मासु खाँदा के कुरामा ध्यान दिने ?
दसैंमा मासु खानै नहुने होइन, तर मात्रा र पकाउने तरिका महत्त्वपूर्ण हुन्छ । बोसो कम भएको मासु खान सकिन्छ । र, सम्भव भएसम्म धेरै तेलमा भुटेको वा तारेको मासुको सट्टा उसिनेको, झोलिलो वा कम तेलमा पकाएको मासु खानु उपयुक्त हुन्छ । एकैपटक भन्दा पनि जिब्रोको तिर्सना मेटाउन र मधुमेह बढ्न नदिने गरि पटक पटक गरेर खान सकिन्छ ।
भात, चिउरा र आलु एकैपटक नाखान्रे
भातसँगै चिउरा, आलु र रोटी पनि खाँदा कार्बोहाइड्रेटको मात्रा बढ्छ । त्यसैले, यी सबै एकैपटक धेरै खानुभन्दा एउटा मुख्य परिकारको मात्रा मिलाऔं । भात कम गरेर सागसब्जी, काउली, बन्दा, काँक्रो वा सलाद थपौं ।
पनिर र चिल्लो परिकारको विकल्प रोजौं
दसैँमा शाकाहारीले पनिर, घिउ, नौनी र धेरै तेलमा पकाइएका परिकार पनि खाइन्छन् । यस्ता खानेकुरामा क्यालोरी र बोसो बढी हुन सक्छ । पनिर खानै नहुने होइन, तर थोरै खाऔं । दाल, गेडागुडी र कम तेलमा पकाएका तरकारीलाई पनि खानामा समावेश गरौं ।
मिठाई खानै परे मात्रा मिलाउने
दसैँमा खीर, सेलरोटी, मालपुवा, लड्डु र अन्य मिठाई खाने चलन छ । यस्ता परिकारमा चिनी र क्यालोरी धेरै हुन सक्छ । सकेसम्म नखानु वा थोरै चाखेर रोकिनु राम्रो हुन्छ । गुलियोको सट्टा फलफूल रोज्न सकिन्छ, तर फलफूल पनि उचित मात्रामा खाऔं ।
गुलियो पेय र मदिराबाट सावधान
चिसो पेय, गुलियो जुस र चिनी हालेको चियाको सट्टा सादा पानी वा चिनी नहालेको पेय रोज्न सकिन्छ । मधुमेह भएका व्यक्तिले मदिरा नपिउनु सुरक्षित हुन्छ । मदिराले औषधि सेवन गर्ने व्यक्तिमा रगतको चिनी खतरनाक रूपमा घटाउन सक्छ ।
खानाको सन्तुलन र नियमितता कायम राखौं
प्लेटको आधा भाग सागसब्जी, एक चौथाइ भाग मासु वा दालजस्ता प्रोटिन र बाँकी एक चौथाइ भाग भात वा रोटीले भर्ने अभ्यास गरौं । औषधि नियमित लिएर चिकित्सकको सल्लाहअनुसार रगतमा मधुमेहको स्तर पनि हेरौं ।
खानापछि हिडौं
खाना खाएपछि हल्का हिँड्नुको मुख्य कारण खानाबाट रगतमा पुगेको चिनी शरीरले उपयोग गर्न सघाउनु हो । खाना खाएपछि कार्बोहाइड्रेट पचेर ग्लुकोज बन्छ र रगतमा चिनीको मात्रा बढ्छ । हिँड्दा मांसपेशी सक्रिय हुन्छन् र रगतमा भएको ग्लुकोज ऊर्जा बनाउन प्रयोग गर्छन् । यसले खाना खाएपछिको चिनीको वृद्धि कम गर्न मद्दत गर्छ ।