News Summary
Generated by OK AI. Editorially reviewed.- कास्कीको मादी गाउँपालिकामा अवस्थित ताङतिङ गाउँ आफ्नो मौलिक गुरुङ संस्कृति, परम्परागत वास्तुकला र प्राकृतिक सुन्दरताका लागि प्रख्यात पर्यटकीय गन्तव्य बनेको छ।
- अन्नपूर्ण संरक्षण क्षेत्र परियोजनासँग सहकार्य गर्दै स्थानीय बासिन्दाले ध्वाँसे चितुवा र वन कुकुर जस्ता दुर्लभ वन्यजन्तुको अनुगमन तथा संरक्षणमा विशेष पहल गरिरहेका छन्।
- क्रपु डाँडामा लालीगुराँसको वन, हिमालको मनोरम दृश्य र साहसिक पर्यटनको प्रचुर सम्भावना रहेकोले आन्तरिक तथा बाह्य पर्यटकका लागि यो उत्कृष्ट गन्तव्यका रूपमा विकास हुँदैछ।
कास्कीको मादी गाउँपालिका-२ मा पर्ने ताङतिङ गाउँ १ हजार ६६० मिटरको उचाइमा अवस्थित छ। गुरुङ समुदायको बाहुल्य रहेको यस गाउँमा अधिकांश ढुङ्गा, केही टिन र छिटफुट रूपमा खरको छाना भएका चिटिक्क परेका घर छन्। लहरै मिलेका मौलिक घर, परम्परागत पहिरन लगाएका स्थानीयहरू र त्यहाँ रहेका वस्तुभाउको चहलपहलले बस्ती जीवन्त देखिन्छ।
पोखराको काहुँखोलादेखि २१ किमिको दूरीमा रहेको ताङतिङ गाउँको फेदीबाट मादी खोला बग्छ भने सिरानमा सुन्दर वनक्षेत्र छ। गाउँको पारिपट्टि सिक्लेस, पार्चे, खिलाङ र तप्राङ गाउँ छन्। ती बस्तीसँगैका तरेली परेका खेतका गरा आकर्षक देखिन्छन् भने रातमा झुरुप्प परेका बस्तीमा बलेका बत्तीले पहाड धपक्क बलेको देखिन्छ। गाउँबाट उत्तरपश्चिममा रहेका अन्नपूर्ण चौथो, अन्नपूर्ण दोस्रो र लमजुङ हिमाल आँखैअघि ऐनासरह उभिएको देखिन्छ।
प्राकृतिक सुन्दरतासँगै सांस्कृतिक र ऐतिहासिक सम्पदा रहेको ताङतिङ गाउँमा गुरुङ समुदायको संस्कार-संस्कृतिसँगै पौराणिक इतिहास समेत जीवित छ। गुरुङ भाषा, कला, संस्कृति, परम्परा र रहनसहनका हिसाबले ताङतिङ एउटा खुला विश्वविद्यालय हो।
ताङतिङका बासिन्दाहरू मुख्यत: बोन, बुद्ध र हिन्दु धर्म मान्छन्। गाउँलेहरू ल्होछार (पुस १५), बुद्धपूर्णिमा, साउनेसङ्क्रान्ति, माघेसङ्क्रान्ति, दशैं-तिहार जस्ता चाडपर्वहरू मनाउँछन् भने भूमि देवता ‘बाजे बैकु’ र ‘नौचु फिच्यौं’ को पनि धूमधामले पूजा गर्छन्। मौलिक भेषभूषाका साथै घाटु, झ्याउरे, सोरठी, कृष्णचरित्र र ठेटर जस्ता परम्परागत नाचहरू पनि जोगाएर राखेका छन्।
ताङतिङ गाउँको पुछारमा नौचु पैगी लामा महायान बौद्ध गुम्बा छ भने गाउँको सिरानमा बोन धर्मावलम्बीको तोनी कोइबा धिं छ। यी स्थानमा गुरुङ जातिको मौलिक संस्कृति, परम्परा, मूल्य, मान्यता, पहिचान, धर्म, इतिहास र जन्मदेखि मृत्युसम्म गरिने संस्कार झल्काउने सामग्री तथा चित्रहरू सङ्ग्रहित गरेर राखिएका छन्।
