News Summary
Generated by OK AI. Editorially reviewed.- लेखकले फ्लाइट डिले भएर ओपीडीमा ५० मिनेट ढिलो पुगेका बेला जापान बस्ने चम्लागाईं दम्पतीले दशैंमा परिवारसँग भेट गराइदिएको भन्दै धन्यवाद दिएका छन् ।
- लेखकले २०३८ सालको दशैंमा बिरामी हजुरआमाले दिएको तातो मालभोग केरा अन्तिम स्नेह भएको र त्यसपछि हजुरआमा बितेको स्मरण गरेका छन् ।
- लेखकले दशैंमा आर्थिक अभाव, नयाँ लुगा नपाएको पीडा, र पछि काभ्रेमा गर्भवती महिला र पेटभित्रका दुई सन्तानको पोस्टमार्टमको पीडादायी अनुभव सम्झिएका छन् ।
अस्ताउनका लागि घाम सुदूरपश्चिम पुगेको थियो, म भने पूर्वतर्फको यात्राका लागि काठमाडौंको जहाजमा उक्लिएँ । घामलाई अस्ताउनभन्दा पनि हतारो थियो, मलाई काठमाडौं पुग्न । किनकि, बिरामीलाई म कुराउन चाहन्नथेँ । हरेक दिनजसो दुई दर्जनभन्दा बढी बिरामी मेरो आगमनको प्रतीक्षामा बसिरहेका हुन्छन् । आज पनि त्यस्तै छ ।
आफूले चाहे जस्तो कहाँ हुन्छ र ? ‘फ्लाइट डिले’ भयो । हस्याङफस्याङ गर्दै ओपीडी कोठामा पसेँ । निन्याउरा अनुहारका बिरामीहरू दुई हात जोडेर ‘डाक्टर साब, नमस्कार’ भन्दै थिए । मैले उहाँहरू सबैसँग माफी मागेँ । किनकि, म निर्धारित समयभन्दा ५० मिनेट ढिलो भइसकेको थिएँ । आखिर समय सबैका लागि उत्तिकै मूल्यवान् हुन्छ । के डाक्टर, के बिरामी, के इन्जिनियर, के पत्रकार ।
एक दम्पती मेरा अगाडि मुसुक्क हाँस्दै उभिए ।
‘डाक्टर साहेब, नमस्कार । हजुरले चिन्नुभयो मलाई ? म जापान बस्ने चम्लागाईं क्या । हजुरले भिडियो कन्सल्टेसन गर्नुभएको थियो, अनि औषधि पनि पठाइदिनुभएको थियो । मेरी उनीले हजुरलाई मेरो कथा, व्यथा त त्यतिबेलै भेटेरै भनेकी थिइन् नि ।’
श्रीमान्ले यति भनिरहँदा रातो सारी र हरियो ब्लाउजमा सजिएर सिउँदोभरि बाक्लो रातो सिन्दुर टल्काएकी श्रीमतीले दुई हात जोडेर मुसुक्क हाँस्दै परिचित जस्तै गरी अभिवादन गर्दै भनिन्, ‘यो दशैंमा त हामी परिवारै खुसी छौं । त्यो अघिल्लो दशैंअघिदेखि बिरामी मेरा श्रीमान्लाई हजुरले मानसिक रूपमा स्वस्थ बनाइदिनुभयो र त यसपालिको दशैं सँगै मनाउन पाएका छौं । हजुरसँग भेट नभएको भए त मेरा बुढा उतै भात भइसक्नुहुन्थ्यो ।’
मलाई कुरिरहेका बिरामीहरूलाई जाँच्न हतारो थियो । घण्टौंदेखि मलाई भेट्न कुरिरहेका ती दम्पतीका कुरा पनि त सुनिदिनै पर्यो ।
