News Summary
Generated by OK AI. Editorially reviewed.- गोल्यान ग्रुपले जेनजी आन्दोलनका सहिद परिवारका ३२ बालबालिकालाई १२ कक्षासम्म निःशुल्क पढाउने र स्वास्थ्य बीमामा सहजीकरण गर्ने जनाएको छ ।
- अध्यक्ष अक्षय गोल्यानले सीएसआरका लागि छुट्टै बजेट नराखी आवश्यकता र प्रभाव हेरेर योगदान गर्ने र भविष्यमा अन्य वर्गमा पनि सहयोग विस्तार गर्ने बताए ।
- उनले समाजसेवामा पैसा मात्र नभई समय र श्रम पनि आवश्यक हुने भन्दै व्यापारसँगै समुदाय र देशलाई माथि उठाउनुपर्ने धारणा राखे ।
व्यावसायिक घराना गोल्यान ग्रुप साढे ६ दशकभन्दा बढी अवधिदेखि उद्योग तथा व्यापार क्षेत्रमा कहलिएको नाम हो । बैंक तथा वित्तीय संस्था, हाइड्रोपावरदेखि कृषि, पर्यटन तथा होटल, म्यानुफ्याक्चरिङ, नवीकरणीय ऊर्जा, घरजग्गा लगायत क्षेत्रमा गोल्यान ग्रुपको भिन्नै पहिचान छ ।
तर गोल्यान ग्रुपले उद्योग–व्यापारमात्र गर्दैन, यसले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) मा पनि आफूलाई अब्बल साबित गरेको छ । व्यापार गर्नु र कमाउनु मात्र गोल्यान ग्रुपको उद्देश्य होइन, त्यस्तो कर्मबाट प्राप्त सफलताको केही अंश सामाजिक उत्तरदायित्वका काममा खर्चिनु गोल्यान ग्रुपको अर्को प्रमुख उद्देश्य हो ।
गोल्यान ग्रुपले संस्थागत सामाजिक उत्तरदायित्वमा के कस्ता काम गरिरहेको छ, २३ र २४ भदौ २०८२ पछि सामाजिक उत्तरदायित्वका काममा ग्रुपको धारणा कसरी बदलियो, व्यावसायिक घरानाले सामाजिक उत्तरदायित्व वहन कसरी गर्नुपर्छ भन्ने विषयको सेरोफेरोमा रहेर ग्रुपका अध्यक्ष अक्षय गोल्यानसँग अनलाइनखबरका लागि सुशील भट्टराईले गरेको कुराकानी :
व्यावसायिक घराना वा कर्पोरेट हाउसहरूले व्यापार सँगसँगै सामाजिक क्षेत्रमा के–के सहयोग गर्न सकिन्छ भनेर आ–आफ्नै मापदण्ड बनाएको पाइन्छ । व्यावसायिक घरानाहरूको आ-आफ्नै उद्देश्य हुन्छ । पछिल्लो पटकको जेनजी आन्दोलनपछि र त्यसभन्दा अगाडिदेखि पनि गोल्यान ग्रुपले संस्थागत सामाजिक उत्तरदायित्वमा जे कामहरू गरिरहेको छ, त्यसलाई कसरी वर्णन गर्नुहुन्छ ?
