+
+
Shares
कविता :

दशैं बोनस

अमर शाह अमर शाह
२०८३ असोज २४ गते १४:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कवितामा सीमित आम्दानी, महँगी र परिवारका चाहनाले एक श्रमिक परिवारको आवश्यकताहरू निरन्तर फेरिँदै गएको चित्रण गरिएको छ।
  • लेखकले आमाको दुख्ने घुँडाको उपचार, छोरीको स्कुटर चाहना र छोराको मोबाइल सपनालाई प्राथमिकतामा राखिएको बताएर घरको वास्तविक दबाब देखाएका छन्।
  • दशैं बोनसले मात्र केटाकेटीका आशा जोगिएको र निराश आँखामा आँखा जुधाउन नपरेको कवितामा उल्लेख गरिएको छ।

बढ्दै आएको छ आमाको ‘ऐया’ र ‘आत्था’

र, नसके पनि सुम्सुम्याउन

अपेक्षाहरूको अकाल मृत्युले दुखेको उनको मन

गर्नुपर्ने कामको सूचीको

एकनम्बरमै छ यस पटक

उनको दुख्ने घुँडाको उपचार,

माघको रात काटे जसरी छोटो कम्बल ओढेर

बाँच्नुपर्दा सीमित आम्दानीमा जिन्दगी

थिचथाच र छोपछाप पार्नुपरेको छ

परिवारजनका चाहना र आवश्यकता सधंै

त्यसैले फेरिइरहन्छन् क्रम र प्राथमिकता पनि

‘गर्नुपर्ने’ र ‘गर्नैपर्ने’ कामका पटक पटक

अनि हट्ने गरेका छन् सूचीमा टिपिएका काम

पूरा भएर भन्दा पनि पुराना भएर ।

सपना देख्न डराउने भुईंमान्छेका

खासै ठूला नहुने रहेछन् सपनाहरु समेत

त्यसैले छोरी स्कुटर माग्दिनँ बरु सुनाउँछे

शहरमा यात्रा गर्दा आफूले भोग्ने सास्तीका कुरा

र किन्छु नभनेरै बखान गरिरहन्छ छोरो

मोबाइलको कुनै खास ब्राण्ड र मोडेलका विशेषता

अनि बोल्दिन श्रीमती बरु देखाउँछे रित्तो घाँटी

र पीडामा तुरुक्क तुरुक्क चुहाउँछे आँसु

घरमालिकको वचनले घोच्दा हरेक पटक ।

मेरो सुखलाई आक्रमण गरिरहेछन् आवश्यकता बनेर

मोबाइल र टेलिभिजनको पर्दाबाट निक्लेका चाहनाहरुले

र, सुरसाको जस्तो महँगीको मुखमा

थाहा हुँदैन कता हराउँछ ? मैले बगाएको पसिनाको मोल

तर, धन्न पाइन्छ दशैं बोनस र

जोगाउन सकिएको छ धिपधिप केटाकेटीको आशा

भित्तामा ठोकेको बलियो किलोमा झैं

झुण्ड्याउन पाइएको छ त्यसमै

आमाको घुँडा–उपचार र छोरीको स्कूटर सपना

सा … नो अंश मात्रै भए पनि आवश्यकताको

धन्न छ दशैंको बोनस–कवच र बचिएको छ

जुधाउनबाट केटाकेटीका निराश आँखामा आँखा

दशैं बोनस छ र त पाइएको छ

प…र दरबारमा बलेको बत्तीको न्यानोको आडमा

यमुनामा डुबेर चिसो रात काटे झैं जिन्दगी काट्न ।

सप्ताहान्त
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?