‘बुढी आमाको हातको टीका थाप्ने यो अवसर हजुरकै कारणले पाएका छौं,’ श्रीमतीले झोलामा हात छिराएर नीलो टीसर्ट र जापानी चकलेट ‘मेल्टिकिस’ दिँदै गहभरि आँसु भरिएका टिलपिल आँखा मेरो सम्मानमा ओछ्याएर भनिन्, ‘नाफाको जिन्दगी बाँच्ने अवसर पाएका छौं, यो सम्झना स्वीकारिदिनुपर्यो ।’
छेवैमा उभिएका श्रीमान्ले श्रीमतीको अनुरोधमा थप्दै भने, ‘आजै नाइटको टिकट छ बागलुङको, आमालाई भन्दा अगाडि हजुरलाई भेटेर जाने भनेर कुरेको । अघिल्लो वर्षको दशैं घर सम्झिँदै बसेँ । डिप्रेसनले त खत्तमै पार्ने रहेछ । बालापनका यादहरूले धेरै सताए । घटस्थापनादेखि नै गाउँमा चल्ने रोटेपिङले जसरी यादहरू फनफन्ती घुमेर आइरहेका थिए । यसपालि घरै आएर दशैं मनाउन पाइने भयो, हजुरलाई धन्यवाद ।’
मैले त आफ्नो कर्तव्य पूरा गरेको न हो । चम्लागाईं दाइको मनमा भएका कति कुरा सुनाउन बाँकी नै थिए होलान् । तर, मैले बिदाइ गरेँ । मेरा बिरामीहरू कुरिरहनुभएको थियो । ढोकाबाट निस्कँदै गर्दा चम्लागाईं दाइले फेरि आधा शरीर मर्काएर भन्नुभयो, ‘म विदेशमा हुँदा हजुरका साहित्यिक रचना, गीत, लेख र भिडियोहरू धेरै हेरेको छु । त्यसैले मलाई हजुरसँग गहिरो गरी जोडिदिएको पनि हो । यसपालिको दशैं बिदा लामो पनि छ, हजुरका दशैं संस्मरणसहितको नयाँ लेख पढ्न पाइन्छ होला है, डाक्टर साब ?’
म मुसुक्क हाँसेँ । ती दम्पती पनि मेरो क्षितिजबाट ओझेल परे । म पालैपालो बिरामी हेर्न थालेँ । यसबीचमा मलाई एउटा कुराले निकै घोचिरह्यो । साँच्चै हो नि, मेरो पनि दशैंसँग जोडिएका पेचिला, चोटिला, रसिला स्मरणहरू छन् । किन नलेख्ने त ? फेरि, चम्लागाईं दाइले मलाई ऊर्जा दिएर जानुभएको छ ।
घर पुगेर खाना खाएपछि स्टडी रुममा पस्न नपाउँदै पुनः चम्लागाईं दाइले भनेको कुरा याद आइरह्यो । मेरो बाल्यकाल, यौवनकाल अनि अत्यन्त व्यस्तताले घेरिएको व्यावसायिक कालका छुट्टाछुट्टै अनुभव बोकेका मेरा दशैंहरू छन् । यतिबेला चम्लागाईं दम्पती थानकोट काटिसके होलान् । मेरो स्मरणले पनि मलाई अनायास बाल्यकालतर्फ पुर्यायो ।

…
६ वर्षको उमेरअघिको दशैं मलाई उति याद छैन । आमाले मलाई पिठ्युँमा बोकेर दुई दिदीहरूलाई डोर्याउँदै मामाघर जाँदा र आउँदाका धिमा यादहरूले मलाई स्पर्श गरे । मैले भोगेको पहिलो पीडादायी दशैं बन्यो, २०३८ सालको दशैं ।
घरको सबैभन्दा कान्छो नाति भएरै होला, मलाई हजुरआमाले औधी माया गर्नुहुन्थ्यो । विद्यालयबाट फर्किएपछि हरेक दिन मलाई केही न केही खानेकुरा दिनुहुन्थ्यो । म पनि फुरुक्क पर्थेँ ।
