News Summary
Generated by OK AI. Editorially reviewed.- स्वीडिस भिजुअल आर्टिस्ट निकोलस अल्मेडाले सन् २०१२ देखि नोबेल विजेताहरूका आधिकारिक पोर्ट्रेट हातैले बनाउँदै आएका छन्।
नोबेल पुरस्कारको चहलपहल सुरु हुनासाथ विजेताहरूको नामसँगै मिडिया तथा सोसल मिडियामा एउटा विशेष चीजले सबैको ध्यान खिच्छ – उनीहरूका आकर्षक र भिन्न शैलीका पोर्ट्रेट ।
विशेष गरी कला अनुरागीहरूका लागि त यी चित्रहरू निकै कौतुहल र चर्चाको विषय बन्ने गर्छन् । अति नै सीमित रङ र सरल रेखाबाट कोरिएका ती पोर्ट्रेटहरू क्षणभरमै विश्वभरका सञ्चारमाध्यम र सामाजिक सञ्जालमा छाउँछन् ।
धेरैलाई लाग्न सक्छ, यी डिजिटल इलुस्ट्रेसन वा कम्प्युटरले बनाएका डिजाइन हुन् । तर वास्तविकता अर्कै छ – यी त काँचो क्यानभासमा हातैले कोरिएका जीवन्त कलाकृति हुन् । र, विगत केही वर्षयता विश्वलाई नै मोहित पार्ने यी आधिकारिक पोर्ट्रेटहरूका पछाडि स्वीडिस भिजुअल आर्टिस्ट निकोलस अल्मेडाको हात छ ।
लामो समयदेखि चित्रकारितामा सक्रिय अल्मेडाले सन् २०१२ देखि नोबेल विजेताहरूलाई आफ्नो ब्रस र रङमार्फत क्यानभासमा उतार्न थालेका हुन् । पाँचवटै विधाका नोबेल विजेताहरू कस्ता देखिन्छन् भन्ने कुरा विश्वले पहिलो पटक उनैले बनाएका यी पोर्ट्रेटमार्फत नै थाहा पाउँछ । आफ्नो कामबारे उत्साह व्यक्त गर्दै अल्मेडा स्वयंले वेबसाइटमा लेखेका छन् – यी पोर्ट्रेटहरू घोषणा हुनेवित्तिकै सेकेन्डभित्रै विश्वभरका लाखौँ मानिसले देख्छन् ।
एक टेड टक्स प्रस्तुतिमा पनि उनले आफ्नो यो रोमाञ्चक कला-यात्रा र शैलीबारे खोसलेका थिए । नोबेल विजेताका अलावा उनले विश्वका चर्चित व्यक्तित्वहरू र प्राचीन पौराणिक मिथकका प्रतीकहरूलाई पनि कलात्मक रूप दिँदै आएका छन् ।
अल्मेडाको शैलीको मुख्य खम्बा मिनिमलिजम अर्थात् न्यूनवाद हो । बढीमा एक वा दुई रङको मात्र प्रयोग गरेर टाढाबाटै आँखा तान्ने र मानिसको दिमागमा बस्ने चित्र कोर्नु उनको मुख्य विशेषता हो ।
कसरी सुरु भयो स्केचको यो नयाँ परम्परा ?
अल्मेडा आउनुअघि नोबेल विजेताहरूको जानकारी दिन सामान्य फोटो नै प्रयोग गरिन्थ्यो । तर विशेष गरी विज्ञानतर्फका कतिपय शोधकर्ता र वैज्ञानिकहरू अनुसन्धानमै व्यस्त रहने भएकाले उनीहरूको उच्च गुणस्तरको फोटो पाउनै मुस्किल हुन्थ्यो । कमिटीले जस्तो फोटो भेट्टायो, त्यस्तै प्रयोग गर्नुपर्ने बाध्यता थियो ।

यस्तै भद्रगोलबीच सन् २०१२ मा नोबेल मिडियाको आर्ट डाइरेक्टरका रूपमा निकोलस अल्मेडाको प्रवेश भयो । उनले वर्षौँदेखि चलिआएको फोटो देखाउने परिपाटीलाई एकाएक मोडिदिए । फोटोको सट्टा कालो मार्करले स्केच बनाएर विजेताहरूको आधिकारिक भिजुअल प्रिजेन्टेसन गर्ने नयाँ प्रयोग सुरु गरे ।
यो नयाँ शैलीले निकै तारिफ पायो । त्यसपछि उत्साहित बनेको नोबेल पुरस्कार कमिटीले सन् २०१३ मा उनलाई नै नयाँ ग्राफिकल अवधारणा तयार पार्न जिम्मा दियो । अल्मेडाले निलो, पहेँलो र कालो रङको संयोजनमा पोर्ट्रेटको आउटलाइन बनाउने प्रस्ताव राखे, जसलाई कमिटीले सहर्ष स्वीकार गर्यो ।
क्रमशः परिवर्तन हुँदै सन् २०१८ मा कमिटीले चित्रमा सुनौलो रङलाई मुख्य प्राथमिकता दिने निर्णय गर्यो । त्यसयता हरेक वर्ष उनले यही सुनौलो र कालो रङको बेजोड तालमेलमा नोबेल विजेताका कालजयी पोर्ट्रेटहरू बनाउँदै आएका छन् ।
समयको दौड र सिर्जनाको जादू
अल्मेडाका अनुसार उनका हरेक चित्रहरू खास अवधारणामा आधारित हुन्छन् । नोबेल पुरस्कार विजेताको घोषणा आफैँमा एउटा ‘ब्रेकिङ न्युज’ हुने भएकाले त्यसको पोर्ट्रेट पनि दृश्यका हिसाबले उत्तिकै सशक्त र प्रभावकारी हुनुपर्छ भन्ने उनको मान्यता छ ।
यसका लागि उनी सेतो पृष्ठभूमि, कडा कालो रङ, बोल्ड स्ट्रोक र उच्च कन्ट्रास्टमा काम गर्छन् । ताकि कसैले त्यो चित्र देख्नेबित्तिकै ‘ओहो ! यो त नोबेल विजेताको पोर्ट्रेट हो’ भनेर तुरुन्तै चिन्न सकोस् ।
सबैभन्दा रोचक कुरा त के छ भने पुरस्कार कमिटीले विजेताको नाम सार्वजनिक हुनुभन्दा केही घण्टा अगाडि मात्रै अत्यन्तै गोप्य रूपमा अल्मेडालाई नाम र विवरण पठाउँछ । त्यसपछि समयसँग दौडिएर उनले एकदमै छोटो अवधिभित्र यी मास्टरपिस पोर्ट्रेटहरू तयार पारिसक्नुपर्छ ।
अल्मेडाले यी पोर्ट्रेट बनाउन कालो एक्रिलिक रङ र सुनको मसिनो फोयल (पन्नी) प्रयोग गर्छन् । एउटा विशेष ग्लुको मद्दतले सुनको फोयललाई क्यानभासमा टाँसिन्छ ।
नोबेल पुरस्कारको सिजनबाहेक अल्मेडाको धेरैजसो समय अन्य कला परियोजनाहरूमै बित्छ । तर नोबेल विजेताहरूको पहिचानमा उनले भित्र्याएको यो सादगीपूर्ण नवीनता र कलात्मक प्रयोग चर्चा कला जगतमा पुस्तौँपुस्तासम्म भइरहनेछ ।
प्रतिक्रिया 4