सबैभन्दा पहिला त हाम्रो सामाजिक दायित्व अथवा सामुदायका लागि विकास वा सहकार्यका कुरा गर्दा पहिलेदेखि नै यसमा हाम्रो सक्रिय सहभागित रहँदै आएको छ । तर, जेनजी आन्दोलनपछि चाहिँ हामीलाई भित्रैदेखि के अनुभूति भयो भने व्यावसायिक घराना अथवा व्यावसायिक कुनै व्यक्तिविशेषलाई हेर्दा हाम्रो नेपालमात्र नभनौं तर समग्रमा यस क्षेत्रमा एउटा अभाव खड्किएको पाइन्छ । समाज र व्यापारबीच पनि यस्तो अभाव खड्किएको छ । अनि त्यसलाई एउटा जिम्मेवारीपनको दृष्टिकोणबाट हेर्दा हामीले तीन-चार वटा कार्यक्रम सुरु गर्यौं । एउटा, जेनजी आन्दोलनका सहिद परिवारका बच्चाहरूका लागि १२ कक्षासम्म नि:शुल्क पढाउने व्यवस्था मिलाउने र सहिदका आमाबुबाहरूका लागि स्वास्थ्य उपचारमा उल्लेख्य सहयोग गर्ने कार्यक्रम सुरु गर्यौं । जेनजी सहिदका बच्चाहरूको पढाइ खर्चदेखि पढाइसम्बद्ध अतिरिक्त गतिविधि जस्तै खेलकुद, नृत्य, गायन वा अन्य गतिविधि (बच्चाको इच्छा अनुसार) मा पनि सहयोग गरिरहेका छौं ।
पछिल्लो पटक तीन-चार वटा स्कुलमा गएर बच्चाहरूसँग कुराकानी गर्यौं । अब कति बच्चाले बुबा गुमाएका छन्, कतिले दुवै गुमाएका छन्, उनीहरूलाई पनि हामी एउटा के आश्वस्त पार्न चाहन्छौं भने हामी छौं, कोही न कोही छ उनीहरूको पालनपोषण गर्ने । त्यसैगरी सहिद परिवारका आमाबुवाका लागि जीवनभरि स्वास्थ्य बीमा गराइरहेका छौं । प्रत्येक वर्ष १० लाखसम्मको स्वास्थ्य बीमामा हामीले सहजीकरण गरिरहेका छौं ।

त्योबाहेक सामुदायिक सहकार्य कार्यक्रम गर्न हाम्रो गोल्यान फाउन्डेसन भन्ने संस्था छ । विभिन्न ठाउँमा हाम्रो अनुसन्धान र योजनाका काम जारी छन् । सकेसम्म समुदायलाई सहभागी गराएर, समुदायका सदस्यालाई माथि उचाल्ने काम गरिरहेका छौं । तर, यो आवश्यकताका आधार र विकासका आधार हेरेर हामीले सहयोग गरिरहेका छौं । व्यवसायीको एउटा जिम्मेवारी हुन्छ, व्यापारबाट उन्नति हुन्छ नै, तर एक्लै उन्नति गरेर पनि हुँदैन । समुदायलाई पनि सँगै लिएर हिँड्नुपर्छ, देशलाई सँगै लिएर हिँड्नुपर्छ । जेनजी आन्दोलनपछि हाम्रो एउटा विशेष निर्णय भएको छ- हामी जति उन्नति गर्छौं, त्योभन्दा बढी समुदायमा योगदान गर्नुपर्छ ।
गोल्यान ग्रुपले सीएसआरका लागि निश्चित रकम (बजेट) नै व्यवस्था गरेको हुन्छ वा स्वस्फूर्त अहिले यति गरौं न भन्ने हुन्छ ?