फूलपातीको अघिल्लो दिन म मनमा गुन्दै आइरहेको थिएँ, आज हजुरआमाले के दिनुहुन्छ भनेर । घरनजिक पुगेपछि हजुरआमालाई चाँडो भेट्न म दौडिँदै जान्थेँ ।
त्यस दिन पनि दौडिँदै गएँ, कुनामा ब्याग फालेँ, तर हजुरआमालाई देखिनँ । घरभरि मानिसहरू थिए । हजुरआमा ओछ्यानमा पल्टिरहनुभएको थियो । बोल्न नसके पनि हातको इसाराले मलाई बोलाउनुभयो । सिरकमुनिबाट निकालेर मलाई मालभोग केरा दिनुभयो ।
दिनभरिको बिरामी ज्यानको तातो स्पर्शले त्यो केरा गिलो र तातो भइसकेको थियो । त्यो तातो हजुरआमाको स्नेह थियो । त्यसको भोलिपल्टै हजुरआमाले मलाई सधैंका लागि छोडेर जानुभयो ।
त्यो वर्षको दशैं मेरा लागि स्नेह गुमेको दशैं बन्यो । केरा देख्नेबित्तिकै मलाई हजुरआमाको त्यो स्नेह आज पनि उत्तिकै ताजा बनेर आउँछ । त्यसैले, मलाई केरा औधी मनपर्छ । अर्थात्, मलाई हजुरआमाको त्यो खालको माया मनपर्छ, जुन खालको माया मेरी हजुरआमाले गर्नुभयो, उहाँले मात्र गर्नुभयो ।
…
केटाकेटी न हो, दशैंमा टीका, भेटघाटभन्दा पनि दक्षिणा कति पाइन्छ भन्ने चासो हुन्थ्यो । जम्मा भएको दक्षिणा दिनको २०औं पटक गनिन्थ्यो । त्यो पैसाले केके गर्ने योजना बन्थ्यो, केके ! तिहारपछि विद्यालय जानुअघिसम्म पनि पैसा दिनमा १० पटक गनिन्थ्यो । तर, विद्यालय जान थालेपछि अन्तिममा त्यही पैसाले कापी, कलम, इन्स्ट्रुमेन्ट बक्स किन्नुपर्ने बाध्यता हुन्थ्यो । फेरि अर्को दशैंको दक्षिणाको योजना बन्थ्यो । बाल्यकालको यो मनोभावना सायद धेरैसँग मिल्दोजुल्दो पनि हो ।
चाहना : नाना र खाना
बाल्यकाल सम्झँदा दशैंको पर्याय भनेकै नयाँ लुगा अर्थात् नाना हो । ऋण काढेरै भए पनि छोराछोरीलाई नयाँ लुगा सिलाइदिनुपर्ने बाध्यता बुबाआमाको थियो ।
एक सालको दशैंअघि विद्यालयले पोसाक अनिवार्य गर्ने निर्णय लियो । त्यसभन्दा पहिले विद्यालयको औपचारिक पोसाक थिएन । विद्यालयले अन्य समयमा अभिभावकले पोसाक किनिदिन सक्दैनन् भन्ने कुरा बुझेरै दशैंकै मुखमा पोसाकको निर्णय लिएको थियो । मेरो बुबाको अवस्था पनि त्यस्तै थियो । कान्छी बहिनी जन्मिसकेकी थिइनन् । हामी पाँचै जनालाई नयाँ लुगा किन्न बुबालाई धौधौ नै हुन्थ्यो । अझ विद्यालयको पोसाक किन्ने भन्ने कुरा त धेरै परको कुरा थियो ।
विद्यालयको निर्णयबमोजिम बुबाले पनौतीको मकर्चाको पसलबाट मेरो लागि आकाशे रङको सर्ट र नीलो पाइन्ट, दिदीबहिनीहरूका लागि आकाशे रङको सर्ट र नीलो फ्रक ल्याइदिनुभयो । त्यो पनि उधारोमा ।
