३० कात्तिक, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संघीय लोकतान्त्रिक गणतन्त्र नै उत्तम व्यवस्था भएको बताएका छन् ।
बागमती प्रदेश सरकारले आइतबार आयोजना गरेको संघीय लोकतान्त्रिक गणतन्त्र: चुनौती र अवसर अन्तरसंवाद कार्यक्रमका उनले यस्तो बताएका हुन् । गणतन्त्र गरिब जनताको छोरो पनि राष्ट प्रमुख बन्न पाउने व्यवस्था भएको उनको भनाइ छ ।
व्यक्ति बदल्न पाउने, दल बदल्न पाउने, मन लागेको पार्टीलाई भोट हाल्न पाउने, मन लागेको उम्मेद्वारलाई भोट हाल्न पाउने यो भन्दा सुन्दर व्यस्वथा यो दुनियाँमा अरु नभएको उनको भनाइ छ ।
नेपालको वर्तमान संविधानले समावेशी, समानुपातिक र सबैको प्रतिनिधित्वलाई स्वीकार गरेको उल्लेख गरे ।
‘व्यक्ति बदल्न पाउने, दल बदल्न पाउने, मन लागेको पार्टीलाई भोट हाल्न पाउने, मन लागेको उम्मेद्वारलाई भोट हाल्न पाउने यो भन्दा सुन्दर व्यवस्था यो दुनियाँमा अरु छ जस्तो मलाई लाग्दैन,’ मुख्यमन्त्री बानियाँले भने, ‘यो समावेशी छ, समानुपातिक छ, सबैको प्रतिनिधित्वलाई स्वीकार गरेको छ । सबै वर्ग, समुदाय, सबै भाषाभाषी, सबैको धर्म संस्कृतिको सबैलाई यो व्यवस्थाभित्रको संविधानले समेटेको छ ।’
यद्यपि संविधानमा भएको केही व्यवस्थाका कारण अस्थिरता भने आइरहेको उनको भनाइ छ ।
अस्थिर र बढ्दो भ्रष्टाचारका कारण भदौ २२ र २३ गते अकल्पनीय जेन–जी विद्रोहको सामाना गर्नुपरेको उनले जिकिर गरे ।
‘भदौ २२ र २३ गते अकल्पनीय प्रकोप आयो, यो चाहीँ अप्राकृतिक प्रकोप भयो । अहिले यत्रतत्र कुरा आईरहेको छ, जेनजी पुस्ताको पीडा थियो । मुलुक बनेन, सोचेको अनुसार अगाडि बढेन । लामो समय नेतृत्व उस्तै उस्तै अनुहार । परिवर्तन नेतृत्वको न देशको । देशको परिवर्तन भए नेतृत्व उही भएनी केही फरक थिएन होला,’ उनले भने ।
सोचेअनुसारको मुलुक नबनेकोप्रति सबै चिन्तित बनेको उल्लेख गर्दै उनले लामो समयदेखि उस्तै नेतृत्व र अनुहारले देश चलाउँदा परिवर्तन नभएको उनको भनाइ छ ।
‘जेनजी पुस्तालाई सामाजिक सञ्जालदेखि लिएर भ्रष्टाचारको कुराले धेरै पिरलेको थियो । हामी सबैलाई पनि थियो तर त्यो किसिमको परिस्थिति कुनै दलको नेताले या दलले त्यसलाई ठिक ढंगले ठिक तरिकाले आवाज उठाउँदै गरेतापनि परिणाम नआएपछि, परिमाण र कुरा संगसंगै गरेर जेनजी पूस्ताले द्रुत गतिमा आफ्ना कुराहरुलाई राख्दा जुन किसिमको परिस्थिति निर्माण भयो, त्यसले नयाँ सरकार अहिले बनेको अवस्था छ,’ उनले भने ।
प्रतिक्रिया 4