+
+
Shares

तामाङ भाषा तथा लिपि संरक्षण गर्नु राज्यको दायित्व : मुख्यमन्त्री बानियाँ

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लोकतन्त्र, संघीयता र समावेशी व्यवस्था सबै जातजाति र भाषाभाषीको पहिचान संरक्षण गर्ने माध्यम भएको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३१ गते ८:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लोकतन्त्र र संघीयता सबै जातजाति तथा भाषाभाषीको पहिचान र अस्तित्व जोगाउने मुख्य माध्यम भएको बताएका छन्।
  • मुख्यमन्त्री बानियाँले भाषा, संस्कृति र परम्पराको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नु राज्यको दायित्व भएको कुरा कार्यक्रममा उल्लेख गरे।
  • तामाङ पत्रकार संघले ३२औँ तामाङ प्रसारण दिवसका अवसरमा पत्रकार शान्ति तामाङ र जयराम मुक्तानलाई पत्रकारिता पुरस्कार प्रदान गरेको छ।

३१ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लोकतन्त्र, संघीयता र समावेशी व्यवस्था सबै जातजाति र भाषाभाषीको पहिचान संरक्षण गर्ने माध्यम भएको बताएका छन् ।

३२औँ तामाङ प्रसारण दिवसका अवसरमा तामाङ पत्रकार संघ, बागमती प्रदेश समितिले शनिबार हेटौंडामा आयोजना गरेको अन्तरक्रिया तथा पुरस्कार वितरण समारोहमा बोल्दै मुख्यमन्त्री बानियाँले भाषा, लिपि, संस्कृति, परम्परा र संस्कारको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नु राज्यको दायित्व भएको बताए।

‘लोकतन्त्र, संघीयता र समावेशी व्यवस्था भनेको सबै जातजाति र भाषाभाषीको एउटा पहिचान हो,’ उनले भने, ‘आफ्नो जातको लिपि, संस्कृति, परम्परा र संस्कारलाई जगेर्ना, संरक्षण र आउने पुस्तामा हस्तान्तरण गर्नु आवश्यक छ।’ उनले गणतन्त्र र संघीयताको मूल मर्म नै सबै जातजातिको प्रतिनिधित्व, अस्तित्व र समावेशी सहभागिता रहेको बताए।

बागमती प्रदेश सरकारले तामाङ र नेपाल भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा अघि बढाएको उनको भनाइ थियो।

दुई तामाङ पत्रकारलाई पत्रकारिता पुरस्कार

३२औँ तामाङ प्रसारण दिवसका अवसरमा तामाङ पत्रकार संघ, बागमती प्रदेश समितिले दुई पत्रकारलाई पत्रकारिता पुरस्कार प्रदान गरेको छ।

‘क्षेमबहादुर–राजकुमार बानियाँ स्मृति पत्रकारिता पुरस्कार–२०८३’ नयाँ पत्रिका दैनिकमा कार्यरत धादिङकी शान्ति तामाङलाई प्रदान गरिएको हो । पुरस्कारमा नगद १५ हजार १ सय रुपैयाँ रहेको छ। यो पुरस्कार बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँका पिता स्वर्गीय क्षेमबहादुर बानियाँ र दाजु स्वर्गीय राजकुमार बानियाँको स्मृतिमा स्थापना गरिएको हो।

त्यस्तै, ‘आइते सिंह–बुद्धिमाया रुम्बा स्मृति तामाङ पत्रकारिता पुरस्कार–२०८३’ नमस्ते मनहरी डटकममा कार्यरत तथा तामाङ पत्रकार संघ मकवानपुरका अध्यक्ष जयराम मुक्तानलाई प्रदान गरिएको छ।

पुरस्कारको राशि १० हजार १ सय रुपैयाँ रहेको छ। उक्त पुरस्कार तामाङ पत्रकार संघका संघीय सदस्य राजेश रुम्बा लामाका स्वर्गीय बुबा आइते सिं रुम्बा र आमा स्वर्गीय बुद्धिमाया रुम्बाको स्मृतिमा स्थापना गरिएको हो।

पुरस्कृत दुवै पत्रकारलाई कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री बानियाँले पुरस्कार तथा सम्मान प्रदान गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?