+
+
Shares
कविता :

अप्रिय जीवनको गीत

प्रकाशचन्द्र खतिवडा प्रकाशचन्द्र खतिवडा
२०८३ असोज २४ गते १४:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुन्दरहरैंचा–६, दुलारी, मोरङका एक कविले जीवन, सपना, समानता र अवरोधविरुद्ध संघर्षको भाव समेटिएको कविता प्रस्तुत गरेका छन्।

मैले खोसेको छैन

तिम्रो जीवन

र तिम्रो सपना

तिमी मखमली फूल जस्तै बाँच

तिम्रो जीवनसँग

मेरो कुनै गुनासो छैन ।

तिमी जूनको

उज्यालो छर या नछर

बत्ती जस्तै बलिरहेछन्

आकाशका ताराहरू

तारा टिप्ने तिम्रो चाहना

पूरा होला या नहोला

म कामना गर्छु

टिपेर खोकिलामा राख

बाँड सहेलीहरूलाई

उज्यालो छर्न सकोस्

अँधेरी रातको साम्राज्य भत्काउँदै

तिमीले टिपेका ताराहरूले ।

म गन्तव्यहीन यात्री हैन

मेरो  यात्रामा अवरोध हालेर

मेरो यात्रा विथोल्ने

प्रपञ्च नगर

म वेग हूँ संग्रामको

म रुक्ने छैन

तिम्रो अवरोधले

म जित निकालेर

आमाको आशीर्वाद थाप्दै

गाउनेछु तिम्रो अहंकारको गीत ।

तिम्रो जिन्दगी

तिमीलाई प्यारो लाग्ला

जीवन बाँचिरहने मृगतृष्णाले

तिम्रो बेचैनी बढ्ला

तिमी अजम्बरी छैनौ

एक दिन देह त्याग्नुपर्ला ।

मलाई मेरो जिन्दगी

अप्रिय लाग्छ

तथापि

म अप्रिय जिन्दगीकै बिचबाट

जिन्दगीको उज्यालो खोजिरहेछु

हराइरहेछन् सपनाहरू

सपनाको  खोजीमा

गुमिरहेका छन् विपनाहरू ।

हेक्का छ कि छैन तिमीलाई ?

मैले मागेथें

क्षितिजको घाम

मागेथें गोधूलि साँझ

खै, मेरो हातमा क्षितिजको घाम ?

खै, मेरो हातमा गोधूलि साँझ ?

तिम्रो  निर्दयता

आँसु बनेर बगिरहेछ

म जीवनको सङ्गीन मोडमा उभिएको छु

मैले बाल्नु छ समानताको दीप

फिर्काउनु छ तिम्रो खोसिएको खुशी

र गाउनु छ अप्रिय जीवनको गीत ।

सुन्दरहरैंचा–६, दुलारी, मोरङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?