जस्तो सिलाओस्, जे सिलाइयोस्, हाम्रो कपडा सिलाउने भनेकै सुन्दरे हुन् । भोलिपल्ट बिहानै आँगनमा कल लिएर सुन्दरे दाइ आइपुगे । पालैपालो हाम्रो नापो लिए र दिनभरि आँगनमै बसेर सबैका कपडा सिलाइदिए ।
‘ल, बाबुको सर्टमा दुईवटा बकली राखिदिएको छु । राम्ररी पढ्ने खालको हुनुहुन्छ बाबु, एउटा बकलीमा कलम राख्नु अनि अर्कोमा बिष्टिनी आमाले दिएको मकैभटमास राख्नुस् है ।’ झुन्ड्याइएको मेरो लुगा निकालेर देखाउँदै सुन्दरेले भनेको त्यो कुरा आज पनि कानमा गुञ्जिरहेजस्तो लाग्छ ।
अब त दशैं आइहाल्यो नि ! नयाँ सर्ट, पाइन्ट, त्यसमाथि पनि दुईवटा खल्ती भएको सर्ट । त्यो कपडाको बास्ना पनि कस्तो मिठो आउने ! हतारहतार लगाएर फुरुक्क पर्दै तल चाम्लेसम्म घुमेर फर्केको त्यो दिन औधी खुसी भएको दिन थियो ।
बुबालाई सजिलो भयो, दशैंको लुगा र विद्यालयको पोसाक एकै गर्जोमा टर्यो । तर, उधारोमा ल्याएको कपडाको ऋण तिर्न बुबाले कति माना पसिना बगाउनुपर्ने हो, त्यो हामीलाई के थाहा हुन्थ्यो र ! हामी भने नयाँ नाना पाएर फुरुङ्ग थियौं ।
बुबाले कपडाको पैसा त्यो मकर्चालाई दशैंमै दिन्छु भन्नुभएको रहेछ । त्यो उधारो दशैंअघि तिर्न सक्नुभएन । द्वादशीको दिन दाप्चा हुँदै मामाघर जानुपर्ने, त्यो पनि त्यही मकर्चाको पसलअघिल्तिरबाट । साहुजीले देखे भने मेरा ‘बा’लाई के भन्लान् भन्ने मेरो बालमस्तिष्कमा फनफनी घुमिरहेको थियो । घरबाट निस्किएपछि ‘बा’ले आमालाई ‘केटाकेटीहरूलाई लिएर बजारतिरबाट जाँदै गर, म घुमेर आउँछु, पर सुन्थानमा चौतारोमुनि भेटौंला है’ भन्दै आफू फुत्त निस्कनुभयो ।
साहुजीको आँखा छलेर मामाघर पुगेको त्यो दशैं मेरो लागि जीवनकै एउटा ठूलो पाठ बनेर मेरो मानसपटलमा बसिरह्यो, वर्षौंसम्म । गरिबी र अभावको बीचमा आएको दशैं थियो त्यो ।

…
बुबाले ३६ प्रतिशत ब्याजमा ऋण काढेर केटाकेटीलाई भात खुवाउने खेत किन्नुभएको थियो । त्यसै वर्ष पनि दशैं त आयो । तर, दशैं मनाउने बुबाको सामर्थ्य थिएन । एकातिर चर्को ब्याज, अर्कोतिर केटाकेटीका रहर । यसलाई तालमेल मिलाउन बुबाले त्यो वर्ष सक्नुभएन । हामीले नयाँ नाना पाएनौं ।
यस वर्ष टीका लगाउन मामाघर पनि नजाने सल्लाह भयो । तर, मैले मानिनँ । मेरो जिद्दीपनका अगाडि आमाले हार्नुभयो ।
मामाघर त जाने, तर के लगाएर जाने भन्ने चिन्ता आमालाई थियो । आमाले अलि माथिको घरबाट भान्जाको कपडा लिएर आउनुभएछ । पछि फिर्ता गर्नुपर्ने लुगा म लगाउँदिनँ भनेपछि आमाले फिर्ता दिनुभयो । त्यसो भए के लगाउने त ? आमालाई झन् संकट थपियो । बुबाको अनुहार निन्याउरो थियो । बुबाले केही भन्न सक्नुभएको थिएन ।
