काठमाडौं । टोखा नगरपालिका–१, झोरस्थित महाँकाल माध्यमिक विद्यालयमा तामाङ भाषा पठनपाठन सुरु गरिएको छ। मातृभाषा, लिपि, संस्कार र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा भाषाप्रतिको रुचि बढाउने उद्देश्यले शुक्रबार आयोजित कार्यक्रममा शुभकामना आदानप्रदानसँगै विद्यार्थीलाई विद्यालय झोलासमेत वितरण गरिएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश्वर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी प्रमुख अतिथि थिए। कार्यक्रममा उपप्रमुख मुरारी तामाङ, वडा नं. ७ का अध्यक्ष नरोत्तम राना, नेपाल तामाङ घेदुङका संघीय उपमहासचिव एवं भाषा समन्वय प्रमुख बिलाम मुक्तान, घेदुङका ऊर्जा तथा वातावरण विभाग प्रमुख शशिकर लामा, प्रदेश प्रतिनिधि, पालिका अध्यक्ष, स्थानीय समाजसेवी, शिक्षक, अभिभावक र विद्यार्थी सहभागी थिए।
कार्यक्रममा नगरप्रमुख प्रकाश अधिकारीले भाषा, संस्कार र संस्कृति हरेक समुदायका अमूल्य गहना भएको बताए। मातृभाषा संरक्षण सबैको साझा दायित्व भएको उल्लेख गर्दै उनले सुरु गरिएको भाषा शिक्षालाई निरन्तरता दिएर निर्धारित लक्ष्यमा पुग्नुपर्नेमा जोड दिए।
उपप्रमुख मुरारी तामाङले मातृभाषा समुदायको पहिचानको महत्त्वपूर्ण आधार भएको बताए। नयाँ पुस्ताले मातृभाषा बोल्न छोड्दै जानु र मौलिक भाषा लोप हुने अवस्थामा पुग्नु चिन्ताको विषय भएको उनको भनाइ थियो। विद्यालयमा तामाङ भाषा पढाउन थाल्नु संरक्षणको दिशामा महत्त्वपूर्ण कदम भएको उल्लेख गर्दै उनले बालबालिकालाई सानैदेखि मातृभाषा सिक्ने वातावरण बनाउनुपर्ने बताए।
नेपाल तामाङ घेदुङका संघीय उपमहासचिव एवं भाषा समन्वय प्रमुख बिलाम मुक्तानले मातृभाषा शिक्षालाई घरपरिवार र समुदायसँग जोडेर अघि बढाउनुपर्ने बताए। उनले भाषा सिकाउने शिक्षकको भूमिकालाई आमासँग तुलना गर्दै विद्यालयमा तामाङ भाषा शिक्षिकाका रूपमा कार्यरत शान्त तामाङको योगदानको प्रशंसा गरे।
“बच्चाले सबैभन्दा पहिले आमाबाट भाषा सिक्छ। त्यसैले भाषा पढाउने शिक्षिका शान्त तामाङ यस विद्यालयकी आमा हुनुहुन्छ। उहाँले विद्यार्थीलाई तामाङ भाषा सिकाउनु भनेको आफ्ना सन्तानलाई मातृभाषा सिकाएजस्तै हो। भाषा सिकाउनु भनेको शब्द र वाक्य सिकाउनु मात्र होइन, आफ्नो पहिचान, इतिहास, संस्कार र संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्नु पनि हो,” मुक्तानले भने।
उनले नेपाल तामाङ घेदुङले तामाङ भाषा, लिपि र मातृभाषामा शिक्षाको विस्तारका लागि लामो समयदेखि अभियान सञ्चालन गर्दै आएको पनि बताए।
तामाङ भाषा शिक्षिका शान्त तामाङले मातृभाषा बोल्न छोड्नु आफ्नै संस्कार र संस्कृति बिर्सनुसरह भएको बताइन्। मातृभाषाप्रतिको जिम्मेवारीबोधले आफू भाषा सिक्ने र सिकाउने अभियानमा लागेको उल्लेख गर्दै उनले नयाँ पुस्तालाई आफ्नै भाषामा बोल्न, पढ्न र लेख्न सक्षम बनाउने उद्देश्यले अध्यापन गराउने बताइन्। भाषा संरक्षण अभियानमा सहयोग र सहजीकरण गरेकोमा उनले नेपाल तामाङ घेदुङप्रति आभार व्यक्त गरिन्।
कार्यक्रममा टोखा नगरपालिका–७ को सौजन्यमा विद्यार्थीलाई विद्यालय झोला वितरण गरिएको थियो। शैक्षिक सामग्रीले विद्यार्थीलाई अध्ययनमा प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रमका सहभागीले मातृभाषामा शिक्षाले बालबालिकालाई आफ्नो पहिचान, इतिहास र सांस्कृतिक सम्पदाबारे ज्ञान दिनुका साथै समुदायसँगको सम्बन्ध बलियो बनाउने बताए। भाषा संरक्षणलाई विद्यालयको पाठ्यक्रममा मात्र सीमित नराखी घरपरिवार र दैनिक व्यवहारमा समेत प्रयोग गर्नुपर्नेमा उनीहरूले जोड दिए।
विद्यालयमा तामाङ भाषा पठनपाठन सुरु भएसँगै मातृभाषा संरक्षणको नयाँ पहल अघि बढेको छ। यसको प्रभावकारिता र निरन्तरताका लागि स्थानीय तह, विद्यालय, शिक्षक, अभिभावक र नेपाल तामाङ घेदुङबीच सहकार्य आवश्यक देखिएको छ।
प्रतिक्रिया 4