५ चैत, काठमाडौं । चीनले लामो समयदेखि सम्भावित तेल संकटको सामना गर्न तयारी गर्दैआएको थियो । तैपनि पश्चिम एसियाको युद्धले सिर्जना गरेको ऊर्जा संकटले चीनको दृढताको परीक्षा लिइरहेको छ ।
इरानले स्ट्रेट अफ होर्मुजबाट गुज्रिने जहाजहरूमाथि आक्रमण गर्ने धम्की दिएपछि मध्यपूर्वबाट हुने ऊर्जा आपूर्ति ठप्प भएको छ । इरानले यो नाकाबन्दी अमेरिका र इजरायलले गरेका आक्रमणको जवाफमा लगाएको हो ।
यस नाकाबन्दीका कारण विश्वव्यापी तेल आपूर्तिमा संकट उत्पन्न भएको छ, जसले खाडी मुलुकमा निर्भर एसियाली देशहरूलाई नराम्ररी प्रभावित पारेको छ ।
इन्धन बचत गर्न फिलिपिन्सले हप्तामा चार दिन मात्र काम गर्ने प्रणाली लागु गरेको छ । इन्डोनेसियाले आफ्नो सीमित भण्डार छिट्टै सकिनबाट जोगाउने उपाय खोजिरहेको छ ।
यस्तोमा विश्वको सबैभन्दा ठुलो तेल खरिदकर्ता चीनले पनि दबाब महसुस गरिरहेको छ । तर, आफ्ना छिमेकी देशहरूको तुलनामा चीनको अवस्था राम्रो छ । किनभने उसले वर्षौँदेखिको नीतिमार्फत आफूलाई कुनै पनि सम्भावित ऊर्जा संकटका लागि तयार पारेको छ ।
परीक्षाको घडीमा चीन
ऊर्जा संकटले विश्वको अर्थतन्त्रमा अस्थिरता पैदा गरेपछि तेलको मूल्य पटक-पटक बढेर प्रतिब्यारल १२० डलरसम्म पुगेको छ । ढुवानी र ऊर्जा पूर्वाधारमा भएका आक्रमण भएका छन् ।
इरानले विश्वकै सबैभन्दा व्यस्त तेल परिवहन मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा नाकाबन्दी लगाएपछि यो अवस्था सिर्जना भएको हो । अमेरिकी ऊर्जा सूचना प्रशासन (इआइए) का अनुसार विश्वको करिब २० प्रतिशत तेल यही मार्ग भएर जान्छ ।
आपूर्ति ठप्प भएपछि देशहरूले खाडीको विकल्पमा कच्चा तेलका वैकल्पिक आपूर्तिकर्ता खोजिरहेका छन् । कतिपय देशले आफ्नो सञ्चित भण्डार प्रयोग गरिरहेका छन् ।
विश्लेषकहरूले बीबीसीलाई बताएअनुसार अमेरिकापछि विश्वको दोस्रो ठुलो तेल उपभोक्ता चीनले दैनिक करिब १.५ देखि १.६ करोड ब्यारल तेल प्रयोग गर्दछ । चीनको ठुलो यातायात सञ्जाल कार, ट्रक र हवाई जहाजमा त्यो तेल प्रयोग हुन्छ । चीनले प्रयोग हुने तेलको ठुलो हिस्सा विदेशबाट आयात गर्दछ । इआइएका अनुसार चीनमा तेलका ठुला आपूर्तिकर्ता खाडी मुलुकहरू नै हुन् । साउदी अरबिया र इरानबाट आउने तेलले मात्रै चीनको कुला आयातमा १० प्रतिशतभन्दा बढी हिस्सा ओगट्छ ।

इरान र मध्यपूर्वबाट दक्षिण चीन सागर हुँदै आउने कच्चा तेल कारखाना र यातायातका लागि इन्धनको रूपमा प्रयोग गरिन्छ । चीनको दक्षिणी भागमा यसको खपत हुन्छ ।
चीनले उत्तरी भागमा मुख्यतया आन्तरिक उत्पादन र रुसबाट पाइपलाइनमार्फत आउने तेलले आपूर्ति दिन्छ । यहीकारण मध्यपूर्वको युद्धले चीनको उत्तरी भागको आपूर्तिमा प्रभाव पारेको छैन ।
अमेरिका र युरोपको प्रतिबन्धका बाबजुत पनि रुस चीनको सबैभन्दा ठुलो तेल आपूर्तिकर्ताका रूपमा कायम रहेको छ । कोइला पनि चीनको विद्युत् उत्पादनको प्रमुख स्रोत हो र यो देशमा ठुलो मात्रामा उपलब्ध रहेको छ ।
चीन विश्वको सबैभन्दा ठुलो कोइला उत्पादक राष्ट्र हो र विश्वव्यापी उत्पादनको आधाभन्दा बढी हिस्सा उसकै नियन्त्रणमा रहेको छ ।
चीनको कुल ऊर्जा मिश्रणमा तेल र ग्यासको अंश केवल एक चौथाइभन्दा केही बढी मात्र छ । यसले चीन युरोप र अमेरिकाको तुलनामा यी संसाधनहरूमा कम निर्भर रहेको देखिन्छ ।
मुस्किल समयको पूर्वतयारी