‘बाबु, अस्ति एकाहाबाट एउटा धोती आएको छ, त्यही लाएर जान न त ।’ जजमानी गरेर घरव्यवहार बल्लतल्ल धान्दै आउनुभएको बुबासँग अरू विकल्प थिएन । मैले पनि ‘हुन्छ’ भनिदिएँ ।
भोलिपल्ट बिहानै पुरानो आकाशे रङको सर्ट र तल धोती बाँधेर आमा र म मामाघर निस्कियौं । करिब सात घण्टाको पैदल यात्राबाट मामाघर पुग्नुपर्ने थियो । बाटोभरि मानिसका नजर मतर्फ थिए । कोही अचम्म मानिरहेका थिए भने कोही दयाको भावले हेरिरहेका थिए । कतिपयले त आमालाई सोध्थे पनि । कसैलाई ‘सिलाउन नभ्याएर’ भनिदिनुहुन्थ्यो भने कसैलाई ‘छोराको रहर’ भनिदिनुहुन्थ्यो । आमाको जवाफमा लुकेको पीडाले मेरो बालमस्तिष्कमा नमिठो प्रभाव पारिरह्यो ।
अघिल्लो वर्ष व्रतबन्ध गरेको थिएँ । मामाघर पुग्दा नातिले धोती लगाएर आएको देखेर हजुरबुबा भने निकै खुसी हुनुभयो । माथि सर्ट, तल धोती र गोडामा हात्तीछाप चप्पल पड्काउँदै टीका लगाउन मामाघर गएको सम्झना कहाँ बिर्सिन सकिन्छ र ! त्यो पनि अर्को अभावकै दशैं थियो । तर, त्यही अभाव मिठो थियो, प्यारो थियो, आनन्द थियो ।
दशैं र नयाँ घर
लप्सेटारभरिका घरहरू प्रायः पहेँला थिए । माख्लो गाउँका हुमागाईं हजुरबाहरूको घर र अन्य छिटपुट घरहरू भने सेता थिए । सोह्र श्राद्ध सकिँदा नसकिँदै घरमा रङ लगाएर चिटिक्क पारिन्थ्यो । रङ लगाएपछिको घर नयाँ घरजस्तै लाग्थ्यो । घरलाई हेरिरहूँ, मुसारिरहूँ जस्तो लाग्थ्यो । कस्तो माया लाग्थ्यो त्यो रङ्गीन घरको !
मकै भाँच्ने र भित्र्याउने चटारो एकातिर हुन्थ्यो भने अर्कोतर्फ घर रङ्ग्याउन माटो लिन जाने हतारो उस्तै हुन्थ्यो । हाम्रो घरमा भने पहेँलो माटो पोत्ने चलन थियो । त्यो घर २०७२ को भूकम्पपछि पनि उस्तै छ ।
पोत्ने माटो लिन बुबाआमासँगै म पनि जान्थेँ । दुई मुठी भए पनि हातले चपक्क समाएर घरसम्मै ल्याइपुर्याउँथेँ । घरमा ल्याएर पानीमा घोलेर मगले उघाउँदै आँगनमा उभिएर घरको भित्तामा छ्यापिन्थ्यो । झ्याल र ढोकामा भने आगोको गोललाई मट्टितेलमा घोलेर कपडामा चोबेर छुट्टै लगाइन्थ्यो । रातो रङ र गोबरले बोर्डरमा रङ्ग्याइन्थ्यो । घर छ्यापेपछि त्यो माटोको बास्ना हरर आउँथ्यो । कति मिठो लाग्थ्यो त्यो माटोको बास्ना पनि ! अनि घर त झन् प्यारो लाग्थ्यो ।

दशैं : चाचाहुई…
