News Summary
Generated by OK AI. Editorially reviewed.- लेखकले चरिकोटको विगतको अर्गानिक सुन्दरता र वर्तमान कंक्रिट सहर बनेको अवस्था तुलना गर्दै व्यवस्थापन अभावले वातावरण बिग्रिएको बताएका छन्।
केही घरमात्र छन् चरिकोटमा,
बनमारे, चुत्रो–ऐँसेलुका केही पोथ्राहरू र खुल्ला चौर । म उकालै– उकालो सातदोबाटो चोकबाट सिमपानी तिर लम्की रहेको थिए । साँझको समय, हल्का हिमपातले मौसम सुरम्य लाग्दथ्यो । पहेँलो ऐँसेलुमा हिउँका भुवादार छिर्का पर्दा साँझको सूर्यास्तको प्रकाश थप उज्यालो बनेको थियो ।
बास बस्न पैँयू र दुधिलोका रुखतिर उड्दै गरेका चराको चिरविर आवाजले संगीतको नयाँ धुन गुन्जिएको थियो । मनमौजी मनका स्वतन्त्र विचरणले शरीरमा नयाँ स्फूर्ति भरेको थियो ।
म निर्धक्क थिएँ । न कसैको भय, न कुनै चिन्ता र आक्रोश ।
00 00 00
युजि (मेरो घरको कुकुर) को आवाजले ब्यूँझिएँ । मैले सपनामा चरिकोटको विगतका सौन्दर्य नियालिरहेको थिएँ । सपनाको त्यो सुमधुर पल ४०÷४५ वर्ष अघिको मेरो जीवनका अनमोल समय थिए । त्यतिबेला म स्वतन्त्र थिएँ, निर्धक्क थिएँ । चरिकोट सुन्दर र अर्गानिक थियो ।
हरेक मानिसले सपना देख्छन् । केही सपना बिहानीको ब्यूझाइसँगै विलिन हुन्छन्, केही सपना मानसपटलमा धेरै लामो समयसम्म रहिरहन्छ । मेरो मानसपटलमा रहने हरेक सपना अतीतका सुखद् पलसँग जोडिएका हुन्छन् । म जतिबेला आमासँग आस्रित थिएँ, मेरा हरेक पल सुखद् थियो । न चिन्ता, न कुनै डर र अपेक्षा ! त्यतिबेला चरिकोट पनि अर्गानिक थियो ।
दुबोका चौर, ऐँसेलु, घङ्गारु र चुत्रोका पोथ्राहरू । चम्किलो गौरीशंकरको उज्यालोमा कालिञ्चोक, शैलुङ र चेर्दुङको पहाडले सुन्दरता छरेको सुन्दर चरिकोट । हो मेरो हरेक सपनामा त्यही चरिकोट आइरहन्छ । बारम्बार– हरेकबार ।
00 00 00
सपना जीवनका अनुभूतिहरूको प्रकटीकरण हो । जीवनका सुन्दर–पीडादायी पलहरू उक्लँदै–ओर्लँदै निरन्तर अघि बढिरहन्छन् । सपनीले अतीतका ती पलहरूलाई पुर्नताजगी गरिदिन्छ । जहाँ पीडाको रोदन र खुसीका उमंगहरू निर्धक्कै महसुस गर्न सकिन्छ।
सपनीमा आमाको स्मृति र चरिकोटको प्रकृति बीचको तादम्यता अनौठो लाग्छ । आमा आउँदिनन् सपनीमा खासै । उनी मलाई दु:खी देख्नै चाहन्नन् । उनको आगमन पछिको मेरो ब्यूँझाइले पीडा थपिदिन्छ भन्ने उनलाई हेक्का छ । जुनकुरा उनी चाहन्नन्, त्यसैले सपनीमा आउँदिनन् । तर उनको स्मृति मेरो हरेक सपनीको पृष्ठभूमि बनेर रुमल्लिरहेको हुन्छ ।
चरिकोटका ती प्रत्येक पलहरू, जहाँ हिउँका भुवादार छिर्काले मलाई रोमाञ्चित गरिरहेको हुन्थ्यो । ती पलहरू, आमाको न्यानो मायामा मैले बेथित गरिरहेको हुन्थे । अबत, ती पलहरूमा एक्लै बिताइरहेको हुन्छु सपनीमा पनि, किनभने मेरी आमा सपनीमा आउँदिनन् । अहँ ! आउँदै आउँदिनन् ।
