News Summary
Generated by OK AI. Editorially reviewed.- कोशी प्रदेश प्रहरी कार्यालयले दसैँ, तिहार र छठ लक्षित ८ हजार १३३ प्रहरी जनशक्ति परिचालन गर्ने चाडपर्व सुरक्षा कार्ययोजना २०८३ लागू गरेको छ ।
- प्रदेशभर ७२ स्थानमा यात्रु सहायता कक्ष, ४५३ क्यूआरटी, १५ स्ट्राइकिङ टोली र ५०३ पिकेट राखिने प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापाले बताए ।
- चोरी, लुटपाट, ठगी, झैझगडा, सवारी दुर्घटना र विस्फोटक पदार्थ भित्रिन नदिन प्रहरीले मोबाइल गस्ती, पैदल गस्ती, कुकुर टोली, सिसी क्यामेरा र ड्रोन निगरानी गर्नेछ ।
२३ असाेज, विराटनगर । दसैँ, तिहार, छठ पर्वलक्षित सुरक्षाका लागि कोशी प्रदेश प्रहरी कार्यालयले छुट्टै रणनीति अपनाएको छ । सम्भावित जोखिम न्यूनीकरणका लागि प्रहरीले छुट्टै रणनीति अपनाएको हो ।
चाडपर्वका बेला हुन सक्ने चोरी, लुटपाट, ठगी, झैझगडा, सवारी दुर्घटना तथा अन्य आपराधिक गतिविधि नियन्त्रणका लागि ८ हजार १३३ जना प्रहरी जनशक्ती परिचाल गर्नेछ । प्रदेश प्रहरी कार्यालय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापाका अनुसार चाडपर्व सुरक्षा कार्ययोजना, २०८३ निर्माण गरी प्रदेशका १४ वटै जिल्लामा लागू गरिएको छ ।
चाडपर्वका बेला हुनसक्ने ठगी र चोरी जस्ता घटना नियन्त्रणका लागि ७२ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेर सञ्चालनमा ल्याइएको छ । बसपार्क, बस स्टेण्ड, मुख्य राजमार्ग तथा सहायक मार्गका विभिन्न स्थानमा राखिएका सहायता कक्षबाट यात्रुलाई आवश्यक सहयोग, गुनासो सुनुवाइ र सुरक्षा सहजीकरण गर्नेछ ।
आकस्मिक घटनामा तत्काल परिचालन हुनेगरी ४५३ वटा ‘क्विक रेस्पोन्स टिम’ (क्यूआरटी) परिचालन गर्ने व्यवस्था मिलाइको छ । सुरक्षा संवेदनशील तथा जोखिमयुक्त क्षेत्रमा आवश्यकताअनुसार तत्काल हस्तक्षेप गर्न १५ वटा स्ट्राइकिङ टोली परिचालन भएको छ ।
सवारी दुर्घटना न्यूनीकरण र सडक सुरक्षाका लागि १७९ स्थानमा संयुक्त राखिएको छ । प्रदेशभर ९८ मोबाइल गस्ती र २१५ पैदल गस्ती परिचालन गरिनेछ । उनका अनुसार मुख्य चोक, बजार तथा सार्वजनिक जमघट हुने स्थानमा सुरक्षा उपस्थिति बढाउन ५०३ स्थानमा पिकेट राखिनेछ ।
सीमानाकाबाट पटाका तथा अन्य विस्फोटक पदार्थ भित्रिन नदिन मुख्य नाका र शंकास्पद क्षेत्रमा तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन गरिएको छ । भिडभाड हुने चोक, बजार तथा अन्य सार्वजनिक स्थानमा सिसी क्यामेरा र ड्रोनबाट पनि निगरानी गरिनेछ ।
प्रतिक्रिया 4