घरमुनि धारा चौर छ । ससाना दुईवटा ढुङ्गेधाराको माथ्लोपट्टि, चौरको छेवैमा एउटा ठूलो लाकुरीको रूख थियो । पहिलेपहिले त्यही रूखको हाँगामा गाउँभरिका मानिसहरू मिलेर पिङ बाट्दै हाल्थे र खेलिन्थ्यो, रमाइन्थ्यो । २०३८ सालमा हजुरआमा बितेकै वर्ष आएको बाढीले त्यो रूख बगाएर लग्यो । त्यसपछि धारा चौरमा लिङ्गे पिङ हाल्न थालियो । घरभन्दा अलि माथि ठाडेखोला चौर र लप्सेटारको पुछारको खलोको पिपलबोटमा पनि पिङ हालिएको हुन्थ्यो ।
घटस्थापनाको दिनदेखि नै दाइहरूको साथ लागेर पिङका लागि डोरी बाट्ने बाबियो खोज्न हिँडिन्थ्यो । अलिअलि मागेर केही बाबियो त जम्मा गरियो, तर डोरी बाट्न पुग्ने बाबियो पाइएन । कतिपयले त दिएनन् पनि ।
दाइहरूले हामीलाई ‘जाओ केटा हो, यतिले पुग्दैन, बाबियो चोरेर ल्याओ’ भनेर पठाउनुभयो । हामी तीन–चार जना उस्तैउस्ता केटाहरू सुरिएर गयौं । लामखोरियाबाट बाबियो चोरेर अँगालोभरि बोकेर पाखैपाखा गाउँ फर्किँदै थियौं, बाबियो धनीले भेटिहाले ।
‘ए, काठाका सन्तान हो, यिनीहरू चोर पो भएछन्’ भन्दै ती नेवार दाइले लखेट्न थाले । हामीले अँगालोभरि ल्याएको बाबियो उनकी श्रीमतीले खोसिन् । अनि अनेकथरी गाली गर्न थालिन् । हामी भने टाप !
हस्याङफस्याङ गर्दै दाइहरू भएको ठाउँमा पुगेर सबै सुनायौं, ती भाउजूले भनेका शब्द पनि जस्ताको तस्तै सुनायौं । उनीहरू पेट मिचिमिची हाँस्न थाले । त्यतिबेला के बुझ्नु हामीले, भाउजूले भनेका शब्द त उच्छृङ्खल पो रहेछन् । दाइहरूले ‘त्यो भनेको यो हो’ भनेर भनेपछि हामी पनि सबै कुरा बिर्सिएर किक्ककिक्क गरुन्जेल हाँसिरह्यौं । यो लेखिरहँदा अहिले पनि भित्रैदेखि हाँसो उठिरहेको छ ।
नो चिची, एस पापा
लप्सेटारका अधिकारीहरूको प्रमुख पेसा नै जजमानी थियो । बुबाका जजमानहरू प्रायः घरदेखि डेढ–दुई घण्टा टाढाको दूरीमा रहेका रोशी, खारखोला र ठकुरी गाउँमा थिए । घटस्थापनादेखि नै पूरै नवरात्रिभरि चण्डीपाठमा जानुपर्थ्यो बुबालाई । परिवारसँग सधैं आरामले रमाएर दशैं मनाउन कहिल्यै पाउनुभएन बुबाले ।
बुबालाई फुर्सद हुनका लागि खलकमा जुठो पर्नुपर्थ्यो । दशैंको टीकाको दिन त झन् धेरै व्यस्त । रेडियोले टीकाको साइतको समय सुनाउँथ्यो । तर, त्यो साइतमा टीका लगाएको कहिल्यै याद छैन । बिहान झिसमिसेमै टीका लगाएर बुबा जजमानको साइत छोप्न पुगिहाल्नुहुन्थ्यो । अलि ठूलो भएपछि त म पनि जजमानहरूकोमा जान्थेँ । पुरोहित भनेपछि छुट्टै सम्मान पाइन्थ्यो । सानो पुरेत भन्दै निकै माया पनि गर्थे । फर्किंदा बाटोमा पिङ खेल्दै फर्किन्थेँ । भोलिपल्ट मामाघर जाने सपना सँगाल्दै त्यो रात सुतिन्थ्यो ।