ताङतिङ नामकरणका बारेमा पनि केही किंवदन्ती सुन्न पाइन्छ। गुरुङ भाषामा ताङतिङलाई ‘तोनी नासा’ भनिन्छ। ‘तोनी’ भनेको ‘रमाइलो’ र ‘नासा’ भनेको ‘गाउँ’ हो। यसरी ताङतिङ नाम ‘रमाइलो गाउँ’ का रूपमा रहन गएको बताइन्छ। अर्को किंवदन्ती अनुसार गुरुङ भाषामा ‘तों’ भनेको ‘बँदेल’ र ‘नी’ भनेको ‘लड्ने’ हो। हाल गाउँ भएको ठाउँमा पहिले जङ्गल थियो, जहाँ बँदेल खेल्थे र एकआपसमा लड्थे। यसरी बँदेल खेल्ने ठाउँलाई ‘तोनी’ भनियो। पछि तोनीबाट अपभ्रंश हुँदै गएर ताङतिङ बनेको हो भन्ने पनि सुनिन्छ।
जेहोस्, ताङतिङ नामले भने जस्तै सुन्दर र रमणीय छ। गाउँका हँसिला र सहयोगी आत्मीय मन भएका मान्छेको स्वागत र सत्कारले गाउँमै बसौंबसौं लाग्छ। स्वच्छ हावापानी, आकर्षक चरा र अन्य वन्यजन्तु, स्थानीय परिकारको स्वाद, सुन्दर भूदृश्य र ग्रामीण जीवनशैली मोहनी लगाउने खालका छन्।

सडक पहुँच, विद्युत्, टेलिफोन नेटवर्क, इन्टरनेट, मौलिक होमस्टे तथा दक्ष पथप्रदर्शक जस्ता आधारभूत सुविधा सहित ताङतिङ ग्रामीण तथा प्राकृतिक पर्यटनको उत्कृष्ट नमूना गन्तव्य हो।
परम्परागत खेतीपाती, पशुपालन, राडीपाखी, डोको-नाम्लो र भकारी बुनेका, चर्खामा ऊन कातिरहेको जस्ता ग्रामीण जीवनशैली ताङतिङमा देख्न र महसुस गर्न पनि पाइन्छ। ढुङ्गा छापिएको बाटो, अग्ला-अग्ला पर्खाल र पर्खालमा फुलेका फूल यहाँको विशेषता हो। गाउँमै उत्पादित कोदो, मकै र आलुका परिकारसँगै तरकारी र सागसब्जी पनि खान पाइने ताङतिङमा नारी-पा (कोदोको रक्सी) पनि पाइन्छ।
ताङतिङ गाउँको सेरोफेरोमा रहेका झरना, खोला, वनजङ्गल र त्यहाँ पाइने वनस्पति र वन्यजन्तुको अध्ययन-अनुसन्धानका लागि पनि प्रख्यात छन्। राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप), ‘प्रकृतिका साथीहरू’ जस्ता संस्थाहरूले यस क्षेत्रमा वन्यजन्तुको अध्ययन र संरक्षणमा काम गरिरहेका छन्।
विश्वमै दुर्लभ ध्वाँसे चितुवा र वन कुकुर यस क्षेत्रमा पहिलो पटक वैज्ञानिक अभिलेख गरेको ‘प्रकृतिका साथीहरू’ संस्थाले हाल स्थानीय समुदाय, संरक्षण क्षेत्र व्यवस्थापन समिति र पालिकासँग मिलेर ती वन्यजन्तुको अनुगमन, संरक्षण र पर्यापर्यटन प्रवर्धनका कार्यक्रम गरिरहेको छ।
सन् २०१७ र २०२१ मा प्रकृतिका साथीहरू संस्थाले राखेको क्यामेरा ट्र्यापिङमा त्यस क्षेत्रमा हराएका वन कुकुर पुनः देखिएका थिए। स्थानीय समुदायले ‘प्याउँ’ भनेर चिन्ने वनकुकुरलाई ताङतिङमा पर्यटन र आयआर्जनसँग जोड्ने योजना सहित पर्यटक सूचना केन्द्र तथा कोसेली घरको स्थापना, संरक्षण सचेतना, पानीको स्रोतका लागि पोखरी निर्माण, नेचर गाइड तालिम, फोहोर व्यवस्थापन र पुनः प्रयोग लगायतका संरक्षण कार्यक्रम सञ्चालन भइरहेका छन्।

यहाँका खोलानालामा पाइने पाहाका प्रजाति र तिनको सिकार अवस्थाबारे पनि प्रकृतिका साथीहरू संस्थाका अनुसन्धानकर्ताहरूले अध्ययन गरिरहेका छन्। भीरमौरीका घार हेर्न र तिनको (सिकार) मह काढ्नका लागि पनि ताङतिङ प्रख्यात छ।
