News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारी कामकाजमा तामाङ र नेपाल भाषाको प्रयोग विस्तारका लागि बागमती प्रदेशका ६ जिल्लामा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ ।
- नेपाल तामाङ घेदुङ र नेवा देयः दबूको समन्वयमा सञ्चालित अभियानमा स्थानीय जनप्रतिनिधि, कर्मचारी र भाषा अभियन्ताहरूको सहभागिता रहेको थियो ।
- अभियानले मातृभाषालाई सरकारी सेवा प्रवाह, सूचना प्रणाली, अभिलेख व्यवस्थापन र शिक्षासँग जोड्दै लैजानुपर्ने आवश्यकता औंल्याएको छ ।
२५ जेठ, काठमाडौं । सरकारी कामकाजमा तामाङ र नेपाल भाषाको प्रयोग विस्तारका लागि बागमती प्रदेशका ६ जिल्लामा अभिमुखीकरण अभियान सञ्चालन गरिएको छ ।
सिन्धुपाल्चोक, काभे, धादिङ, नुवाकोट, चितवन र सिन्धुलीका जनप्रतिनिधि तथा कर्मचारीहरूसँग यी दुई भाषाबारे अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो ।
‘भाषिक अधिकारको कार्यान्वयन, मातृभाषाको संरक्षण र सरकारी कामकाजमा स्थानीय भाषाको प्रयोग’ भन्ने मूल उद्देश्यसहित सरकारी कामकाजमा तामाङ र नेपाल भाषाको प्रयोग विस्तार गर्ने उद्देश्यले प्रदेशव्यापी भाषा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको नेपाल तामाङ घेदुङका संघीय उपमहासचिव तथा भाषा कार्यक्रम संयोजक एवं कार्यक्रम समन्वयकारी बिलाम मोक्तानले जानकारी दिए ।
१४ जेठदेखि सिन्धुपाल्चोकबाट सुरु गरिएको अभिमुखीकरण कार्यक्रम २० जेठमा सिन्धुली पुगेर समापन गरिएको उनले बताए ।
उनका अनुसार अभिमुखीकरण कार्यक्रममा नेपाल तामाङ घेदुङका संघीय पदाधिकारी, नेवा देयः दबूका प्रतिनिधि, स्थानीय तहका प्रमुख–उपप्रमुख, वडाध्यक्ष, कर्मचारी, भाषा अभियन्ता तथा सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो ।
पहिलो पटक गरिएको यस अभिमुखीकरण अभियानबाट मातृभाषालाई सरकारी सेवा प्रवाह, सूचना प्रणाली, अभिलेख व्यवस्थापन तथा शिक्षासँग जोड्दै लैजानुपर्ने आवश्यकता देखिएको उनले बताए ।
मातृभाषाको संरक्षण, प्रवर्द्धन र सरकारी संरचनाभित्र यसको प्रयोग सुनिश्चित गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ ।
प्रतिक्रिया 4