यस्तो हुन्छ, सीएसआर भन्दा सरकारले तोकेको नियममा चाहिँ एउटा नाफामूलक कम्पनीको नाफामा कति प्रतिशत दिनैपर्ने हुन्छ । तर, हामी कानुन बमोजिममा दिनुपर्ने योगदान त गरिरहेकै छौं तर त्यसबाहेक जुन र जसका लागि म कुरा गरिरहेको छु, त्यसमा पनि हाम्रो क्षमता छ भन्ने हो । त्यसमा कार्यक्रम हेरेर, आवश्यकता हेरेर र प्रभाव हेरेर नभई जति सकिन्छ योगदान गर्छौं । त्यसका लागि कुनै बजेट छुट्याएको अथवा यति मात्रै हामी गर्न सक्छौं भन्ने हुँदैन । यसमा हाम्रो एउटा फाउन्डेसनमा एउटा टिम पनि छ । अनि, एकदमै सीमान्तकृत वर्ग वा विपन्न वर्गलाई पनि हुन्छ, अरू-अरू कार्यक्रम पनि हुन्छ । त्यसमा चाहिँ हामीले एकदमै अध्ययन र अनुसन्धान गरेर राम्रो परिमाणमा योगदान गर्न सक्छौं ।
अहिले गोल्यान ग्रुपले शिक्षा क्षेत्रमा अलि बढी ध्यान दिएजस्तो लाग्यो, जेनजीका सहिद परिवारका लागि पनि शिक्षामै सहयोग गरिरहनुभएको छ, शिक्षा क्षेत्र नै किन छान्नुभयो ?
अरू क्षेत्रमा पनि सहयो गर्न हामी तयार छौं । तर, शिक्षाको मेरो व्यक्तिगत विचार के हो भने राम्रो शिक्षा पाउँदा कुनै पनि बालबालिका आत्मनिर्भर अनि क्षमतावान बन्न सक्छनउन सकछन् । बच्चा हुँदै सबै उसले राम्रो शिक्षा पाओस्, राम्रो ज्ञान पाओस्, त्यसपछि चाहिँ ऊ वा उनीले भविष्यमा के बन्ने भन्ने निर्णय आफैं गर्न सक्छन् । वैज्ञानिक, डाक्टर वा उद्यामी बन्ने चाहना होला, स्टार्टअपमा जान पनि सक्ने भयो । हामी चितवन जाँदा एउटा क्लास टपर छोरीसँग भेट भएको थियो । उनले जेनजी आन्दोलनमा बुबा गुमाएकी थिइन् । तर, पनि क्लास टप गरेर अब नर्सिङ पढ्न चाहेको बताइन् । अब नर्सिङ यत्तिकै त पढ्न पाइँदैन, त्यसका लागि शिक्षा चाहिन्छ, राम्रो स्कुल चाहिन्छ, त्यसपछि प्लस टु चाहिन्छ, त्यसपछि फर्दर स्टडिज चाहिन्छ । यसमा मलाई अनि हामीलाई, हाम्रो सबै टिमलाई के लाग्छ भने शिक्षामार्फत आफ्नो जीवन परिवर्तन गर्न यी बच्चाहरूले सक्छन् । अनि, नेपालको शिक्षा प्लस टुसम्म चाहिँ राम्रो छ । त्यही भएर हामीले जेनजी सहिदका छोराछोरीहरूलाई कम्तीमा उनीहरूको परिवारलाई आमाबाबु छैनन् तर हजुरआमा, हजुरबुबाको काँधमा शिक्षाको तनाव लिनु पर्दैन भनेर सहयोग गरेका हौं ।
जेनजी सहिदका छोराछोरीलाई सीएसआर बाहेक खर्च गरेर १२ कक्षासम्म पढाउँदा कति जति लागत पर्छ होला ? हाल कति बच्चा पढाइरहनुभएको छ ? के-केमा खर्च गरिदिनुहुन्छ ?
