+
+
Shares

बूढीगण्डकीमा कसरी आयो विनाशकारी बाढी ?

बूढीगण्डकीको उपल्लो क्षेत्रमा बाढी आउने खालको पानी परेको रेकर्ड नभएकाले विज्ञहरुले हिमपहिरोको आशंका गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २५ गते १०:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोरखाको बूढीगण्डकी नदीमा आएको कालो लेदोसहितको बाढीले आरुघाट पुलसहित कयौँ पक्की र झोलुङ्गे पुल बगाएको छ ।
  • बाढीको कारण अझै पुष्टि भएको छैन, तर अधिकारीहरूले उत्तरी क्षेत्रमा हिमपहिरो गएर लेदो मिसिँदा बाढी आएको प्रारम्भिक अनुमान गरेका छन् ।
  • बाढीका कारण गोरखाको चुमनुब्री गाउँपालिका–६ मा चार जना सम्पर्कविहीन भएका छन् र नेपाली सेना तथा प्रहरीले उद्धार र बस्ती खाली गराउने काम गरिरहेका छन् ।

२५ असोज, काठमाडौं । रसुवा–भोटेकोशी बाढीको डेढ महिनापछि गोरखामा पर्ने बूढीगण्डकी नदीमा पनि विनाशकारी बाढी आएको छ । कालो लेदोसहितको बाढीले पक्की पुल र बजारहरुमा समेत क्षति पुर्‍याएको छ ।

बाढीले पुर्‍याएको क्षतिको पूर्णविवरण आउन बाँकी छ । यद्यपि गोरखा जिल्लाबाट सांसद निर्वाचित भएर गृहमन्त्री बनेका सुधन गुरुङले नेपालले फेरि ‘अर्को भयावह बाढी’को सामना गर्नुपरेको बताएका छन् ।

गोरखाको उत्तरी क्षेत्रका बासिन्दाले पनि यस्तो भयावह बाढी पहिलोपटक देखेको अनलाइनखबरलाई बताएका छन् ।

बाढीले गोरखा–धादिङ जोड्ने आरुघाट पुल बगाएको छ । पुलको गोरखातर्फको एउटा स्पान बगेको सामाजिक सन्जालमा सार्वजनिक भिडियोहरुमा देखिन्छ ।

बाढीले चुमनुब्री गाउँपालिका–३ न्याकचेतस्थित न्याकचेत–सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल, धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल र आरुघाट गाउँपालिका २ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल पनि बगाएको छ ।

बूढीगण्डकीको उपल्लो क्षेत्रमा बाढी आउने खालको पानी परेको रेकर्ड छैन 

ठूला ढुंगा नै बगाउने गरी बाढी आउनुको स्पष्ट कारण खुलिसकेको छैन । तर अधिकारीहरुले उत्तरी क्षेत्रमा हिमपहिरो गएकाले बाढीको रुप लिएको प्रारम्भिक अनुमान गरेका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक डा. धर्मराज उप्रेतीले प्रारम्भिक जानकारीअनुसार, उत्तरी क्षेत्रमा हिमपहिरो गएको र त्यसबाट आएको हिउँ, लेदो तथा अन्य पदार्थ नदीमा मिसिएर बाढी आएको हुनसक्ने अनुमान गरिएको बताए । ‘स्थानीयसँगको टेलिफोन सम्पर्कबाट यस्तो जानकारी प्राप्त भएको हो । तर बाढी आउनुको वास्तविक कारणबारे अहिलेसम्म पुष्टि भइसकेको छैन ।’

मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका बरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुली पनि बूढीगण्डकीको उपल्लो क्षेत्रमा पानी परेको रेकर्ड छैन । त्यसैले वर्षाका कारण बाढी आएको भन्न सकिँदैन ।

बाढीविद पराजुली भन्छन्, ‘मानववस्तीभन्दा पनि माथि हिमाली क्षेत्रबाट यो बाढी सुरु भएको जस्तो देखिन्छ । पहिरोले थुनिएको हो वा हिमाली क्षेत्रबाट बाढी सिर्जना भएको हो भन्ने समग्र कारणबारे अध्ययन गरिरहेका छौं ।’

गोरखाको चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाका अनुसार वडा नम्बर-६ लोक्पा भन्ने ठाउँमा गएराति सुक्खा पहिरो गएर नदी थुनिएको र पछि भीषण बाढी आएको भनेर स्थानीयले भनेको अनलाइनखबरलाई बताएका छन् ।

गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङगिलुङ खोला हुँदै बाढी बूढीगण्डकीमा मिसिएको छ । उङगिलुङ खोला चुम्चेत क्षेत्र हुँदै बग्ने गर्छ । त्यसैले बूढीगण्डकीलाई मनास्लु हिमालबाट उत्पत्ती भएको बताइन्छ ।

‘चार जना सम्पर्कविहीन’

विपद् प्राधिकरणका अनुसार बाढीबाट हालसम्म मानवीय क्षतिको पुष्टि भएको छैन । तर गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङगिलुङ खोला किनार क्षेत्रबाट चार जना सम्पर्कविहीन भएका राष्ट्रिय समाचार समितिले जनाएको छ ।

प्रभावित क्षेत्रमा काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको छ । अहिले हेलिकप्टर अवतरण गर्न सक्ने अवस्था नरहेकाले तत्काल उद्धारमा कठिनाइ भएको विपद प्राधिकरणले जनाएको छ ।

नेपाल प्रहरी पनि परिचालन भएको छ । प्रहरीले विभिन्न स्थानमा बस्ती खाली गराउने र स्थानीयलाई सुरक्षित स्थानमा सार्ने काम गरिरहेको छ ।

यस बाढीको प्रभाव गोर्खा, धादिङ, तनहुँ, मुग्लिन हुँदै चितवनसम्म पर्न सक्ने देखिएकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?