भारतीय निर्वाचन आयोगका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै ककरोच जनता पार्टी (सीजेपी) ले भोलिदेखि दिल्लीको जन्तरमन्तरमा प्रदर्शन गर्ने घोषणा गरेको छ । तर, हालसम्म दिल्ली प्रहरीले प्रदर्शनका लागि अनुमति दिएको छैन ।
सीजेपीको प्रदर्शनलाई विपक्षी दलहरूले समर्थन गरेका छन् । प्रदर्शनअघि दिल्ली प्रहरीले ५७ वटा मेट्रो स्टेसनका प्रवेश तथा निकासद्वार बन्द गर्ने निर्णय गरेको छ । भारतीय रेलवेको निर्णयअनुसार नयाँ दिल्ली र हजरत निजामुद्दीन रेलवे स्टेसनबाट सञ्चालन हुने रेल सेवा पनि १० घण्टाका लागि रद्द गरिनेछ ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै दिल्ली प्रहरीकी संयुक्त आयुक्त नुपुर प्रसादले सीजेपीका सहसंयोजक सौरभ दासबाट प्रदर्शनसम्बन्धी निवेदन प्राप्त भएको बताइन् ।
उनका अनुसार निवेदनमाथि विचार गर्दा प्रदर्शनबारे अत्यन्तै कम समयअघि जानकारी गराइएको पाइएको थियो । निर्धारित निर्देशिकाअनुसार प्रदर्शन गर्नुभन्दा १० दिनअघि नै सूचना दिनुपर्ने व्यवस्था छ ।
प्रसादले यसअघि सीजेपीलाई सोही स्थानमा प्रदर्शन गर्न अनुमति दिइएको भएपनि पार्टीले कानुनी निर्देशन र त्यसबेला दिएको प्रतिबद्धता पालना नगरेको आरोप लगाइन् ।
उनले भनिन्, ‘यसैलाई ध्यानमा राखेर यसपटक प्रदर्शनको अनुमति दिइएको छैन ।’
उनका अनुसार नयाँ दिल्लीमा भारतीय नागरिक सुरक्षा संहिताको धारा १६३ लागु छ । सार्वजनिक व्यवस्था र सुरक्षा कायम राख्न आवश्यक प्रतिबन्ध लगाइएको भन्दै उनले यसको उल्लङ्घन गर्ने व्यक्तिविरुद्ध कानुनी कारबाही गरिने चेतावनी दिइन् ।
तर, सीजेपीले प्रदर्शनबाट पछि नहट्ने जनाएको छ । पार्टीले प्रहरीले आफ्ना समर्थकलाई गैरकानुनी रूपमा नियन्त्रणमा लिइरहेको आरोपसमेत लगाएको छ ।
सीजेपीका संस्थापक अभिजित दीपकेले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘अक्टोबर १० मा हुने हाम्रो प्रदर्शनअघि भाजपा सरकारले देशभरबाट हजारौँ युवालाई नियन्त्रणमा लिएको छ । मोदी, तपाईंको डर देखाउने र धम्क्याउने प्रयास सफल हुने छैन । देशका युवा अब तपाईंसँग डराउँदैनन् । म भोलि दिल्ली पुग्नेछु र जुनसुकै अवस्थामा पनि जन्तरमन्तरसम्म मार्च गर्नेछु ।’
सात हजार सुरक्षाकर्मी परिचालन गरिँदै
प्रदर्शनअघि दिल्लीमा केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ) का कम्तीमा ७० कम्पनी परिचालन गरिने भारतीय समाचारहरूमा उल्लेख छ । ती कम्पनीमा करिब सात हजार सुरक्षाकर्मी छन् । सीआरपीएफको एउटा कम्पनीमा करिब १०० सुरक्षाकर्मी हुन्छन् ।
ती सुरक्षाकर्मी हाल पश्चिम बंगाल र छत्तीसगढमा तैनाथ रहेको र प्रदर्शनअघि दिल्ली पठाउन लागिएको समाचारमा उल्लेख छ ।
छत्तीसगढमा रहेका सीआरपीएफका इकाइहरूलाई आफ्नो सम्पूर्ण परिचालन क्षमता कायम राख्न तथा आवश्यक उपकरण, हतियार र गोलीगठ्ठासहित तयारी अवस्थामा रहन निर्देशन दिइएको उल्लेख छ । उक्त परिचालन गृह मन्त्रालयको निर्देशनमा हुन लागेको जनाइएको छ ।
प्रदर्शनलाई ध्यानमा राख्दै जन्तरमन्तर र आसपासका क्षेत्रमा व्यापक सुरक्षा व्यवस्था मिलाउन लागिएको हो ।
सीजेपीले मतदाता नामावलीको विशेष सघन पुनरावलोकन (एसआईआर) का क्रममा अनियमितता भएको आरोप लगाउँदै मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्न प्रदर्शन आह्वान गरेको हो ।
प्रतिक्रिया 4