आमाको काख र प्रत्येक्ष निगरानीमा दौडने जिन्दगी कति भाग्यमानी ।
म पनि अभागी चाहिँ हैन । जन्म र कर्म दिने आमाहरू क्षितिज पारी कतैबाट मेरै निगरानीमै त हुनुहुन्छ नि । त्यसैले आमाको स्मृति मेरो हरेक सपनीको पृष्ठभूमि हो । अनि चरिकोटका लागि हिउँका भुवादार छिर्काहरू पनि सपनी नै भएका छन् । यर्थाथमा चरिकोट कृतिम सुन्दरतासँग नतमस्तक छ ।
00 00 00
अहिले त चरिकोट कहाँ अर्गानिक छ र ! कंक्रिटको जंगल बनेको चरिकोट सफाई र व्यवस्थापनको अभावले कुरुप बन्ने भयमा आतंकित छ । अब त गौरीशंकरलाई चिहाउन कि घरका छतहरू उक्लनुपर्छ कि चरिघ्याङ र सिमपानीसम्म दौडनुपर्छ ।
मानिसको खलबल र सवारी साधनका ट्याँट्याँ, टुँटुँले कोलाहलमय छ ।
चरिकोटमा हिमपातको त कल्पनै नगरौँ । उतिबेला पुस, माघको महिनामा फल्याकको छानो भएको घरमा हप्तौ हिँउ टल्किन्थे । बलेसी र बारीका कुनाकाप्चामा हप्तौ हिँउको रास देखिन्थ्यो । यी सबै एकादेशको कथा भएको छ ।
केही वर्षपछि कालिञ्चोक, शैलुङ, खरिढुङ्गा, मूडे र हनुमन्ते डाँडामा पनि हिउँ नदेखिने हो कि ? हुन त क्रमशः हिमालहरू नै कालो हुँदै गएको खबर बेला-बेलामा पढ्न पाइएकै छ ।
गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढी विश्वव्यापी तापक्रम वृद्धिको पराकम्प थियो भन्ने कुरामा हामी सबै सहमत छौँ । तर, के यसको दोष अमेरिका, चीन, भारत जस्ता मुलुकहरूलाई दिएर मात्र समाधान निस्कन्छ र ! हरितगृह ग्यास उत्पादन हुनुमा यी मुलुकहरू मुख्य रुपमा दोषी छन्, त्यो सत्य हो । हामी यो मामलामा दोषी छैनौँ ।
त्यसो हुँदाहुदै पनि हामीले साना–साना कुरामा सचेतना अपनाउन नसक्दा पनि परिणाम भयंकर बनेको छ । त्यसैले विश्वव्यापी तापक्रम वृद्धिले निम्ताउने दैवी विपत्तिमा हरितगृह ग्यास उत्पादन गर्ने ठूला मुलुकहरूसँग क्षतिपूर्ति माग गरेर मात्र समाधान निस्कँदैन।
के चरिकोट बजारमा बढ्दै गएको कंक्रिट सहर विश्वव्यापी तापक्रम वृद्धिका लागि दोषी छैन ? चरिकोटको कंक्रिट सहरले अमेरिका, चीन, भारत जस्ता मुलुकलाई प्रभाव पार्दैन, यो सत्य हो । तर, के चरिकोटको वातावरणमा यो कारक बन्दैन र ?
कालिञ्चोकमा हरेक वर्ष हिमपातमा कमी हुँदै जानुको दोष हरितगृह ग्यास उत्पादन गर्ने मुलुकहरूलाई मात्र दिने कि त्यहाँ बढ्दै गएको फोहोर र अव्यवस्थित वस्ती पनि दोषी छन् ?
गाउँका खोला–खोल्सी, बारीको कान्ला र तथा पहाडमा पहिरो जानुको दोष पनि विश्वव्यापी तापक्रम वृद्धिलाई मात्र दिने ?
जथाभावी चलेका डोजर, प्राविधिक सल्लाहबिनै नालाविहीन खनिएका सडक, मापदण्डविपरीत नदीमा हुलिएका डोजर, यसका लागि दोषी छैनन् ? एकपटक विचार गरौँ त, दोष हाम्रै पनि धेरै छन् कि !
