News Summary
Generated by OK AI. Editorially reviewed.- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जात, धर्म र पहिचानको नाममा राजनीति गर्ने प्रवृत्ति त्यागेर मानवतामा आधारित राजनीति गर्नुपर्नेमा जोड दिए।
- उनले गणतन्त्र स्थापनापछि सबै जाति र समुदायले समान अधिकार प्राप्त गरेको उल्लेख गर्दै अब अधिकारको मागभन्दा कर्तव्यको प्रभावकारी व्यवस्थापनतर्फ ध्यान दिनुपर्ने बताए।
- उनले समावेशिता र समानुपातिक प्रतिनिधित्व संविधानले सुनिश्चित गरेको र पहिचानको राजनीति विभाजनकारी ढंगले प्रयोग गर्न नहुने स्पष्ट गरे ।
५ चैत, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जात, धर्म र पहिचानको नाममा राजनीति गर्ने प्रवृत्ति त्यागेर मानवतामा आधारित राजनीति गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ राष्ट्रिय महाधिवेशनलाई बिहीबार काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले मुलुकमा गणतन्त्र स्थापना भएसँगै सबै जाति र समुदायले समान अधिकार प्राप्त गरेको जिकिर गरे ।
गणतन्त्र स्थापनापछि जनजाति, मधेशी, मुस्लिम, महिला तथा खस आर्य लगायत सबै समुदायले अधिकार प्राप्त गरेको उल्लेख गर्दै उनले अब अधिकारको मागभन्दा कर्तव्यको प्रभावकारी व्यवस्थापनतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।
उनले समावेशिता र समानुपातिक प्रतिनिधित्व संविधानले सुनिश्चित गरिसकेको भन्दै पहिचानको राजनीति संस्कृति, परम्परा र अस्तित्व जोगाउनका लागि आवश्यक भए पनि विभाजनकारी ढंगले प्रयोग गर्न नहुने बताए ।
उनले सशस्त्र द्वन्द्वकालीन सन्दर्भ उल्लेख गर्दै त्यस समयमा जातीय पहिचानभन्दा माथि उठेर सेना, प्रहरी र सर्वसाधारण नागरिकको ज्यान गएको स्मरण गराए ।
उनले भने, ‘जातको पहिचान, जातको अस्तित्व समावेशी र समानुपातिक प्रतिनिधित्व यो संविधानले सुनिश्चित गरेको हो । त्यसैले अब हामीले सधैं अधिकारको लडाईं लड्ने होइन, कर्तव्यको व्यवस्थापन गरेर जाने हो ।’
सबै वर्ग र समुदायको अधिकारको कार्यान्वयनसँगै मुलुकको समृद्धिका लागि एकताबद्ध भएर अघि बढ्नुपर्ने आजको आवश्यकता रहेको उनको भनाइ छ ।
प्रतिक्रिया 4