+
+
Shares
कविता :

सहर आएका मित्र हरि रोकालाई

नारायण ढकाल नारायण ढकाल
२०८३ कात्तिक २ गते १५:५१

चार वर्षअघि राजधानी सहरलाई
तिरस्कार गरेर गाउँ गएका हरि रोका
वामपन्थी खोज्न फेरि राजधानी आएका छन् ।

भदौ महिनाको ओस र अप्रिय उष्णताको एक दिन
राजधानी काठमाडौंमा आएर
उनी एउटा पोडकास्टमा
कुरा गर्दै थिए कवि संगीत श्रोतासँग ।
भन्दै थिए : अब सहरले गाउँलाई घेर्नुपर्छ ।

उनको गाउँ रित्तो हुँदैछ
मानिस नभएको रित्तो गाउँमा कसरी वामपन्थी सपना देख्ने ?
तसर्थ माओत्से तुङलाई सम्मानसहित सम्झँदै उनी भन्छन् :
अब गाउँले सहरलाई होइन, सहरले गाउँलाई घेर्नुपर्छ ।

उनी आफ्नो जीवनको उत्तरार्धमा
राजधानीका नक्कली वामपन्थीसँग
वाक्कदिक्क भएर
एकान्त चिन्तन गर्न
जीवनको अर्थबोध गर्न
र
सक्कली वामपन्थी खोज्न
खोटाङ जिल्लाको चुइचुम्मा गाउँमा
स्थायी बासिन्दा बन्न गएका थिए,
जुन गाउँ उनको जन्मथलो हो ।

यो उनको समाजवादी सपना थियो ।

तर अब त्यहाँ उनको त्यो सपना धरमराएको छ ।
त्यसैले उनी वामपन्थी खोज्न सहर आएका छन् ।

हरि रोकाको पोडकास्ट हेरेपछि, सुनेपछि
म मेरो इतिहासको सुदूर समयमा पुग्छु
जुन बेला उनी अहिलेझैं समाजवादको जेन्जी सपना देख्थे ।
त्यस बेला तथाकथित वाम नेताहरु
घुस खानमा खली भइसकेका थिए ।

मैले उनको सपना र ती नेताहरुको चरित्रको विरोधाभाष देखेर
पीत संवाद लेखेको कुरा उनलाई थाहा छ ।
मेरो थोत्रो आर. एक्स मोटर साइकलको पछाडि बसेर
भष्टाचारको मुख्य योजनाकार सिंहदरबारलाई भेट्न जाँदा पनि
उनी अहिलेझैं वामराज्यको सपना देखिरहेका हुन्थे ।

अन्तर्वार्ता हेरेपछि म निकै अतालिएँ ।
मैले चार वर्षअघिका
हरि रोकालाई फेरि संझिएँ ।
उनले सहर छोड्ने बेलालामा देशका अरु बुद्धिजीवीहरु पनि गाउँ पसिरहेका थिए ।
जस्तै नारायण वाग्ले, केदार शर्मा, राजेश केसी र अरुहरु ।
तर अहिले थाहा भयो,
उनीहरु गाउँ गए पनि सहरको शक्ति आफूसँगै लिएर त्यहाँ गएका रहेछन् ।
केबल मेरो थोत्रो आर एक्स यमाहा मोटर साइकलको पछाडि बसेर
समाजवादको सपना देख्दै
भष्टाचारको हेडक्वार्टर सिंहदरबारमा
आफ्ना नक्कली वामपन्थी नेताहरुलाई अभिवादन गर्न जाने
लाटो हरि रोका मात्र सहर र शक्तिलाई पुरै त्यागेर
महान् स्वच्छन्दतावादी कविझैं चुइचुम्मा गएका रहेछन् ।

प्रिय मित्र हरि रोका । माफ पाउँ ।
आज वर्डस्वर्थको जमाना होइन ।
आज फार फ्रम म्याडिङ क्राउड पनि असामयिक छ ।
देवकोटाको लुनी र कृषिबाला खण्डकाव्यको पनि केही काम छैन ।
किनकि आज गाउँ हिजोको जस्तो छैन ।

दश वर्षे जनयुद्धसम्म गाउँ हाम्रो थियो
र त
सहर घेरिएको थियो ।
तर अहिले कवि श्यामलले निबन्धमा लेखेझैं गाउँ रित्तो छ
र तिमीले पोडकास्टमा भनेझैं सहर पनि हाम्रो होइन ।

अहिले सहर कसको हो,
मलाईभन्दा जनअर्थशास्त्रका ज्ञाता तिमीलाई राम्ररी थाहा छ ।

अब भन मित्र,
आफ्नो बन्न नसकेको
नक्कली वामपन्थीहरुले
अरु कसैको पोल्टामा जिम्मा लगाइसकेको
यस्तो घनघोर विपत्तिमा
पराइ सहरले गाउँलाई कसरी घेर्छ ?
……

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?