उतिबेलाको अर्गानिक चरिकोटमा धेरै कुरा नभए पनि व्यवस्थापन थियो । अहिलको विकसित चरिकोटमा धेरै कुरा छ, तर व्यवस्थापन छैन । हो यही कुरा विनासको कारक बन्दै गएको छ । चरिकोटमा मात्र हैन धेरै ठाँउमा चुत्रा, घङ्गारु, ऐँसेलुका बोट देख्न पाइँदैन । आफ्नो गतिमा बग्ने खोला–खोल्सीलाई घर र सडक बाधक बनेको छ सौ
अहिले चौरीको संख्यामा कमी आएको छ । सर्पहरू बाहिर निस्कने क्रम बेमौसमी बनेको छ । यो शुभ संकेत हैन । सिन्धुपाल्चोकको जुरेमा पहिरो आउनु अघि धेरै सर्पहरू बाहिर निस्किएको कुरा किस्साकै रुपमा भए पनि आसपासका मानिसले सुनाउने गरेका छन् ।
त्यसैले दोष जति विश्वव्यापी तापक्रम वृद्धिलाई दिएर हामी हाम्रै घरआगनको खोलाखोल्सी, पहाडी चुचुरा र नदीनालालाई अन्याय गरिरहने हो भने हरितगृह ग्यास उत्पादन गर्ने मुलुकहरूले प्राकृतिक विपत्तिमा मल्हम लगाउन पठाउने सहयोग मृत्युको मलामी भन्दा बढी केही हुन सक्दैन ।
00 00 00
मैले सुरुमा सपनाको प्रंसग उल्लेख गरेको थिएँ । त्यो मेरो विगतका भोगाइको संस्मरण हो । म त्यो विगतलाई अब प्रत्येक्ष अनुभूत गर्न सक्दिनँ । त्यो विगतलाई सपनामा अनुभूत गर्दै संस्मरणमा ताजा बनाई राख्ने मात्र हो ।
विकास समय र आवश्यकताअनुसार अघि बढ्छन् । अघि बढाउनै पनि पर्छ । कालिञ्चोकमा सडक पुग्नै हुन्न, वस्ति बस्नै हुन्न भन्ने मान्यता गलत हुन्छ । तर, विचारणीय कुरा के भने सडक र वस्ती कालिञ्चोकतिर दौडिरहँदा त्यसले पार्ने नकारात्मक प्रभावको पनि अध्यन हुनुपर्छ । अनि नकारात्मक प्रभाव न्युनिकरणसंगै सडक र वस्तीलाई विस्तार गर्नुपर्छ । अर्थात विकाससँगै व्यवस्थापन पनि दौडनुपर्छ ।
स्वीटरजरल्याण्डमा प्रयाप्त विकास भएका छन् । त्यो विकास प्रकृतिसँग द्वन्द्व गरेर हैन सहकार्य गरेर अघि बढेको छ । हाम्रो देशमा भने विकासले सबै ठाँउमा प्रकृतिसँग द्वन्द्वमात्र गरेको देखिन्छ । त्यही भएर बेलाबेलामा प्रकृतिले ताण्डव देखाउने गरेको छ ।
नेपालका धेरै भूमि प्राकृतिक सुन्दरताले भरिएका छन् । ती सुन्दर भूमिमा समय क्रमको विकास दौडिरहँदा अर्गानिक विशेषता कायमै राख्ने प्रविधि पनि त दौडाउन सकिन्छ होला नि ! आधुनिकताले विनाशकारी विकासमात्र भित्राउँछ भन्ने सोच पाल्ने मानसिकता गलत छ । अर्गानिक प्रकृतिलाई आधुनिक ढाँचा मात्र दिनेगरी पनि विकासे दौड अघि बढाउन सकिन्छ ।
सहरीकरणमा कंक्रिटलाई हैन प्रकृतिलाई प्राथामिकतामा राखौँ । एउटा घर बनाउदा सँगै कमसेकम एक जोडी रुख रोपौँ । सडक विस्तारमा नाला र वृक्षारोपण पनि जोडिएर आउन । डोजरको प्रयोग प्रकृतिको बनावट र आवश्यकताको आधारमा मात्र अनुमति योग्य बनोस् । खोलाखोल्सी आफ्नो गति र गन्तव्यमा अघि बढ्न सकुन, त्यहाँ कुनै घर र सडक बाधक नबनुन् ।
अब चरिकोटमा तीब्र गतिको हिमपात सम्भव छैन । कमसेकम कालिञ्चोक, शैलुङ, खावाडाँडा, मुडे र खरीढुङ्गामा पुस माघतिर हिउँका भुवादार छिर्काहरूले मानिसलाई स्मर्श गर्ने हिम्मत राखोस् ।
अझै धेरै वर्ष लप्ची र विगुका गुम्बा हिउँले सेताम्य बनुन् । च्छो–रोल्पा हिमताल विष्फोटको त्रासले तामाकोशी किनारका बासिन्दा अनिदो बस्नु नपरोस् ।
प्रतिक्रिया 4