ताङतिङ क्षेत्रका क्युरीती भीर, कलबन्दी भीर र तेमी भीरका पहरामा परम्परागत शैलीमा मह काढ्ने पनि गरिन्छ। तर पछिल्ला वर्षहरूमा मह काढ्ने चलन भने हराउँदै गएको यसका अगुवा शेरबहादुर गुरुङ बताउनुहुन्छ। नयाँ पुस्तामा त्यसको ज्ञान र सीप हस्तान्तरणसँगै प्रचारप्रसार जरुरी छ।
गाउँनजिकै सुन्दर ताङतिङ झरना छ, जहाँ २० मिनेटको पैदल यात्रामा पुग्न सकिन्छ। नजिकैको घट्टेखोलामा गई परम्परागत घट्ट पिसेको पनि हेर्न सकिन्छ। त्यसैगरी २५ मिनेटको पैदल यात्रामा पुलुकों डाँडामा पुग्न सकिन्छ, जहाँबाट सुन्दर ताङतिङ बस्ती, वनक्षेत्र र हिमालको दृश्य हेर्न सकिन्छ।
करिब १ घण्टाको पैदल यात्रामा २ हजार ४७ मिटरको उचाइमा रहेको नौचु डाँडा पुग्न सकिन्छ, जहाँबाट हिमाल, डाँडापाखा र बस्ती नियाल्न सकिन्छ भने दर्जनौं चरा तथा अन्य वन्यजन्तु पनि देख्न सकिन्छ। क्होलसोथरबाट बसाइँ सर्ने क्रममा नौचुमा पनि गुरुङ समुदायले आफ्नो बसोबास बसालेको बताइन्छ।
क्रपु डाँडा

ताङतिङसँगैको मुख्य गन्तव्य हो- क्रपु डाँडा। ताङतिङबाट करिब ११ किलोमिटरको दूरीमा रहेको क्रपु डाँडा ३ हजार ८५ मिटरको उचाइमा छ, जहाँ पुग्न करिब पाँच घण्टाको पैदल यात्रा अथवा १ घण्टाको जीप यात्रा गर्न सकिन्छ। क्रपु डाँडा सुन्दर हिमशृङ्खला, लालीगुराँसको वन, चरा अवलोकन विशेष गरी सिकारी चरा हेर्नका लागि चर्चित छ।
पुस-माघमा यस डाँडामा हिउँ पनि पर्छ। त्यसैले हिउँ खेल्नका लागि पनि यो ठाउँ उपयुक्त छ। रातको समयमा क्रपु डाँडाबाट पोखरा उपत्यकाको झिलीमिली उज्यालोमा धपक्क बलेको शहर र चाँदी जस्तै टल्केका हिमाल देख्न सकिन्छ।
क्रपुमा सानो पोखरी पनि छ। यस पोखरीमा हिमाल र आफ्नो प्रतिबिम्ब पर्ने गरी फोटो र भिडियो खिच्न सकिन्छ। खासमा भन्नुपर्दा क्रपु यही पोखरीमा अन्नपूर्ण र माछापुच्छ्रे हिमालको छाया परेर बनेको दृश्य र त्यसैको छेउमा खिचिने फोटो र भिडियोका कारण निकै चर्चित छ। यहाँ पुग्ने जोकोहीले सामाजिक सञ्जाललाई पुग्ने गरी धीत मरुन्जेल फोटो-भिडियो खिच्छन्।
क्रपु डाँडाबाट सूर्योदय र सूर्यास्तको सुन्दर दृश्य देखिन्छ। लालीगुराँसको जङ्गलले ढाकेको यस क्षेत्रमा फागुन-चैत महिनामा ढकमक्क फुलेका राताम्य गुराँस र सयौं चराहरूको चिरबिर र विचरणले मनमोहक बनाउँछ। यहाँबाट हिमालमा बेला-बेला झर्ने हिमपहिरो पनि देख्न सकिन्छ।
लोपोन्मुख ध्वाँसे चितुवा, वनकुकुर, हिमाली भालु, हिमाली गिद्ध, हाडफोर गिद्ध, जुरे चिल, डाँफे, कालिज, टिउँटिउँ, चाँदे बाँदरचरी, लङ्गुर, बँदेल, रतुवा जस्ता वन्यजन्तु पाइने यस क्षेत्रमा हालसम्म ७४ प्रजातिका चराहरू अभिलेख गरिएको छ। क्रपु डाँडाबाट ३ हजार ३०० मिटरको उचाइमा रहेको चोरो डाँडा पनि पुग्न सकिन्छ।
योग, ध्यान र क्याम्पिङका लागि पनि क्रपु डाँडा अत्यन्तै उपयुक्त स्थल हो। क्रपुमा खान तथा बस्नका लागि टेन्टेड क्याम्प तथा होटल पनि छन्, तर पहिला नै बुक गरेर भने जानुपर्छ। चिसो स्थान भएकाले न्यानो कपडाको भने व्यवस्था गर्नुपर्छ।