अहिले हाम्रो प्रतिबद्धता जेनजी सहिदका बच्चालाई १२ कक्षासम्म नि:शुल्क पढाइदिने हो । हामीले अहिले ३२ जना बच्चाहरूको अध्ययन खर्चको जिम्मेवारी लिएका छौं । तीमध्ये कुनै ८ कक्षा, कुनै २ कक्षा वा कुनै प्रि-स्कुलमा मात्रै भर्ना भएका छन् । त्यसकारण हाम्रो प्रतिबद्धता १२ कक्षासम्म हो । तर, हामी पढाइसँगै आवश्यक अतिरिक्त गतिविधिमा पनि आर्थिक सहयोग गर्छौं । जस्तै, कुनै बच्चा नृत्य वा गायन वा कराते वा फुटबलमा अगाडि बढ्न चाहन्छ भने हामी त्यसका लागि आवश्यक सामग्रीदेखि तालिमसम्मको व्यवस्था गर्न सहजीकरण गरिदिन्छौं । त्यसो गर्दा त्यस्ता बच्चा भविष्यमा राष्ट्रियस्तरका खेलाडी बन्न सक्छन् । त्यसकारण हामीले ती बच्चालाई १२ कक्षासम्म विनातनाव पढ्ने व्यवस्था मिलाएका हौं ।

भविष्यमा ती बालबालिकाको रोजगारीको पनि कुरा आउलान्, १२ कक्षपछि गोल्यान ग्रुपले रोजगारी पनि दिन सक्छ भन्ने खालको केही सोचाइ बनाउनुभएको छ ?
यसमा गोल्यान ग्रुप सधैं खुला छ । सहिद परिवारको बच्चा मात्रै होइन, त्यसमा त नेपालभरिका लागि हामी खुला छौं । हामीले दिने रोजगारी योग्य हुनुपर्छ त्यत्ति हो । यसमा कसैलाई काखापाखा गर्ने भन्ने हुँदैन । रोजगारीमा हामी सकारात्मक नै छौं ।
जेनजी सहिदका घरघरमै गएर तपाईं आफैंले पनि बालबालिका र परिवार भेट्नुभयो, यसबारे अनुभव कस्तो रह्यो ?
परिवारको प्रमुख सदस्य गुमाएपछि बज्रपात त परिहाल्छ । अब कसैको बुबा, कसैका आमा, कसैको त छोरा वा छोरी होला, त्यसबेलाको अवस्था अर्कै हुन्छ । अनि, त्यसमा कुनै अपरिचित संस्था वा व्यक्तिको सहयोग पाउँदा अर्कै खालको अनुभव हुने रहेछ पाउने मान्छे र दिने मान्छे दुवैलाई । मेरो व्यरिक्तगत अनुभवमा त्योभन्दा ठूलो मलाई लाग्दैन । त्योभन्दा ठूलो चाहिँ जिम्मेवारी अनि मानवता संसारमा हुँदैन । अप्ठ्यारो समयमा सहयोग पाउँदा त्यो दुवैलाई जिन्दगीभरि याद रहन्छ । अरू जुनसुकै होस् जीवनमा, उतारचढाव हुँदै जान्छ, तर त्यस्तो सहयोग हाम्रा लागि पनि त्यति नै अविष्मरणीय हुन्छ, जति सहिद परिवारका लागि होला । किनभने, हामी आफूलाई आफ्नो कम्पनी मार्फत साना बच्चालाई कठिन समयमा सहयोग गर्न पाउँदा एकखालको मानवीय संवेदना जोडिने रहेछ । सबै बच्चाहरूसँग पनि अनि सहिद परिवारको सबै सदस्यसँग पनि ।
जेनजी सहिद परिवारसँग सहयोग हस्ताक्षर गर्दा कस्तो महसुस गर्नुभयो ?
