News Summary
Generated by OK AI. Editorially reviewed.- आशिका तामाङले दसैंमा राँगा, भैंसी, खसीबोका ढुवानी गर्दा अपनाइने क्रूर तरिकाविरुद्ध ठाउँठाउँमा विरोध गर्दै उद्धारमा खटिएकी छिन्।
- उनले एउटै ट्याक्सीको डिकीमा आधा दर्जनभन्दा बढी खसीबोका कोचेर लगिएको देखेपछि विरोध गर्दै अर्को गाडीको व्यवस्था गरिदिएकी छिन्।
- उनले बैतडीको देहिमाडौँ मेलामा राँगाहरूलाई तरबारले घोपेर ढालेको दृश्यबारे स्टाटस लेख्दै राज्यको नियमन नदेखिएको भन्दै दुःख व्यक्त गरेकी छिन्।
दसैंको माहौल छ । मान्छेहरू मूल घर फर्कँदैछन् । जमघट, भलाकुसारीसँगै मिठोमसिनो खाने क्रम सुरु भएको छ । तर, यही माहौलमा आशिका तामाङको धपेडी फरक छ । उनी दसैंकै छेकमा अबोध र आवाजविहीन प्राणीमाथि हुने अत्याचारविरुद्ध एक्लै लडिरहेकी छिन्, एक्लै बोलिरहेकी छिन् ।
राँगा, भैंसी, खसीबोका आदिलाई ढुवानी गर्दा अपनाइने अत्यन्तै क्रूर तरिकाविरुद्ध उनी आवाज उठाइरहेकी छिन् । ट्याक्सीको डिकीमा निर्जीव वस्तु जसरी कोचेर लगिएका वा गाडीको छतमा अत्यन्तै पीडा दिएर राखिएका खसीबोकाको उद्धारमा उनी खटिएकी छिन् । तिनीहरूलाई ढुवानी गर्दा त्यति पीडा नदिन भन्दै उनी हारगुहार गरिरहेकी छिन् ।
एउटै ट्याक्सीको डिकीमा आधा दर्जनभन्दा बढी खसीबोका कोचेर लगिएको देखेपछि उनले त्यसको विरोध गरेकी छिन् । उक्त खसीबोकालाई सहज रूपमा ढुवानी गर्न उनले अर्को गाडीको बन्दोबस्तसमेत गरिदिएकी छिन् । पशुप्राणीलाई ढुवानी गर्दा सहज ठाउँमा आरामले बस्न र सास फेर्न सक्ने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।
दसैंको बेला पशु ढुवानीमा अपनाइने अत्यन्तै क्रूर र अमानवीय शैलीविरुद्ध उनी ठाउँठाउँमा उभिएकी छिन् । उनी सबै पशुप्राणीप्रति करुणा एवं समभाव राख्छिन् । यद्यपि, अत्याचार गर्नेहरूविरुद्ध उत्तिकै दर्बिलो ढंगले पनि प्रस्तुत हुन्छिन् ।
हालै मात्र उनले सुदूरपश्चिमतिर हुने पशु संहारबारे स्टाटस लेख्दै दुःख व्यक्त गरेकी छिन् । सो क्षेत्रमा राज्यको प्रशासनिक निकाय नै नभएको जस्तो भन्दै उनले लेखेकी छिन् :
‘बैतडीको देहिमाडौँ मेलाको आजको दृश्य देखेपछि लाग्यो, बैतडीवासी, तपाईंहरू अझै ढुङ्गे युगमा हुनुहुँदो रहेछ । अबोध राँगाहरूलाई भीडमा लखेटीलखेटी तरबारले घोपेर ढालेको देख्दा त्यहाँ कुनै पनि राज्यको प्रशासन नै रहेनछ जस्तो भान भयो । तपाईंहरू मौन किन हुनुहुन्छ ?
किनकि तपाईंहरूमध्ये धेरै जनाले मासु खानुहुन्छ, त्यसैले नबोल्नुभएको हो ? के मासु खानेबित्तिकै समाजको बेथितिविरुद्ध बोल्नु हुँदैन हो र ? बैतडी मात्र होइन, नेपालको कुनै पनि पशुसम्बन्धी विभागले नियमन गरेको छैन । मलाई लाग्थ्यो, नयाँ सरकार आएपछि दसैं आउनुअगाडि नै चोकचोकमा बस, माइक्रो, ट्रकहरूमा घरेलु पालुवा जनावरको ढुवानीको अनुगमन हुनेछ, बलि दिने ठाउँठाउँमा क्यामेरा जडान गरिनेछ । तर, यो सरकारबाट एउटा पाइला पनि नचालिएको देख्दा आज फेरि यो मन भारी भएको छ ।’

प्रतिक्रिया 4