ताङतिङ हुँदै दुई दिनमा लमजुङको भुजुङ पनि पुग्न सकिन्छ भने ५ हजार ५६० मिटरको उचाइमा रहेको नामुन भञ्ज्याङ काटेर मनाङको तिमाङ पनि पुग्न सकिन्छ। ताङतिङबाट तीन घन्टा हिंडेर गुरुङ संस्कृतिको खानी सिक्लेस गाउँ पनि पुग्न सकिन्छ। पोखराको काहुँखोलाबाट ताङतिङ जाने बस पाइन्छन्।
काहुँखोलाबाट बिहान ८ बजे र दिउँसो ४ बजे दुईवटा बस छुट्छन्। ताङतिङ पुग्न बसमा साढे दुई घन्टा लाग्छ। पहिलो बसमा गयो भने ताङतिङ खाना खान पुगिन्छ भने त्यहाँबाट बास बस्न क्रपु पुग्न सकिन्छ। मोटरबाइकमा पनि गाउँसम्म पुग्न सकिन्छ भने रिजर्भ गरेका जीप पनि जान्छन्।
२०६८ सालदेखि ताङतिङ सामुदायिक होमस्टे सञ्चालनमा छ। गुरुङ समुदायका डेढ दर्जन होमस्टेमा पाहुना राख्न सकिन्छ भने करिब एक दर्जन होटल तथा टेन्ट क्याम्प पनि खुलेका छन्। गाउँले पाहुनालाई परम्परागत शैलीमा फूलमाला र टीकाले स्वागत तथा बिदाइ गर्छन्।
फर्कंदा कोसेली घरबाट परिवार, इष्टमित्र र साथीका लागि ताङतिङको कोसेली भेडाबाख्राको ऊनबाट बुनिएका चकटी र भाङ्ग्रा, मह, मौसमी गेडागुडी, सागसब्जी र आलु ल्याउन सकिन्छ। गाउँ र वनक्षेत्रमा फालिएका फोहोर प्लास्टिक सङ्कलन गरी स्थानीय महिलाहरूले हस्तकलाका विभिन्न सामग्री बनाउनुहुन्छ। ती सामग्रीहरू खरिद गरेर हामी उहाँहरूले वातावरण संरक्षणमा पुर्याउनुभएको योगदानको कदर गर्न सक्छौं।
पर्यटकीय शहर पोखरानजिकैको ताङतिङ गाउँ आन्तरिक तथा बाह्य पर्यटनका लागि मात्र होइन, संस्कृति, वन्यजन्तु र पर्यावरणको क्षेत्रमा अध्ययन-अनुसन्धान गर्नेहरूका लागि पनि एक उत्कृष्ट गन्तव्य हो। पोखराबाट कम्तीमा तीन दिनमा पनि ताङतिङ र क्रपु यात्रा पूरा गर्न सकिन्छ। हाल विरलै हुँदै गएको भीरमौरीको सिकार जस्ता साहसिक कामको प्रवर्धन गर्न सके पर्यापर्यटन झन् बढ्ने लेखक तथा स्थानीय पर्यटन व्यवसायी प्रकाश गुरुङ बताउँछन्।
ताङतिङको पुरानो गुरुङ बस्तीले आफ्नो संस्कृति र परम्परागत संरचना गुमाउँछ कि भन्ने चिन्ता पनि छ। कङ्क्रिटका पर्खाल र छानाले पुराना संरचना विस्थापित गर्दैछन् भने होमस्टेहरू पनि व्यावसायिक होटल जस्तै बन्दै गएका छन्।
बढ्दो आगन्तुकको आगमनसँगै होहल्ला गर्ने, आफूखुसी हिंड्ने तथा जथाभावी फोहोर फाल्ने जस्ता गतिविधिले वन, वन्यजन्तु तथा समग्र पर्यावरणमा प्रतिकूल प्रभाव पारिरहेका छन्। त्यसैले यस्ता गतिविधिलाई बेलैमा नियन्त्रण गर्नु आवश्यक छ।
ताङतिङ र क्रपुको प्रकृति र संस्कृतिको अनुपम मिलनलाई जीवित राखिराख्न सम्बन्धित पक्षले बेलैमा सोच्नुपर्नेछ। हाइकिङ र साइक्लिङका साथै प्रकृतिप्रेमी, संस्कृतिमा रुचि राख्ने, फोटोग्राफर, छोटो ट्रेक गर्न चाहने, कठिन पैदल यात्रा नगरी हिमालको दृश्य हेर्न चाहने र वन्यजन्तु अनुसन्धानकर्ता सबैका लागि उपयुक्त यस ताङतिङ र क्रपुमा हामी पनि एकपटक पुगौं !


प्रतिक्रिया 4