सहयोग हस्ताक्षर गर्दा सबैजना आउनुभएको थियो । कति त सानो बच्चा बोकेर आउनुभएको थियो । त्यसमध्ये चाहिँ नेल्सन नाम गरेका एउटा सानो बच्चा ममीसँग आएका थिए । अनि, ती बच्चाले मलाई हेर्दा नै केही न केही अनुभूति भयो, बच्चालाई पनि भयो होला । हस्ताक्षर गर्दा कति अभिभावकको आँखामा आँसु आएको थियो, हामी पनि भावुक भयौं । अनि, त्यही बच्चाको स्कुलको पहिलो दिन पनि हामी स्कुलमै गएका थियौं । उसले हामीलाई चिन्यो, हामी औधी खुसी भयौं । हो, यस्ता बच्चाले समाज, देश र विश्व नै परिवर्तन गर्ने क्षमता राख्छन् । त्यस्तै सोनिया भन्ने एउटा बालिकाको जन्मदिनमा हामी उनको स्कुलमा ‘सरप्राइज भिजिट’ गएका थियौं । हामीलाई देखेर उनी धेरै नै खुुसी भइन् । केक पनि काटिदियौं । यो भनेको उनीहरूका अभिभावकका लागि हामी सहयोगी हात लिएर आएका छौं भन्ने हो ।
यो मेरो जीवनकै सबैभन्दा सुन्दर अनुभव हो । हामीले जतिसुकै व्यापार-व्यवसाय गरे पनि कसैलाई सहयोग गर्न पाउँदा, कसैको दु:खमा साथ दिन पाउँदा र कसैलाई कठिन समयमा हात दिन पाउँदाको सुखानुभूति शब्दमा बयान गर्न सकिँदैन । योभन्दा ठूलो सुख संसारमा अरू छैन ।
यो व्यावसायिक घरानामा लगानी, नाफाघाटाका कुरामात्र हुने, नाफा नहुने हो भने किन लगानी गर्ने भन्ने प्रश्न पनि आउला । भनेपछि अहिले गोल्यान ग्रुपले गरिरहेको कामबाट कस्तो नाफा आउला ? गोल्यान ग्रुपले के पाउँछ यसबाट ?
यसमा यस्तो हो, म उल्टाइदिन्छु तपाईंको प्रश्न । व्यापार नाफाका लागि गरिन्छ, यसमा दुई मत छैन । कुनै पनि कलेज पढ्ने बच्चाले म स्टार्टअप सुरु गर्छु भनेर व्यापार गर्छ र पैसा कमाउँछ भने त्यो राम्रो कुरा हो । त्यो पैसाबाट सबैभन्दा पहिला आफ्नो र परिवारको जीवन राम्रो बनाउनुपर्यो । त्यसपछि आफ्ना सरोकारवाला (कर्मचारी वा साझेदार) सबैको एउटा एक तहको वृद्धि हुनुपर्यो । ती सबैको सुरुवात व्यापार हो । त्यसपछि के ? तपाईं र म पैसा लिएर माथि जाने त होइन होला नि ! अब जुन समाज, जुन देशमा हामी हुर्केका हौं, त्यसलाई त राम्रो बनाउनुपर्यो नि ! त्यसलाई राम्रो बनाउँदा नाफा एउटा बाटो मात्रै हो, सुरुवात मात्रै हो । त्यसकारण हामी जतिसक्दो जति हुन्छ समाज र देशलाई माथि उठडाउन चाहन्छौं । त्यही भएर सामाजिक गतिविधिमा हामी तीव्र गतिमा अगाडि बढेका हौं । अब प्रत्यक्ष व्यापारको कुरा गर्ने हो भने त्यो रोजगारी, पूर्वाधार विकास, जलविद्युत् निर्माण, सौर्य ऊर्जा लगायतबाट अर्थतन्त्रमा सानो योगदान गरेका छौं । तर, समुदायमा जुन प्रत्यक्ष प्रभाव हुन्छ, त्यस्ता कार्यक्रममा हामी होमिएका छौं । यसमा भर्खरै सुरुवाता गरेका छौं । यसबाट हामीलाई आउने केही पनि होइन, अर्थात् वित्तीय हिसाबमा केही पनि प्राप्त हुँदैन । तर, त्यसबाट सबैभन्दा ठूलो एउटा जिम्मेवारी अनि एउटा मानवीय संवेदना जुन छ, त्यो अमूल्य चिज हामीले पाएका छौं । यसले मान्छेलाई मान्छेसँग जोड्छ । पैसा त आज छ, भोलि छैन, पर्सि होला, फेरि अर्को दिन नहोला, कहिले तल–माथि हुन्छ । तर, ‘ह्युमन कनेक्सन’ सधैं हुन्छ । सधैंका लागि हुन्छ । त्यो मलाई पनि याद हुन्छ, तपाईंलाई पनि याद हुन्छ ।

यसको दायरा विस्तार गर्ने योजना छ कि छैन ? अहिले जेनजीका परिवारलाई गरेको जस्तो सहयोग कुनै सुकुम्बासी वा सीमान्तकृत वर्गका बच्चा वा परिवार, दलित, अतिगरिब परिवारलाई पनि समेट्ने सोचाइ छ ?