स्याक्सो बैंकका कमोडिटी स्ट्रेटेजी प्रमुख ओले हेन्सनका अनुसार चीनले विगतमा कच्चा तेलको कम मूल्य र खाडी मुलुकबाट हुने प्रचुर आपूर्तिको फाइदा उठाएर विश्वकै सबैभन्दा ठुलोमध्येको एक तेल भण्डार तयार गरेको छ ।
चीनको भन्सार प्रशासनको तथ्याङ्कअनुसार यस वर्षको जनवरी र फेब्रुअरीमा मात्रै बेइजिङले गत वर्षको सोही अवधिको तुलनामा १६ प्रतिशत बढी कच्चा तेल खरिद गरेको छ ।
चीनका लागि इरान सस्तो कच्चा तेलको महत्त्वपूर्ण आपूर्तिकर्ता रहँदै आएको छ । विभिन्न प्रतिवेदनका अनुसार चीनले इरानको कुल तेल निर्यातको ८० प्रतिशतभन्दा बढी हिस्सा खरिद गर्ने गर्दछ ।
पछिल्लो युद्ध सुरु भएपछिको जहाज ट्रयाकिङ डाटाले यो तेलको केही हिस्सा अझै पनि चीन पुगिरहेको देखाउँछ । यद्यपि चीनको कुल भण्डारको आकारलाई लिएर विश्लेषकहरू बीच मतभेद छ।
ट्रेड एनालिटिक्स समूह ‘केप्लर’का अनुसार ४.६ करोड ब्यारलभन्दा बढी इरानी कच्चा तेल दक्षिण चीन सागरमा ट्यांकरहरूमा मौज्दात छ, जुन धेरै दिनको ऊर्जा आवश्यकता पूरा गर्न पर्याप्त छ ।
हेन्सनका अनुसार चीनले करिब ९० करोड ब्यारलको भण्डार जम्मा गरिसकेको छ, जुन लगभग तीन महिनाको आयात बराबर हो ।
चिनियाँ सरकारी सञ्चारमाध्यमले कोलम्बिया विश्वविद्यालयको तथ्यांकलाई उद्धृत गर्दै चीनसँग करिब १.४ अर्ब ब्यारल पेट्रोल भण्डार रहेको भनेका छन् ।
यति ठूलो परिमाणले कुनै पनि संकटको समयमा एउटा ‘बलियो सुरक्षा कवच’ को काम गर्दछ । आफ्नो भण्डारको बाबजुत पनि, बेइजिङले निकट भविष्यमा आपूर्तिको व्यवस्थापनलाई लिएर सतर्कताका संकेत दिएको छ ।
चिनियाँ अधिकारीले घरेलु मूल्यलाई नियन्त्रणमा राख्न तेल रिफाइनरीलाई हाल इन्धन निर्यात रोक्न निर्देशन दिएका छन् । यस विषयमा चीन सरकारले कुनै जवाफ दिएको छैन ।
आत्मनिर्भरमा चीनको प्रयास
चीन स्वच्छ ऊर्जाको क्षेत्रमा ग्लोबल लिडर बनिसकेको छ र उसले देशभरि तीव्र गतिमा वायु तथा सौर्य ऊर्जा आयोजना विकास गरिरहेको छ ।
सन् २०२४ मा मात्रै वायु, सौर्य र जलविद्युतबाट चीनले आफ्नो कुल उत्पादनको एक तिहाइभन्दा बढी बिजुली उत्पादन गरेको थियो । यही प्रगतिपछि सन् २०२४ मा चीनको कुल ऊर्जा खपतमा कच्चा तेलको हिस्सा २० प्रतिशतमा झरेको थियो । त्यसपछि पनि नवीकरणीय ऊर्जा सञ्जाललाई थप विस्तार गरेको छ ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार चीनमा भविष्यमा तेलको मागमा पुन: ठुलो वृद्धिको सम्भावना छैन ।
ऊर्जा अर्थशास्त्री रोजर फुकेका अनुसार नवीकरणीय ऊर्जातर्फ चीनको महत्त्वाकांक्षी परिवर्तन वातावरणका लागि मात्र नभई विश्वव्यापी जोखिमबाट अर्थतन्त्र जोगाउन उसलाई मद्दत गरेका छन् ।
‘चीन केही हदसम्म भाग्यमानी छ । उसले २५ वर्षअघि नै नवीकरणीय ऊर्जामा लगानी सुरु गरेको थियो र अहिले त्यसको फाइदा उठाइरहेको छ,’ फुकेले भन्छन् ।
सिड्नी विश्वविद्यालयका रोक सीले चीनमा बिक्री हुने नयाँ कारको कम्तीमा एक तिहाइ हिस्सा विद्युतीय रहेकाले त्यसले तेलमाथिको निर्भरता कम गर्न मद्दत गरिरहेको बताए । उनले भने, ‘यसको अर्थ चीनमा विद्युतीय सवारी साधन चलाउने व्यक्ति मध्यपूर्वमा तनाव बढ्दा पेट्रोलको मूल्यबाट खासै प्रभावित हुँदैन । उ अन्तर्राष्ट्रिय तेल बजारबाट अलग भइसकेको छ ।’

यद्यपि चिनियाँ अर्थतन्त्र तेल आपूर्तिको झट्काबाट पूर्ण रूपमा सुरक्षित भइसकेको मान्न भने नसकिने जानकारहरूले बताएका छन् । ऊर्जा संकटले इन्धनको मूल्य बढ्दा विद्युतीय सवारी साधनको चार्जिङ लागत पनि बढ्नसक्ने विज्ञको भनाई छ । –बीबीसी हिन्दीबाट
प्रतिक्रिया 4