलामा एमालेजनहरूले ओलीको नेतृत्व र सरकारका नीतिमाथि प्रश्न गर्नुपर्ने आवश्यकता नै देखेका थिएनन्, बरु शिवजी धतुरो खाएर लट्ठिए झैं आफ्ना नेताको देवत्वकरणमा लट्ठिएका थिए।

यसो होइन कि यसमा ओली मात्र दोषी थिए। उनका नीतिहरूको परीक्षण गर्न नसक्ने तपाईं पनि, ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे, विष्णु पौडेलदेखि शङ्कर पोखरेलसम्म, पीएस गुरुङदेखि हिक्मत कार्कीसम्म सबै भक्तिमार्गमा लागेर लट्ठिनुभएको, बेहोस हुनुभएको थियो (बिचरा बादलको त के कुरा गर्नु !)। बरु बाहिर रहेका हामी त्यतिबेला पनि प्रश्न उठाइरहेकै थियौं, खबरदारी गरिरहेकै थियौं। हामीलाई त आलोचना गरेबापत खप्की खानु परिरहेको थियो; तर परिणामले भक्तिमार्गको पतन देखायो, हामीलाई नै सही प्रमाणित गरेर गयो।

ग.

कसैलाई पनि भ्रम नरहोस्, म कुनै दूधले नुहाएको निख्खर या २४ क्यारेटको मार्क्सवादी या वामपन्थी होइन। मार्क्सवादको भक्त होइन, विद्यार्थी हुँ। हाम्रो आजको सन्दर्भमा आफ्नो ज्ञानले बुझेसम्म मार्क्सवादी विश्वदृष्टिका आधारमा आलोचनात्मक धारणा राख्छु। द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद मेरो रुचि र अनुकरणका विषय हुन्। लौकिक तथा अनुभवजन्य ज्ञानलाई मार्क्सवादअनुकूल बुझ्न र व्याख्या गर्न प्रयास गर्छु। मार्क्स र मार्क्सवादकै प्रति पनि आलोचनात्मक धारणा राख्छु।

म आफ्ना सीमा सहितको साधारण मानिस हुँ। म कुनै विषयको प्राज्ञ पनि होइन, प्रज्ञाका लागि प्रयासरत भने छु। आग्रह/पूर्वाग्रह पनि राख्छु, योगी–ध्यानी पनि होइन। काम, क्रोध, लोभ र मोह सहितको गार्हस्थ्य जीवन व्यतीत गरिरहेको साधारण नागरिक हुँ। पेशा र व्यसन दुवैले लेखक हुँ।

गल्ती–कमजोरी सहितको सांसारिक मानिस। ‘सकेसम्म गल्तीबाट सिक्नुपर्छ’ भन्ने ठान्छु र धेरैजसो असफल हुन्छु। मेरो ज्ञानका सीमितता छन्, त्यसबारे अरू सबैभन्दा बढी जानकार म नै छु। म जे छु या जे हुँ, त्यो नै व्यक्त हुन्छु। स्पष्ट छ- मेरा कुरा वर्ग या विचार निरपेक्ष हुँदैनन्, सापेक्ष हुन्छन्। त्यसैले कसैको विरोध, कसैप्रति असहमति र कसैप्रति समर्थन र सद्भाव देखिइहाल्छ। यो स्वाभाविक र प्राकृतिक पनि हो।

तपाईंको दलले अध्यक्षको नेतृत्वमा मार्क्सवाद, श्रमिक वर्ग र ऐतिहासिक भौतिकवादसँगको साइनो अलि पहिले नै छाड्न थालेको हो। उहाँलाई वामपन्थसँग पनि खासै रुचि देखिंदैन। तपाईं अध्यक्ष र दलका प्रति भक्ति राखेरै मार्क्सवादी या वामपन्थी बनिरहन कति सक्नुहुन्छ, भन्न सक्दिनँ। तर म आफ्नो जिम्मा लिन सक्छु। म आफ्ना क्षमता र ज्ञानले भ्याएसम्म मार्क्सवाद र वामपन्थका पक्षमा बोली नै रहनेछु, लेखिनै रहनेछु। यसका विरुद्ध मोर्चा खोल्ने होइन; बरु नेकपा या एमालेको नेतृत्वले मार्क्सवाद र वामपन्थलाई गरिरहेको भ्रष्टीकरणका विरुद्ध चाहिं लेख्ने/बोल्नेछु।

मेरो असहमतिलाई ठूलो भाउ दिएर अनावश्यक रूपमा आफूलाई तनावमा नपार्नुहोला, स्वास्थ्यका लागि हानिकारक हुन्छ।

मैले खस्रो लेखेकाले तपाईंलाई भित्रभित्र रिस उठेको भए म अहिले नै माफी चाहन्छु। आउनुहोस्, फेरि एकपटक प्रगतिशील चौर, विज्ञान भवनको प्राङ्गण, छात्र विश्रामगृह, बगरको ट्याक्सीचोक या केआई सिंह पुल अथवा सेतीको डिलतिर बसेर तपाईंको घरमाथिको कालिमुढेको लेक, अन्नपूर्ण र माछापुच्छ्रेलाई हेर्दै हाम्रो निकट विगतको जीवनलाई स्मरण गरौं।

हामीले उतिबेला लगाएका नारा, उतिबेला गाएका गीत र त्यो समवेत स्वरमा परिवर्तनका आवाज उठाइरहेका हाम्रा सहयोद्धाहरू, अग्रज र अनुज पुस्ताका साथीहरूलाई सम्झौं र सम्मान गरौं। आज जे भइरहेको छ यो अस्थायी हो, स्थायी त हाम्रो आन्दोलनको निरन्तरता हो। कसैले बीचैमा झन्डा छाडेर हिंड्छ भने पनि कसै न कसैले, हामीले नसके नवयुवा पुस्ताका साहसी युवायुवतीले त्यो झन्डा बोक्नेछन् र अघि बढिरहनेछन्। तिनको सफलताको कामना गरौं र एक–एक डबका कोदाको रसले चियर्स गरौं !

तपाईंको प्रत्युत्तरलाई स्वागत छ।

लेखक
झलक सुवेदी

झलक सुवेदी राजनीतिक विश्लेषक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?