हजुर, हाम्रो गोल्यान फाउन्डेसन मार्फत हामी विभिन्न कार्यक्रम गर्नेबारे अध्ययन गरिरहेका छौं । हामी चाँडै अन्य क्षेत्र वा वर्गमा पनि सहयोग गर्ने योजनामा छौं । त्यो आगामी केही महिनाभित्र थाहा हुन्छ ।
यस्तो खालको सहयोग कहाँसम्म लैजानुहुन्छ ? तपाईंहरूको खास लक्ष्य के हो ?
त्यस्तो लक्ष्य भन्ने छैन । त्यो चाहिँ हामी एक्लै मात्रै गर्न सक्दैनौं । त्यसमा त मेरो एउटा आग्रह पनि छ सबै व्यापारिक समुदायलाई । अनि, व्यक्तिगत हिसाबमा पनि सक्दो सहयोग गर्न सक्नुहुन्छ । आफ्नो जिल्ला होला, क्षेत्र होला, जुनसुकै ठाउँमा पनि केही न केही योगदान गरौं । यसमा नाफाभन्दा पनि सेवाभाव हुनुपर्छ । सेवा गर्दाको सन्तुष्टि अरूमा पाइँदैन । त्यसकारण गोल्यान ग्रुपले सामाजिक उत्तरदायित्वका कामबाट कहिले पनि आफूलाई अलग पार्न सक्दैन ।
समाज सेवालाई कसरी लिनुहुन्छ ? तपाईंको नजरमा के हो समाज सेवा ?
समाज सेवा मेरो लागि चाहिँ अरू कुनै आवश्यकतामा परेको व्यक्तिलाई सकेको सहयोग गरेर समाजमा एउटा सकारात्मक अनुभव दिनु हो । जसले उनीहरूको जीवनमा केही न केही सानोतिनो भए पनि सुधार होस् । अरू सबै छाड्दिनुस्, उनीहरूको एक घण्टालाई सुधार गरिदिनुस्, त्यो पनि समाज सेवा नै हो ।

त्यसोभए समाज सेवा गर्नलाई पैसै चाहिन्छ भन्ने हो ?
समाज सेवा गर्नलाई पैसा नै चाहिँदैन, समय दिए पनि हुन्छ । पैसा दिनुपर्दैन । किन पैसा दिनुपर्या ? अब तपाईं, म, हामी चार-पाँच जना गएर कुनै फोहोर भएको ठाउँ सफा गरिदिने हो भने त्यो पनि समाज सेवा नै हो ।
पछिल्लो पटक गोल्यान ग्रुप सामाजिक उत्तरदायित्वमा एक कदम अगाडि देखिएको छ । यसलाई कसरी लिनुहुन्छ ?
हामी आफैंलाई हेरेर यसमा काम गरिरहेका छौं । हाम्रो जे जिम्मेवारी छ, जुन भित्रबाट आउँछ त्यो चाहिँ हामी गर्ने नै हो । हामी मानवताका लागि सामूहिक रूमा अगाडि बढ्नुपर्छ । तपाईं एक्लै एउटा बाटो हिँडेर, म अर्को बाटो हिँडेर चाहिँ लक्ष्यमा पुगिँदैन । हामीले समाज र देशलाई जोडेर अगाडि बढ्नुपर्छ ।
प्रतिक्रिया 4