घरमा चिची अर्थात् मासु पाक्दैनथ्यो । तर, गाउँमा भने फूलपातीदेखि नै खसी, बोका, कुखुरा काटिन्थे । थापा दाइ आएपछि बल्ल मासु खाने घरमा दशैं भित्रिन्थ्यो । किनकि, मार हान्ने भनेकै उनै थापा दाइ थिए ।
रौं पोलेको गन्धले हाम्रो घर घेर्थ्यो । त्यो दिन घर बस्नै नसक्ने अवस्था हुन्थ्यो । कामबाट फर्केपछि बेलुकी बुबाआमा भने पशुहत्याको विरोधमा लेखिएको ‘मेष गीता’का श्लोकहरू पढेर पशुको विरहमा समानुभूति प्रकट गर्नुहुन्थ्यो । ती श्लोकहरू यस्ता थिए :
‘मित्र हो, सुन दशैं अब आयो ।
एक चाड जुन अन्तिम हो यो ॥’
आफ्नो हुर्काइ नै अहिंसाप्रतिको आकर्षणबाट भएरै होला, मलाई दशैंभन्दा तिहार चाड अलि रमाइलो लाग्छ । वर्षौंदेखि चलिआएको आआफ्नो सांस्कृतिक चलनलाई सम्मान गर्दछु । तर, कुनै पनि चेतनशील प्राणीको प्राण हरण गरेर आफू सन्तुष्ट हुने कुरालाई भने मेरो मनले किमार्थ स्वीकार्दैन र स्वीकार्ने पनि छैन, सायद ।
युवावस्थाको दशैं
एसएलसीपछि क्याम्पस पढ्न म काठमाडौं आएँ । महाराजगञ्ज छात्रावासमा बसेर पढिन्थ्यो । घटस्थापनापछि क्याम्पस बिदा हुने हुनाले करिब एक महिनाजसो घरकै बसाइ हुन्थ्यो ।
दशैंको बेलामा बसको यात्रा अत्यन्तै कष्टकर हुन्थ्यो । गाडीभित्र मात्र होइन, छतमा समेत बस्ने ठाउँ हुँदैनथ्यो । बल्लतल्ल छतमा घुस्रिएर डेढ घण्टाको त्यो कठिन यात्रा अनि एक घण्टाजतिको पैदल यात्रा गरेपछि घर पुगिन्थ्यो । सकिनसकी नयाँ लुगा किनेपछि हामीलाई पहिले दशैं आउँथ्यो । तर, अहिले भने हामी बाहिर रहेका केटाकेटी घर पुगेपछि मात्रै बा–आमाका लागि दशैं आउन थालेको थियो ।
युवावस्थामा पुगिसकेपछि पहिलेको दशैंजस्तो रौनक आउन छोडेको थियो । जिम्मेवारीको भारीले जति थिचिँदै गयो, उति चाडपर्वको रमाइलोको अनुभूति पनि कम हुँदै जाने रहेछ । अझ विवाह गरिसकेपछि घर, ससुराली, मामाघर दौडादौड नै हुन्थ्यो । आफ्नो पेसागत जिम्मेवारी सम्हाल्नका लागि हतारो गर्नुपर्ने दिन सुरु भइसकेका थिए ।
मेडिकल अधिकृत भएपछिको दशैंको अझ छुट्टै अनुभूति छ । चाडपर्वमा ओपीडी त बन्द नै हुन्छ, तर आकस्मिक सेवा चलिरहेकै हुन्छ । ड्युटीको पालो मिलाइएको हुन्थ्यो । घरपरिवारमा बसे पनि अस्पतालका फोन र रेस्पोन्स नियमित गरिरहनुपर्ने हुन्थ्यो ।
