२५ भदौ, काठमाडौं । प्रकृतिमा हिँड्दा वा समय बिताउँदा आँखा र कानले लिने आनन्दबारे धेरैलाई थाहा छ । तर, रुख, माटो र बोटबिरुवालाई प्रत्यक्ष स्पर्श गर्दा मानव स्वास्थ्यमा कस्तो असर पर्छ भन्ने विषयमा पछिल्ला अनुसन्धानहरूले महत्त्वपूर्ण तथ्य उजागर गरेका छन्।
फिनल्यान्डमा गरिएका वैज्ञानिक अध्ययनहरूका अनुसार माटो र प्राकृतिक वनस्पतिसँगको प्रत्यक्ष स्पर्शले मानिसको छालामा सूक्ष्म जीवाणु (माइक्रोब्स) को विविधता बढाउनुका साथै शारीरिक रोगप्रतिरोधात्मक प्रणालीलाई बलियो बनाउन मद्दत गर्छ ।
फिनिस इन्भायरन्मेन्ट इन्स्टिच्युटका पारिस्थितिकीविद् तथा प्रकृति-स्वास्थ्य शोधकर्ता मीरा ग्रोनरुसले गरेको एक प्रयोगमा सहभागीहरूलाई २० सेकेन्डसम्म माटो, पिटर मोस हातमा घस्न लगाइएको थियो ।
धाराको पानीले हात पखालेपछि पनि उनीहरूको छालामा फाइदाजनक जीवाणुहरूको सङ्ख्या र विविधतामा उल्लेख्य वृद्धि भएको पाइएको छ। वैज्ञानिकहरूका अनुसार छालामा सूक्ष्म जीवाणुहरूको राम्रो मिश्रण हुँदा तिनले एकअर्कालाई सन्तुलनमा राख्छन् । हानिकारक वा रोग फैलाउने जीवाणु (प्याथोजेन्स) लाई हाबी हुन दिँदैनन् ।
यसैगरी, वातावरण विज्ञ मार्जा रोजलुन्डको नेतृत्वमा फिनल्यान्डका बालबालिकाहरूमा गरिएको दुई वर्ष लामो अध्ययनमा पनि यस्तै नतिजा देखिएको छ। पक्की वा सिमेन्टेड चोकमा खेल्ने बालबालिकाको तुलनामा प्राकृतिक वातावरण वा माटो-झारपात भएको आँगनमा नियमित खेल्ने बालबालिकाको छालामा एक वर्षपछि पनि सूक्ष्म जीवाणुहरूको विविधता बढी पाइएको थियो।
अनुसन्धानले देखाएअनुसार विशेष गरी ‘गामाप्रोटियोब्याक्टेरिया’ नामक जीवाणुको विविधता बढ्दा शरीरमा सेतो रक्तकोष (रेगुलेटरी टी सेल्स) को वृद्धि हुन्छ । जसले रोगप्रतिरोधी प्रणालीलाई अनियन्त्रित हुनबाट जोगाउँछ र अटोइम्युन रोगहरूको जोखिम कम गर्छ।
प्रकृतिसँगको यो स्पर्शको फाइदा बालबालिकामा मात्र नभई वयस्कहरूमा पनि उत्तिकै देखिएको छ। अर्को एक अध्ययनमा हिउँदको समयमा घरभित्रै जैविक माटो प्रयोग गरेर तरकारी उब्जाउने वयस्कहरूको छालामा जीवाणुको विविधता बढ्नुका साथै रगतमा सुजन कम गर्ने ‘एन्टी-इन्फ्लेमेटरी साइटोकाइन्स’ को मात्रा बढेको पाइयो ।
त्यसैगरी, कार्यालयहरूमा जीवित बोटबिरुवाका ‘हरिया पर्खाल’ (ग्रीन वाल्स) राख्दा कर्मचारीहरूको छालाको स्वास्थ्य सुधार हुनुका साथै रगतमा इन्फ्लेमेसन गराउने तत्वहरू घटेको अध्ययनले पुष्टि गरेको छ।
अध्ययनकर्ताहरूका अनुसार यसले ‘जैवविविधता परिकल्पना’ लाई बल पुर्याउँछ । जसअनुसार वातावरणीय जैवविविधतामा आएको कमीले पछिल्लो समय प्रतिरक्षा प्रणालीसँग सम्बन्धित स्वास्थ्य समस्याहरू बढाएको छ। वैज्ञानिकहरूका अनुसार दैनिक जीवनमा रुखका बोक्रा छुने, घाँसमा बस्ने वा माटोसँग प्रत्यक्ष सम्पर्कमा आउने जस्ता साना बानीले पनि स्वास्थ्यमा दीर्घकालीन सकारात्मक प्रभाव पार्न सक्छन् ।
प्रतिक्रिया 4