जिल्लाको सरकारी मेडिकल अधिकृत भएको नाताले मेरो जिम्मेवारी अस्वाभाविक मृत्युको पोस्टमार्टम गर्नुपर्ने हुन्थ्यो । दशैंको बिदामा भए पनि आत्महत्यालगायतका अस्वाभाविक घटना घटिरहने काभ्रेमा पोस्टमार्टम गर्ने जिम्मेवारी मेरो थियो ।
म ससुरालीमा टीका लगाउन के लागेको थिएँ, जिल्ला प्रहरी कार्यालय काभ्रेबाट मेरो नोकिया टुकटुके फोनमा घण्टी बज्यो । खावानजिकै एम्बुलेन्स दुर्घटना भएर दुई जनाको मृत्यु भएको रहेछ । दशैंको बेलामा सबैजसो घर गएका हुन्छन्, अनि घटना घटेपछि समुदायबाटै ठूलो दबाब पनि आउने गर्छ । आफू ललितपुरमा छु, टीका थाप्न निधार अगाडि सारेको मात्रै छु, अब जानुपर्ने भो, काभ्रे ।
सोचेँ, जब मृत्यु नै भइसकेको छ भने त्योभन्दा जटिल त के होला र ? सरकारी नोकरीमा ‘आवश्यक परेको बेलामा चौबीसै घण्टा सेवामा उपस्थित हुनेछु’ भनेर शपथ खाइएको हुन्छ, त्यसैले जाने निधो गरेँ । कार्यालयले सवारीको व्यवस्था पनि गर्न सकेन ।
श्रीमतीकी ठूल्दिदीको छोराको बाइकमा लिफ्ट मागेर ससुरालीको टीका अधुरै छोडी काभ्रेतर्फ लागेँ । बनेपाको शिर मेमोरियल अस्पतालमा पोस्टमार्टम हुन्थ्यो । अटोप्सी रुममा सहायकहरू जम्मा भइसकेका थिए । बाहिर बसेका सयौं मृतकका आफन्तहरूको भीड छिचोल्दै म भित्र पसेँ ।
एक जना गर्भवती महिला र एक जना पुरुषको शव टेबुलमा थियो । सुत्केरी व्यथाले छटपटाइरहेकी कोशीपारिकी महिलालाई अस्पताल लैजाँदै गरेको एम्बुलेन्स पल्टिएर दुर्घटना भएको रहेछ ।
भारी मनले पहिले पुरुषको पोस्टमार्टम गरेँ र मृत्युको कारण हेड इन्जुरी भएको पत्ता लगाएँ ।
अब पालो थियो ती गर्भवतीको शवको । हातमा औजार छ, तर आँट आइरहेको थिएन । पहिलो पटक यस्तो महसुस गरिरहेको थिएँ । सहायक रामकृष्णले भने, ‘सर, घरभरि पाहुना छन्, छिटो सकौं हजुर, जानु छ ।’
प्रत्युत्तर नदिई मन भारी बनाएर चक्कु चलाएँ । मृत महिलाको पेटमा दुईवटा बच्चा रहेछन् । अहिले नै च्याँ गरेर रुने जस्ता । दुर्घटनाले आमाको पेटमा निकै ठूलो क्षति पुगेपछि अत्यधिक रक्तस्रावका कारण पेटभित्रका छोरा र छोरी पनि जन्मन नपाई मृत्युवरण गर्न पुगेका थिए । रिपोर्ट लेखेँ— ‘म्यासिभ इन्ट्रापेरिटोनियल हेमोरेज’ ।
अहिले पनि सम्झिँदा आङ जिरिङ्ग हुन्छ । मेरो दशैं र टीकाभन्दा पनि त्यो दुर्घटनापछिको पोस्टमार्टमको सम्झनाले मलाई धेरैपछिसम्म प्रभाव पारिरह्यो । मृतक आमा अनि अनाहकमा ज्यान गुमाएका पेटभित्रका दुई सन्तानको सम्झना सायद बाँचुन्जेल बिर्सिन सक्दिनँ होला ।
प्रतिक्रिया 4